Successfully Copied

बढी चिसोमा के हुनसक्छ ?

जाडोको आगमनसँगै लोअर रेस्पिरेटरी इन्फेक्सन तथा अपर रेस्पिरेटरी इन्फेक्सन देखा पर्छ । लोअर तथा अपर इन्फेक्सनअन्तर्गत रुघाखोकी, घाँटी दुख्ने, टन्सिलजस्ता समस्या सिर्जना हुन्छन् । जाडोमा तापमान घट्ने भएकाले रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने आदि समस्या उत्पन्न हुनसक्छ । भाइरल तथा चिसोका

 

जाडो मौसम सुरु भएको छ । जाडोको आगमनसँगै लोअर रेस्पिरेटरी इन्फेक्सन तथा अपर रेस्पिरेटरी इन्फेक्सन देखा पर्छ । लोअर तथा अपर इन्फेक्सनअन्तर्गत रुघाखोकी, घाँटी दुख्ने, टन्सिलजस्ता समस्या सिर्जना हुन्छन् । जाडोमा तापमान घट्ने भएकाले रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने आदि समस्या उत्पन्न हुनसक्छ । भाइरल तथा चिसोका कारण यस्तो हुन्छ । यो मौसममा धेरैजसोलाई लामो समयसम्म रुघाखोकी लाग्ने र निको हुन पनि धेरै समय लाग्नसक्छ । न्यानो गरी बसेर ताता खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ । कतिपय अवस्थामा भने औषधि नै खानुपर्ने हुन्छ । मुटु रोग, दम, निमोनियाजस्ता रोगले पनि जाडो मौसममै बढी सताउँछन् । जाडोको आगमनसँगै केही साधारण कुरामा ध्यान दिए धेरै रोगबाट जोगिन सकिन्छ ।

स्वास्थ्य समस्या

यो मौसममा श्वासप्रश्वासको समस्या बढी देखापर्छ । यस्तो वृद्धवृद्धामा बढी देखिन्छ । चिसो धेरै हुने भएकाले कम काम गर्दा पनि दम बढ्छ र अन्य समस्या पनि निम्तिन्छ । धेरै दम बढे मुटुमा पनि असर गरेर मुटुको समस्या थपिन सक्छ । त्यसैले जाडो मौसममा बूढाबूढीलाई चिसोबाट जोगाउनुपर्छ । रुघाखोकी पनि जाडो मौसमको अर्को मुख्य समस्या हो ।

यो समस्याले पनि अन्य समस्याको तुलनामा बालबालिका तथा वृद्धवृद्धालाई बढी सताउँछ । भाइरल संक्रमणका कारण रुघाखोकी लाग्छ । त्यसैले भाइरल संक्रमणबाट जोगिन रुघाखोकी लागेका मानिसको नजिक बस्नुहुँदैन । उनीहरूले प्रयोग गरिरहेका सामान प्रयोग गर्नुहुँदैन । शरीरलाई न्यानो राख्नुपर्छ । समय–समयमा तातोपानी तथा सुप पिइरहनुपर्छ ।

यसैगरी साना शिशु तथा बूढाबूढीमा निमोनियासमेत देखिनसक्छ । यो छातीमा हुने संक्रमण हो । भाइरस, ब्याक्टेरिया तथा फंगसको संक्रमणका कारण हुने यो रोग अन्य मौसमको तुलनामा जाडो मौसममै बढी देखा पर्छ । श्वासप्रश्वाससम्बन्धी समस्या तथा रुघाखोकीले एकसाथ सताउन सक्छ ।

जाडो मौसममा हाइपोथर्मिया पनि देखापर्छ । आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो ताप शरीरबाट बाहिरिनु नै हाइपोथर्मिया हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा तथा चिसोको सम्पर्कमा धेरै समय बस्दा यो समस्या उत्पन्न हुनसक्छ । हाइपोथर्मिया हुँदा हातखुट्टा नीलो हुने, छोएको महसुस नहुने आदि हुन्छ । यसको उपचार समयमै नगराए ज्यानसमेत जानसक्छ ।

कार्बन मोनोअक्साइड पोइजनिङ

जाडो मौसममा चिसोका कारण झ्यालढोका बन्द गरेर आगो तापिन्छ । हावा नछिर्ने गरी बन्द गरेर आगो तथा हिटर ताप्दा कोठामा कार्बन डाइअक्साइड तथा कार्बन मोनोअक्साइड नामक ग्यासको मात्रा बढ्छ र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या सिर्जना हुनसक्छन् । कतिपय अवस्थामा मानिसको मृत्युसमेत भएको समाचार हामीले पढ्दै–सुन्दै आएका छौं । जाडो मौसममा ग्यास गिजर प्रयोग गर्दा होस् वा हिटर ताप्दा हावा वारपार हुने स्थानमा बस्नु उपयुक्त हुन्छ ।

मनोवैज्ञानिक समस्या

जाडोमा अँध्यारो हुने र घाम धेरै नलाग्ने भएकाले मनोवैज्ञानिक समस्यासमेत देखापर्ने सम्भावना हुन्छ । अँध्यारोका कारण मुड डाउन हुन सक्छ । त्यसैले दिनहुँ केही समय घाममा बस्नुपर्छ । यसैगरी जाडो मौसममा छाला सुख्खा हुने, औंला सुन्निने जस्ता समस्या देखा पर्छन् ।

 Image