सन्तान नभए के गर्ने ?

डा. सविना श्रेष्ठ प्रधान

भाद्र २५, २०७६

 

नि: सन्तान विशेषज्ञ, ओम अस्पताल तथारिसर्च सेन्टर 

विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ–घरमा शिशुको हाँसो गुन्जियोस् तर चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र निरस अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेला गर्ने चलन छ । झन्डै १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरूका लागि कालकोठरीजस्तै बन्न पुगेको छ । आजको वैज्ञानिक युगमा आईयूआई, आईभीएफ (टेस्टट्युब बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पतीको सपना साकार हुन पुगेको छ ।

नि:सन्तान भन्नाले परिवार नियोजनका कुनै पनि साधन नअपनाई नियमित सहवासका बाबजुद दुई वर्षसम्म गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ ।

स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण यस्तो हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरूलाई हेला गर्ने चलन छ । नि:सन्तानका हातको पानी चल्दैन वा उनीहरूबाट पितृहरू पनि विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा हाम्रो समाजमा यदाकदा विद्यमान छ । यद्यपि त्यो पूर्णत: गलत कुरा हो । नि:सन्तान हुनुको कारण निक्र्याेल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् । अरूको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने सन्तानहीन दम्पती हाम्रै समाजमा पनि छन् ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । दुई महिनाको बिदामा आएको समयमा घरपरिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनावमा परेर उनीहरूले सन्तान जन्माउन सकेका हुँदैनन् । श्रीमान्–श्रीमती दुवैमा कुनै खरावी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ–‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’ यस्ता समस्या लिएर आउनेहरूका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ । श्रीमान्को शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान् विदेश गैसकेपछि पनि त्यसलाई श्रीमतीको पाठेघरमा राखेर उपचार गरिन्छ । यद्यपि यस्तो अवस्थामा समाजले श्रीमान् विदेशमा भएको समयमा पनि कसरी गर्भवती भइन् भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमान्को शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ ।

विदेशमा काम गर्न जानेहरूको शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुनसक्छ । यस्तो उनीहरूले काम गर्ने ठाउँको उच्च तापक्रमका कारण हुनसक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । त्यस्तो अवस्थामा सामान्य अवस्थामा फर्कन करिब ३ महिना लाग्छ । त्यतिबेलासम्म उनीहरू पुन: रोजगारीका लागि फर्कनुपर्छ । त्यसकारण पनि चाहेको समयमा सन्तान हुन पाउँदैनन् । यस्तो स्थितिमा आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । ओम अस्पतालमा यो विधिद्वारा करिब दुई हजारले सन्तान जन्माएका छन् ।

पुरुषमा सन्तान नहुने कारण

    वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।

    वीर्यमा शुक्रकीट उत्पादन नहुनु ।

    वीर्यमा संक्रमण ।

    शुक्राणुको बनावटमा खराबी ।

    हार्मोनमा गडबडी ।

    पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।

    शुक्रनली वा अन्य भागमा केही 

अवरोध हुनु ।

महिलामा सन्तान नहुने कारण

    अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै्र स–साना डिम्ब बने पनि नबढ्ने ।

    पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।

    पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुँदा ।

    हार्मोनमा गडबडी ।

    पाठेघरको झिल्लीमा मासु बढ्नु ।

    गर्भाशयको मुख ज्यादै सानो हुनु ।

महिलामा गर्नुपर्ने जाँच

    पाठेघरको झिल्लीमा क्षयरोग छ कि छैन ? 

    महिनावारी भएको दोस्रो वा तेस्रो दिन हार्मोनको जाँच ।

    रगतको सामान्य जाँच ।

    भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच ।

    दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच ।

    सहवासपछि शुक्रकीटको जाँच ।

पुरुषमा गर्नुपर्ने जाँच

    रगतको सामान्य जाँच ।

    वीर्यको विशेष जाँच ।

    आवश्यकताअनुसार टेस्टिकुलर बायोप्सी ।

    हार्मोनको जाँच ।

    सबै किसिमको जाँचपछि नै कुनै निष्कर्षमा पुग्न सकिन्छ । त्यसपछि मात्र उपचारको उपयुक्त विधि निक्र्यौल गरी त्यसमा जानुपर्छ ।

उपचार विधि

    सबै जाँचपछि श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने ।

    आर्टिफिसियल इन्सेमिनेसन विद पार्टनर्स स्पर्म ।

    आट्रिफिसियल इन्सेमिनेसन विद डोनर्स स्पर्म ।

    टेस्टट्युब बेबी ।

    आईभीएफ विद डोनर स्पर्म ।

    एग डोनेसन ।

    सिमेन एण्ड एम्ब्रियो बैंक ।

    डोनर एम्ब्रियो ट्रान्सफर ।

    इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन ।

सामान्य उपचारअन्तर्गत महिनावारी भएको तेस्रो दिनदेखि अण्डा बन्ने औषधि दिएर महिनावारी भएको नौ दिनपछि ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’ बाट अण्डा बनेको गतिविधि हेरिन्छ । यसमा कसैकसैलाई हार्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुनसक्छ । अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर वृद्धि हुन्छ ।

आईयूआई प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर नौ दिनपछि टिभिएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ । यो प्रक्रियामा कसैकसैलाई हार्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको १४–१५ दिनमा जब अण्डा फुट्छ तब श्रीमान्को वीर्य संकलन गरी आईभीएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट महिलाको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडारहित हुन्छ । यसमा बिरामीलाई अस्पताल पनि भर्ना गर्नुपर्ने आवश्यकता पनि पर्दैन ।

श्रीमान्को वीर्य संख्या निकै कम भएको वा शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान्–श्रीमती दुवैको सहमतिबमोजिम दाताको शुक्राणु लिएर समेत यो उपचार गर्न सकिन्छ । आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भए पनि खुल्ला हुनुपर्छ र पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ । यदि महिलाको पाठेघरको दुवै नली बन्द भए, नलीहरू शल्यक्रियाद्वारा निकालिएको भए, ६ पटकसम्म आईयूआई सफल नभए, बाँझोपनको कुनै कारण पत्ता नलागे आईभीएफ (टेस्टट्युब बेबी) विधि अपनाइन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्