कुन मन्दिरमा जान्छौं यात्री ?

कविता शर्मा

भाद्र ६, २०७६

 

व्रत धार्मिक दृष्टिकोणले राम्रो त छँदैछ वैज्ञानिक दृष्टिकोणले पनि राम्रो मानिन्छ । विभिन्न बार वा तिथिअनुसार विभिन्न भगवान्को आराधना गरी व्रत बसिन्छ ।  

परिवारका साथ पशुपतिनाथको दर्शन गरें । जब म जल, फल, दूध तथा दक्षिणा अर्पण गरेर फर्कदै थिएँ–आँखा पर्‍यो सडकको पेटीमा कटौरा बोकेर बसेका एक वृद्ध जोडीमाथि । हुन त त्यहाँ ती वृद्ध जोडीमात्र थिएनन् लामबद्ध रूपमा थुप्रै असहाय कटौरा लिएर बसेका थिए । मेरो हातको थाली रित्तिएको थियो भगवान्लाई जल, फल एवं प्रसाद अर्पण गरेर । मनले सोच्यो ती वृद्ध आमालाई घाँटी भिजाउने एक प्याला जल पनि पिलाउन सकिन भने शिवजीलाई भित्र दूध चढाएको के अर्थ रह्यो ? त्यसपछि म ती वृद्धालाई केही दक्षिणा अर्पण गरेर घर फर्किएँ । 

हामी हिन्दू धर्म पम्पराअनुसार मन्दिर जाँदा विशेष व्रत बस्छौं । आफूले चिताएको पुगोस् वा श्रीमान्को आयु लामो होस् भनेर हामी व्रत बस्छौं । व्रत धार्मिक दृष्टिकोणले राम्रो त छँदैछ वैज्ञानिक दृष्टिकोणले पनि राम्रो मानिन्छ । विभिन्न बार वा तिथिअनुसार विभिन्न भगवान्को आराधना गरी व्रत बसिन्छ । आइतबार सूर्यको, सोमबार शिवजीको, मंगलबार गणेशजीको, बुधबार ग्रहको, बिहीबार वैभव लक्ष्मीको, शुक्रबार सन्तोषी माताको, शनिबार देवीको र त्यसैगरी पूर्णिमामा चन्द्रमाको, तीजमा शिवजीको जस्तै विभिन्न भगवान्को आराधना गरेर व्रत बस्ने चलन छ । व्रत बसी पूजा–आराधना गर्दा मन शान्त हुन्छ । व्रत बस्दा हामी बिहान नुहाएर थालीमा फल, प्रसाद, जल, दूध तथा दक्षिणा बोकी मन्दिरमा चढाउँछौं । त्यो हाम्रो भगवान्प्रतिको आस्था र विश्वास हो तर मन्दिर जाने क्रममा सडकको पेटीमा बसेका भोकाहरूप्रति हाम्रो ध्यान कति पुग्छ ? 

हामी आफूलाई त्यही ठाउँमा राखेर एकैछिन कल्पना मात्र गरौं त ? कति दर्दनाक छन् ती दृश्य । हामी मन्दिरको पेटीमा मागेर बस्न सक्छौं ? कुनै पनि मानिस खान–लाउन पाए माग्न बस्दैन र काम गरेर खान सक्नेहरू पनि माग्न बस्दैनन् । ती माग्न बसेकाहरूमध्ये कोही हात, कोही खुट्टा त, कोही आँखा नभएका अथवा शारीरिक अवस्था कमजोर भएकाहरू हुन्छन् । उनीहरूको आर्थिक अवस्था पनि एकदमै कमजोर हुन्छ । उनीहरूको अपेक्षा धेरै ठूलो हुँदैन । मन्दिरमा भगवान्लाई अर्पण गर्न ल्याएको वस्तुबाट कसैले केही टुक्रा खान वा दक्षिणा देला कि भनेर बसेका हुन्छन् उनीहरू । हामीले भगवान्लाई चढाउने फल, जल, दूध तथा दक्षिणाको एक भाग मात्र ती भोकालाई दिन सक्यौं भने तिनको पेट अन्नले त भरिन्छ नै जिउँदा भगवान्को आशीर्वादले हाम्रो शिरसमेत भरिन्छ । 

भगवान् हाम्रो परीक्षा लिन पनि आउन सक्नुहुन्छ । हामी मन्दिरमा दर्शन गर्न जाँदा त्यही मन्दिरबाहिर कटौरा बोकेर बसेका असहायहरूमध्ये कुनै एक शिव नै हुन् कि ती वृद्ध भेटिएका जोडी शिव–पार्वती नै हुन् कि हाम्रो परीक्षा लिन आएका ? सडकमा भेटिएका भगवान्लाई नचिनी उनको वास्तै नगरी मन्दिरमा राखिएका मूर्तिमा दूध, फल, दक्षिणा चढाउँदा भगवान् खुसी हुन्छन् कि दुःखी ? 

पशुपतिनाथको मन्दिर वरिपरि मात्र होइन हरेक मन्दिरका पेटीमा यसरी लामबद्ध थुप्रै मानिस भेटिन्छन् । उनीहरू दिनभरि त त्यहीँ बस्छन् तर रात परेपछि कहाँ जान्छन् ? के खान्छन् ? कसैको घर होला कसैको सडक पेटी नै घर होला, हामी सर्वसाधारणको मात्र होइन यो कुरामा विभिन्न दल तथा सरकारकै ध्यान जान सके, ती सबैको उचित व्यवस्थापन हुन सके तिनको उद्धार त हुने नै थियो एउटा ठूलो पुण्यसमेत हुने थियो । 

मन्दिरको अघिल्तिर बसेकी वृद्धा महिला मेरी आमा थिइनन् तर कसैकी आमा थिइन् । ती वृद्धालाई आफ्नी आमा सम्झेर हेरौं त ? हामी एक्काइसौं शताब्दीको नयाँ नेपाल भन्छौं, हामी गणतान्त्रिक संविधान पाएको नेपाल भन्छौं । आखिर तिनका लागि के नयाँ नेपाल ? के नयाँ संविधान ? अनि के गणतन्त्र ? 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्