अब शुरु हुदैंछ आधिकारिक अनलाइन शिक्षा

लक्ष्मी भण्डारी

वैशाख १९, २०७७

चैत्र महिनामा अन्तमा परीक्षा लिएर रोकिएको स्कुल कलेजको पढाइ अझैं ठप्प अवस्थामा छ ।  कोरोना भाइरस संक्रमणका कारण शिक्षा क्षेत्रमा अहिले ब्यापक असर त परेको छ । शिक्षा क्षेत्रमा परेको असरलाई केही न्यूनिकरण गर्न अहिले विभिन्न शिक्षण संस्थाले अनलाइन प्लेटफर्मको सदुपयोग गरी कक्षा सञ्चालन गरिसकेका छन् । बेलायतको एनसिसी एजुकेसनको आइटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तराष्ट्रिय स्तरको अनलाइन कक्षा कसरी सञ्चालन गर्ने भनेर नीजि तथा सरकारी स्कुलका शिक्षकलाई प्रशिक्षण सुरू गरेको छ । 

हिमालयन ह्वाईटहाउस वल्र्ड स्कुलले अनलाइन कक्षाहरू संचालन गरिरहेको संस्थापक युवराज शर्मा बताउँछन् । मुख्यरूपमा कक्षा १ देखि १२ सम्मका सवै कक्षाहरू संचालन गर्न गुगल मिट, माइक्रोसफ्ट टिम जस्ता लर्निङ प्लेटफर्म प्रयोगमा ल्याईएका छन् । 

नेपालमा विदेशी विश्वविद्यालयसंग सम्बन्धन लिएका स्कुल र कलेजहरु अनलाइन कक्षा संचालन शुरु गरेका छन् । वैशाख १० गतेको त्रिभुवन विश्वविद्यालयको निर्णय पछि त्रिभुवन विश्वविद्यालय, केन्द्रिय वातावरण विभागले पहिलो पटक संचालनमा ल्याएको स्नातकोतर तहको ‘इन्भाइरनमेन्टल हेल्थ इन डिजास्टर’ विषयको पाठ्यक्रम अनलाइन प्रविधिमार्फत संचालनमा समेत आइसकेको छ । 

ओरीयन्ट कलेजका प्रिन्सिपल सुशिल दहालका अनुसार यो प्रविधि अनुसार घरमै बसेर बिद्यार्थीले शिक्षा, कक्षाकार्य, गृहकार्य गरिरहेका छन् । विद्यार्थीको उपस्थितीमा पनि कमी छैन् भने शिक्षकहरु नयाँ किसिमको सिकाइ भएको कारण हौसिएका छन् । 

किंग्स कलेजले आफ्नो अन्तरिक तयारी गर्न पेडागोजी, एकेडेमिक, प्राविधिक सहयोग, प्रशिक्षण, संचार, साइकोसोसिअलजस्ता विभिन्न कमिटी गठन गरेको थियो । कमिटीहरुले आ–आफ्नो कार्यक्षेत्रमा सहयोग गर्ने गर्छ । जस्तो कि, एकेडेमिक कमिटीले विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा अभिभावकहरुबीच आवश्यक बैठक, छलफल आयोजना गर्ने र संचार कमिटीले उनीहरुबीच आवश्यक संचार व्यवस्थापन मिलाउने । त्यस्तै पेडागोजी कमिटीले अनलाइनमा प्राध्यापकहरुलाई कक्षा संचालनका लागि आवश्यक पर्ने शैक्षिक परामर्श दिने, प्रशिक्षण कमिटीले प्रविधि संचालन सम्बन्धी प्रशिक्षण दिने तथा प्राविधिक कमिटीले कक्षा संचालन निर्वाधरुपमा गराउन प्राविधिक सहयोग गर्ने ।

अनलाइन कक्षामा विद्यार्थीहरुको कक्षास्तर अनुरुप प्रविधि प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरा निक्र्यौल गर्नु जरुरी रहेको बताउँदै घन्चेन स्कुलका प्रिन्सिपल सुवास लामा भन्छन्, यसकालागी गुगल मिट, गुगल ह्यांगआउट, गुगल क्लासरुम, जुम, र फेसबुकजस्ता सामाजिक संजाललगायत विभिन्न प्रविधि प्रयोग गर्न सकिन्छ ।

तल्लो तहका विद्यार्थीलाई एकतर्फी शिक्षण प्रदान गर्दा गुगल ह्यांगआउट वा नेपालमा नै उत्पादित र संचालनमा रहेको मिडास सफ्टवेरजस्ता प्रणाली प्रयोग गर्न सकिन्छ भने उपल्लो स्तरका विद्यार्थीलाई वेव र इन्टरनेटमा आधारित प्रणाली जुममार्फत कक्षा संचालन गर्न सकिन्छ । दुर्गमस्थानका लागि फेसबुक मेसेन्जर, व्हाट्सएप, इमो, भाइबर, ईस्काइपजस्ता कम ब्याण्डविथमा पनि सजिलै संचालन हुने प्रविधि प्रभावकारी हुन्छ । साधारणतया यी प्रविधिहरु सजिलै प्रयोग गर्न सकिने र विनाशुल्क उपलब्ध हुने हुनाले त्यत्ति बढी आर्थिक भार पनि पर्दैन ।

यहां उल्लेख गरिएका प्रणालीहरुको प्रयोग गर्न कम्प्युटर वा ल्यापटप  र इन्टरनेटको आवस्यकता पर्छ । साथै विद्यार्थीहरुले मोबाइल फोन र फोनको डाटा इन्टरनेटका लागि प्रयोग गर्न सक्छन् । इन्टरनेट ढिलो भएर अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीहरुलाई कक्षाको अडियो वा भिडियो रेकर्ड सुन्ने हेर्ने व्यवस्था मिलाउनु पर्छ ।

यसकालागि युट्युब तथा पोडकास्टजस्ता सेवाहरु प्रयोग गर्न सकिन्छ । साथै विद्यार्थीहरुलाई आवश्यक पर्ने किताबलगायत स्रोतहरु शैक्षिक सूचना प्रणाली वा इमेल मार्फत वितरण गर्न सकिन्छ । यी प्रविधिमार्फत पठनपाठनमा सहभागी हुननसक्ने विद्यार्थीका लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ ।

पिनाकल एकेडेमीका संस्थापक प्रिन्सिपल ऋषि तिवारी भन्छन्, नेपालको सूचना तथा संचार प्रविधि क्षेत्रको छाता संगठन फेडेरेसन अफ कम्प्युटर एसोसिएसन अफ नेपाल र ५० भन्दा बढी जिल्लामा रहेका यसका शाखाहरु र प्याब्सन जस्ता शैक्षिक व्यावसायिक संस्थाहरुको सहयोगमा यो कार्यलाई सफल पार्न सकिन्छ । 

परीक्षा कसरी संचालन गर्ने त ?

भौतिक प्रणालीबाट अनलाइन प्रणालीमा परिवर्तन हुँदा मूल्यांकन प्रणालीमा पनि परिवर्तन हुनुपर्छ ।  जस्तै तल्लो स्तरका कक्षाहरुमा लिखित परीक्षा नलिने तर यी लगायत उपल्लोस्तरका विद्यार्थीको मूल्यांकन समय समयमा विद्यालयका शिक्षक शिक्षिकाले फोन तथा इमेलमार्फत लिने व्यवस्था मिलाउन सकिन्छ । 

विद्यार्थीहरुले आफ्नो परिचय पत्रको आधारमा सार्वजनिक सवारी साधनमा सहुलियत पाएको जस्तै इन्टरनेट सेवा पनि सहुलियत मूल्यमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउन उपयुक्त हुन्छ । विद्यार्थीहरुलाई कम्प्युटर, ल्यापटप, मोबाइल  खरिदमा सहुलियत सुविधा दिने र विक्रीकर्ता तथा डिजिटल साधन वितरकहरुलाई करमा छुट दिने व्यवस्था गर्न उपयुक्त हुन्छ ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>