Successfully Copied

घरपालुवामा छारे रोग

घरपालुवा जनावरमा विभिन्न किसिमका रोगको प्रकोप बढ्दो छ । अव्यवस्थित रूपमा हुने कुकुरको प्रजनन्ले गर्दा पनि केही गम्भीर स्वास्थ्य समस्या देखा पर्न थालेका छन् ।

डा.शरद सिंह यादव

एड्भान्स पेट हस्पिटल, बालुवाटार

घरपालुवा जनावरमा विभिन्न किसिमका रोगको प्रकोप बढ्दो छ । अव्यवस्थित रूपमा हुने कुकुरको प्रजनन्ले गर्दा पनि केही गम्भीर स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । तीमध्ये छारे रोग पनि एक हो । यो रोगले तत्काल ज्यानै नलिए पनि घरपालुवालाई दीर्घ रोगी बनाउँछ । अहिले यो रोगको प्रकोप धेरै बढेको पाइएको छ ।

छारे रोगका लक्षण

सामान्य अवस्थामा यो रोगको लक्षण थाहा न हुन पनि सक्छ । सुरुमा शरीर काम्ने, र्‍याल निकाल्ने, उठ्न नसक्ने, ढल्ने, आँखा नदेख्ने जस्तो हुन्छ । कतिपयले त्यस्तो बेला दिसा–पिसाब पनि गर्छन् । एकछिनमा फेरि सामान्य अवस्थामा फर्किने हुन्छ । रोग पुरानो र घरपालुवाको शारीरिक अवस्था कमजोर छ वा उमेर बढी छ भने उठे पनि फेरि ढल्न सक्छ ।

किन हुन्छ छारे रोग ?

नसासम्बन्धी यो रोग लाग्नुका धेरै कारण छन् । हामीकहाँ भने प्रायः वंशानुगत कारणले यो रोग भएको पाइन्छ । एउटै परिवारका सदस्यहरूमा प्रजनन् गराउनु प्रमुख कारणमध्ये एक हो । घरपालुवालाई स्वस्थ र खुसी राख्न जरुरी हुन्छ । खानामा हुनुपर्ने पौष्टिक कुराहरू हामीले पकाएर दिने खानामा पूर्णरूपमा नहुने भएकाले बेलाबेलामा चिकित्सकको सल्लाहमा भिटामिन मिनरल्सका खुराक सामेल गर्नुपर्छ । त्यसबाट उनीहरूले सन्तुलित खानाको मात्रा पाउँछन् ।

कसरी गर्ने रोगको व्यवस्थापन ?

आफ्नो घरपालुवामा यो रोगका कुनै लक्षण देखिए पशुचिकित्सकको सल्लाहबमोजिम उपचारमा लाग्नुपर्ने हुन्छ । आफ्नो घरपालुवाको बन्ध्याकरण गराउनु राम्रो मानिन्छ । केही हर्मोनका कारणले पनि यो रोगलाई बढाउँछ । सन्तुलित भोजन तथा तौलमा पनि ध्यान दिनु आवश्यक हुन्छ। कहिलेकाहीँ मात्र छारे रोगको लक्षण देखिए औषधि प्रयोग नगरे पनि हुन्छ । किनकि प्रायः यो औषधि प्रयोग गरेपछि जीवनभरि खुवाउनुपर्ने हुन्छ । यो रोगमा प्रयोग हुने औषधिले कलेजोलाई कहिलेकाहीँ नोक्सान पुर्‍याउने हुँदा बेलाबेलामा रगतको परीक्षण पनि जरुरी हुन्छ ।

उपचार

यो रोगमा घरपालुवामा छिटो–छिटो मूर्च्छा पर्ने देखिए, जतिसक्दो छिटो पशु चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । यो रोगमा मानिसमा प्रयोग हुने फिनोबार्बिटोन भन्ने औषधि प्रयोग गरिन्छ । चिकित्सकको सल्लाहमा उपचार गरी घरपालुवालाई अकालमा मर्नबाट जोगाउन सकिन्छ ।

 Image