बवन्डर विषादीको

लक्ष्मी भण्डारी थापा

कार्तिक २६, २०७६ गुन्डुका ८ वर्षीय आशुतोष बेमौसमको आँप खाँदा झाडापखालाले ग्रस्त भए । आँप खाएको केही घन्टामै उनलाई तारन्तार बान्ता हुन थाल्यो । दौडाउँदै अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई फुड प्वाइजन भएको बताए ।

हेर्दा रातो–राम्रो लिची देखेर कलंकीकी रिद्धिले मन थाम्न सकिनन् । १ किलो लिची किनेर घर लगेकी रिद्धिले दुई–चार वटा लिची के खाएकी थिइन्, उनलाई असजिलो लाग्न थाल्यो । केही घन्टापछि उनलाई वाकवाकी लागेजस्तो हुँदै रिंगटा चल्न सुरु भयो । क्रमश: टाउको दुख्ने, ज्वरो आउने हुन थालेपछि अस्पताल भर्ना हुनुपर्ने स्थिति आयो ।

भर्खरै टिपेजस्तो देखिने झरझराउँदो गोलभेंडा र काउली देखेपछि महाराजगञ्जकी शैलुले परिवार खुसी हुने भए भन्दै ठूलो मात्रामा उठाइन् । उक्त गोलभेंडा खाएलगत्तै परिवारका सबै बिरामी परे ।

अहिले नेपाली बारी र बजारमा छ्यापछ्याप्ती विषादी पाइन्छ । बौद्धकी ६५ वर्षीया कमलादेवी भन्छिन्–‘बजारमा खाद्य सामग्री होइन विष बेच्न राखिन्छ । त्यसैले मैले त छतमा गमला राखेर खुर्सानी र गोलभेंडा फलाएकी छु ।’ विषादीको त्रासले अहिले सहरबासी मात्र होइन गाउँमै बस्ने मानिसहरू समेत त्रसित छन् । मुख्यत: यसले बालबालिका तथा महिलामा बढी असर गरिरहेको तथ्य सार्वजनिक भएको छ । तरकारी रोप्ने, फलाउने, विषादी छर्कने र पकाउनेसम्म प्राय: सबै महिला नै हुन्छन् । विशेषत: उनीहरू आफ्ना बालबालिकालाई बढीभन्दा बढी तरकारी ख्वाउन चाहन्छन् । फलफूल, तरकारी वा अन्य खाद्यपदार्थ नै किन नहुन् आमाहरू आफ्ना बालबालिकाले धेरै खाइदिए हुन्थ्यो भन्ने मनसाय राख्छन् । हाल देखिएको खाद्यान्नमा विषादी एवं मिसावटबाट बढी प्रभावित हुने समूह पनि यही पाइन्छ । 

सन् २०१२ मा रामपुर कृषि क्याम्पसका कृषि वैज्ञानिकहरू डिआर शर्मा, आरबी थापा, एचके मानन्धर, एसएम श्रेष्ठ तथा एसबी प्रधानको टोलीले गरेको शोधमा विषादीका प्रकार र यसमा अपनाउनुपर्ने सावधानीका बारेका नेपालका कृषकहरू अनभिज्ञ रहेको तथ्य अगाडि आएको थियो । एक अध्ययनले नेपालमा बर्सेनि २ सय ११ टन (२१ दशमलव १९ प्रतिशत इन्सेक्टिसाइड, ६१ दशमलव ३८ प्रतिशत फंगिसाइड, ७ दशमलव ४३ प्रतिशत हर्बिसाइड तथा २ दशमलव अन्य गरी) विषादी भित्रिने कुरा देखाएको थियो । त्यसमा प्रतिवर्षको कुल बिक्री लगभग ३२ करोड रूपैयाँ बराबर भएको अनुमान गरिन्छ । त्यसमा अन्य दक्षिण एसियाली मुलुकको तुलनामा नेपालमा कम विषादी प्रयोग हुने कुरा उल्लेख थियो । यो आधा दशकको अन्तरालमा नेपालमा विषादीको प्रयोग एवं उपभोगको आँकडा आकासिएको छ । विशेषगरी कृषि उत्पादन तथा अन्य कमर्सियल क्षेत्रमा यसको प्रभाव बढी देखिन्छ । कृषकहरू यसबाट बढी नै प्रभावित भएको उक्त अध्ययनले उतिबेलै देखाएको थियो । सरकारद्वारा निषेधित कतिपय केमिकल विषादीका रूपमा प्रयोग भैरहेका छन् । केमिकल प्रदूषणले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने कुरा कयौं शोध–अनुसन्धानले देखाइरहेकै छन् । 

नेपालका विभिन्न स्थानमा खपत हुने विषादीमध्ये ९२ प्रतिशत तरकारीमा मात्र प्रयोग हुने गरेको तथ्य हालसालै सार्वजनिक भएको छ । त्यसले उपभोक्ताको स्वास्थ्य कतिसम्म जोखिममा छ भन्ने कुरा देखाउँछ । नेपालमा खपत हुने विषादीमध्ये ८ प्रतिशत मात्र खाद्यान्न बालीमा उपयोग हुन्छ । बाँकी ९२ प्रतिशत गोलभेंडा, काउली, भान्टा, खरबुजा आदि दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने कृषि विकास मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालयले जनाएको छ । विभागका अनुसार तरकारीमा प्रयोग हुने विषादीमध्ये पनि सबैभन्दा बढी लगभग ९० प्रतिशत काठमाडौं उपत्यका नजिकको काभ्रेपलान्चोकमा खपत हुन्छ । त्यसपछि धादिङ, सर्लाही, बारा आदि जिल्लामा बढी विषादी प्रयोग हुन्छ । अत्यधिक विषादी प्रयोग भएको हरियो तरकारीले अल्पकालीन तथा दीर्घकालीन रोग निम्त्याउन सक्ने निर्देशनालयका निर्देशक डिल्लीराम शर्मा बताउँछन् । विषादीको प्रयोग बढ्नु र त्यसमा पनि अधिकांश तरकारीमा मात्र प्रयोग हुनुले नेपाली उपभोक्ताको स्वास्थ्य कतिसम्म जोखिममा छ भन्ने कुरा प्रस्ट हुन्छ,’ शर्मा भन्छन् । नेपालमा वार्षिक करिब साढे ३ सय मेट्रिक टन विषादी खपत हुने निर्देशनालयको तथ्यांक छ । यसमध्ये अधिकांश विषादी बाहिरी मुलुकबाट आयात हुन्छ । 

सरकारले बिक्री–वितरणमा रोक लगाएका क्लोरडाइन, डीडीटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिन्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, मोनोक्रोटोफस, इन्डोसल्फेन आदि विषादीसमेत अवैध रूपमा प्रयोग हुने विभिन्न अध्ययनले देखाएका छन् । रोगका कीरा, मुसा तथा चराचुरुंगीबाट बालीलाई जोगाउन विषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन उत्पादन वृद्धिका लागि हानिकारक विषादीसमेत प्रयोग गर्दै आएका छन् । 

कृषि विकास मन्त्रालयले विषादीको प्रयोग घटाउन विभिन्न कार्यक्रम संचालन गर्दै आए पनि परिणाम उपलब्धिमूलक देखिएको छैन । बर्सेनि १० देखि २० प्रतिशतका दरले विषादीको प्रयोग बढ्दै गएको सरकारी तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि ३० लाखभन्दा बढी मानिस विषादीका कारण प्रभावित हुन्छन्, जसमध्ये २ लाख २० हजारको मृत्यु हुन्छ । नेपाल दक्षिण एसियामा सबैभन्दा कम विषादी प्रयोग गर्ने राष्ट्रका रूपमा परिचित छ । यहाँ प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भैरहेको छ । नेपालमा औपचारिक माध्यमबाट मात्र वार्षिक साढे ४ सय टन अर्थात् ५५ करोड रुपैंयाँको विषादी आयात हुन्छ । अनौपचारिक तवरमा पनि त्यति नै विषादी भित्रिने अनुमान छ । 

छिमेकी देश भारतमा प्रतिहेक्टर छ सय ग्राम र चीनमा प्रतिहेक्टर दुई किलोभन्दा बढी विषादी प्रयोग भैरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको अध्ययनअनुसार भारतमा जीवनाशक र कीटनाशक विषादीका साथै रासायनिक मलसमेत मापदण्डभन्दा बढी प्रयोग हुन्छ । त्यसले हाम्रो स्नायु प्रणालीलाई असर गर्छ । यही कारण तीन वर्षअघि कालीमाटीको फलफूल तथा तरकारी बजारमा गोलभेंडा, भेंडेखुर्सानी, बोडी आदि तरकारी ठूलो मात्रामा नष्ट गरिएको थियो । प्रतिबन्धित विषादीसमेत प्रयोग गरेर उब्जाइएका भारतीय तरकारी कालीमाटीमा हुन सक्ने परीक्षण छलेर राजधानीकै बल्खु, टुकुचालगायत मुलुकका अन्य भागमा निर्वाध रूपमा बिक्री भैरहेका छन् । रासायनिक मल एवं विषादीको अधिक प्रयोगकै कारण भारतीय तरकारी तथा फलफूलको उत्पादन लागत कम हुन्छ र लामो समयसम्म ताजा देखिन्छ । यस्ता उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैनन् । विषादी प्रयोग गरेपछि समयका आधारमा स्वास्थ्यमा कम वा बढी असर पर्छ । विषादीले असर गर्ने अवधि नसकिँदै उपज बजारमा पुर्‍याउँदा भने स्वास्थ्यमा बढी क्षति पुग्छ । फलफूलमा त किसानका अतिरिक्त व्यापारीले पनि विषादी प्रयोग गर्ने स्रोतहरू बताउँछन् । 

नेपालमा बर्सेनि आयातीत तथा संश्लेषित गरी करिब १८ लाख किलो विभिन्न प्रकारको विषादी खपत हुन्छ । क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको गत वर्षको तथ्यांकअनुसार नेपालमा ६ सय ३५ टन खास विष विषादी आयात भएको छ । त्यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन तथा अन्य १४ टन छन् । विषादीकै लागि बर्सेनि करिब ७५ करोड रुपैयाँ खर्च हुने केन्द्रले जनाएको छ । 

१९५२ मा मलेरिया नियन्त्रणका लागि भित्राइएको विषादी कृषि उत्पादनका लागि प्रयोग हुन थालेपछि यसको मात्रा बढ्दै गएको हो । अन्य देशको तुलनामा प्रतिहेक्टर विषादीको प्रयोग निकै कम ३ सय ९६ ग्राम खास विष रहे पनि ८५ प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा आधारित सघन खेती प्रणाली भएका स्थानमा प्रयोग हुने गरेको पाइएको छ । तरकारी बालीमा मात्र प्रतिहेक्टर १६ किलो विषादी प्रयोग भैरहेको पाइन्छ । 

संसारमा हरेक वर्ष ४ करोड मानिसलाई विषादीले कतै न कतै र कुनै न कुनै रूपमा असर गरेको अनुमान गरिन्छ । विश्वभर विषादीकै कारण वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्यु हुने बताइन्छ । हालसालैको एक अध्ययनअनुसार प्रतिदिन ७ सय जना व्यक्तिको मृत्यु कुनै न कुनै रूपमा विषादीसँग सम्बन्धित रहेको पाइएको छ भने आत्महत्याका ३१ प्रतिशत घटना विषादीसँग सम्बन्धित छन् । सरकारले धेरै पहिलेदेखि प्रयोग भैरहेको खतराजन्य मानिएका कीट तथा ढुसीनाशक पाँच प्रकारका विषादीको पन्जीकरण खारेज गर्ने निर्णय गरे पनि अझै करिब १८ लाख किलो विभिन्न प्रकारका विषादी खपत हुने गरेको छ । सरकारले नेपालमा २०६९ र २०७२ सालमा दुईपटक गरी १६ प्रकारका विषादीलाई प्रतिबन्ध गरिसकेको छ भने अहिले थप ५ प्रकारका विषादीमाथि प्रतिबन्ध लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । यससँगै नेपालमा अहिलेसम्म २१ प्रकारका विषादीमाथि प्रतिबन्ध लगाइएको स्थिति छ ।

दस प्रतिशत तरकारी विषाक्त

बजारमा उपलब्ध तरकारीमध्ये १० प्रतिशत विषाक्त हुन्छ । कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उपत्यकाभित्रबाट लिइएका तरकारीका १ सय नमुनामध्ये हरेक १० वटा नमुनामा हानिकारक विषादी देखिएको छ । ‘अलि अगाडि लिइएको नमुना परीक्षणमा यस्तो तथ्य फेला परेको हो’ मन्त्रालयका प्रवक्ता प्रमोद कोइरालाले भने–‘अहिले यसको मात्रा बढेको हुनसक्छ, थप अनुसन्धान जरुरी छ ।’ तरकारीमा पाइएको विषादीको मात्रामा थप परीक्षण नभए पनि विषादी प्रयोग गर्ने प्रचलन भने बढेको कोइरालाले बताए । विभागले गरेको अध्ययनमा शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इन्डोसल्फेन, क्लोरसाइरिफोस, मालाथिन, प्याराथिन मिथाइल, प्रोफेनोफोस, साइपरमेथ्रिन तथा लाबडा साइक्लोथ्रिन आदि १३ किसिमका विषादी फेला परेका थिए । ‘हिजोआज त आलुमा समेत विषादी प्रयोग गरिएको पाइन्छ ।’ कोइरालाले भने ।

विषादीको असर

विषादीयुक्त फल, तरकारी वा खाद्यपदार्थको सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, निद्रा नलाग्ने, जिउ गल्ने, अचेत हुने आदिका साथै आँखा तथा छालाको समस्या देखापर्न सक्छ । त्यसबाहेक एकाग्रता नहुने, महिलामा बाँझोपन, शारीरिक विकलाङ्गताका साथै क्यान्सरसमेत हुने सम्भावना हुन्छ । विषादीको तत्काल असरका रूपमा मानिस मूर्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म हुने गरेको छ भने दीर्घकालीन असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत शिशुको जन्म, शरीरका विभिन्न अंगमा असर, नसा एवं पक्षघातजस्ता समस्या सिर्जना हुनसक्छ । १ सय २७ भन्दा बढी विषादीले अन्तस्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ । बालबालिकाहरूको शरीरले विषादी ग्रहण तथा संचय गर्ने सम्भावना बढी हुन्छ । 

विषादी कम गर्न

विषादी कम गर्न कृषक एवं महिलाको ठूलो भूमिका हुन्छ । कृषकहरू स्वयं पनि यो विषयमा सजग भए भने आफू र अरूलाई समेत विषादीको असरबाट जोगाउन सक्छन् । विषादी छर्दा मास्क, चस्मा, ग्लोब्स, बुट आदि लगाउने कुरामा सजग रहनुपर्छ जसले आफू स्वयंलाई विषादीबाट प्रभावित हुन दिँदैन । अर्को कुरा विषादी छर्किएको १५ दिनसम्म फलफूल–तरकारी आदि टिप्नु हुँदैन । 

गृहिणीहरूले बजारबाट फलफूल–तरकारी किनेर ल्याएपछि राम्रोसँग पखाल्नुपर्छ । पखालेरै करिब ३० देखि ४० प्रतिशत विषादी नष्ट गर्न सकिन्छ । तरकारीलाई रातभरि नुन–पानीमा डुबाएर राख्दा पनि विषादी नष्ट हुन्छ । तरकारी लगाउने, विषादी छर्कने, पकाउनेजस्ता सबै काममा (करिब ८० देखि ९० प्रतिशत) महिला नै बढी संलग्न हुने भएकाले विषादी कम गर्न महिलाको ८० प्रतिशतभन्दा बढी भूमिका हुन्छ । 

यो समस्या घटाउन प्रांगारिक मल प्रयोग गर्ने कृषकहरूलाई सरकारले प्रोत्साहन गर्ने वा अनुदान दिने काम गर्नसक्छ । त्यस्ता कृषकलाई नमुना कृषक घोषणा गर्ने, सञ्चारमाध्यममा स्थान दिने काम गर्नुका साथै उनीहरूको व्यवसाय बढाउन विभिन्न सेवा–सुविधामार्फत उत्प्रेरित गर्न सकिन्छ । 

विषादी प्रयोगमुक्त सप्ताह 

गतवर्षदेखि सरकारले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमसहित विषादी प्रयोगमुक्त सप्ताह मनाउन थालेको छ । सरकारले काभ्रेको बनेपाबाट विषादी प्रयोगमुक्त सप्ताह मनाउन थालेको हो । ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने नारासहित प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले काभ्रेको बनेपाबाट औपचारिक रूपमा यो सप्ताह सुरु गरेको थियो । सन् १९८४ मा भारतको भोपालमा विषादी चुहावटका कारण भएको असरले २० हजार मानवीय क्षति तथा ५ लाखभन्दा बढी घाइते भएको घटनालाई स्मरण गर्दै सन् १९९८ देखि पेस्टिसाइड एक्सन नेटवर्क इन्टरनेसनलले विषादी प्रयोग मुक्त दिन विश्वव्यापी रूपमा मनाउँदै आएको हो । विषादीबाट हुने असरलाई अभियानका रूपमा अघि ल्याउन सन् २०१० देखि यसलाई सप्ताहव्यापी बनाइएपछि नेपाल सन् २०१३ देखि यो कार्यक्रममा सहभागी हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>