महिलालाई  रगतको कमी 

डा.अरुणा उप्रेती

पुस १७, २०७६

कतिपय खानेकुराको विज्ञापनमा घरमा भएका खानेकुराले शिशु र गर्भवती महिलालाई पोषण पुग्दैन । त्यसैले बाहिरको खानेकुरा किनेर क्याल्सियम र आइरनको पोषण पुर्‍याउनुपर्छ भनेर उल्लेख गरिन्छ ।

आजभन्दा ३२ वर्षअघि म प्रसूति गृहमा मेडिकल अफिसमा काम गर्न एक रात इमरजेन्सीमा थिएँ । बिहान ६ बजेतिर वीरगन्जबाट एक महिला प्रसूति गृहमा आइन् । उनलाई सुत्केरी व्यथा लागेको थियो, उनी पहेंली देखिन्थिन् । 

उनको रगतको कमी कति रहेछ भनेर जाँच गर्न रगत लिइयो । बेस्सरी पेट दुखेपछि उनले इमरजेन्सी कक्षमै शिशु जन्माइन् । शिशु सानो भए पनि ठूलो स्वरले रोयो । उनको रक्तअल्पताको स्तर थाहा पाएपछि त्यहाँ भएका हामी सबै स्वास्थ्यकर्मी अचम्मित भयौं । वास्तवमा विज्ञानको नियमअनुसार त उनी मरिसक्नुपर्ने थियो । एक स्वस्थ व्यक्तिको हेमोग्लोबिन १२ देखि १५ हुनुपर्नेमा उनको हेमेग्लोबिन २ मात्र थियो । उनी त बाँचेकी मात्र होइन, सानो भए पनि स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् ।

कसरी यस्तो हुन सक्छ भनेर मैले सिनियर स्त्री रोग विशेषज्ञ डा. हीरा डंगोलसँग जिज्ञासा राखें । उहाँले भन्नुभएको थियो–उनको शरीरमा रगतको काम बिस्तारै कम हुँदै गयो, शरीरले आफै सन्तुलन मिलायो तर सुत्केरी हुँदा धेरै रगत बगेको भए उनलाई बचाउन कठिन हुन्थ्यो । प्रकृतिमा कहिलेकाहीँ अचम्म पनि हुन्छ । ती महिलालाई छ दिनसम्म अस्पतालमा राखेर रगत चढाई हेमोग्लोबिन ८ पुगेपछि घर फिर्ता पठाइयो । उनी यस्तो कमजोर अवस्थामा किन पुगिन् भने उनको परिवारले उनको खानपिनको व्यवस्थामा वास्ता गरेन । यद्यपि उनले छोरा पाउँदा सबै खुसी थिए । ती महिलाले छोरी पाएकी भए घरका मानिसले वास्ता नै नगरी उनलाई हामी रगत पनि दिन सक्दैनौं भन्थे कि ?

कतिपय ग्रामीण समुदायमा महिलाको स्वास्थ्यको कुनै वास्ता गरिँदैन । वंशको रक्षा गर्ने हुनाले महिलाले छोरा जन्माइन् भने मात्र उनको वास्ता गर्ने चलन छ । त्यसैले धेरै महिला रक्तअल्पताको सिकार हुन्छन् । कुनै पनि महिला रक्तअल्पताको सिकार हुनुको अर्थ उनको शरीरमा लौह तत्वको कमी मात्र होइन, उनलाई प्रोटिनको पनि कमी हुनसक्छ । उनलाई भिटामिन, क्याल्सियम र अन्य पोषक तत्वको पनि कमी हुन्छ, किनभने उनले घरमा भएको स्वस्थकर खानेकुरा पनि पेटभरि खान पाउँदिनन् । उनको मनको चिन्ता र वेदनाले गर्दा खाएको कुरा राम्रोसँग आन्द्रामा शोषण हुन पाउँदैन । किनभने पोषण भनेको भोजन मात्र दिएर हुँदैन । पोषणबाट शोषण हुने प्रक्रिया पनि महत्वपूर्ण हुन्छ ।

साना शिशुलाई आमाको दूधबाट नै लौह तत्व प्राप्त हुन्छ । यसका लागि आमाले पनि प्रोटिनयुक्त तथा लौह तत्व पर्याप्त मात्रामा पुगेको खाना खान पाउनुपर्छ । शिशुले खाने लिटोलाई फलामको भाँडामा पकाउँदा पनि शरीरले लौह तत्व प्राप्त गर्न सकिन्छ । दूध उत्तम भोजन हो, तर यसमा लौह तत्व हुँदैन । त्यसैले गाई, भैंसी वा डेरीको दूध फलामको भाँडामा तताएर शिशुलाई दिँदा त्यसबाट केही लौह तत्व प्राप्त हुन्छ । शिशुलाई राम्रोसँग लौह तत्वसँगै अन्य पौष्टिक तत्व प्राप्त होस् भनेर विभिन्न किसिमका फलफूल, जो सहज–सरल रूपमा प्राप्त हुनुका साथै सस्ता पनि हुन्छन्, (आरु, आरुबखडा, अम्बा, अमला, नासपाती आदि) प्रयोग गर्नु उपयुक्त हुन्छ । महँगा स्याउ नै किन्नु पर्दैन, न महँगा बट्टाका खाना नै दिनुपर्छ ।

कतिपय खानेकुराको विज्ञापनमा घरमा भएका खानेकुराले शिशु र गर्भवती महिलालाई पोषण पुग्दैन । त्यसैले बाहिरको खानेकुरा किनेर क्याल्सियम र आइरनको पोषण पुर्‍याउनुपर्छ भनेर उल्लेख गरिन्छ । यस्ता गलत विज्ञापनले मानिसहरूमा भ्रम उत्पन्न गराउँछन् । किनभने स्वास्थ्यकर्मीहरूले पनि यस्ता विज्ञापन गलत हुन् भन्दैनन् । यस्ता प्याकेटका खानेकुरा किन्दा पैसाको दुरुपयोग हुन्छ । यस्ता गलत विज्ञापनको पछि नलागी घरकै खानाबाट सस्तो तरिकाले प्रोटिन प्राप्त गर्न सकिन्छ । 

बकुल्ला, सिमी, बोडी आदि खानेकुरामा प्रोटिनका साथै पर्याप्त क्याल्सियम, आइरन आदि पाइन्छ र ती खानेकुराको मूल्य हेर्दा बजारका प्याकेटका खानेकुरामा भन्दा वा विदेशी संस्थाहरूले दिने खानेकुराहरूभन्दा धेरै कम पर्छ र बढी पोषण पनि पाइन्छ ।

शिशुको उमेर एक–दुई वर्ष भएपछि विभिन्न प्रकारका साग एवं गेडागुडी खान दिन सकिन्छ । खानेकुरामा रहेको लौह तत्वलाई शरीरमा शोषण गराउन सजिलो छ । दाल, भात, तरकारी, कागतीको रस वा गोलभेंडाको अचारसँग खाइयो भने त्यसमा पाइने भिटामिन सीले लौह तत्वलाई शोषण गर्न धेरै मद्दत गर्छ । लट्टेको सागमा भिटामिन ए र आइरन दुवै हुन्छ । भटमासमा फोलिक एसिड, आइरन तथा प्रोटिन पर्याप्त मात्रामा हुन्छ । 

गेडागुडीलाई उमारेर पकाउँदा त्यसको पौष्टिक तत्व अझ वृद्धि हुन्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हाल्दा भिटामिन सीले गेडागुडीमा भएको लौह तत्वको शोषण राम्रोसँग गर्छ । त्यसैले पहिले–पहिले दाल–भातसँग अमिलो मोही खाने चलन थियो ।

स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाको रक्तअल्पता आइरन चक्कीबाटै कम हुन्छ भनेर जताततै आइरन चक्की बाँड्छ । कतिपय महिलालाई त्यसले वाकवाकी लाग्छ अनि उनीहरू खान छोड्छन् । अहिले त कतिपय प्रदेशमा किशोरीहरूलाई समेत आइरन तथा फोलिक एसिड बाँड्ने कार्यक्रम चलाउने कुरा सुनिँदैछ । मानव पोषणलाई टुक्रा–टुक्रामा विचार गरेर, टुक्रे–टुक्रे कार्यक्रम गरेर महिला तथा किशोरीहरूको स्वास्थ्य राम्रो हुने वा रक्तअल्पता कम हुने होइन । किनभने रगतको कमी भनेको महिलाको शरीरमा प्रोटिनको कमी हुनु हो । प्रकृतिले जुन–जुन वस्तुमा पर्याप्त प्रोटिन हुन्छ, त्यसमा लौह तत्व पनि समावेश गरेको छ । त्यसमाथि पनि हाम्रा धेरै प्राकृतिक एवं धार्मिक चाडपर्व यस्ता छन् जसले घुमाउरो पारामा हामीलाई स्वस्थकर खाना खान प्रेरित गर्छन् । 

हामीले हाम्रा चाडपर्व र यससँग जोडिएका खानेकुराको महत्व बिर्सदैं गएका छौं । हामी स्वास्थ्यमा नराम्रो असर परेपछि सबै कुरा चक्कीबाटै व्यवस्थित हुन्छ भन्ने मान्छौं । स्वास्थ्य मन्त्रालयले ठूलो धनराशि खर्च गरेर आइरन चक्की र फोलिक एसिड किन्छ तर त्यसले महिलाको रक्तअल्पता घटाउन सकेको छैन । सन् २००६ मा ३६ प्रतिशत गर्भवती महिलामा रक्तअल्पता थियो ।

सन् २०१६ को सरकारी तथ्यांकअनुसार त्यो ४१ प्रतिशत पुगेको थियो । यति धेरै फोलिक एसिड, आइरन चक्की बाँड्दा पनि रक्तअल्पता कम भएन । अब हामी नेपाली गर्भवती महिलाको शरीरमा भिटामिन बी १२ को कमी भएर रक्तअल्पता भएको हो कि भनेर अध्ययन गर्दैछौं । त्यसपछि उनीहरूलाई भिटामिन बी बाँड्ने कार्यक्रम आउनेछ । 

नेपालमा सायदै प्रसूति गृह तथा मेडिकल कलेजहरूले बालबालिका, किशोरी तथा गर्भवती महिलाको पोषणका लागि घरमा के–कस्ता खानेकुराले गर्भवती र भ्रूणलाई स्वस्थ राख्छ भन्ने परामर्श दिन्छन् । यहाँ सीधै भिटामिनको गोली, क्याल्सियम चक्की, फोलिक एसिड, आइरन चक्की आदि खानुपर्छ भनेर सिफारिस गरिन्छ । अब यसमा भिटामिन बी पनि थपिने भयो । कहिले मन्त्रालयले पोषणलाई सम्पूर्णतामा हेर्ने होला ? रक्तअल्पता एउटा सामाजिक समस्या हो र यो आइरन चक्की बाँडेर मात्र समाधान हुँदैन् भन्ने कुरा हाम्रो मन्त्रालयले कहिले बुझ्ने होला ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×