Successfully Copied

कोरोनाले बढायो बेरोजगारी

कोभिड–१९ महामारीकै कारण पुरुषभन्दा महिलाले बढी रोजगार गुमाएको विभिन्न तथ्यांकले देखाएका छन् । महिलाहरूले गर्दै आएका साना खुद्रा व्यवसाय ठप्प हुँदा उनीहरूको बेरोजगारी संख्या बढेको हो ।

बुटवलकी उर्मिला शाहीले काठमाडौंस्थित बिजुलीबजारमा होटल संचालन गर्थिन् । सानो लगानी भए पनि उनले त्यहीँबाट आयआर्जन गर्थिन् । त्यही होटलले उनको तीन जनाको परिवार धानेको थियो । कोरोनाको असर उनको होटलमा पनि पर्‍यो । महामारीमा उनको होटल बन्द भयो । आम्दानी पनि ठप्प भयो । कोरोनाकै कारण रोजगारी गुमेपछि उनी परिवारसहित गाउँ फर्किन् । त्यसयताको ८ महिना उनी बिनाआम्दानी गाउँमै दिन बिताइरहेकी छन् ।

बुद्धनगरकी शान्ता महर्जनले कोरोना महामारीकै कारण ब्युटिपार्लर बन्द गर्नुपर्‍यो । पार्लरमार्फत स्वरोजगार बनेकी उनी महामारीपछि बेरोजगार बनिन् । करिब ८ महिनादेखि आफू बेरोजगार रहेको उनले बताइन् । उनी भन्छिन्, ‘लामो समयसम्म बेरोजगार हुँदा सामाजिक, आर्थिक एवं मानसिक समस्या पनि थपिँदै जाने रहेछ ।’ कोरोना महामारी फैलिने क्रम अझै नरोकिएकाले उनी फेरि पार्लर सञ्चालन गर्न सकिरहेकी छैनन् ।

महामारीका कारण रोजगारी गुमाएका यी दुई महिला प्रतिनिधि पात्र मात्र हुन् । कोभिड–१९ महामारीकै कारण पुरुषभन्दा महिलाले बढी रोजगार गुमाएको विभिन्न तथ्यांकले देखाएका छन् । महिलाहरूले गर्दै आएका साना खुद्रा व्यवसाय ठप्प हुँदा उनीहरूको बेरोजगारी संख्या बढेको हो । यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलभमेन्ट स्टडिज (आईआईडीएस) ले तयार पारेको प्रतिवेदनअनुसार महामारीपछि देशभर ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन् । जुन पुरुषको तुलनामा बढी हो । यस अवधिमा रोजगार गुमाउने पुरुषहरूको संख्या २८ प्रतिशत मात्र छ । महिलाहरूले सञ्चालन गर्दै आएका होटल, रेस्टुराँसहित साना व्यवसाय बन्द हुँदा रोजगारी गुमाउनेहरूमा महिलाको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।

महिलाहरू स्वरोजगार र आत्मनिर्भर बनेका क्षेत्रहरू घरायसीदेखि व्यावसायिक उद्योगहरूमा पनि कोभिड–१९ को असर परेको छ । महिलाहरूले सञ्चालन गर्दै आएका उद्योगहरू बन्द हुँदै गएका छन् । उद्योगमा काम गर्ने महिला कामदार पनि बेरोजगार बनेका छन् । एक ढाका उद्योगमा काम गर्ने कल्पना रोक्का कोरोना कहरपछि बेरोजगार छिन् । करिब ७ वर्षदेखि ढाका उद्योगमा काम गर्दै आएकी उनले यसअघि कहिल्यै खाली हात बस्नु परेको थिएन । उनी भन्छिन्, ‘कोरोनापछि बिनाकाम बस्नुपरेको छ, कहिलेसम्म यसरी बस्नुपर्ने हो थाहा छैन ।’ यसरी आम्दानीबिना बस्नुपर्दा उनी आर्थिक अभाव झेलिरहेकी छन् । आर्थिक अभावसँगै उनलाई मानसिक समस्या पनि थपिएको छ । उनी भन्छिन्, ‘आर्थिक अभावले मानसिक समस्या पनि थपिँदो रहेछ, अब के गर्ने सधै चिन्ता लागिरहन्छ ।’

कोरोना महामारीको जोखिम दिनप्रतिदिन अझै बढ्दो छ । यसले महिला उद्यमीहरू पनि मारमा परेका छन् । महिला उद्यमी संघकी महासचिव सुनीता बैद्य श्रेष्ठ भन्छिन्, ‘कोरोनाको प्रत्यक्ष असर महिला उद्यमीहरूलाई पनि परेको छ ।’ उनका अनुसार आम्दानीका लागि महिलाद्वारा सञ्चालित घरेलु उद्योगहरू बन्द गर्नुपर्ने अवस्थाले महिला बेरोजगारको संख्या बढेको हो । महिलाहरूले आम्दानीका लागि कुखुरापालन, माछापालन, होटल एवं रेस्टुराँ संचालन गर्दै आएका थिए । ती सबै बन्द हुन थालेकाले कामकाजी महिलाहरूसमेत बेरोजगार बन्ने अवस्था रहेको उनी बताउँछिन् । आम्दानी नहुँदा महिलाहरूलाई बैंकको ब्याज तिर्न, भाडा तिर्न समस्या परेको उनको धारणा छ । बेरोजगार महिलाहरूको समस्या समाधान गर्न संघले महिला मन्त्रालयमा विभिन्न माग राखेको उनले बताइन् । उनी भन्छिन्, ‘तर, मन्त्रालयबाट कुनै सुनुवाइ र कार्यान्वयन हुन सकेको छैन ।’

श्रमविद् सरु जोशीका अनुसार कामकाजी महिलाहरू बेरोजगार भएर बस्नुपर्दा घरमा महिलाहरूको जिम्मेवारी झनै थपिएको छ । ‘महिलाहरूले रोजगार गुमाउँदा घरमा हरेक काम महिलाको काँधमा आएको छ’ उनी भन्छिन् ‘यसले गर्दा महिलाहरू मानसिक एवं शारीरिक समस्यामा परेका छन् ।’

 हिंसा बढ्यो

अनौपचारिक रूपमा रोजगारी गुमाउँदा महिला हिंसा बढ्न थालेको छ । आम्दानी गुमाएर अरुमा भर पर्दा महिलाहरूले शारीरिक र मानसिक रूपमा हिंसा भोग्नुपरेको छ । महिला आयोगकी मुद्दा व्यवस्थापक तथा अधिवक्ता विमला खड्का भन्छिन्, ‘रोजगारी गुमाउँदा महिलाहरू घरमै थुनिएका कारण उनीहरूमाथि हिंसा बढेको छ ।’ उनका अनुसार आयोगमा हिंसासम्बन्धी दैनिक १०–१२ वटा उजुरी परिरहेका छन् । जसमध्ये बेरोजगारीले निम्त्याएका केही घटनाहरू पनि छन् । बेरोजगारीका कारण महिलाहरूमा मानसिक समस्या आउन थालेका छन् । आम्दानी गुमेका कारण अरुमा भर पर्नुपर्ने भएकाले महिलाहरू हिंसा भोग्न बाध्य रहेको उनको भनाइ छ ।

 Image