Successfully Copied

तिहारमा बालबालिका

एकातिर पढाइको विश्राम, अर्कातिर रमझमको मौसम । यस्तो अवस्थामा बालबालिका नरमाउने कुरै भएन । यद्यपि अहिलेका बालबालिकाहरू स्मार्टफोन, ट्याबलेट, टेलिभिजन एवं ल्यापटपमा बढी लिप्त पाइन्छन् । उनीहरू कार्टुन हेर्न, भिडियो गेम खेल्न अभ्यस्त भएका छन् । त्यसैले चाडपर्वको फुर्सदमा पनि उनीहरू बाहिरी रमझममा रमाउने भन्दा घरभित्रै बसेर

तिहारमा कसरी देउसी–भैलो खेल्ने ? कोसँग खेल्ने ? कहाँ–कहाँ खेल्ने ? कसले भट्याउने ? जम्मा भएको पैसा के गर्ने ?  तिहारको रौनक छाउँदै जाँदा बालबालिकाहरू यस्तै योजना बुन्न थाल्छन् । ‘भैलिनी आइन् आँगन’ भन्दै भाका मिलाउने र ‘देउसिरे–देउसिरे’ भट्याउने कुराले उनीहरूलाई रोमाञ्चित तुल्याउँछ । दीपावलीको यो रमझममा उनीहरू बढी उन्मुक्त हुन्छन् । 

एकातिर पढाइको विश्राम, अर्कातिर रमझमको मौसम । यस्तो अवस्थामा बालबालिका नरमाउने कुरै भएन । यद्यपि अहिलेका बालबालिकाहरू स्मार्टफोन, ट्याबलेट, टेलिभिजन एवं ल्यापटपमा बढी लिप्त पाइन्छन् । उनीहरू कार्टुन हेर्न, भिडियो गेम खेल्न अभ्यस्त भएका छन् । त्यसैले चाडपर्वको फुर्सदमा पनि उनीहरू बाहिरी रमझममा रमाउने भन्दा घरभित्रै बसेर कार्टुन वा भिडियो गेममा हराउन सक्छन् । 

अहिले धेरै बालबालिका घरभित्रै एकान्तमा रमाउँछन् । साथीभाइसँग खेल्ने, घरपरिवारसँग घुलमिल गर्ने कुरामा त्यति जाँगर चलाउँदैनन् । त्यसैले बालबालिकाका लागि तिहार एउटा राम्रो अवसर हुनसक्छ, समाज र संस्कृति बुझाउने । त्यसो भन्दैमा उनीहरूलाई उपदेश दिने, पढाउने भन्ने कुरा होइन । तिहारको रमाइलोमा उनीहरूलाई घुलमिल गराए पुग्छ । 

तिहारमा बालबालिका रमाउने अनेक बहाना हुनसक्छन् । झिलिमिली बत्तीको रमझममा उनीहरू रमाउन सक्छन्, देउसी–भैलो खेलेर रमाउन सक्छन् । त्यति मात्र होइन, काग पूजा, कुकुर पूजा, गाईपूजा आदिमा पनि उनीहरू रमाउँछन् । 

पूजाआजामा सहभागी

तिहार मनोरञ्जक पर्व भएकाले सुरुकै दिनदेखि उनीहरूलाई पूजाआजा वा कुनै उत्सवमा समावेश गराउन सकिन्छ । कागको पूजा कसरी गर्ने ? कागलाई कसरी बोलाउने ? के–के खान दिने भन्ने कुराले उनीहरूमा उत्सुकता पनि जगाउँछ । 

बालबालिकाहरू कुकुरसँग औधी रमाउँछन् । हामी जब कुकुरलाई पूजा गर्ने, माला लगाइदिने, मीठो ख्वाउने कुरा गर्छौं तब उनीहरू त्यसै मख्ख पर्छन् । कुकुर तिहारका दिन कुकुरलाई फूलको माला लगाइदिने तथा मीठो खानेकुरा ख्वाउने चलन छ । यतिबेला बालबालिकालाई पनि सरिक गराएर कुकुर पूजा गर्नुपर्छ । यसैगरी गोरु तिहार, गाई तिहार आदिले पनि बालबालिकामा उत्सुकता पैदा गर्छन् । उनीहरू यस्ता कुरामा निकै रमाउँछन् । 

तिहारमा यसरी पशुपंक्षीलाई किन पूजा गरिन्छ भन्ने जिज्ञासा पनि उनीहरूको मनमा जाग्न सक्छ । यद्यपि उनीहरू खुलेर प्रश्न सोध्न सक्दैनन् । त्यसैले पशुपंक्षीसँग हामी मानव समुदाय कसरी घुलमिल भएर बाँचेका छौं भन्ने कुरा उनीहरूलाई बुझाउनुपर्छ । त्यसका लागि यो एउटा उपयुक्त अवसर पनि हो । 

संस्कृतिको ज्ञान 

बालबालिकालाई हामी धेरैजसो कुरा पाठ्यपुस्तकबाटै सिकाउने प्रयास गरिरहेका हुन्छौं । उनीहरूलाई तिहारका बारेमा निबन्ध पढाउँछौं । हाम्रो कला–संस्कृतिका बारेमा निबन्ध लेख्न लगाउँछौं । भाइटीका र देउसी–भैलोका सम्बन्धमा प्रश्नहरू हल गर्न लगाउँछौं ।

पाठ्यपुस्तकभन्दा प्रभावकारी भनेको उनीहरूलाई कुनै पनि काममा प्रत्यक्ष सहभागी गराएर त्यसका बारेमा अवगत गराउनु हो । तिहारका विविध गतिविधिमा बालबालिकाहरूलाई सहभागी गराएर यसको महत्व, तौरतरिका, सांस्कृतिक वा सामाजिक पक्ष आदिका बारेमा बोध गराउन सकिन्छ । यसरी बालबालिकालाई चाडपर्वमा प्रत्यक्ष संलग्न गराउँदा उनीहरूले यसलाई अरू प्रभावकारी ढंगले बुझ्न एवं अनुभव गर्न सक्छन् । 

देउसी–भैलो खेलाउने 

अहिलेका बालबालिकाहरू भिडियो गेम, फेसबुक एवं कार्टुनमा हराउन थालेका छन् । त्यसैले उनीहरू पारिवारिक रमझममा त्यति घुलमिल हुन रुचाउँदैनन् । उनीहरूलाई तिहारकै मेसोमा देउसी–भैलो खेलाउनुपर्छ । देउसी खेल्ने पनि आफ्नै विधि–विधान छन् । यसको आफ्नै महत्व तथा अर्थ छ । बालबालिकालाई देउसी–भैलो अर्थपूर्ण एवं रुचिपूर्ण तरिकाले खेलाउनुपर्छ । 

देउसी–भैलोमा उनीहरू पक्कै रमाउँछन् । साँझको समयमा गाउँघर चहार्दै देउसी–भैलो खेल्न पाउँदा उनीहरू खुसी मात्र हुँदैनन्, समाजसँग घुलमिल हुन पनि सिक्छन् । त्यतिबेला उनीहरूलाई देउसीमा भट्याइने भाका, त्यसमा उल्लेख गरिने प्रसंगहरूका बारेमा पनि बताउनुपर्छ । यस क्रममा बालबालिकालाई देउसी–भैलोको प्रचलन कसरी सुरु भयो भन्ने कुरासमेत जानकारी गराउन सकिन्छ । 

भान्सामा प्रवेश

तिहारमा सेल रोटीलगायत मीठा–मीठा परिकार बनाइन्छ । कतिपय बालबालिका परिकार बनाउने कुरामा रुचि समेत राख्छन् । उनीहरूलाई भान्साको काममा पनि सहभागी गराउन सकिन्छ । 

तिहारमा सेल रोटी वा कुनै पनि परिकार बनाउनु पनि एक किसिमको उत्सव नै हो । भान्सामा सबैजना मिलेर मीठा परिकार बनाउँदा उनीहरू दंग पर्छन् । उनीहरूलाई पनि ती परिकार बनाउन सिकाउनुपर्छ । यस क्रममा आफैले बनाएका परिकार खाने उत्सुकता पनि जाग्छ । यसले उनीहरूलाई पछिसम्म भान्सामा आकर्षित गरिरहन्छ र पाककलामा पनि रुचि जगाइदिन्छ । 

परिवारमा घुलमिल हुन सिकाउने

चाडपर्व परिवारका सबै सदस्य जमघट हुने अवसर हो तर अहिलेका बालबालिकाहरूमा एक्लै खेल्ने, बस्ने बानी परिसकेको हुन्छ । यस्तोमा परिवारमा कसरी घुलमिल हुने तथा पाहुना वा आफूभन्दा ठूलासँग कसरी कुरा गर्ने भन्ने कुरा सिकाउन सकिन्छ । कतिपय बालबालिकाले आफन्त पनि चिन्न छाडिसके । यस्तो स्थितिमा घरमा आउने पाहुना वा आफन्तहरूसँग चिनजान गराउन सकिन्छ । 

घर वा कोठाको सरसफाइ

चाडपर्वमा घरको सरसफाइ गर्दा बालबालिकाहरूलाई पनि सहभागी गराउनुपर्छ । उनीहरूलाई आफ्नो सामान आफै मिलाउन लगाउनुपर्छ । कपडा मिलाएर दराजमा राख्ने, किताब–कापी मिलाएर राख्ने, जुत्ता–चप्पल मिलाएर राख्ने काम उनीहरूलाई नै जिम्मा दिनुपर्छ । यसो गर्दा बालबालिकाहरू शारीरिक रूपमा सक्रिय हुनुका साथै सिर्जनशील एवं अनुशासित समेत हुन्छन् ।

 Image