Successfully Copied

बार टेन्डरमा महिला

मदिरापान हिजोआज स्वाभाविक र सामाजिक हुन थालेको छ । फलत:मदिरा पानका लागि रात्रिकालीन बार र रेस्टुराँ सञ्चालनमा वृद्धि हुँदैछ । यस्ताबारमा पछिल्लो समय महिलाहरूको आकर्षण पनि बढ्दैछ । महिलाहरू नै बार टेन्डरका रूपमा स्थापित हुन थालेका छन् ।

मदिरापान हिजोआज स्वाभाविक र सामाजिक हुन थालेको छ । फलत:मदिरा पानका लागि रात्रिकालीन बार र रेस्टुराँ सञ्चालनमा वृद्धि हुँदैछ । यस्ताबारमा पछिल्लो समय महिलाहरूको आकर्षण पनि बढ्दैछ । महिलाहरू नै बार टेन्डरका रूपमा स्थापित हुन थालेका छन् ।

७ वर्षअघि रिया स्वाँरले विदेश जानका लागि बार र बरिस्ता तालिम लिइन् । तालिम लिनुको उद्देश्य थियो, विदेशमा सहज रूपले काम पाउनु । तर उनको विदेश जाने रहर भने पूरा भएन । अब के गर्ने? उनले तालिमको प्रयोग गर्नेबारे सोचिन् । 

बरिस्ता भन्दा नयाँ अनुभव बटुल्न उनी बारमा आकर्षित थिइन् । उनले मध्यबानेश्वरस्थित ककटेल एन्ड ड्रिम्स स्कुलमा तीन महिना तालिम लिएकी थिइन् । त्यही सीप प्रयोग गरेर बार टेन्डरका रूपमा धेरै ठाउँमा काम गरिन् । जसबाटछोटो समयमा राम्रो आम्दानी समेत गरिन् । लामो समय बार टेन्डरको अनुभव लिएपछि आफैंले रेस्टुराँ सञ्चालनसमेत गरेकी छन् । बार र रेस्टुराँले राम्रो आम्दानी दिनुका साथै आफैं केही गर्न प्रेरणा मिलेको बताउँछिन् । 

बौद्धकी प्रमिला ढकालले चाहिँ रहरै–रहरमा बार टेन्डर तालिम लिइन् । व्यवस्थापन अध्ययन गरेकी उनले बार टेन्डरमा राम्रो अवसर पनि देखेकी थिइन् । तालिम लिएपछि उनलाई बेरोजगार बस्नु परेन । तत्काले बौद्धस्थित ग्रिन बुटिक रेस्टुराँमा बार टेन्डर भइन् र सुरुवातमै १५ हजार मासिक कमाउन थालिन् । उनले रेस्टुराँमा ककटेल–मकटेल बनाउनेदेखि इभेन्ट मेनेजमेन्टसम्मका काम गरिन् । 

उनको काम देखेर प्रतिमाकी बहिनी प्रमिला पनि बार टेन्डर बनिन् । तालिमपछि उनले सिटिसी मलमा काम गर्न थालिन् । यस क्षेत्रमा आम्दानी भने रेस्टुराँ र बारअनुसार हुने उनी बताउँछिन् । उनका अनुसारबार टेन्डरमा महिलाहरूको आम्दानी मासिक १५ हजारदेखि ४० हजारसम्म हुन्छ । 

सन् २०११ देखि बार टेन्डरमा महिलाहरूको संख्या बढ्दै गएको बताउँछन् ककटेल एन्ड ड्र्रिम्स स्कुलका सञ्चालक रामकुमार डिसी । सिटिइभिटीबाट मान्यता प्राप्त उनको स्कुलमा तालिमका क्रममा करिब ६० प्रतिशत महिला सहभागी हुने गरेका छन् । उनका अनुसार स्कुलले ७ वर्षको अवधिमा करिब ७ हजार बार टेन्डर उत्पादन गरेको छ । तालिम लिएका हरेक बार टेन्डरले स्वदेशदेखि विदेशसम्म रोजगार पाउने गरेको उनी बताउँछन् । स्कुलमा बरिस्ता र बार टेन्डरको तालिम दिइन्छ । बरिस्ताभन्दा बार टेन्डरको तालिमप्रति विद्यार्थीहरू आकर्षित भएको उनी बताउँछन् । उनी भन्छन्–‘बार टेन्डरमा सहज रूपले रोजगार पाइने सम्भावना भएको हुनाले पनि यसको आकर्षण छ ।’

भाषा ओझा ककटेल स्कुलमा काम गर्छिन् । उनी भन्छिन्, ‘बार टेन्डर बन्छु भन्दा घरबाट सहयोग पाउने र समाजले पनि सकारात्मक रूपले हेर्ने वातावरण बन्दैछ । तालिमपछि सहज रूपमा रोजगार पाइने भएकाले पनि सकारात्मक सोचको विकास भएको छ ।’

कसरी बन्ने बार टेन्डर ?

बार टेन्डर सहजै बन्न सकिन्छ । तोकिएका तालिम केन्द्रमा सहभागी भएर यसको तालिम लिन सकिन्छ । तालिम विभिन्न प्रकारका हुन्छन् । तीन महिना र छ महिनाको तालिम बढी प्रचलित छ । तालिमका क्रममा विद्यार्थीहरूलाई विभिन्न प्रकारका पेय बनाउन सिकाइन्छ । व्यावहारिक ज्ञानका लागि बार तथा रेस्टुराँहरूमा इन्टर्नसीपसमेत गराइन्छ । बार टेन्डर तालिममा करिब ६० प्रकारका ककटेलको ज्ञान दिइन्छ । जसको शुल्क ३० हजारदेखि ४० हजारसम्म लिइएको पाइन्छ । निश्चित समयको तालिमपछि रोजगार पनि केन्द्रहरूले नै उपलब्ध गराउँछन् ।

 Image