Successfully Copied

कोरोना कहरमा महिलाको नयाँ वर्ष संकल्प

आन्तरिक ऊर्जा कायम राख्न, चिन्ताबाट मुक्त हुन र अनुहारलाई सधैं सुन्दर राख्न मद्धत गर्ने औषधि नै महिलाको मुस्कान हो । त्यसो त हँसिलो व्यक्ति जसलाई पनि सुन्दर लाग्छ । मुस्कान जस्तो शृङ्गार अरू छँदै छैनन् महिलाको लागि ।

नेपालमा दुइ साता लामो लकडाउन, घरभित्रै बिताईराख्दा कताकता गते र बार पनि बिर्से जस्तो हुँदोरहेछ । हुँदाहुँदा नयाँवर्ष २०७७ ले स्वागत गरिसकेछ हामी घरभित्रै रहँदा । सृष्टिको परिवर्तनशीलता भनौं या विज्ञानलाई चुनौती, प्रकृतिलाई स्वच्छतामा खुल्ने अवसर भनौं या मानिसलाई घरभित्र भुल्ने मौकाको रूपमा कोरोना भाइरसले विश्वमा एउटा तहल्का ल्यायो । चीनबाट शुरू भएर यूरोप, अमेरिका, भारत हुँदै नेपालमा पनि सचेत रहन बाध्य गरायो । धनवान, पदवान, शक्ति र पहुँच भन्दा शक्तिशाली कोरोना भाइरसले सबैलाई घरभित्रै सीमामा बाँध्न सफल भयो ।

कामकाजी महिलालाई आफ्नो घरमा फुर्सदिलो भएर बिताउने समय उपलब्ध गरायो भने, गृहिणीलाई सधैं काममा जाने आफ्ना श्रीमान्लाई घरमै आफूसँगै पाउँदा चाहना पूरा भएको छ । सधैँ विद्यालय जानुपर्ने बालबालिकाहरू छुट्टि कहिले आउला र बिहानभरी सुतौंला, दिनभर आराम गरौंला भन्ने इच्छा अहिले पूरा भएको छ । सधैँ दैनिकीमा व्यस्त श्रीमानलाई आफ्ना परिवार, श्रीमतीसँग घर बसेरै केहि काम गर्ने इच्छा थियो त्यो पूरा भएको छ । बृद्ध आमाबाबुलाई आफ्ना छोराबुहारी, नातिनातिना दिनभर बाहिर हुँदा कहिलेकाहिं त घर बसिदिएपनि हुन्थ्यो नि भन्ने चाहना पूरा भएको छ । व्यापारीलाई घर बाहिरै कुदिरहंदा मेरो त जीवन पनि कस्तो, घर बस्नै नपाउने भन्ने गुनासो पूरा भएको छ । यसो गर्दागर्दै नयाँ वर्ष कसरी मनाउने, नयाँ वर्षलाई कसरी स्वागत गर्ने, विदेश घुम्ने कि स्वदेशकै सुन्दर ठाउँहरू गएर रमाइलो गरौँ भनेर योजना बनाएर बसेका हामीहरूलाई, मानिसले चाहेका र सोचेका सबै कुराहरू पूरा नहुन सक्छन् भनेर चेताएको छ । मानिस सधैँ अनुकूल मात्र चाहन्छ तर कहिलेकाहिं प्रतिकूलता पनि आइलाग्छ त्यसलाई संयमतापूर्वक स्वीकार्नुपर्छ भनेर सिकाएको छ ।

इच्छा र चाहना पुरूषका मात्र होइनन् महिलाका पनि हुन्छन् । महिलाहरूपनि आफ्ना इच्छा र खुसीलाई पूर्णता दिन विभिन्न संकल्प लिने गर्दछन् । अवश्य धेरै महिलाहरूले नयाँ वर्ष २०७७ मा यो गर्छु, त्यो गर्छु, त्यहाँ जान्छु, बिगतका पूरा हुन नसकेका संकल्पहरूलाई पूर्णता दिन्छु जस्ता योजनाहरू बनाएका हुन सक्छन् । बाहिरबाट हेर्दा कोरोनाको कहरले यसमा स्तब्धता ल्याईदिएको जस्तो देखिएपनि गहिराईबाट हेर्दा कुनै प्रतिकूलता आएको छैन । नयाँ वर्षको शुरूवातसँगै नयाँ परिवेश र परिस्थिति सृजना भएकोले यसलाई आन्तरिक खुसी प्राप्त गर्ने संकल्पका रूपमा लिन सकियो भने यो वर्षमा अरू नयाँ सोचका साथ अगाडी बढ्न मद्धत गर्दछ । अब महिलाले लिने संकल्प निम्न प्रकारका भए भने जस्तोसुकै परिस्थितिमा सधैँ खुसी र आनन्दित रहन मद्धत पुग्दछ ।

१. मुस्कानलाई निरन्तरता दिनुस: 

आन्तरिक ऊर्जा कायम राख्न, चिन्ताबाट मुक्त हुन र अनुहारलाई सधैं सुन्दर राख्न मद्धत गर्ने औषधि नै महिलाको मुस्कान हो । त्यसो त हँसिलो व्यक्ति जसलाई पनि सुन्दर लाग्छ । मुस्कान जस्तो शृङ्गार अरू छँदै छैनन् महिलाको लागि । कोहि आफूसँग ठूलो स्वरमा बोलोस् या, गुनासो व्यक्त गरोस्, श्रीमान्ले अपशब्द बोलुन या छोराछोरी आफ्ना इच्छा पूरा भएन भनेर झर्कने फर्कने गरेपनि, सासुससुराको गुनासो होस् या साथीभाईले समय दिन नसकेको भनी लगाएको आरोप होस्, सबैको जवाफ मुस्कुराएर दिन सक्ने संकल्प लिनुहोस् । पहिले मुस्कुराउनुस्, उनीहरूको अनुहारमा प्रेमिल आँखाले हेर्नुस् अनि मात्र केहि कुराहरू प्रष्ट पार्ने इच्छा भयो भने बिस्तारै बोल्नुस् । हामीले प्रष्ट पारेर अरूका गुनासालाई सम्बोधन गर्न सक्छौं भन्ने निश्चित छैन त्यसैले कम बोलेकै राम्रो । धेरै बोलेर ऊर्जा नष्ट गर्नुभन्दा मौन रहेर मुस्कुराउनु जत्तिको उत्तम उपाय अरू छैन । हरेक काम शुरु गर्नुपूर्व मुस्कुराउनुस् । खाना बनाउँदा, कोठा सफा गर्दा होस् या जे पनि काम गर्दा मुस्कुराउँदै गर्नुस् । मुस्कान नै तपाईंको ध्यान बनोस् । सम्झेर, होशपूर्वक मुस्कुराउने प्रयास गर्नेछु भन्ने संकल्प लिनुहोस्, यो जत्तिको आफूलाई खुसी राख्ने सरल उपाय अरू छैन ।

२. ऐना अगाडि १५ मिनेट बिताउनुस्: 

घर, भान्छाको काम, कार्यालयको काम, बालबच्चा या बृद्धहरूको रेखदेख जे पनि जिम्मेवारीहरू छन् पूरा गरिसकेपछि आफ्नो कोठा बन्द गरेर ऐना अगाडी बस्नुस् । ऐनामा आफ्नो अनुहार हेरेर मुस्कुराउनुस् । सृष्टिले कति मिहिनेत गरेर मलाई बनायो होला, मेरो सुन्दर आँखा, अनुहार, शरीर आहा भाव व्यक्त गर्नुस् । शरीरका अंगहरूलाई स्पर्श गर्नुस्, मायाँ गर्नुस् । अरूबाट पाउने माया क्षणिक हुनसक्छ त्यसैले आफैंले आफैंलाई माया गर्नुस् । आफ्ना भित्रका अव्यक्त भावनाहरूलाई ऐना अगाडि आफैंसँग व्यक्त गर्नुस् । आफ्ना पूरा भएका इच्छा र चाहनाप्रति सबैलाई धन्यवाद व्यक्त गर्नुस् । जुन इच्छा अरूलाई भन्न सक्नुभएन, अधुरा छन्, अहिले आफैलाई भन्नुस् । ति इच्छा सकारात्मक छन् भने पूरा हुने भरोसा राख्नुस् । कसैलाई प्रेम गर्नुहुन्थ्यो, भन्न सक्नुभएको थिएन, अहिले आफैंसँग त्यो भावना व्यक्त गर्नुस् । आफैंसँग भलाकुसारी गर्नुस् र मनलाई खाली हुन दिनुस् । प्रत्येक दिन यो १५ मिनेट आफ्नो लागि समय दिनुस् र आफ्नो निजतामा बााच्नुस् । सबैबाट एक्लो भएर आफ्नै प्रेममा डुब्नुस् । आफ्नो निजतामा बाँच्ने उपयुक्त उपायलाई निरन्तरता दिन्छु भन्ने संकल्प लिनुस् । जीवनका जस्तासुकै परिस्थितिमा यसले आन्तरिक ऊर्जा प्रदान गर्दछ ।

३.खुसीको संग्रह गर्नुस्: 

जसरी बैंकमा रुपियाँ पैसा संग्रह/ डिपोजिट गर्दा एउटा भरोसा मिल्छ, आपतकालीन अवस्थामा काम चलाउंछु भन्ने दृढ आशा बन्छ त्यसैगरी, खुसी बढाउँदै, संग्रह गर्दै जाँदा असहज परिस्थितिमा पनि आफूभित्र संग्रहित खुसीले भरोसा दिन्छ । सानातिना कुराबाट पनि खुसी लिने र खुसी दिने प्रयास गर्नुस् । दु:खी हुँदा आफ्नो आन्तरिक ऊर्जा पनि खर्च हुन्छ भने खुसी व्यक्त गर्दा अनुहारमा प्रसन्नता र भित्र ऊर्जा प्रवाहित हुन्छ । जीवनमा हुन सक्ने र हुन मिल्ने कुरा मात्र हुन्छन् त्यसबाट दु:खी बनेर पनि समाधान निस्किने होइनन् । खुसी रहने प्रयत्न गर्दा आफैंमा आत्मविश्वास र संवेदनाको विकास हुनुका साथै सृजनशीलता प्रष्फुटन भएर आउँछ । जीवनमा जति कुराले दु:ख पुर्याएको जस्तो लाग्छ, गहिरिएर हेर्दा त्यो भन्दा सयौं गुणा बढी खुसी मिल्ने कुराहरू प्राप्त भएका हुन्छन् । जसलाई सम्झिँदा खुसी मिल्छ, जुन काम गर्दा खुसी मिल्छ, जहाँ जाँदा खुसी मिल्छ, जुन गीत सुन्दा खुसी लाग्छ त्यो गर्नुस् । खुसी कसैले बाहिरबाट दिन सक्दैनन्, अरूले खुसी दिएको छ भन्ने भावना छ भने त्यो भ्रम मात्र हो । नयाँवर्ष मनाउनु या घुम्न जानु, जे पनि कर्म गर्न मन लाग्छ अन्तत: खुसी प्राप्त होस् भनेर नै हो । तर, खुसी यि कर्ममा होइन आफैभित्र छ त्यसलाई पहिचान र उजागर गर्न खुसी मिल्ने र प्रेरणा मिल्ने काम गर्नुपर्छ । आफूभित्र खुसी बढ्दै जाँदा शरीरमा रहेको सेरोटोनिन नामक हर्मोनले पनि सक्रियरुपमा काम गर्न थाल्दछ र मानसिक एवम् भावनात्मकरूपमा खुसी रहन मद्धत पुर्याउँछ ।

४.योग, ध्यानलाई निरन्तरता दिनुस्: 

शारीरिक एवम् मानसिक रूपमा स्वस्थ र मस्त रहने विभिन्न उपाय मध्ये योग र ध्यानको अभ्यास महत्वपूर्ण छ । महिलालाई घर, बच्चाबच्ची, नोकरी धेरैतिरको जिम्मेवारी हुनेहुँदा मानसिक र शारीरिक स्वास्थ्यलाई सन्तुलनमा राख्नु आवश्यक हुन्छ । योगको अभ्यासले शारीरिक व्यायाम र स्फूर्ति मात्र मिल्ने होइन यसको निरन्तर प्रयासले हरेक कर्मलाई योगको रुपमा, जोडको रूपमा हेर्ने कला प्रदान गर्दछ । ध्यानले मनलाई एकाग्रतामा लैजान मद्धत गर्दछ । स्वयम्को आत्मस्मरणमा रहने, आफ्नो बोधमा बाँच्ने र सृजनशील एवम् आनन्दित भएर बाँच्ने कला प्रदान गर्दछ । ध्यान र योगले शरीरको वजनलाई सन्तुलनमा राख्छ, जीवनशैलीलाई सकारात्मक बनाउँछ र आत्मिक पूर्णता मिल्छ । अनुकूलता र प्रतिकूलता जहिले पनि यो स्वभावलाई कायम राख्न सकेमा महिलाहरूलाई जीवन बिताउन असहजता उत्पन्न हुँदैन । त्यसैले, हामी सबै महिलाले यो नयाँवर्ष २०७७ मा यि कुराहरूलाई आधार मानेर संकल्प लिई शान्ति, आनन्द र प्रेमिल जीवन बिताउने र अरूलाई पनि प्रेरित गर्ने संकल्प लिने कि ? 

(लेखक, ध्यान, योग प्रशिक्षक एवं स्वतन्त्र सामाजिक परामर्शदाता हुनुहुन्छ ) 

 

 Image