Successfully Copied

युवादेखि वृद्धसम्म  गर्छन् योग 

टिभीमा बाबा रामदेवले योग गरेको देखेकी देवीनगर रंगशालाकी अप्सरा भुसाल अहिले आफै योग गर्न जान्ने भएकी छिन् । लामो दाह्री पालेका, रातो वस्त्र लगाएका बाबा रामदेवले सिकाएको कपालभातीसहितको योग शिक्षा अहिले विद्यालयमा योग प्रशिक्षकबाट सिक्न पाउँदा भुसाल खुसी देखिन्छिन् ।

टिभीमा बाबा रामदेवले योग गरेको देखेकी देवीनगर रंगशालाकी अप्सरा भुसाल अहिले आफै योग गर्न जान्ने भएकी छिन् । लामो दाह्री पालेका, रातो वस्त्र लगाएका बाबा रामदेवले सिकाएको कपालभातीसहितको योग शिक्षा अहिले विद्यालयमा योग प्रशिक्षकबाट सिक्न पाउँदा भुसाल खुसी देखिन्छिन् । टिभीमा देख्दा र आफै गर्दा धेरै फरक अनुभव भएको उनले बताइन् । ‘लामो–लामो सास फेर्दा तथा शरीरका विभिन्न अंगलाई रबरझैं बङ्गाएको देख्दा अचम्म लाग्थ्यो,’ उनले बताइन् । नवीन औद्योगिक माविमा कक्षा–८ मा अध्ययनरत अप्सरा योग गर्दा धेरै फाइदा भएको बताउँछिन् । बिहान योगमा हुने शारीरिक कसरतले शरीरमा फुर्ती प्राप्त भएको उनको अनुभव छ । व्यायामबाट शारीरिक मात्र होइन मानसिक फाइदासमेत हुन्छ । बिहान पढ्ने समय व्यवस्थापन गरेर दैनिक एक घन्टा योग गर्ने भुसालले बताइन् । 

देवीनगरका सुजल सुनार पनि विद्यालयमा भैरहेको योग कक्षामा गुरुले सिकाएका सबै कुरा मन लगाएर सिक्दैछन् । ‘विद्यालयमा साथीहरूसँग बिहान योग सिक्दा धेरै मज्जा आइरहेको छ,’ उनले भने । अहिले सिकेको योगको अभ्यास अब घरमा नियमित रूपमा गर्ने सुनारले बताए । योगले अध्ययनमा एकाग्रता ल्याउन र स्मरण शक्ति बढाउन सहयोग मिल्ने भएकाले आफू यसतर्फ आकर्षित भएको सुजलको तर्क छ । शरीर फिट हुनुका साथै बुद्धि पनि बढ्ने कुरा योग प्रशिक्षकबाट ज्ञान पाएको उनले बताए । ढिलासम्म सुत्ने सुनारको दैनिकीमा अहिले ठूलो परिवर्तन आइसकेको छ । ममीले पनि योग गर्ने हुँदा आफू सबेरै उठेर पढाइअघि योग गर्ने सुनार बताउँछन् । 

पतञ्जली योग समिति, नेपाल प्रदेश नम्बर–५ का सदस्य तथा योग प्रशिक्षक विष्णुहरि आचार्यले बालबालिकाहरूलाई नियमित योग अभ्यासबाट शारीरिक एवं मानसिक रूपमा फाइदा हुने बताए । ‘एकातर्फ शरीर फुर्तिलो हुन्छ भने अर्कातर्फ उनीहरूमा एकाग्रता आउँछ,’ आचार्यले भने । नियमित योगबाट बालबालिकाहरूमा स्मरण शक्तिसमेत बढ्ने उनको तर्क छ । धेरै अभिभावक आफ्ना छोराछोरी पढाइमा कमजोर भएको गुनासो गर्छन् तर यो समस्या प्राकृतिक विधिबाटै समाधान हुन्छ–आचार्य भन्छन् ।

बालबालिकाहरूको शारीरिक वृद्धिको समयमा योग अभ्यास गरिँदा उनीहरूको उचाइ बढ्ने र शरीर फिट रहने उनको दाबी छ । बालबालिका मात्र होइन सबै उमेरमा योग आवश्यक भएको आचार्य बताउँछन् । ८० प्रतिशत मानसिक एवं शारीरिक रोगको व्यवस्थापनमा योग प्रभावकारी हुने उनको तर्क छ । आचार्य आहार–विहार तथा व्यायामको सन्तुलन मिलाउन सके शरीरमा लाग्न सक्ने सबैजसो रोगबाट जोगिन सकिने दाबी गर्छन् । 

बालबालिकाहरूलाई सूर्य नमस्कार, ताडासन तथा ध्यानले धेरै फाइदा हुने उनले बताए । यसैगरी आफूले युवा र उमेर पुगेकाहरूले भने मन्त्र योग, लय योग, राज योग, हठ योगका साथै पतञ्जली योगपीठले उत्पादन गरेका प्राणायम, प्रत्याहार, ध्यान, धारणा, समाधिका आसनहरू सिकाउँदै आएको आचार्य बताउँछन् । विश्वभर थाइराइड, दम, मधुमेह, रक्तचाप आदि नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या बढ्दै गएको जानकारी दिँदै आचार्यले त्यसबाट जोगिन नियमित योग रामवाण भएको दाबी गर्छन् ।

बालबालिकामा यस विषयमा सचेतना जगाउन जरुरी भएको उनले बताए । शरीरको पीडा, मानसिक समस्या, चञ्चलता व्यवस्थापन गर्न, एकाग्रता ल्याउन तथा उचाइ बढाउन योगासन उपयोगी हुने आचार्यको तर्क छ । एउटा योग संस्थाले गरेको अध्ययनअनुसार विश्वमा अहिले २० करोड मानिसले नियमित योग गर्दै आएका छन् । 

 Image