Successfully Copied

बाबा प्रेरक व्यक्तित्व 

दृष्टिविहीन भएर पनि सृष्टि केसीले आज बेग्लै ख्याति कमाएकी छिन् । उनी ‘प्रेरणादायी वक्ता’ का रूपमा देश–विदेश पुगिरहेकी हुन्छिन् । उनको जीवन संघर्ष र सफलतामाथि चलचित्र नै बनेको छ–ब्लाइन्ड रक्स । तिनै सृष्टि यो उचाइसम्म पुग्नुका पछाडि उनका पिता राजेशमान केसीको समर्पण र संघर्षको छुट्टै कथा–व्यथा

दृष्टिविहीन भएर पनि सृष्टि केसीले आज बेग्लै ख्याति कमाएकी छिन् । उनी ‘प्रेरणादायी वक्ता’ का रूपमा देश–विदेश पुगिरहेकी हुन्छिन् । उनको जीवन संघर्ष र सफलतामाथि चलचित्र नै बनेको छ–ब्लाइन्ड रक्स । तिनै सृष्टि यो उचाइसम्म पुग्नुका पछाडि उनका पिता राजेशमान केसीको समर्पण र संघर्षको छुट्टै कथा–व्यथा छ । 

सृष्टि केसी, दृष्टिविहीन मोटिभेसनल स्पिकर

बुबा : राजेशमान केसी

सृष्टि केसीले सानैमा दृष्टि गुमाइन् । त्यसपछि उनको संघर्ष सुरु भयो । दृष्टिविहीन भएपछि उनका लागि संसार अँध्यारो र साँघुरो भयो । यद्यपि सृष्टिको रुचि, दृढता, साहस र मेहनतले उनको जीवनका ती अप्ठ्याराहरू पार मात्र भएनन्, लोभलाग्दो उपलब्धिसमेत हासिल भयो । यही उपलब्धिका पछाडिका उत्प्रेरक पात्र हुन्–राजेशमान केसी । 

सृष्टि भन्छिन्–‘मैले आँखा देख्न छोडेकी थिएँ । दैनिक जीवनयापन मेरा लागि कठिन भैसकेको थियो । त्यतिबेला बाबाले हौसला र सकारात्मक वातावरण दिइरहनुभयो । त्यसैले पनि ममा केही गर्नुपर्छ भन्ने इच्छा जाग्यो ।’

बाबा प्रेरक व्यक्तित्व 

म जन्मदा देख्न सक्थें । पछि मेरो दृष्टि गुम्यो । त्यतिबेला म जति दुःखी थिएँ, त्यो भन्दा बढी चिन्तित मेरा बाबा–आमा हुनुहुन्थ्यो । उहाँहरू कहिले अस्पताल धाउनुहुन्थ्यो, कहिले कहाँ पुग्नुहुन्थ्यो । बाबाकै प्रयासमा भारतसम्म पुगेर जँचाइयो तर उपचार हुन सकेन । त्यसपछि मैले कुनै दिन आँखा देख्नेछु भन्ने कुरामा कत्ति पनि आशा बाँकी रहेन । 

मलाई लेख्न, पढ्न, खेल्न एवं नाच्न मन लाग्थ्यो । आँखा देख्दासम्म म चुलबुले थिएँ । जे देख्यो, त्यही गर्न मन लाग्थ्यो । आँखाकै कारण म यी सबै कुरा गुमाउँदै थिएँ तर बाबा भन्नुहुन्थ्यो–‘केही बिग्रिएको छैन, किन हार मान्छ्यौ ? उहाँको कुराले मलाई प्रेरणा मिल्थ्यो । म आफै मेहनत गरी पढ्न थालें । मेरो पढाइ राम्रो भयो । पढाइसँगै नाचगानका अतिरिक्त अन्य गतिविधिमा पनि रुचि जाग्यो । बाबाले मेरो हात समाएर नाच्न लानुभयो । बाबा भन्नुहुन्थ्यो–‘आफ्नो इच्छा मार्नुहुँदैन । तिमीलाई जे रहर लाग्छ, पूरा गर ।’ 

मानिसहरू भन्थे–‘यस्ती छोरीलाई नचाएर के गरेको होला ?’ तर बाबा त्यस्ता टिप्पणीबाट पनि विचलित हुनुभएन । उहाँ मेरो इच्छा बुझ्नुहुन्थ्यो । मेरा बाबाको रुचि गीत–संगीतमा पनि छ । जतिबेला म आँखा देख्थें, त्यतिबेला काठमाडौंभन्दा बाहिर गएकी थिइन । आँखा देख्न छाडेपछि नाच्नका लागि काठमाडौंबाहिर जानुपर्ने भयो ।

नाच्नकै लागि विदेश पनि जानुपर्ने भयो । त्यतिबेला कतिले भन्थे, नचिनेकाहरूसँग किन पठाएको ? आँखा नदेख्ने छोरी कहाँ पुग्ली, उतै हराउली भन्थे तर मेरो बाबामा कन्फिडेन्ट थियो । उहाँ भन्नुहुन्थ्यो–‘संसार हेर्नुपर्छ, घुम्नुपर्छ । ऊ आफ्नो प्रतिभाका कारण जाँदैछे ।’ 

म बाबासँगै घुम्न जान्थें । मर्निङ वाकमा पनि सँगै हिँड्थें । बेलाबखत उहाँलाई मेरो अवस्था देखेर चिन्ता पनि लाग्दो रहेछ । भन्नुहुन्थ्यो–‘अहिले हामीले तिम्रो रेखदेख गरिरहेका छौं, भोलि हामी नहुँदा पनि तिमीले यसैगरी बाँच्न सिक्नुपर्छ ।’

 

 Image