Successfully Copied

चाडपर्वमा पुरुषको भूमिका

विशेषगरी चाडपर्व तथा उत्सवका बेला पुरुषहरू खाने–पिउने, मनोरञ्जन, घुमफिर गर्नेदेखि साथीभाइहरूसँगको गेटटुगेदरमा मस्त देखिन्छन् । एउटै सामाजिक एवं सांस्कृतिक परिवेशभित्र पनि महिला र पुरुषका भिन्न अनुभव–अनुभूति हुनु हाम्रो सामाजिक सोच एवं पुरुषले घरमा काम गर्नु हुँदैन भन्ने पुरानो मान्यताले सिर्जिएको अवस्था हो ।

पहिले बाल्यावस्थामा दसैं, तिहार एवं तीज कहिले आउला भनेर महिना दिनदेखि औंला गनेर बस्ने महिलाहरू अहिले चाड जति नजिक आयो उति हैरान हुन्छन् । शिक्षण पेसामा दुई दशकदेखि लागिरहेकी प्रभा वियोगी भन्छिन्–‘चाडपर्व आयो कि दिक्क लाग्छ । एक त महिलाहरू पहिलेजस्तो घरभित्र मात्र सीमित छैनन् । उनीहरू घरभित्रका सबै कामका साथमा आय आर्जन एवं समाजका गतिविधिमा उत्तिकै व्यस्त हुँदैछन् । कामकाजी महिलाहरू श्रमको दोहोरो मारमा परिरहेका हुन्छन् । पुरुषले घरेलु काम गर्न नहुने भन्ने पुरातन मान्यताका कारण महिलाहरू यसरी दृश्य–अदृश्य श्रमको मारमा परिरहेका छन् ।

विशेषगरी चाडपर्व तथा उत्सवका बेला पुरुषहरू खाने–पिउने, मनोरञ्जन, घुमफिर गर्नेदेखि साथीभाइहरूसँगको गेटटुगेदरमा मस्त देखिन्छन् । एउटै सामाजिक एवं सांस्कृतिक परिवेशभित्र पनि महिला र पुरुषका भिन्न अनुभव–अनुभूति हुनु हाम्रो सामाजिक सोच एवं पुरुषले घरमा काम गर्नु हुँदैन भन्ने पुरानो मान्यताले सिर्जिएको अवस्था हो । अहिले आर्थिक बोझका कारण एक जनाको कमाइले मात्र पूरा परिवारको खर्च उठाउन गार्‍हो छ । जसका कारण महिलाले पनि पुरुषलाई आर्थिक रूपले सहयोग गर्नु आवश्यक छ । यता महिलाले आफ्नो घरपरिवारलाई समय दिन पनि उत्तिकै आवश्यक छ । यी दुवै कुरालाई मिलाएर अघि बढाउन महिलालाई धेरै कठिन हुन्छ । त्यसैले पुरुष र महिलाबीच सन्तुलन हुनुपर्छ । यसका लागि पुरुषले पनि घरको काममा सहयोग गर्नुपर्छ भन्ने भावना प्रबल हुँदै गएको छ भने त्यसमा सहयोगी भावनाका पुरुष पनि उत्तिकै छन् ।

व्यस्त जीवन शैलीका कारण महिलाहरूमा टेन्सन, डिप्रेसन, प्रेसर तथा थाइराइड पनि उत्तिकै बढ्दो छ । त्यसैले पनि रमाइलो र सद्भावपूर्वक मनाउनुपर्ने चाडलाई बोझका रूपमा लिन थालिएको पाइन्छ भने अहिलेको पुस्तामा मिलेर काम गर्नुपर्छ भन्ने सोचसमेत बढ्दै गएको अनुभव गर्न सकिन्छ । कतिपय पुरुषले चाहेर पनि काममा सहयोग गर्न जानेका हुँदैनन् किनभने उनीहरूले सानैदेखि भान्साको काम सिकेका हुँदैनन् भने न सरसफाइ गर्ने तरिका, न त व्यावहारिक रूपमा मिलाउने कुरा नै जानेका हुन्छन् । त्यसैले कतिपय महिलाले सहयोगी श्रीमान् पाएर पनि काम गराउन नसकेको अवस्था छ । पहिले जस्तै घरका सबै काम महिलाले नै गर्ने हो भने पक्कै सम्भव हुँदैन । आगामी पुस्तामा यस्तो समस्या पक्कै नदेखिएला । अहिलेका महिलाहरू आफ्ना छोरालाई पनि घरको सबै काममा निपुण बनाउन चाहन्छन् । यदि छोरालाई पहिलेको जस्तै पुरुष बनाउने हो भने ऊ समाजका लागि पक्कै परफेक्ट हुँदैन । अहिले धेरैजसोका एकल सन्तान हुने भएकाले अभिभावकहरू छोरा र छोरीलाई उस्तै व्यवहारका साथ हुर्काउँछन् । यदि विदेशै गए पनि सबै काम आफैले गर्नुपर्ने हुँदा केही गर्न नजान्नेले पक्कै दु:ख पाउँछन् । 

डा. कुञ्जन आचार्य अरु बेला घरमा सहयोग नगर्ने श्रीमान्हरूले पनि दसैं–तिहारजस्ता चाडपर्वमा श्रीमतीलाई सहयोग गर्नुपर्ने धारणा राख्छन् । यदि अबको पुस्ताले पनि सबै काम श्रीमतीले नै गर्नुपर्छ भन्ने सोच राख्ने हो भने गृह कलह त सामान्य हो चाडपर्व नै विस्थापित हुने स्थितिसम्म सिर्जना हुनेछ । डा. आचार्य भन्छन्–हामी दुवै श्रीमान्–श्रीमती चिकित्सक हौं, हामी दुवै उत्तिकै व्यस्त छौं तर घरको काम तथा छोराछोरीको कुरामा यो मेरो काम होइन भनेर पन्छिन खोज्यो भने घर त नर्क नै हुन्छ । हामी दुवै थाकेका हुन्छौं, दुवैले मिलेर काम गरियो भने छिटै र सजिलैसँग काम सकिन्छ । अझ दसैंमा त भान्सादेखि सरसफाइ तथा किनमेलमा पनि पुरुषले महिलालाई सहयोग गर्नुपर्ने डा. आचार्य बताउँछन् । 

व्यवसायी अभिषेक ढुङ्गेल संयुक्त परिवारमा बस्ने भएकाले श्रीमतीलाई मात्र कामको भार नभएको बताउँछन् । उनको घरमा कसैलाई पनि कामको बोझ नभएको बताउँदै चाडपर्वमा महिला बढी काममा व्यस्त हुने हुँदा त्यसलाई पनि सजिलो बनाएको बताउँछन्–अभिषेक । जमरा बुवाले राख्ने, पूजाका सरसामान आमाले व्यवस्था गर्ने पुरानै चलन छ उनको घरमा । दसैंमा पहिले जस्तो घरमा कमै मात्रै गेटटुगेदर गर्छन् । उनी यस्ता गेटटुगेदरहरू रेस्टुराँमै मिलाउँछन् । यसले काम पनि कम हुने र महिलाहरूले पनि मज्जाले रमाइलो गर्ने मौका पाउने अभिषेक बताउँछन् ।

घरमै मान्छे बोलाउँदा पकाउने, भाँडा माझ्ने मान्छे हायर गर्ने उनले बताए । दसैंको सपिङका लागि उनी श्रीमतीलाई बाइकमा राखेर सँगै लान्छन् । दसैंमा घर सफा गर्न पनि सफाइ कम्पनीबाट मान्छे बोलाइदिन्छन् । अभिषेक भन्छन्–रेस्टुराँ तथा पार्टी प्यालेसको व्यवसाय भएकाले म चाडपर्वमा निकै व्यस्त हुन्छु । त्यसैले घरमा श्रीमतीलाई सघाउन त्यति पाउँदिन । आफै पनि डाक्टर भएकीले उनीसँग पनि त्यति समय हुँदैन । त्यसैले अहिलेको सुविधा सदुपयोग गरी चाडपर्वमा सजिलो बनाइदिन्छु । कि आफैले सहयोग गर्नुपर्‍यो अन्यथा व्यवस्था गरिनुपर्‍यो अनि मात्र चाडपर्व सबैका लागि रमाइलो हुन्छ ।

पब्लिक सूत्रधार सहकारीका अध्यक्ष विधान जोशी पनि अभिषेकको जस्तै सोच राख्छन् । विधान दसैंका लागि आवश्यक बाहिरी पक्ष किनमेल, घरभित्र कलर, सामान थप्नेदेखि लिएर सबै काम गरिदिन्छन् ।

यसरी बाहिरी काम मात्र गरिदिँदा पनि महिलालाई धेरै हदसम्म सहयोग पुग्ने उनको धारणा छ । श्रीमती बालबालिकाहरूलाई लिएर दसैंका लत्ता–कपडा तथा घरको किनमेल गर्छिन् । विधान परिकार पकाउने बाहेक सरसफाइसम्म गरी श्रीमतीलाई सहयोग गर्छन् । साथमा उनी दसैंको प्लानिङ नै बनाइदिन्छन् ।

दुवै जना व्यस्त भएकाले कतिपय सपिङ अनलाइनमार्फत गर्ने विधान घरमा जमघटका बेला श्रीमतीले पकाएको खाना सर्भ गर्नुका साथै कोठाहरू चिटिक्क पारिदिन्छन् । यस्तो पर्वको समयमा श्रीमान्–श्रीमती दुवैले मिलेर काम गर्नुपर्ने सोच राख्छन् उनी । जो जुन काममा कुशल छ उसले त्यही काम गरेर कामलाई सजिलो बनाई दिनुपर्छ । जोशी भन्छन्–‘चाडपर्वलाई बोझ होइन रमाइलो पर्व बनाउनुपर्छ र त्यो आफ्नै हातमा छ ।’

 Image