Successfully Copied

कविता र संगीतकी पुष्पा

एसएलसीपछि म कानुन पढ्न पुगें । यद्यपि मलाई कानुनका धारा–उपधाराले लोभ्याउन सकेनन् । यो मेरो बाटो होइन भनेर काठमाडौं विश्वविद्यालयमा संगीत पढ्न पुगें । त्यहाँ मैले एथ्नो म्युजिकोलोजी, हिन्दुस्थानी भोकल, धिमे र सारंगी सिकें । त्यस क्रममा भएको शाब्दिक भाव र संगीतलाई रिसाइकल

पुष्पा पलान्चोके

संगीतलाई कवितासँग मिसाउने सोच कसरी आयो ?

म सानैदेखि कविता लेख्थें । कविताका थोरै श्रोता हुने हुँदा संगीत र कवितालाई सँगै प्रस्तुत गर्दा कस्तो होला भन्ने प्रयोग हो । कवितालाई संगीत र गायनको रूप दिँदा कविता मात्र होइन संगीत पनि शक्तिशाली भएजस्तो लाग्यो । कविताले संगीतमा प्राण भर्छ भने संगीतले कवितामा प्राण भर्छ ।

संगीतमा कविता वाचनको पहिलो अनुभव कस्तो थियो ?

वसन्तपुरमा मैले आफ्नो ब्यान्ड मिकुबाट पहिलो प्रस्तुति दिएकी थिएँ जहाँ सांगीतिक प्रस्तुतिमा कविता मिसाइएको थियो । श्रोताहरूले कविता र संगीतको उक्त संयोजन रुचाउनुभयो । त्यसपछि मेरो यो यात्राले निरन्तरता पायो ।

कविता पनि आम्दानीको स्रोत हुन सक्छ भन्ने सोच कहिले आयो ?

एसएलसीपछि म कानुन पढ्न पुगें । यद्यपि मलाई कानुनका धारा–उपधाराले लोभ्याउन सकेनन् । यो मेरो बाटो होइन भनेर काठमाडौं विश्वविद्यालयमा संगीत पढ्न पुगें । त्यहाँ मैले एथ्नो म्युजिकोलोजी, हिन्दुस्थानी भोकल, धिमे र सारंगी सिकें । त्यस क्रममा भएको शाब्दिक भाव र संगीतलाई रिसाइकल गर्दा कस्तो हुन्छ भन्ने प्रयोग गरें । पहिलो यो मेरो रुचि थियो तर पछि गएर आम्दानीको स्रोत पनि बन्दै गयो ।

ब्यान्डको नाम मिकुको अर्थ के हो ?

मीठो कुरा ।

समूहमा कविताका साथमा कुन–कुन बाजा प्रयोग गर्न सकिन्छ ?

नगरा, सारंगी, गितार, झ्याली, बिनजस्ता बाजामा कविता वाचन गर्छु । यद्यपि अरु बाजामा पनि कविता वाचन गर्न सकिन्छ ।

प्रस्तुतिमा कस्तो कविता वाचन गर्नुभएको छ ?

लस्ट की (हराएको साँचो), लक्षमुनिया, म:म, काली, डिजिनेस (चक्कर आउनु), सुनौला बादल, मिकु, ब्लु, आमु, लाइन आदि कवितामा सांगीतिक प्रस्तुति दिइसकेकी छु । आमु कविताको प्रमुख बिम्ब पीपलले ममत्वको गहिराइमा लान्छ । म:म र लाइन कविताले क्रमश: युवापुस्ताको म:म मोह र हामीले भोगेको लाइनको प्रतिबम्ब उतार्छ ।

आफूले गरेको प्रयोगले युवापुस्तामा कस्तो प्रभाव पर्छ जस्तो लाग्छ ?

कविताको नयाँ प्रारूपले पक्कै पनि नयाँ पुस्तालाई रोमाञ्चकता दिनेछ ।

मिकुबाहेक अरू केमा व्यस्त हुनुहुन्छ ?

पुष्पसंगम ब्यान्डमा पनि सक्रिय छु । म मिकु ब्यान्डमा गीत गाउँछु भने पुष्पसंगममा कविता वाचन गर्छु । पुष्पसंगम म र मेरा श्रीमान्को समूह हो । यसका साथै म श्रीमानको स्टुडियोमा मुभीका लागि ब्याकराउन्ड म्युजिक पनि बनाउँछु ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

कलेज, प्रोग्राम तथा स्टुडियोहरूमा व्यस्त हुन्छु । समय मिल्दा ह्यान्ड मेड ज्वेलरी बनाउँछु भने नयाँ–नयाँ परिकार बनाउँदै, घर सरसफाइ गरेर समय कटाउँछु ।

 

 Image