Successfully Copied

खाद्यमा मिसावट

खाना सबै प्राणीका लागि अति आवश्यक छ । यो स्वच्छ, सफा र स्वस्थ हुनुपर्छ । यसमा कुनै प्रकारको अखाद्य वा रासायनिक वस्तुको मिसावट हुनुहुँदैन ।

विपीन कार्की, डाइटिसियन

खाना सबै प्राणीका लागि अति आवश्यक छ । यो स्वच्छ, सफा र स्वस्थ हुनुपर्छ । यसमा कुनै प्रकारको अखाद्य वा रासायनिक वस्तुको मिसावट हुनुहुँदैन । तर, चाडपर्व नजिकिएसँगै व्यापारीहरूबाट खाद्यमा गुणस्तरहीन अखाद्य वस्तु मिसाउने क्रम बढ्छ । नाफा कमाउने नियतले उपभोक्ताको स्वास्थ्यमाथि उनीहरूले खेलवाड गर्छर्न् । खाद्यवस्तुमा हुने मिसावट एक गम्भीर समस्या हो । मिसावटले खाद्यवस्तुलाई गुणस्तरहीन बनाउनुका साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले मिसावटलाई सामान्य रूपमा लिनुहुँदैन । उपभोक्ताहरू यसमा सचेत रहनुपर्छ ।

आधुनिकता तथा बढ्दो सहरीकरणसँगै सेवा तथा सुविधा पनि घरघरमै पुग्ने भएकाले उपभोक्ताहरू आफै बजार गई स्वच्छ, सफा खाद्यान्न रोजेर ल्याउन छाडेका छन् । अझ फुड डेलिभरिको व्यवस्था बढेसँगै उनीहरूलाई कस्ता गुणस्तरको खाना कति उपभोग्य वस्तु प्रयोग गरी बनाइएको छ भन्ने जानकारी नहुनुले पनि मिसावटले व्यापकता पाएको हो । खाद्यान्नमा मिसावटका कारण उत्पन्न विषाक्तले मुटु, मिर्गौला, कलेजोमा समस्या निम्त्याउनुका साथै मानिसको स्वास्थ्यमा जटिलता ल्याउन सक्छ । अखाद्य वस्तुको मिसावटले खाद्यान्नलाई गुणस्तरहीन मात्रै बनाउँदैन, त्यसमा भएका पौष्टिकतालाई समेत कम गरी दिन्छ । र, त्यस्ता खाद्यबाट बनेका परिकार वा खानाले हाम्रो शरीरलाई आवश्यक पर्ने पोषणतत्व पुग्दैन ।

होली, तिहार, मातातीर्थ औंसी, तीज, नयाँ वर्षजस्ता चाडपर्वमा मिठाईं तथा गुलिया वस्तुको प्रयोग बढी हुने भएकाले मिठाईंका लागि चाहिने घिउ, चिनी, खुवा, क्रिम, दूध आदिमा मिसावट बढ्दो छ । पनीर, खुवा र दूधमा स्टार्च मिसाएर मिठाईंलाई बाक्लो बनाई धेरै बनाउन सकिन्छ । तर, स्टार्च मिसावटयुक्त मिठाईं खाएमा पेट दुख्ने, बान्ता आउने, झाडापखाला लाग्ने समस्या निम्तिन सक्छन् । यस्ता मिठाईंको सजिलै पहिचान गर्न सकिन्छ । उक्त मिठाईंको सानो टुक्रा पानीमा राखेर हेर्दा नीलो रंग आएमा त्यसमा स्टार्च मिसाइएको थाहा पाउन सकिन्छ ।

मिठाईं छोप्नका लागि प्रयोग गरिने सिल्भर फोइल ९९ दशमलव ९ प्रतिशत स्वच्छ हुनुपर्ने मापदण्ड भएपनि बजारका अधिकांश मिठाईं पसलमा कमसल सिल्भरको आल्मुनियम प्रयोग गरेको पाइन्छ । यसले शरीरमा धेरै विषाक्त पैदा गराउने हुनाले छालासम्बन्धी रोग, शिशु स्वास्थ्यमा समस्या तथा न्युरोलोजिकल रोगको जोखिम उच्च हुन्छ ।

मिठाईंमा प्रयोग गरिने बटर तथा क्रिमको विकल्पमा व्यापारीहरूले पाम तेल वा भटमासको तेल प्रयोग गर्छन् । यसो गर्नुको कारण मिठाईंको मात्रा बढाउनु हो । पाम तेल प्रयोग गरिएको मिठाईंमा मुटुरोग बढाउने तत्व कोलस्टेरोलको मात्रा उच्च रहने वैज्ञानिक तथ्यले बताउँछ । गर्मी मौसम, पार्टी, भोजमा डेजर्टका रूपमा लोकप्रिय आइसक्रिमलाई धेरै बालबालिकाले मन पराउँछन् । आइसक्रिममा इथाइल एसिटेट, नाइट्रेट, वासिङ पाउडरजस्ता अखाद्य वस्तुको मिसावट हुन्छ । यी रसायनहरू विषभन्दा पनि खतरनाक हुन्छन् । यस्ता रसायन मिश्रित आइसक्रिम खाँदा फोक्सो, मिर्गौला एवं पाचननलीहरूमा संक्रमण बढ्नुका साथै ज्यानसमेत जान सक्छ ।

खुवा र रसबरी सबैभन्दा बढी प्रयोग गरिने मिठाईं हुन् । मैदा, पाउडर दूध, स्टार्च मिसावट गरी उत्पादन गरिएको खुवा तथा रसबरीले बजार पिटेको अवस्था छ । घिउको प्रयोग नेपाली समाजमा बढी गरिन्छ र उक्त घिउमा वनस्पतिको तेल, नरिवल तेल, उसिनेको आलु, पाम तेल, मिनरल तेल मिसाउने प्रवृत्ति बढिरहेको छ । यसरी बनाइएका खाद्यवस्तुहरूको प्रयोगले उपभोक्ताहरू उच्च रक्तचाप तथा मुटुरोगी बनिरहेका छन् ।

चाडपर्वमा विशेष गरी सेलरोटी, अर्सा, अनरसामा बढी मात्रामा चिनीको प्रयोग गरिन्छ । मधुमेह तथा उच्च रक्तचापका बिरामीले मिठाईं खाँदा रगतमा चिनीको मात्रा बढ्ने सम्भावना भएकाले चिनीरहित मिठाईं पनि कम मात्रामा खानु राम्रो मानिन्छ । दूधको आपूर्ति आवश्यकतानुरूप नहुँदा उपभोक्ताहरू यसमा हुने मिसावटबाट बढी ग्रसित छन् । बिहान चियाका लागि प्रयोग गरिने दूधमा पनि मिसावट रहेको थाहा पाउँदा पाउँदै पनि मौन बस्नुपर्ने बाध्यता छ । दूधको मात्रा बढाउन चकको धूलो, पानी, उखु, युरियाको प्रयोग गरिन्छ । यी रसायन प्रयोग गरिएको दूध स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

माछा, मिठाईं, जुस तथा छोटो सेल्फ लाइफ भएको खाद्यवस्तुमा ‘फर्मालिन’ नामक रसायनको प्रयोग बढ्दो छ । फर्मालिनले खाद्यवस्तु सफा तथा हेर्दै खाऊँखाऊँ लाग्ने बनाउने र लामो समयसम्म नबिग्रने गुण हुन्छ । यो रसायन प्रयोग गरिएको खाद्यान्नको उपभोग गर्दा कलेजो र मिर्गौला बिग्रने, दम बढ्ने तथा क्यान्सर जस्ता प्राणघातक समस्या निम्तिन सक्छन् । प्राणघातक फुड कलरहरू टारट्राजिन, म्यालाचाइट ग्रिन, बेनजिडिनको प्रयोग मिठाईंलाई आकर्षण बढाउन गरिन्छ । तर, यसले स्वास्थ्यमा विभिन्न समस्या भित्र्याइरहेको छ ।

दैनिक प्रयोग गरिने तोरीको तेलमा पनि आर्जिमन तेल, मिनरल तेलको मिश्रण बढ्दो छ । उक्त रसायनयुक्त तेल प्रयोग गर्नाले कार्डियाक एरेस्ट भई मृत्युसमेत हुनसक्छ । अन्न तथा अनाजमा मसिना ढुङ्गा, बालुवा मिसाउने हुनाले राम्रोसँग सरसफाइ नगरी उपभोग गर्नाले पत्थरी, मिर्गौलामा समस्या तथा पाचनप्रणालीलाई क्षति पुर्‍याउने जोखिम उच्च छ । चाडपर्वमा प्रयोग गरिने ल्वाङ, मरिच, खुर्सानी एवं गरम मसलामा मेवाको दाना, काठको धूलो, रातो माटो मिसाएर उपभोक्तालाई झुक्काइरहेको पाइन्छ ।

 Image