Successfully Copied

के गर्छन् महिलाहरु सामाजिक सञ्जालमा ?

गृहिणी गौरी कार्की सामाजिक सञ्जाललाई संसारभरका मानिसबीचको कनेक्टर डिभाइस भन्न रुचाउँछिन् जुन यति बलियो छ कि एकै समयमा एकैपटक ब्रह्माण्डभरका मानिससँग कुराकानी गर्न सकिन्छ । कार्की विशेषत: सोसल मिडियामा नयाँ–नयाँ कुरा पढ्न रुचाउँछिन् । साथीभाइ, परिवारका बारेमा थाहा पाउने बलियो माध्यम बनेको छ,

अहिले सामाजिक सञ्जाल क्रेज यसरी बढ्दैछ कि थोरै मानिस मात्र यसबाट अछूतो छन् । विश्वको ठूलो जनसंख्या सामाजिक सञ्जालमा प्रत्यक्ष जोडिएको छ जसका कारण संसार निकै साँघुरो भैसकेको छ । कोसौं टाढा घटेका घटना क्षणभरमै संसारभर एकैपटक भाइरल हुन्छन् । दशकौंअघि छुटेकाहरू पुन: भेटिन्छन्, को–कहाँ–कसरी–के गर्दैछ भन्ने कुरा भेटेर वा फोन गरेर बताइरहनु पर्दैन, एउटै क्लिकमा ब्रह्माण्ड भेटिन्छ–आफ्नै कोठाको ओछ्यानमै बसी–बसी । यस क्रममा नेपाली महिलाहरू पनि सोसल नेटवर्कमा निकै सक्रिय देखिन थालेका छन् ।  

माछापुच्छ्रे बैंंककी सुस्मिता श्रेष्ठसाथीभाइ तथा आफन्तसँग च्याट गर्न, समय व्यस्तताका कारण अनलाइन सपिङ (साडी, जुत्ता, कुर्ता, ब्याग, होम अप्लाइन्सेसहरूको खरिद खरिद) गर्न तथा स्ट्याटस पोस्ट गर्न सोसल नेटवर्किङमा जोडिने कुरा बताउँछिन् । जे भयो अपडेट गरिहाल्ने बानी छैन यद्यपि विशेष तथा नयाँ भयो भने मेरा तस्बिर अनि स्ट्याटस अपलोड हुन्छन्–सुस्मिताले भनिन्–‘अनलाइन मार्केटिङ तथा अनलाइन बिजनेस टिमले जति आकर्षक ढंगले क्रियटिभ आइडियाजहरू प्रस्तुत गरेका हुन्छन् तिनले मलाई सामाजिक सञ्जालमा तान्छन् ।’ श्रेष्ठका अनुसार अनलाइन सपिङमा सन्तुष्ट नै भइन्छ भन्ने छैन । कतिपय अवस्थामा यसरी किनिएका सामानमा डिफल्ट पनि भेटिएको अनुभव छ उनीसँग । करेन्ट मार्केट सिनारियो, क्विक्ली अपडेट्स, मुलुक कता गैरहेछ भन्ने सूचनाले आफूलाई बढी आकर्षित गर्ने श्रेष्ठ बताउँछिन् ।  

धुलिखेल अस्पतालमा एमबीबीएस अध्ययनरत अस्मिता केसी बढी इन्टाग्राममा फेला पर्छिन् किनभने उनलाई यो तुलनात्मक रूपमा सीमित तथा सुरक्षित लाग्छ । केसी खासै फेसबुक चलाउँदिनन् । कोराजस्ता सामाजिक साइटमा खुला प्रश्नोत्तर गर्न पाइने हुनाले उनलाई यो साइट निकै फलदायी लाग्छ । सामाजिक सञ्जालमार्फत हामी हरेक कुरामा अपडेट भैरहेका हुन्छौं जुन यसको सकारात्मक पक्ष हो–अस्मिताले भनिन्–काम नपरेसम्म कसैसँग च्याट गरेर बस्दिन, किनभने यस्ता कुराले समय बर्बाद गर्नुका साथै अनावश्यक कुरामा सहभागी बनाउँछ । बरु इभेन्ट्स क्रिएट गरिएका पेजहरू हेर्छु मन परे सहभागी पनि भैहाल्छु । मेडिकल फिल्डमा भएकीले अस्मिता विशेषगरी डाक्टर्स स्टोरी नेपाल, मेडिकल सोसाइटी, मेडप्रस्पेक्टिभजस्ता साइट फलो गर्छिन् । यसले उनलाई सामाजिक रूपमा सक्रिय तुल्याउनुका साथै विविध ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछ । सोसल साइटमा अनावश्यक पेज हुनुका साथै फोटो मात्र पोस्ट गर्ने अनि अनावश्यक च्याट गर्नेजस्ता क्रियाकलाप पनि हुन्छन् जुन केसीलाई मन पर्दैैन । सही प्रयोग गर्न सकेको खण्डमा सामाजिक सञ्जाल अत्यन्तै उपयोगी भएको उनले बताइन् । आधिकारिक पुष्टि नभएका समाचार सामाजिक सञ्जालमार्फत भाइरल हुन्छन् जसलाई उनी सामाजिक सञ्जालको नकारात्मक पक्ष भन्न रुचाउँछिन् । 

अन्नपूर्ण होटलकी एक्ज्युकेटिभ सेक्रेटरी अनिता श्रेष्ठ साथीभाइसँग कुरा गर्न, आफूलाई अप टु डेट राख्न तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचार तत्काल थाहा पाउन सोसल नेटवर्क प्रयोग गर्छिन् । साथीभाइको फोटो र राम्रा स्ट्याटसमा लाइक गर्छु–अनिता भन्छिन् । उनलाई फेसबुकमार्फत व्यक्तिगत कुरा सार्वजनिक गरेको मन पर्दैन । एउटा कोठाबाट अर्को कोठामा समेत म्यासेजमा कुरा हुन थालेको छ हिजोआज । यसबाट परिवारसँग टाढा भइन्छ जुन राम्रो होइन । 

व्यवसायी धर्ती सिंहलाई युट्युब भिडियोको आकर्षणले सामाजिक सञ्जालमा प्रवेश गर्न उत्प्रेरित गर्छ । सोसल नेटवर्कमा मुभी हेर्ने, मोटिभेसनल भिडियो हेर्ने, बजारमा कस्ता पहिरनको माग उच्च छ भन्ने सूचना लिने काम बढी गर्छिन् उनी । पहिरन तथा एसेसरिजको व्यवसायमा संलग्न धर्ती आफ्नो कामसँग सम्बन्धित जानकारी लिन सोसल मिडिया चहार्छिन् । सिंह भन्छिन्–सामाजिक सञ्जालमाकतिपय विषयमा नि:शुल्क परामर्श पाइन्छ । आफ्नो व्यवसाय वृद्धि गर्ने विभिन्न माध्यम तथा आइडिया फेला पर्छन् । त्यसबाहेक यो आफन्त एवं साथीभाइका बारेमा जानकारी लिन एवं मन छुने खालका विचार पढ्न पनि निकै उपयोगी छ । यसले विचारको दायरा फराकिलो पार्न तथा विश्व घटना तत्काल जान्न निकै मद्दत पुर्‍याएको छ । 

डिजाइनर आयुषा लामाका आकर्षक तस्बिर फेसबुकमा अपलोड भैरहन्छन् । उनलाई फरक–फरक पोज तथा पहिरनमा तस्बिर पोस्ट गर्न मन लाग्छ । लामा इन्टाग्राममा तस्बिरसँगै सटिक पोस्टहरू पनि गरिरहेकी हुन्छिन् भने युट्युबमा कसरी राम्रा र सिर्जनशील डिजाइन तयार पार्ने भन्ने कुरापनि अध्ययन गरिरहेकी हुन्छिन् । आयुषा भन्छिन्–म सोसल मिडियाबाट प्रमुख रूपमा आफ्नै पेसासम्बन्धी सूचना लिन्छु । त्यसबाहेक साथीसंगीसँग च्याट गर्न अनि आफूलाई दिक्क लाग्दा कतिपय कुरा सेयर गर्न मन लाग्छ जसमा थुप्रै केन्ट्स प्राप्त हुन्छन् तीमध्ये धेरैले मन हलुका पार्ने काम गर्छन् । आयुषाको विचारमा सोसल नेटवर्किङ जुनसुकै जात, धर्म, पेसा, उमेर, तह र तप्काका मानिसबीच समान व्यवहार हुने स्थान हो जहाँ कुनै भेदभाव हुँदैन । सबैले सबैसँग उही व्यवहार गरिरहेका हुन्छन् । प्रयोग गर्न जानेको खण्डमा सामाजिक सञ्जाल अत्यन्तै उपयोगी छ भन्ने लामाको धारणा छ तर यसको दुरुपयोग भयो भने भयंकर दुर्घटनासमेत निम्तिन सक्छ ।

गृहिणी गौरी कार्की सामाजिक सञ्जाललाई संसारभरका मानिसबीचको कनेक्टर डिभाइस भन्न रुचाउँछिन् जुन यति बलियो छ कि एकै समयमा एकैपटक ब्रह्माण्डभरका मानिससँग कुराकानी गर्न सकिन्छ । कार्की विशेषत: सोसल मिडियामा नयाँ–नयाँ कुरा पढ्न रुचाउँछिन् । साथीभाइ, परिवारका बारेमा थाहा पाउने बलियो माध्यम बनेको छ, सामामाजिक सञ्जाल । कार्कीले यसलाई ज्ञान आर्जनका साथै मुड फ्रेस गर्ने माध्यमका रूपमा समेत लिएकी छिन् । एउटै काम गर्दा–गर्दा दिक्क लागेका बेला उनी विच्याट, इमो तथा फेसबुकमा साथीभाइसँग गफिन्छिन् । आफन्तका क्रियाकलाप फलो गर्छिन् । को कहाँ पुगेका छन्, कसले के गरिरहेका छन् जानकारी राख्छिन् । कार्कीले यसलाई प्रविधिको अचम्म लाग्दो आविष्कार बताउँदै भनिन्–कहिलेकाहीँ त म छक्क पर्छु । उतिबेला आवाज होइन आफ्ना मानिसले लेखेको अक्षर पढ्न महिनौं कुर्दा पनि पाइँदैनथ्यो अहिले करोडौं माइल टाढाका मानिससँग पनि एउटै बेन्चमा बसेजसरी अनुहार हेर्दै कुराकानी गर्न पाइन्छ ।

गायिका सोनिका लामा केसी रेस्टुराँ व्यवसायीसमेत हुन् । उनी फेसबुकमा आफ्नै पेसासम्बन्धी तस्बिर तथा पोस्टहरू अपलोड गरिरहेकी हुन्छिन् । मलाई सामाजिक कार्य अत्यन्त मनपर्छ । लामाले भनिन्–‘मैले जातजाति तथासमुदायको उत्थान एवं महिला हकहितसँग सम्बन्धित थुप्रै काम गर्ने मौका प्राप्त गरेकी छु जसको श्रेय थोरबहुत सामाजिक सञ्जाललाई पनि जान्छ । किनभने म यसैमार्फत यस्ता सूचनाहरू प्राप्त गर्छु । साथीभाइको सहयोग र हौसला पाउँछु ।’ सोनिकाका अनुसार सामाजिक सञ्जालले नेपाली महिलाहरूलाई आ–आफ्ना क्षेत्रमा सक्रिय बनाएको छ । यसले ननवर्किङ अर्थात् होममेकर महिलालाई पनि डिप्रेसनबाट जोगाएको छ । उनीहरू आफन्तसँग आफ्ना कुराहरू सेयर गर्न सक्ने भएका छन् । आफूले गरिरहेको काम थाहा दिन र अरूको काम थाहा पाउन यो सहज माध्यम बनेको छ । धाएर भेट्न जान नसके पनि भान्सामै बसी–बसी टाढा रहेका आफन्त तथा साथीभाइहरूसँग गफिन सक्ने सोसल नेटवर्कको चार्म चुलिँदो भएको लामाको धारणा छ ।

 Image