Successfully Copied

उपहार  

‘जीवन साथै चलाऊँको’ शब्द कानमा गुञ्जनैबित्तिकै भीमकला छटपटाउँदै उठी । लामो जिब्रो झिकेर रिसाउँदै भनी–मातेर आएर अर्कालाई अप्ठ्यारोमा पार्ने, जानकारी नै नदिई राक्षसी पाराले हमला गर्ने भन्दै बाहिर गई । पछि–पछि चक्रमान पनि बाहिर गयो । 

दुर्गमको एउटा सानो गाउँ जहाँ यातायातका साधनको पहुँच छैन । ग्रामीण जनता पिउने पानीको अभावमा टाढाका कुवामा पानी भर्न जान्छन् । शताब्दीयौंदेखि यहाँका बासिन्दाको दशा यस्तै छ । सुविधा के हो ? कस्तो हुनुपर्छ भन्ने ज्ञान पनि पलाएको छैन उनीहरूमा । मात्र दु:खको बोझ बोकेर बाँचेका छन् । शीत, बतास र घाम–पानी छल्ने साना बुकुरे झुप्रामा जीवन जिउन विवश छन् । प्रकृतिले यदाकदा रिस पोख्दा वा प्रकृति मात्तिँदा ग्रामीण जनताले कल्पना नगरेको दु:ख खेप्नुपर्छ । प्रत्येक व्यक्ति सामाजिक र प्राकृतिक त्रासमा बाँच्न विवश हुँदो रहेछ । 

चक्रमान एक साँझ मादकपदार्थ सेवन गरेर घर आयो । छोराछोरी भात खाएर बसेका थिए । गर्मी मौसम थियो । आकाशमा कालो बादल मडारिन थालेको थियो । मुना आमाको मृत्युले चिन्तित थिई । गोरे पनि सुर्ताएको थियो । घरमा प्रवेश गरेको करिब आधा घन्टा भएको थियो होला । छोरीले नरम स्वरमा बाउलाई खाना खान अनुरोध गरी । लटपटिएको स्वरमा चक्रमानले भन्यो–‘तिमी भाइसँग बसेर पढ, म केही समयपछि आफै पस्किएर खान्छु ।’ तिनीहरूले काठे कटेरो बेरेर ज्यान लुकाएका थिए । प्रलयकारी भूकम्प गएको करिब तीन महिना भएको थियो । चक्रमान आफ्नै ग्वालीमा सुत्थ्यो । छोरी मुना, छोरा गोरे र अरू केटाकेटी तलतिर काकीको घरमा रात बिताउँथे ।

पेटमा जुका परेर हो वा त्यस दिन अलि बढी पिएर हो । चक्रमानले खाना खाएको एक घन्टा नपुग्दै ह्वालह्वाल्ती छाद्यो, बाहिर खाटमा बसेर पढिरहेका दिदी–भाइ आत्तिएर बाउलाई समात्न पुगे । ती दुवै डराए । प्रलयकारी भूकम्पमा घर भत्कदा आमा गुमाएका ती दिदी–भाइ बाउले छादेको दृश्यले डराएर अत्तालिँदै काकीलाई बोलाउन गए । घरमा केटाकेटी पढ्दै थिए भने एक छेउमा बसेर सालका पातका दुना–टपरी गाँस्दै थिई–भीमकला । केही क्षणअघि जेठाजुले खाँक्कखुँक्क गरेको आवाज सुने पनि उसले त्यति वास्ता गरेकी थिइन । भीमकलाको ध्यान सामुन्ने बसेर पढिरहेका आफ्ना सन्तान र गाँसिरहेका दुना–टपरी अनि सिन्कामा केन्द्रित थियो । माथिल्लो घरको सामान्य ढाकढुकको आवाजले उसको ध्यान भङ्ग भएको थिएन । 

जेठाजुलाई भेट्न आउँदा भीमकलाको नाकमा छादको दुर्गन्धले असर पार्‍यो । उनीहरूले भूकम्पको दिनदेखि जेठाजु–बुहारी छोइनु हुँदैन भन्ने मान्यतालाई परित्याग गरेका थिए । जेठानी दिदीलाई घरले थिचेर मार्दा उनलाई थिच्ने काठ र ढुंगा–माटो ती दुवै जेठाजु बुहारीले मिलेर पन्छाएका थिए । आम्खोरामा पानी सारेर भीमकलाले जेठाजुको टाउकोमा हालिदिई, कुल्ला गर्न लगाई । उठाएर बिछ्यौनामा पल्टन लगाई । तनक्क परेर सुत्न भनी–चक्रमानको छादले वातावरण नै दुर्गन्धित भएको थियो । राम्रोसँग न चबाइएका भटमासका टुक्रा कनिकाजस्ता देखिन्थे, मादकपदार्थको दुर्गन्ध उस्तै थियो । मासुका चोक्टा पनि छादमा प्रस्ट देखिन्थे । भूकम्पले भत्किएको घरको माटो ल्याएर भीमकलाले छाद छोपी । पढिरहेका भीमकलाका छोराछोरी पनि अँध्यारो छाम्दै आमा, ठूलो बाउ र दाजु–दिदी भए नजिक पुगे । नानीहरूलाई छाडेर भीमकला घर आई । उसले एक गिलास पानीमा कागतीको रस हाली चक्रमानलाई ख्वाई ।

रात छिप्पिँदै थियो । अँधेरी रात थिए । मातेर बिछ्यौनामा पल्टिएका जेठाजुलाई सम्झाउन थाली । नानीहरूलाई सम्झाएर सुताई । चक्रमान छटपटाउँदै थियो । आकाशमा तारा चम्किरहेका थिए, घरी–घरी भुस्याहा कुकुर भुकेको आवाज सुनिन्थ्यो ।

    

भीमकलाले चक्रमानलाई उठाएरर पानी पिउन दिई । चक्रमानले कुल्ला गरेर पानी पियो र बिछ्यौनामा पल्टियो ।

खाटको छेउमा थचक्क बसी भीमकला, निदाउरो मुख पारेर चक्रमानलाई छामी रुन–रुन खोज्दै भनी–‘तपाईंको बानी बिग्रियो । पाँचवटा सन्तानको बाउ हो तपाईं । यदि राम्रोसँग घर–व्यवहार सम्हाल्न सक्नुभएन भने यो घरको जहाज डुब्छ । म पनि त एकल महिला हुँ । तपाईंको भाइ बितेको वर्ष दिन भयो, म कसरी चित्त बुझाएर सन्तानको मुख हेरेर बसेकी छु । भीमकला एक्लै बरबराई । 

गाडी दुर्घटनामा भाइको मृत्यु भएको वर्ष दिन नपुग्दै भूकम्पमा परेर श्रीमती गुमाएपछि, पागलजस्तो भएको थियो चक्रमान । श्रीमतीको काजकिरिया सकेपछि विरक्तिएर ऊ दिउँसै मादकपदार्थ सेवन गर्न थालेको थियो । उसलाई गाउँले इष्टमित्र तथा नातागोताहरूले सम्झाएका थिए । गति न छाड बाँच्नेको चिन्ता गर । आफ्ना सन्तानको मुख हेरेर चित्त बुझाऊ । वर्ष दिन नाघेपछि एउटी महिला साथी खोज । घर–व्यवहारको सन्तुलन मिलाउनुपर्छ । निराश भएर हिँड्नु हुँदैन । तिमी आफै जानकार छौ । सोच, सम्झ, विचार पुर्‍याऊ । उसका एकजना मामा थिए । उनले त धेरै कुरा देखाएर सम्झाएका थिए–‘तिमी यी पाँच सन्तानका भविष्य निर्माता हौ । भनौं एउटी त केटालाई जिम्मा लगायौ, चार जना त तिम्रै साथमा छन् । यिनलाई पाल्ने र बाटो देखाउने कर्तव्य तिम्रै हो ।’

काकाको छोरा भाइ डम्बरले भनेको थियो–‘भाउजूको काम गर्न दिएको रकमले एउटा सन्तानलाई बोर्डिङ हाल, त्यो भत्किएको घडेरीमा अर्को घर नबनाऊ, अन्त्यै सारेर घर बनाऊ । भूकम्प तिम्रो घरमा मात्र आएको होइन । प्रलयकारी भूकम्पले झन्डै ५ हजार मानिसको ज्यान लियो । तिम्री पत्नीले मात्र ज्यान गुमाएकी होइनन् । प्राकृतिक संकट यदाकदा पर्छ नै । धेरै मानिसले ज्यान गुमाए, थुप्रै घाइते र अपाङ्ग भए । त्यस रात मातेकै भरमा चक्रमान निदाएको थियो । बिहान सबेरै उठ्यो । दुहुनो गाईलाई घाँस दियो । परेवाको खोर उघार्‍यो । नियमित कर्म गरेर दलानमा टुसुक्क बस्यो । छोराछोरी उठिसकेका थिए । बुहारीले तल्लो घरबाट चिया पकाएर ल्याई । चक्रमानको हातमा थमाई । जेठाजू–बुहारीका आँखा जुधे, शरीर स्पर्श भयो । एक–अर्कालाई मायालु पाराले पुलुक्क हेरे । अघिल्लो दिनको छाद सम्झेर चक्रमान लज्जित भयो । हातको कपको चियाले ओठ र जिब्रो पोल्दै भीमकलाको अनुहारमा हेरेर लज्जित हुँदै भन्यो–‘मेरो व्यवहारले गाउँ हँसायो, परिवारलाई अपमानित गर्‍यो होइन’ छोराछोरीको मानसिक चिन्ता पनि बढायो । भीमकला मुसुक्क हाँसी र घोसे मुन्टो पारेर लाज मानेजस्तो गरेर भनी–‘त्यो त तपाईं आफैले बुझ्ने कुरा हो ।’ ऊ आफ्नो घरको भान्सा कोठातिर छिरी ।

दिनभरिको परिश्रम, राति मदिरा पान र मनभरि अनेकौं चिन्ता–उसको जीवनका बाध्यता थिए । भूकम्पमा ज्यान गुमाएकी श्रीमतीको सम्झना यस्तै थिए, चक्रमानको दिमाग चक्कराउने विषय । भाइबुहारी भीमकलाले देखाएको उदार व्यवहारले उसको मानसिक चिन्ता केही कम भएको थियो तैपनि ऊ दारुपानी र चुरोटको अम्मली भैसकेको थियो । छोराछोरी यस्तो गलत व्यवहारको विरोधमा थिए । समस्या र असन्तोषले बाँधिएका थिए ।

दुर्घटनामा परेर बितेको भाइ कनकरामको घाउ पुच्छाउनी रकमका लागि एकपल्ट सदरमुकाम जानु थियो उनीहरूले । प्रशासनमा कागजपत्र बुझाएपछि भीमकला नजाँदा पनि हुन्थ्यो तर उसको मनमा अनेकौँ तरङ्ग र शंका उठेका थिए । पैसा हात परेपछि कहीँ जेठाजुले घरै छाड्ने हुन् कि, कति पल्ट सदरमुकाम धाउनुपर्ने हो, ठेगान थिएन । एक घन्टाको बाटो पैदल पार गरेपछि बस चढ्ने ठाउँ पुगिन्थ्यो तर बसको नियमितता थिएन । भूकम्पले बाटो बिगारेकाले बस–ट्रक कमै गुड्थे । एक पल्ट प्रशासनमा कागजपत्र बुझाएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नगद बुझ्न पाइने कानुनी व्यवस्था रहेछ । भीमकला पनि सतर्क भएर अड्डा पुगी । जेठाजु–बुहारीले आँखाबाट आँसु झारे । ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखान कनकरामको जीवनमा मिल्न गयो । यातायातको नियमअनुसार रकमको माग भयो । लगभग १५ दिनपछि हामी तपाईंहरूलाई सूचना पठाउँछौं भनेपछि उनीहरू पैसा पाउने आशा लिएर घर फर्किए ।

    

वर्षा लाग्यो । वर्षामा भूकम्प पीडित परिवारले कष्टपूर्ण दिन बिताए । त्यसबीच तीनवटा साना बालबच्चाले ज्यान गुमाए । उपचारको अभावमा घाइतेहरूले रोएर दिन काटे । यही समयमा एकजना सर्वोच्च नागरिकले आफ्नो आयको हिस्सा लगभग ३ लाख रुपैयाँ पशुपतिनाथका पुजारीका परिवारलाई चन्दास्वरूप दिएको खबर पनि प्रचारमा आयो । यद्यपि भूकम्पमा परेर ज्यान बचाएका अपाङ्ग, रोगी व्यक्तिहरूले यदि त्यो पुजारीलाई दिइएको रकम पाएको भए, ३० जनाले जीवनदान पाउन सक्थे भन्ने पनि आशा राखेका थिए पिनापु डाँडाका बासिन्दाले । जाडोले कठ्याङ्ग्रिएर अब कति जनाले पिनापु डाँडामा आफ्नो अमूल्य जीवन गुमाउने हुन् त्यसको लेखाजोखा थिएन ।

    

दुई ज्यान गुमाएको परिवार थियो चक्रमानको कसैको अनुहार उज्यालो थिएन । सामान्य त जीवित वस्तुको मात्र अस्तित्व देखिँदो रहेछ । मृतकको सम्झना मात्र । दिन बित्दै गए । भूकम्प गएको वर्ष दिन पुग्यो । उचित राहत भएन । पिनापु गाउँबाट तीनवटी युवती हराए । उमेर पुगेका ती युवतीको पाँच महिनासम्म अत्तोपत्तो थिएन । सम्पर्क विहीन थिए–तिनीहरू । गाउँमा चासो एवं सतर्कता बढेको थियो । नौला मान्छे गाउँ पसे भने प्रहरीलाई सूचना दिनुपर्छ भनेर गाउँका जनतालाई सतर्क गराउन सूचना सुनाइएको थियो ।

चन्द्रमाया बितेको वर्ष दिन भयो । चक्रमानले श्रीमती चन्द्रकलाको वर्ष दिनको कार्यक्रम विधिपूर्वक सम्पन्न गर्‍यो । आफन्तहरू घरमा आए । छुट्टिएर बसेकी भाइबुहारी पनि सहभागी भई । 

एक रात भीमकलालाई निद्रा परेन । माइतीको याद आयो । सेता लुगा लगाएर बसेको एक वर्ष, त्यसपछिको भूकम्पको पीडा, दसंै–तिहार एवं माघे संक्रान्ति आदिमा कहिल्यै माइत गइएन, बूढीआमा दाजु–भाउजू, भाइबुहारी छन्, एकपल्ट चार दिनका लागि पुगेर आउँछु । जेठाजुसँग अनुमति लिनुपर्ला । पुरुषहरू रातविरात मातेर जहाँ पनि दौडन्छन् ? हामी स्त्री जातिले होस पुर्‍याएर हिँड्नुपर्छ । यी लालाबालालाई पकाएर ख्वाउनैपर्छ । विद्यालय जान सामान तयार पारिदिनैपर्छ । कपडा पनि धुनैपर्छ । फेरि यो भूकम्पले पँधेराको पानी पनि सुकाइदियो । पानी बोक्न टाढा जानुपर्छ ।

भोलिपल्ट बिहान उठेर भीमकलाले घर सफा गरी । चिया पकाएर जेठाजु तथा केटाकेटीहरूलाई दिई । चक्रमान दलानको छेउमा उभिएको थियो । आफ्नो घरको भान्साकोठाबाट गएर, नजिकै उभिई लज्जालु पारामा । पुलुक्क जेठाजुका मुखमा हेरी र केही डराएजस्ती भएर भनी–‘केही दिनका लागि माइत जाऊँ कि भनेको, आमा बिरामी हुनुहुन्छ रे, माइत नगएको पनि धेरै भयो । केटाकेटी सुर्ताउलान् हजुर बाहिर नगए राम्रो हुन्थ्यो । उनीहरूको रेखदेख पनि हुने बिन्ती बिसाउन उभिएकी हुँ ।’

चक्रमानले अव्यक्त पीडा प्रदर्शन गर्‍यो । भित्रभित्रै कँुडिएजस्तै भयो जाऊ भन्न पनि सकेन नजाऊ भन्ने हिम्मत पनि गरेन । अप्ठ्यारो मानेर घोरिँदै भन्यो–‘जान त जाऊ कति दिनमा आउँछ्यौ ? ढिलो नगर’ नानीहरू सुर्ताउँछन् । यति भनेर उसले भीमकलाको शरीर नियालेर हेर्‍यो । 

अनुमति नपाएकी भए पनि जाने थिएँ । सिरानी राखेकी मात्र हुँ भनेर मनमा कुरा खेलाउँदै ऊ घरमा भित्रिई थान्कोमुन्को गर्न थाली भ्याई–नभ्याई ।

‘हिँड्ने समयमा चक्रमानलाई भनी–‘चामल, मकैको सामल, कोदाको पिठो डालामा र गुन्द्रुक एवं मस्यामको दाल बट्टामा राखिदिएकी छु, पालैपालो पकाएर खानू । म आमाको मुख हेरेर छिट्टै आउँछु ।’

भीमकला माइत पुग्दा आमा, दाजुभाइ, भाउजू–बुहारी सबै खुसी भए । पैसा कमाउन विदेश त अरु व्यक्ति पनि गएका छन्–जाँदैछन् । मेरै ज्वाईंलाई बाटैमा मर्न जुरेको रहेछ भन्दै आमा रोइन् । नजिकै बसेर आमाले आँखाबाट झारेका आँसु हेरेर भीमकलाले भनी–‘आमा अब खाटा बसेको घाउ न कोट्याउनुहोस् । मेरा आँखाबाट धेरै आँसु बगेको छ ।’

माइतीमा निकै माया पाई, भीमकलाले । एकल भएपछिको पहिलो भेट थियो माइतीसँगको । कनकराम काम गर्न विदेश जाँदा दुर्घटनामा परी बाटोमै बितेका थिए । माइतीहरूका साथै गाउँका छिमेकी पनि खुसी भए–यो सूचना सुनेर । सिन्दूर पुछिए पनि केही रकम पाइछौ । के गर्नु त पहरामा लडेर बितेका भए पनि चित्त बुझाउनुपथ्र्यो । दैवको खेल यस्तै भयो ।

हिँड्ने समयमा बूढीआमाले भनिन्–‘उमेरकी छस् छोराछोरी सानै छन् । जेठानी दिदीको मृत्युपछि जेठाजु विरक्तिएका होलान् । पुरुषको मन थामिन गार्‍हो हुन्छ, होस गर्नू । उमेर पापी हुन्छ, दायाँ–बायाँ नगरेस् । दमको रोगले च्यापेको छ, म त अब आज कि भोलि छु । नराम्रो कुरा अनि नैतिक आचरणमा दाग लाग्ने कामबाट जोगिनू ।’

भीमकला आमाका कुरा सुनेर खिसिक्क हाँस्दै घर फर्किई । दाजुहरूले एकसरो लुगा र बाटा खर्च दिएर कोसेलीसहित भीमकलालाई बिदा गरेका थिए ।×

भीमकला एक सातामा घर आई । उसलाई घर लथालिङ्ग भएजस्तो लाग्यो । पकाउन न जानेर छोराछोरीले काँचोकचिलै खाएछन् । चक्रमान फेरि मात्न थालेछ । एक साँझ भीमकला र चक्रमानको भनाभन भयो । आँखा राता पारेर मुख चलाए दुवैले । भीमकला आक्रामक भए पनि चक्रमान रक्षात्मक देखियो । त्यहाँ भएका सन्तान सबै आमा वा काकीको पक्षमा उभिएका थिए ।

चक्रमानले नरमाइलो अनुभूति गर्‍यो र आफू परिवारमा एक्लो भएको महसुस गर्‍यो ।

चक्रमान र भीमकला दुवै जनाको आयस्रोतले गति लियो । भूकम्पमा ज्यान गुमाएको घर भत्किएकोमा ढिलो–चाँडो राहत लिएर अर्को घर निर्माण गरेर बस्नु थियो । राहतका चरण–चरण थिए । उता भीमकलाले पाउने सहयोग रकम पनि सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत आउने करिब निश्चित थियो । भीमकलाले प्रथम किस्ता पाइसकेकी थिई ।

दुवै जनाले तरिका जान्दा, व्यवस्थापन गर्न सक्दा, प्राप्त स्रोत परिचालन गर्दा ती एकातिर आमा गुमाएका अर्कीतिर बाउ गुमाएका बालबालिकाको भविष्य सुखमय नै हुने सम्भावना थियो । त्यो ठाउँ छाडेर अन्यत्र बसाइ सर्दा पनि जीवन सुखमय हुन सक्ने सम्भावना प्रशस्तै थिए । भोलि कसरी उज्यालो होला भन्ने विषयमा जति चिन्तित भीमकला देखिन्थी । चक्रमान त्यति सम्वेदनशील थिएन । चक्रमान प्रत्येक दिन ढिलो घर फर्कन्थ्यो । एक टुक्रा अन्धकारले गाउँ छोपेको थियो । आकाशमा तारा फल्दै थिए । वर्षाको हिलो पानी एवं झरी भए पनि रात सफा देखिन्थ्यो । न जाडो न गर्मीका दिन थिए । विगतमा दसंै–तिहार निराश र शोकमा बितेका थिए । यसपटकको पर्व रमाइलो हुने छाँटकाँट देखिएको थियो ।

केटाकेटीलाई खाना ख्वाएर भीमकला कोठामा बसेकी थिई । यी मान्छे बराला भए, कसरी यिनलाई ठेगानमा ल्याई काम लगाउनु ? म माइत गएका बेला यी छोराछोरी भोकभोकै सुते होलान् । यतिबेलासम्म कस्तो घर बिर्सन सकेका भनेर भुटभुटिरहेकी थिई । माया पनि गर्न सक्दैनन् घर–व्यवहार बिगारिसके, आफ्नो पुरुषत्व देखाए पनि हुन्थ्यो । अभागी रैछु, मेरो वेदना कसले सुन्ने र बुझ्ने, पुरुषहरूले महिलाको मर्का बुझ्ने दिन कहिले आउला ? छाडेर हिँड्न पनि यी सन्तानको माया लाग्छ । अर्कोसँग जान पनि आँट आउँदैन । महिलाको कुनै धर्म, संस्कृति, जात हुँदैन भन्थे त्यस्तै हो कि क्या हो ? यदि मेरा बाउले मलाई विदेश गएको केटालाई दिएका भए म त्यही देशकी नागरिक बन्ने थिएँ । त्यही देश मेरो प्यारो हुने थियो । चक्रमान नशाले मात्तिएर आउँदा हुन् आफू खाएर बस्न पनि मन मान्दैन । फुटेको चुल्हो जोड्न हुँदैनथ्यो । समय तीव्र गतिले अघि बढिरहेको छ । आफ्नै गतिमा यिनै पुरुषको पछि नलागी आफूले पाउनुपर्ने रकम हात लाग्दैन । यी नानीहरू बिरामी हुन्छन् । जेठाजु म भन्दा तेर्‍ह वर्ष जेठा छन् । यिनकै बिछ्याउना तताउन पाए पनि हुन्थ्यो । यी सन्तानको भविष्य त सुध्रने थियो । यी जेठाजुले अर्की श्रीमती नल्याई बस्न सक्दैनन् । म आँट गरेर पोइल जान सक्दिन । हामी महिलाको जीवन नाता सम्बन्धको त्यान्द्रो चुँडालेर हिँड्न पनि सकिँदैन । विगतले सराप्छ । भविष्यले व्यंग गर्छ । भीमकलाको आक्रोश दिमागमा सलबलाइरहन्छ । 

अँध्यारो रात छ, कतै भुस्याहा कुकुर भुकेको पनि सुनिँदैन । बिस्तारै एउटा कालो आकृति आफूतिर आउँछ । बिछ्याउनामा पल्टिएकी भीमकला उठेर थचक्क बस्छे । कालो आकृति अचानक कोठामा प्रवेश गर्छ । दायाँ–बायाँ नहेरी आफैलाई गाँज्न आएझैं लाग्छ । उसले केही बोल्न भ्याएकी हुन्न । कालो आकृतिले अँगालो मारेझैं लाग्छ । ऊ चिच्याउँदा पनि मौन हुन्छे । मैले हातपात गर्दा विरोधमा कराई भने म घर छाडेर भाग्दिन, पञ्चायत राख्ने हिम्मत गर्न सक्दिन । ‘भीमकलाले भन्ने निचोडमा पुगेको थियो चक्रमान । जे होला ऊ साहसी भएको थियो ।’

कालो आकृतिले उसलाई निकै समय थिच्छ । ऊ प्रतिरोध गर्न सक्दिन र चाहन्न पनि । त्यो कालो आकृतिलाई ऊ निकै बेरसम्म चिन्न सक्दिन । चिनेपछि पनि प्रतिरोध गर्न चाहन्न । ऊ आफ्नो काममा सफल हुन्छ । लथालिङ्ग भएका शरीरका कपडा समेटेर ऊ दायाँ–बायाँ नहेरी आफ्नो कोठामा पल्टिरहन्छे चुपचाप । उसले त्यो दिन बाहिर के खाएको थियो, थाहा छैन तर घरमा खाने चेष्टा गर्दैन । भीमकला उसलाई खाना खान पनि अनुरोध गर्दिन । उसलाई सपना जस्तो लाग्छ ।

नियमित समयमा चक्रमानले बिछ्याउना छाड्यो । छोराछोरी पनि उठेर नित्यकर्ममा लागे । चक्रमानले आफूलाई शारीरिक एवं मानसिक रूपले चंगा पायो । यता भीमकलाले अन्य दिनको तुलनामा छिट्टै बिछ्याउना छोडिन । सामान्य रूपमा शरीर फुर्तिलो भए पनि मानसिक रूपले कमजोर महसुस गरी, सामान्य प्रस्तावबाट यस्तो कर्म गरिएको भए पनि उचित हुने थियो । यो एक्कासिको आक्रमण उचित भएन । घिनलाग्दो भयो भन्ने कुरा सम्झदै अल्छी मानेर सुतिरही । चक्रमान र छोराछोरीको प्रतिक्रिया पनि बुझ्नु थियो । चक्रमानले नजिकै आएर भीमकलालाई हेर्‍यो तर केही बोलेन, पश्चाताप भएजस्तो पनि गरेन । अँध्यारोको काम दुई हातले छाम भनेजस्तो भयो उसलाई । पिनापु डाँडामा हिउँद लागेको संकेत देखिएको थियो । वन–पहाड रमाइला हुँदै थिए । चक्रमान आँखा तरेर बाटो लाग्यो । 

छोराछोरीले आमालाई उठाउन खोजे भीमकलाले बिछ्यौना छोड्न चाहिन । आँखा पिलिक्क पल्टाएर तिनीहरूलाई हेरी । ‘खाजा बनाएर खाओ मलाई आराम गर्न देओ’ भीमकलाले भनी ।

उसको भित्री दिलको चाहना थियो, कालो रातको फाइदा लिनेहरूले उज्यालो दिनको मर्का पनि बुझ्न सक्नुपर्छ । चक्रमान आऊन्, स्पर्श गरून्, माया देखाऊन् । त्यसरी आक्रमण गर्नु उचित होइन । उसको दिमागमा यस्तै कुरा सल्बलाएका थिए ।

घाम झलमल्ल लागे । काँचोकचिलो खाना खाएर केटाकेटीहरू विद्यालयतर्फ लागे । चक्रमानले बोका–पाठा बाहिर सार्‍यो । डाले घाँस झुन्ड्यायो । गाई दोह्यो । भीमकला रिसाई भन्ने भयो उसलाई । उसले हल्ला गरी भने मेरो के हालत होला भनेर तर्सियो पनि । दोहोरो सास फेर्दै भीमकला कोठामा लम्पसार थिई । निकै समय गम खाएर चक्रमान डराई–डराई भीमकलाको कोठामा प्रवेश गर्‍यो । उसको शरीर शीताङ्ग भएको थियो । विवशता पोखिएर आँखा लठ्ठिएजस्ता भएका थिए । उसले पीडा महसुस गर्‍यो । भीमकला सुतेको खाटको छेउमा गएर टुसुक्क बस्यो । कोठाको निरीक्षण गर्‍यो । भीमकला कोल्टे परेकी थिई । चक्रमानले डराई–डराई आफ्नो बलियो हातले उसको पिँडुलामा समायो । गोडा झट्कारी भीमकलाले, चक्रमानले भन्यो–‘तिम्रो नारी शरीरलाई धेरै दिनदेखि माया गर्दै आएको थिएँ भन्न मात्र नसकेको, मैले आफूलाई भ्रममा राख्न सकिन । तिम्रो यो भौतिक शरीरलाई हेरेर र स्पर्श गरेर मात्र आफूलाई सन्तुष्ट बनाउन सकिन । तिमीलाई स्वीकार छैन भने, माफ माग्छु । यस्तो कर्म पुन: दोहोरिँदैन । स्वीकार छ भने जीवन साथै चलाऊँ । ‘मेरो जीवनमा तिमी उपहार भयौ ।’

‘जीवन साथै चलाऊँको’ शब्द कानमा गुञ्जनैबित्तिकै भीमकला छटपटाउँदै उठी । लामो जिब्रो झिकेर रिसाउँदै भनी–मातेर आएर अर्कालाई अप्ठ्यारोमा पार्ने, जानकारी नै नदिई राक्षसी पाराले हमला गर्ने भन्दै बाहिर गई । पछि–पछि चक्रमान पनि बाहिर गयो । 

शारीरिक एवं मानसिक रूपले उनीहरू एक–अर्कासँग नजिकिएको प्रमाणित हुँदै थियो । मानिस अज्ञानी हुनु नै सुखी हुनु हो त ? ज्ञान र अनुभवले यी जेठाजु–बुहारी एक भएका हुन् कि अज्ञानताका कारण जोडिन पुगेका हुन् । यसको मूल कारण थाहा थिएन । त्यस दिनदेखि ती दुवै जना बाहिरफेर हिँड्न खुल्ला भएका थिए । दुवैतिरको राहतको चाँजोपाँजो मिलाउन पाए त भविष्यको व्यवहार सहजै सोझ्याउन हुन्थ्यो । चक्रमान र भीमकलाको जीवनले नयाँ रौनक थपेको थियो । तिनीहरूले समाजले ठड्याएको चोरऔंलाको चासो राखेका थिएनन् ।

दिनहरू बित्दै गए । दुवै जनाको घरायसी व्यवहार बेग्लै हुन थाल्यो । सन्तानहरू साझा भए । भीमकलालाई उपहारका रूपमा लियो, चक्रमानले । गाउँमा चर्चा थियो, कहीँ चक्रमानले भाइको रगत लतपतिएको पैसा कुम्ल्याएर बिचरी बुहारीलाई अलपत्र पार्ने हो कि ? अर्कातिर ती जेठाजु बुहारीको मिलेको व्यवहार देखेर कहीँ लसपस भएकी भन्ने शंका पनि थियो । यसलाई पँधेर्नी गफ भन्दा पनि हुने, तर वास्तविकता पनि त्यही थियो ।

पिनापु गाउँबाट माघे संक्रान्तिका दिन कोशी नदीमा नुहाउन जाने महिलाको ताँती थियो । भीमकला पनि बाटो लागेकी थिई । माघे संक्रान्ति हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व मानिन्छ । नदीमा डुबेर बाहिर निस्कदा त्यहाँ स्नान गर्न पुगेका महिलाको नजर भीमकलाको शरीरमा जोतियो । ढाडिएको शरीर नियाले महिलाहरूले । एक–आपसमा मुखामुख गरे उनीहरू ‘भीमकलालाई देखेर तर मुख फोरेर भन्न गार्‍हो माने । गाउँलेमध्ये अलि छिचरी थिइन् पुच्छारे कृष्ण माया । नुहाएर लुगा फेर्दा पुलुक्क भीमकलाको मुखमा हेरेर भनिन्–‘भीमकला ∕ तिम्रा श्रीमान् धरतीबाट बिदा भएको धेरै समय भयो । तिम्रो शरीर ढाडिएजस्तो छ । जेठाजुकै वीर्य थाप्यौ कि अरूकै ओछ्यान ततायौ ?’

भीमकला लाजले बोल्न सकिन । उसले सत्य कुरा बताउन चाहिन । हतार–हतार गरी चिसा लुगा पोको पारेर बाटो लागी । ऊ बाटो लागेपछि त्यहाँ भएका महिलाहरूले विभिन्न प्रतिक्रिया जनाए । ‘नमरी बाँचे दैवले साँचे, यो दुनियाँमा के–के देख्न र सुुन्न पाइन्छ ।’ चक्रमानले दारुपानी खान छाड्यो भनेर भन्थे गाउँमा । त्यसैले पो हो कि के हो ? भीमकलाको ओछ्यान तताउन पाएर, दारु पिउन छाडेको हो त ?

सुकेको बाबियोमा आगो लागेर बलेझैं यो कुरा माघ एक गतेबाट प्रारम्भ भएर दस गतेसम्म चारैतिर फैलियो । धेरै व्यक्तिका कानमा पुग्यो । गाउँका बूढापाकाले चक्रमानलाई भने–नयाँ काम पो गरिछस् त, भतिज । ‘के नयाँ काम भन्नु काका एउटी एकल महिलालाई, एक विधुर पुरुषले संरक्षण गर्न खोज्यो उसका सन्तानको भविष्य बनाइदिन चाह्यो यति त हो नि ।’ 

गाउँघरमा आलोचना भयो, निन्दा गरे भनेर तिनीहरू निराश भएका थिएनन् । ‘अघि देवताका पालामा पनि यस्ता काम भएका थिए । पाँच पाण्डवकी एउटै श्रीमती थिइन् द्रौपदी । अहिले पनि हिमाली क्षेत्रमा कुनै जातिमा दाजुभाइले एउटै महिलालाई श्रीमती बनाउने चलन छ । लक्ष्मण बाजेले सम्झाएर भने । चक्रमानले कुनै उत्तर दिन चाहेन । मौन भएर ती काकालाई आँखा फर्काएर हेर्‍यो । मनमा कुरा खेलायो, यति कुरा बुझ्ने मानिस गाउँमा दस जनाजति भए त मलाई सहयोग पुग्थ्यो ।

भीमकलाको शरीर डोलिँदै गयो । गालामा पोतो बस्यो । गाउँका महिलाहरूको तीखो र असभ्य आलोचनाले पनि नवदम्पती चक्रमान र भीमकलालाई खासै प्रभाव परेन । तिनीहरूले हाँसेरै पचाए । भीमकला मूल्यहीन आलोचना र चोट सहेर साहसी भएकी थिई । उनीहरूले भूकम्पको राहतबाट गतिलो घर बनाए, बसाइ सरेर कतै जाने विचार गरेनन् । गाउँमा आलोचनाका शब्दहरू कम हुँदै गए । कनकरामको घाउ पुच्छाउनीको रकमले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन थाले ।

 

 Image