बालमैत्री घर

मंसिर १०, २०७७  

 

प्रसिद्धि हमाल

आर्किटेक्स इन्जिनियर, होम डिजाइनर्स नेपाल

घर निर्माण गरिरहँदा हामी आफ्नो रुचिलाई केन्द्रमा राखेर निर्णय गर्छौ ? कस्तो डिजाइन बनाउने, कस्तो साजसज्जा गर्ने, कस्तो रंगरोगन गर्ने, कहाँ के राख्ने ? यावत् कुरा हामी आफ्नो रुचिलाई सर्वोपरि मान्छौं । सोही घरमा हुर्कने आफ्ना बालबालिकाको रुचि र आवश्यकतालाई भने हामी बिर्सन्छौं । त्यसैले त हामीले निर्माण गर्ने घर बेलाबखत बालबालिकाका लागि धराप बन्छ ।

उनीहरू भर्‍याङ उक्लनै सक्दैनन् । ढोकाको चुकुल लगाएर खोल्न सक्दैनन् । बार्दली वा छतमा खेल्न वा उफ्रिन सक्दैनन् । जता गए पनि उनीहरू सतर्क हुनुपर्छ । आफ्नै घरभित्र उन्मुक्त र निर्भयसाथ खेल्न वा रमाउन सक्दैनन् । छतबाट लडेर बालबालिका घाइते भएका खबर आइरहन्छन् । यसैगरी बालबालिकाको इनारमा डुबेर मृत्यु भयो । कोठामा करेन्ट लागेर अशक्त भए । यसरी हामीले बालबालिकाका लागि घरलाई धराप बनाइरहेका छौं ।

यी त शारीरिक कुरा भए । बालबालिकाको मनोविज्ञानलाई हामी पूरा उपेक्षा गरिदिन्छौं । उनीहरूले कस्तो रंग र साजसज्जामा रमाउँछन् भन्ने कुरा हामीले ख्यालै गर्दैनौं । घर निर्माण गर्दा हामीले आफ्ना बालबालिकालाई भुलिदिन्छौं ।

घर भनेको बालबालिकाको संसार हो, खुला पाठशाला हो र खेल मैदान पनि हो । उनीहरूले धेरै जसो समय त्यही घरमा बिताउँछन् ।

त्यसैले घर निर्माण गर्नुअघि हामीले सोच्नुपर्छ कि, बालबालिकाका लागि यो घर कति उपयोगी हुनेछ ।

बालबालिकाहरू खुला ठाउँमा खेलेर रमाउन पाउँदा उनीहरूको शारीरिक एवं मानसिक विकास हुन्छ । सिर्जनात्मक क्षमता वृद्धि हुन्छ । त्यसैले घर बनाउँदा घरको भित्री एवं बाहिरी भागलाई ध्यान दिनुपर्ने हुन्छ ।

कोरोनाको जोखिमपछि यसको महत्व झनै बढेको छ । हाम्रो दैनिकी फेरिएको छ । समयसँगै हाम्रो आवासीय भवनको संरचनालाई परिवर्तन गर्नु जरुरी छ । महामारीअघि धेरै समय अभिभावकले अफिस र बालबालिकाहरूले विद्यालयमा समय बिताउँथे । अहिले बालबालिकाहरू घरमा बसेका छन् । अभिभावकहरू वर्क फ्रम होममा छन् । अब घरको डिजाइन गर्दा स्पेसको व्यवस्थापन पनि त्यहीअनुसार गर्नु जरुरी हुन्छ । काम गर्दै बालबालिकालाई प्रत्यक्ष निगरानीमा राख्न सकियोस् । यस्तो स्पेसको निर्माण गर्दा लिभिङ रुम र भान्साबाट पनि निगरानी गर्न मिल्ने बनाउनुपर्छ । उनीहरूले खेल्ने, बस्ने, पढ्ने स्थानलाई बालमैत्री बनाउनुपर्छ ।

हामी बसोबास गर्ने वातावरणले हामीलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । घरको सुन्दर वातावरणले बालबालिकाको वृद्धि, विकास र सिकाइमा उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ ।

संरचनात्मक

संरचनात्मक बलियो घर हामी सबैको लागि सुरक्षित हुन्छ, जसमा उचित ढल निकास, तारहरूको व्यवस्थापनका साथै प्रयोग भएका वस्तुहरू सुरक्षित हुनु जरुरी छ । ढलको निकास राम्रो नहुँदा घर चुहिने, ओस लागेर विभिन्न खालका रोगको कारण बन्न सक्छ । घर बनाउँदा प्रयोग गरिने तारजाली सुरक्षित प्रयोग गरेनौं भने बालबालिकाका लागि खतरा बन्नसक्छ । त्यस्तै, हाम्रो स्वास्थ्यका लागि हानिकारक सामग्रीहरू जस्तै एसबेटस र लिड पेन्ट जस्ता सामग्री जस्तोसुकै अवस्थामा प्रयोग गर्नु हुँदैन । साथै विद्युतीय सामग्री, प्लग वा तार बालबालिकाले सजिलै छुन सक्ने ठाउँमा राख्नुहुँदैन ।

कहिलेकाहीँ स्वीमिङ पुल र बाहिर कुनै ठाउँमा खेल्दा दुर्घटना हुन सक्छ । भरसक खुल्ला ठाउँमा घर बनाउनुपर्छ । ताकि बालबालिकाहरू अभिभावकको प्रत्यक्ष निगरानीमा खेल्न सकून् । घरमा बालबालिकालाई चोटपटक लाग्ने किसिमको संरचना बनाउनु हुँदैन ।

सहरी क्षेत्रमा घर बनाउँदा बालबालिकाहरूलाई खेल्न मिल्ने खुल्ला ठाउँ हुँदैन । घरभित्र पनि खेल्ने ठाउँको निर्माण गर्न सकिन्छ । खेल्ने ठाउँका लागि घरको आकार ठूलो हुनुपर्छ भन्ने छैन । सानो ठाउँमा पनि बालबालिकालाई खेल्ने स्थान बनाउन सकिन्छ ।

फ्लोरिङ

कडा काठलगायत मार्बल आदि सामग्रीको प्रयोगले सफा गर्न सजिलो र कीटाणुहरूबाट बचाउँछ । तर बालबालिकाहरूको सुरक्षाको हिसाबले हामीले कार्पेट फ्लोरको प्रयोग गर्नु उपयुक्त हुन्छ । मार्बल भएको ठाउँमा खेल्दा बालबालिकाहरू चिप्लिएर लड्न सक्छन् ।

फर्निचर

घरमा फर्निचरको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । बालबालिका खेल्दा, उफ्रिदा ठोक्किएर चोटपटक लाग्न सक्छ । धारिलो किनारा भएको फर्निचर प्रयोग गर्नुहुँदैन ।

रंगरोगन

रंग मानिसको मनोविज्ञानसँग जोडिएको हुन्छ । बालबालिकाको कोठामा रंगरोगन गर्दा उनीहरूको रुचिलाई पनि ध्यान दिनुपर्छ किनभने कोठाको रंगले उनीहरूमा प्रभाव पार्छ । बालबालिकाको कोठामा कुल देखिने रंग प्रयोग गर्नुपर्छ । जस्तो गाढा निलो, हरियो, हल्का गुलाबी आदि । बालबालिकाको कोठामा कालो र रातो रंग प्रयोग गर्नुहुँदैन । उपयुक्त रंगको संयोजनले बालबालिकालाई आकर्षक वातावरण सिर्जना गर्नमा सहयोग पुर्‍याउँछ ।

प्रकाश

सकभर बालबालिकाले धेरै समय बिताउने ठाउँमा प्राकृतिक प्रकाश पर्याप्त मात्रामा हुनुपर्छ । यसले वातावरणीय जागरुकता र ताजगी बनाउनमा सहयोग गर्छ । प्राकृतिक प्रकाशले बालबालिकाहरूको मुड बनाउनुका साथै एकाग्रता र उत्पादकतामा सुधार गर्छ । कृत्रिम प्रकाशको प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

हरियालीसँगको सामीप्य

बालबालिकाहरूलाई हरियालीका साथै विभिन्न किसिमका बनावटसँग परिचित गराउन जरुरी हुन्छ । विभिन्न प्रकारको उपचार र उपचारका प्रकृति हरियालीको उपयोगबाट सम्भव भएको कुरा सिद्ध भइसकेको छ । प्रकृतिसँगको सामीप्यताले बालबालिकाहरूमा सकारात्मक असर पार्दछ । बाहिरी क्रियाकलापले बालबालिकाको वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले गार्डेन एवं लन घरसँगै हुनुपर्छ । यदि सीमित ठाउँ छ भने घरभित्रै पनि ग्रिन इलिमेन्टको प्रयोग गर्न सकिन्छ ।

भान्सा कोठा

भान्सा कोठाको डिजाइन गर्दा बच्चाका लागि सुरक्षित र सहज दुवै हुनुपर्छ । किनभने भान्सामा ग्याँस, चुल्हो, धारिलो हतियार, चक्कु आदि राखिन्छ । यस्ता वस्तु बालबालिकाको पहुँचबाट टाढै राख्नुपर्छ । अर्कातिर भान्सामा बालबालिकाहरूले भोक लाग्दा सजिलै पानी, फलफूल एवं खानेकुरा भेटाउने गरी राख्ने ठाउँको डिजाइन गर्नुपर्छ ।

ढोका र झ्याल

ढोकाले हात च्याप्ने, बन्द गरेर खोल्न नसक्ने हुनसक्छ । त्यस्तै बाथरुमको ढोका भित्रबाट लक गरेर खोल्न नसक्ने हुन्छ । त्यसैले घरका झ्याल–ढोका बालमैत्री हुनुपर्छ ।

बार्दली, भर्‍याङ, छत

प्रायः छतबाट बालबालिका लडेको समाचार सुनिन्छ । अभिभावकको निगरानी नहुँदा उनीहरू बार्दलीबाट लड्न सक्छन् । भर्‍याङबाट लड्न सक्छन् । त्यसैले यस्ता संचरनाहरूको निर्माण गर्दा बालबालिकाका लागि सुरक्षित हुनुपर्छ । भर्‍याङ, बार्दली र छत सुरक्षित तथा सजिलो हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>