Successfully Copied

आमाजस्तै सासू–छोरीजस्तै बुहारी

महिला–महिला मिलेर बस्न सक्दैनन्, महिला नै महिलाका शत्रु हुन् भन्ने पुराना उखान वा भनाइहरू अब डेट एक्सपायर भैसकेका छन् । आजको समयमा नारीको उन्नति–प्रगतिको एउटा प्रमुख हिस्सा नारी नै हुँदै गएका छन् ।

जोसँग भगवान्जस्ती आमा छिन्, ऊ नै धनी हो ।’ अब्राह्म लिंकनको यो भनाइ आमाको हकमा निकै मर्मस्पर्शी छ । संसारका हरेक आमाले आफ्नो आत्मालाई सन्तानको आत्मासँग जोडेका हुन्छन् । त्यसैले अधिकारकर्मी लिली थापा भन्छिन्–‘मैले बुहारीलाई राम्रो गरें भने छोरालाई राम्रो हुन्छ, छोराको खुसी नै मेरो खुसी हो ।’ 

‘बुवाको माया पाउन तिमी योग्य हुनुपर्छ, तर आमाले तिमी योग्य नभए पनि तिमीलाई माया गरिरहन्छिन् ।’ अल्बर्ट फ्रोस्टको यो विचारले आमालाई त्याग र ममताकी खानीका रूपमा अर्थ्याएको छ भने ‘मायाको सुरुवात र अन्त्य मातृत्वबाट हुन्छ’ भन्ने रोबर्ट ब्रोनिङको भनाइ पनि त्यत्तिकै बलियो छ । यो ब्रह्माण्डमा आमाको ममता, त्याग एवं प्रेमलाई शब्दमा वर्णन गर्न असम्भव छ । आमाको त्यागकै कारण पराइघरबाट बिदा लिएर आएकी छोरी हुन् वा पराइघर पठाइएकी आफ्नै छोरीले प्रेम र जीवन प्राप्त गर्नुका साथै प्रकृतिलाई निरन्तर अघि बढाउन सक्छन् । अधिवक्ता तथा समाजशास्त्री मन दाहालका अनुसार आमामा सम्झौता गर्न सक्ने अथाह शक्ति हुन्छ जसले हरेक सम्बन्धलाई सुमधुर र बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्छ । 

महिला–महिला मिलेर बस्न सक्दैनन्, महिला नै महिलाका शत्रु हुन् भन्ने पुराना उखान वा भनाइहरू अब डेट एक्सपायर भैसकेका छन् । आजको समयमा नारीको उन्नति–प्रगतिको एउटा प्रमुख हिस्सा नारी नै हुँदै गएका छन् । खाली सिसीकी आयुषी के.सी. भन्छिन्–‘मेरी सासूले एउटा साडी वा लिपिस्टिक किनिदिएर क्षणिक खुसी दिने भन्दा पनि मेरो जीवन समृद्धिका लागि बलियो जग कसरी बनाउन सकिन्छ भन्नेमा महत्वपूर्ण भूमिका खेलिरहनुभएको छ ।’ उनी यो सम्बन्धलाई यथास्थानमा रहन दिनुपर्ने र यसका बारेमा बढी ‘सुगर कोट’ को जरुरत नभएको बताउँछिन् । 

डा. प्रीति विष्ट भन्छिन्–सासू–बुहारीको सम्बन्धमा उमेरलगायत व्यवहार एवं पुस्तान्तरणको विषय जोडिने भएकाले सासूको स्थानबाट बुहारीले र बुहारीको स्थानबाट सासूले हेर्न सकियो र उनीहरूबीच खुला संवाद हुन सक्यो भने सम्बन्ध बलियो एवं प्रगाढ हुन्छ । बैंकर्स सिर्जना मानन्धर सासू–बुहारीको सम्बन्धलाई आपसी समझदारीका रूपमा लिन्छिन् भने प्राज्ञिक क्षेत्रमा लामो समय बिताएकी कल्पना पाण्डे सासू–बुहारीको सम्बन्धमा मन र चित्त शुद्ध राख्न सकियो भने छोराको जीवन मात्र नभई घरको वातावरण नै रमणीय हुने कुरा बताउँछिन् । उद्यमी देवना राणाले त स्लोगन (मन्त्र) नै बनाएकी छिन्–‘अब बुहारीलाई पनि छोरीसरहको व्यवहार गरौं, त्यो पनि आफ्नै छोरीलाइ जसरी ।’ 

लिली थापा, संस्थापक–डब्ल्युएचआर, मानव अधिकारका लागि महिला, एकल महिला समूह

आयुषी के.सी., संस्थापक, खाली सिसी

उपासना राणा, कार्यक्रम प्रबन्धक, डब्ल्युएचआर

अधिकारकर्मी लिली थापाका तीन वटी बुहारी छन् । उनीहरूसँग सम्बन्धको स्थान र तह समान छ । जेठी बुहारी उपासनाका अनुसार आफ्नो विवाहअघि अधिकारकर्मीका रूपमा सासूका बारेमा सुनेका कारण हाउगुजी भए पनि बुहारी बनेर आइसकेपछि आफूलाई निकै सहज हुनुका साथै करियरमा ठूलो सहयोग पुगेको छ । माहिली बुहारी अनिता लिलीलार्ई आधुनिक एवं जिम्मेवार सासूका रूपमा लिन्छिन् भने कान्छी आयुषी सासूकै कारण विवाहपछि जीवनको उद्देश्य र करियर बुझेको बताउँछिन् ।

यी तीनै जनाको भनाइमा लिली जीवनको उद्देश्य र गन्तव्यप्रति कुनै द्विविधा नभएकी महिला हुन् । सासू–बुहारी सम्बन्धमा लिलीको भने अलिक भिन्न तर्क छ । ‘सासू जति गरे पनि सासू नै हो, बुहारी बुहारी नै, यदि कसैले सासू–बुहारी आमा–छोरी हुन सक्छन् भन्छ भने त्यो ढोंग मात्र हुनेछ ।’ जीवनको यथार्थ र यसको धरातलमा टेक्दै लिली भन्छिन्–‘म बुहारीहरूलाई छोराका मिल्ने साथीका रूपमा लिन्छु । जसका कारण मेरा छोराहरूलाई खुसी मिलोस् । मैले बुहारीलाई राम्रो गरें भने छोराहरूलाई राम्रो हुन्छ र उनीहरू खुसी हुन्छन् । यो समझदारीको सम्बन्ध हो । छोराको गल्तीमा सय प्रतिशत माफी दिइन्छ तर बुहारीको गल्तीमा शतप्रतिशत दिन सकिँदैन । भन्नकै लागि जति मीठा शब्द प्रयोग गरे पनि यथार्थ यही हो जुन हामीले स्वीकार गर्न सक्नुपर्छ ।’ उनकी कान्छी बुहारी आयुषी पनि यो सम्बन्धलाई कुनै सुगर–कोट नगरी जस्ताको तस्तै आ–आफ्नो स्थानमा सम्मानजनक व्यवहार हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दै भन्छिन्–यो अत्यन्तै पोटेन्सियल नाता हो । यसलाई कस्मोटाइज गरेर कृत्रिम बनाइरहनुपर्ने जरुरी छैन । यसलाई जे हो त्यही रहन दिनुपर्छ तर यो सम्बन्धभित्रका गलत सोच एवं व्यवहारलाई भने बदल्नुपर्छ ।’

मोटरसाइकल, मोटर हाँक्ने, हक्की र सक्रिय बुहारी आइदिए हुन्थ्यो भन्ने लिली अन्ततः बुहारीहरूलाई त्यस्तै बनाउन सफल भइन् । यी तीनै जना उनको घर भित्रिएपछि नै काम, करियर र जीवनको बाटो पहिल्याउन सके जुन उनीहरू तीनै जना स्वीकार गर्छन् । उनीहरू जम्मा हुँदा प्रोफेसनल कुराबाहेक अन्य कुरा हुँदैन । सासूलाई खुसी देख्नका लागि बुहारीहरू नाइट शो मुभी लिएर जान्छन् । लिली पनि सकेसम्म उनीहरूको प्राइभेसीमा दखल नदिऊँ नै भन्ने सोच्छिन् । त्यसैले उनले तीनजना छोराको विवाहलगत्तै भान्सा अलग गरिदिएकी छिन् ताकि उनीहरूमा जिम्मेवारी बोध होस् र जीवनलाई आफै हाँक्न सक्षम हुन् । उनीहरूले आफै एक–अर्कालाई बुझेर सोहीअनुसार व्यवहार गरिरहेका हुन्छन् ।

लिलीसँग भावनात्मक रूपमा अत्यन्त निकट कान्छा छोरा अहिले पनि आमासँग एक–डेढ घन्टा कुरा नगरी आफ्नो बेडमा जाँदैनन् । यस्तो बेला आयुषीले उनीहरू दुई आमाछोराको प्राइभेसीलाई ख्याल राख्दै उनीहरूलाई डिस्टर्व गर्दिनन् । जेठी बुहारी उपासनाका जुम्ल्याहा सन्तानसँग समय बिताउँदा लिलीलाई अपार आनन्द लाग्छ । त्यही कुरा बुझेर उपासनाले दैनिक दुई घन्टा उनीहरूलाई सासूकहाँ छोडिदिने गरेकी छिन् । आफूले कहिल्यै बुहारीको रूपमा स्वतन्त्र र आफ्नो इच्छानुसार काम गर्न नपाएकाले लिलीलाई लाग्छ बुहारीहरूलाई स्वतन्त्रता तथा शिक्षा प्रदान गर्नुका साथै उनीहरूको करियरको जग बलियो बनाइदिनुपर्छ ।   

सासूका सम्बन्धमा

उपासना : मामुको मोबाइल स्क्रिनमा चार जना नातिनातिनाका तस्बिर छन् । उहाँलाई शुद्ध घिउमा बनाएको अमलेट मनपर्छ । उहाँको ब्यागमा वालेट, मोबाइल, गीताको सानो पुस्तक र साँचो हुन्छ । उहाँमा नेतृत्व लिन सक्ने अकल्पनीय क्षमता छ । 

आयुषी : अत्यन्तै स्ट्रेट फरवार्ड । झट्ट सुन्दा उहाँ कडा व्यक्तिजस्तो लाग्नुहुन्छ तर उहाँका हरेक काम–कुराले हामीलाई जीवन जिउन सहज बनाइरहेको हुन्छ । उहाँको नियत सफा छ । उहाँको मोबाइल स्क्रिन लक कोड १,२,३,४,५,६ हो । उहाँलाई रातो तथा गुलाबी रंग मनपर्छ । धेरै कुरा सफा चाहिने अनि भन्नेबित्तिकै तत्काल गरिहाल्ने बानीले उहाँ आफैंलाई पनि कतिपय अवस्थामा दुःख हुन्छ जस्तो लाग्छ । 

अनिता : आधुनिक सोच भएको जिम्मेवार र परिणाममुखी स्वभावयुक्त पुर्ण व्यक्तित्व । 

लिलीले चिनेका बुहारीहरू

हाम्रोजस्तो समाजमा परिवारको सहयोगबिना बुहारीहरू अगाडि आउन कठिन छ । तसर्थ बुहारीका लागि परिवार सहयोगी हुनुपर्छ । यिनले नाम–दाम कमाए भने छोरालाई सहज हुने र उसकै प्रतिष्ठा बढ्ने हो । छोराको खुसीका लागि र उनीहरूको वृत्तिविकासका लागि सहजीकरणको भूमिका खेलिदिनुपर्छ । मैले उनीहरूलाई समाजले छुट्याइदिएको सासू–बुहारीको भूमिकामा कहिल्यै बाँध्न चाहिन । छोरी नभएकाले बुहारीहरूमा निकै रहर जाग्छ । उनीहरू बिहान आठ–नौ बजेसम्म सुत्छन् तर म वास्ता गर्दिन । मलाइ खुसी बनाउनुपर्‍यो भने मेरा लागि समय 

छुट्याउँछन्, मुभी डिनरमा लान्छन् । धर्मप्रति बेवास्ता गर्ने र जतन नगर्ने यिनीहरूको बानीमा भने सुधार ल्याउनुपर्छ ।

 

 Image