Successfully Copied

शृंगार विज्ञान

चुरा, पोते, टीका, शिरबन्दी, पाउजु, गाजल आदि नारीका शृंगारसँग सम्बन्धित छन् । नाडीमा चुरा, निधारमा टीका, आँखामा गाजल, शिरमा शिरबन्दी, खुट्टामा पाउजु लगाएपछि नारीको सुन्दरता खुल्छ ।

चुरा, पोते, टीका, शिरबन्दी, पाउजु, गाजल आदि नारीका शृंगारसँग सम्बन्धित छन् । नाडीमा चुरा, निधारमा टीका, आँखामा गाजल, शिरमा शिरबन्दी, खुट्टामा पाउजु लगाएपछि नारीको सुन्दरता खुल्छ । तर यी सम्पूर्ण प्रसाधनले एक नारीलाई सुशोभित मात्र बनाउँदैन, भावनात्मक र शारीरिक रूपमा समेत फाइदा पुर्‍याउँछ ।

पूर्वीय समाजमा नारी शृंगारको खास महत्व र अर्थ छ । हाम्रो संस्कृतिमा नारीको सोह्र शृंगारको व्याख्या गरिएको छ । यसमा शिरबन्दीदेखि पाउजुसम्म समेटिएका छन् । खासगरी विवाहित महिलाको हकमा सोह्र शृंगारलाई महत्व दिइएको छ । विवाह, चाडपर्व, उत्सव एवं पूजाआजामा सोह्र शृंगारमा सजिनुपर्ने बताइन्छ । हाम्रो समाजमा नारीका शृंगारलाई पवित्रता र प्रेमका रूपमा समेत अर्थ्याउने गरिन्छ ।

के छ महत्व ?

प्राचीनकालमा शृंगारको प्रचलन कसरी सुरु भयो ? कहिलेदेखि भयो ? कसरी भयो ? यस विषयमा स्पष्ट जानकारी छैन । यद्यपि सदियौंदेखि शृंगारलाई नारी सौन्दर्यकै एक हिस्सा मान्दै आएको पाइन्छ ।

सिन्दूर

विवाहित वा अविवाहित महिलाबीचको भेद छुट्याउने माध्यम हो–सिन्दूर । सिन्दूरलाई विवाहित महिलाको चिनारी र सुरक्षा कवचसमेत मानिन्छ । सिन्दूर लगाइने भाग संवेदनशील मानिन्छ । सिन्दूरमा पाइने मर्करीले टाउकालाई शीतल बनाउनुका साथै तनावमुक्त राख्ने उल्लेख छ ।

केश सज्जा

केशमा सुगन्धित तेल लगाई आकर्षक बनाएर सजाइन्छ । केशलाई जूरो बनाएर सजाउनाले सुन्दर र सौम्य देखाउनुका साथै केश झर्न र टुट्नबाट पनि जोगाउँछ । टाउको दुख्ने, माइग्रेनजस्ता रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

बिन्दी

बिन्दी अर्थात् टीका । निधारको मध्यमागमा टीका लगाएपछि नारीको सौन्दर्य अझ खुल्छ । यसलाई सौभाग्यको प्रतीक मानिन्छ । जुन भागमा बिन्दी लगाइन्छ, त्यो भागलाई आज्ञाचक्र रहेको बताइन्छ । यसले मनलाई शान्त र तनावरहित राख्न समेत मद्दत गर्ने विश्वास गरिन्छ । साथै अनिद्रा एवं टाउको दुखाइमा समेत राहत मिल्ने बताइन्छ ।

गाजल

गाजलले आँखाको सुन्दरतालाई अझ आकर्षक बनाउँछ । त्यसो त गाजल तयार पार्न प्रयोग गरिने वस्तुले आँखाको दृष्टिलाई राम्रो बनाउँछ भनिन्छ । आँखाको सुरक्षाका लागि पनि गाजलको भूमिका रहन्छ ।

कानमा झुम्का

कानमा झुम्का विवाहित तथा अविवाहित दुवैले लगाउँछन् । कानमा प्वाल बनाएर त्यसमा लगाइने सुनको झुम्काले शरीर ऊर्जावान् बनाउँछ । मासिक धर्मसँग जोडिएको समस्याबाट पनि छुटकारा पाउने बताइन्छ ।

नाकमा फूली

पहिले नाकको बीचमा प्वाल पारेर फूली लगाउने प्रचलन थियो । अहिले पनि कतिपयले फेसनका रूपमा फूली लगाउने गरे पनि यसको साजसज्जामा विविधता आएको छ । फूली लगाउने प्रचलन हराए पनि नाकमा प्वाल पारेर फूली लगाउने गरिन्छ । मासिक धर्ममा हुने पीडा कम गर्छ भन्ने प्रचलन छ । किनभने बायाँ नाकको स्नायुको सम्बन्ध महिलाको गर्भाशयसँग हुन्छ ।

मंगलसूत्र

मंगलसूत्र विवाहित महिलाको प्रतीक हो । साडीजस्ता परम्परागत पहिरनसँग यस्ता गहनाको संयोजन आकर्षक देखिन्छ । हार एवं मंगलसूत्र सुन वा अन्य धातुबाट तयार हुन्छ । गलामा यसको स्पर्शले फाइदा हुने बताइन्छ । खासगरी छाला र रक्त प्रवाहमा यसले प्रभाव पार्ने विश्वास गरिन्छ ।

चुरा    

विवाहित वा अविवाहित सबैले नाडीमा चुरा लगाउन सक्छन् । विवाह, चाडपर्वजस्ता विशेष अवसरमा चुरा लगाइन्छ । चुरा नारी सौन्दर्यकै एउटा हिस्सा हो । तर यसलाई सुरक्षा र स्वास्थ्यसँग जोडेर पनि व्याख्या गरिन्छ ।

काँचको चुरा नाडीमा लगाउँदा त्यसको घर्षणले रक्तसंचार प्रक्रियालाई राम्रो बनाउने धारणा रहेको छ । चुराहरू आपसमा ठोक्किएर निस्कने आवाजले सकारात्मक ऊर्जा दिने बताइन्छ । साथै चुरा बजेको आवाजले घरमा महिला भएको आभास पनि दिलाउँछ ।

बाजु

बाजु पनि हातमा लगाउने आभूषण हो । यो सुन वा चाँदीजस्ता धातुको हुन्छ । यसले रक्तसञ्चार राम्रो बनाउँछ ।

औंठी

औंलामा थरीथरीका औंठी लगाउने चलन छ । विवाहको बेला दुलहा–दुलहीले औंठी साटासाट गरेर उनीहरूको सम्बन्धलाई अरू दिगो बनाउने मान्यता छ । औंलामा औंठी लगाउँदा मस्तिष्क र मुटुलाई राम्रो प्रभाव पर्ने बताइन्छ । मानसिक एकाग्रताका लागि पनि औंठीले भूमिका खेल्ने विश्वास गरिन्छ ।

मेहन्दी

खासगरी साउनको महिना, विवाह र चाडपर्वमा मेहन्दी लगाउने गरिन्छ । हात–खुट्टामा मेहन्दी लगाइन्छ । यसले छाला राम्रो बनाउनुका साथै घाउ–खटिरा निको हुने विश्वास गरिन्छ ।

कम्मरबन्द

कम्मरमा सुन, चाँदी, हीरा, मोती जडान गरी विभिन्न आकारमा बनाइएको कम्मरबन्द लगाउने चलन छ । यसले सुन्दरता बढाउनुका साथै महिलाहरूको पेटसम्बन्धी रोगबाट पनि बचाउँछ अर्थात् पाचनतन्त्र बलियो बनाउँछ र प्रजनन प्रणाली पनि राम्रो बनाउँछ । मासिक धर्मको समयमा हुने पीडा पनि कम गर्छ ।

पाउजु

पाउजुको आवाजले सकारात्मक ऊर्जा मिल्छ । चाँदीको पाउजु लगाउँदा ढाड, कुर्कुच्चा, घुँडाको पीडा कम हुन्छ । पाउजुले हड्डी रगड्ने भएकाले हड्डीका लागि धेरै फाइदाजनक हुन्छ ।

बिच्छि

बिच्छि विवाहित महिलाको खुट्टाको औंलामा लगाउने गरिन्छ । चाँदीको बिच्छि सबैभन्दा शुभ मानिन्छ । महिलाको खुट्टाको औंलाको नसा उनको गर्भाशयसँग जोडिएको हुन्छ । बिच्छि लगाउँदा गर्भावस्था वा गर्भाशयसँग जोडिएको समस्यामा राहत मिल्ने बताइन्छ ।

अत्तर

खासगरी गुलाबको फूललाई प्रेमको प्रतीक मानिन्छ । यसको सुगन्धले पति–पत्नीबीचको सम्बन्ध सुमधुर बनाउन सघाउनुका साथै एक–अर्कालाई आकर्षित गर्छ । सुगन्धले मानसिक तनाव हटाएर तरोताजा अनुभव गराउँछ ।

रातो साडी

पहिरनको उचित संयोजनले पनि नारीको सौन्दर्यमा खास भूमिका खेल्छ । पहिरनमा पनि रातो रंगलाई शुभ मानिन्छ । उत्सव, पर्व, विवाह, पूजापाठमा रातो पहिरन लगाउनुपर्ने मान्यता छ । यो रंगलाई प्रेमको प्रतीक मान्ने गरिएको छ । धार्मिक आस्थाको हिसाबले यसलाई सौभाग्यको प्रतीक मानिन्छ ।

 Image