Successfully Copied

महिलाहरू फेक अकाउन्टको जालमा

प्रविधिले हाम्रो काम जति सहज गराइदिएको छ, त्यति नै यसका बेफाइदा पनि छन् । सोसल नेटवर्किङ साइटका माध्यमद्वारा हामी आफ्ना परिवारजन, इष्टमित्र, आफन्त एवं साथीभाइसँगको निरन्तर सम्पर्कमा त रहन सक्छौं तर पर्याप्त सावधानी अपनाइएन भने हामीलाई त्यसभन्दा ठूलो समस्या केही हुँदैन ।

प्रविधिले हाम्रो काम जति सहज गराइदिएको छ, त्यति नै यसका बेफाइदा पनि छन् । सोसल नेटवर्किङ साइटका माध्यमद्वारा हामी आफ्ना परिवारजन, इष्टमित्र, आफन्त एवं साथीभाइसँगको निरन्तर सम्पर्कमा त रहन सक्छौं तर पर्याप्त सावधानी अपनाइएन भने हामीलाई त्यसभन्दा ठूलो समस्या केही हुँदैन ।

हिजोआज फेक आइडी (इन्टरनेटमा गलत ठेगाना) का कारण थुप्रै घटना घटेका समाचार पत्रपत्रिका तथा टेलिभिजनलगायत सोसल साइटमै पनि पढ्न–देख्न पाइन्छ । यस्ता साइट जसको प्रयोग बालबालिकादेखि लिएर बूढाबूढीसम्मले गर्छन् । तीमध्ये कतिपय व्यक्ति फेक अकाउन्ट खोलेर अरुका विषयमा गोप्य जानकारी तथा सूचना लिइरहेका हुन्छन् । कतिपयले त प्रेम र विवाहको लालच देखाएर युवतीहरूको भावनासँग खेलवाड गरिरहेका हुन्छन् भने साथसाथै पैसासमेत मागिरहेका वा प्राप्त गरिरहेका हुन्छन् । कतिपयले त हाकाहाकी गु्रप बनाएर जागिर दिने वा व्यापारमा संलग्न गराउने लोभमा पारेर ठगिरहेका हुन्छन् । यस्ता फेक अकाउन्ट कसरी पत्ता लगाउने, केही कुरा जानिराखौं ।

सोसल साइटमा साथी बन्दा

फेक अकाउन्ट खुट्याउनु वा कसले खोलेको हो पत्ता लगाउनु जरुरी हुन्छ । हुनसक्छ एकपटक धोका पाएपछि आफू त सजग भइन्छ तर दोस्रो व्यक्तिलाई पनि सजग गराउनु आफ्नो कर्तव्य हो । कतिपय मानिस एकपटक कुनै काममा असफल भए भने सोसल मिडियाबाटै गायब हुन्छन् र केही समयको अन्तरालमा पुन: आउँछन् । फेरि अर्कोलाई फसाउँछन् । कतिपय मानिस अज्ञानतावश पनि उनीहरूको जालमा फसिरहेका हुन्छन् । मुख्यत: यस्ता मानिसले किशोर–किशोरी एवं युवतीलाई टार्गेट बनाइरहेका हुन्छन् । यदि कुनै अकाउन्ट फेक हो भन्ने लाग्छ भने अरूलाई पनि त्यसको जानकारी गराउनुपर्छ । किनभने त्यसले अपहरणदेखि लिएर बलात्कार र हत्यासम्म हुने खतरा निम्त्याउँछ । यस्ता अकाउन्ट समाजकै लागि हानिकारक छन् । कतिपयले आफ्नो पार्टनरको जासुसीका लागि फेक अकाउन्ट बनाउँछन् तर यो उपाय पनि अत्यन्तै जोखिमपूर्ण छ । यसको अर्थ हुन्छ तपाईं आफ्नो पार्टनरप्रति विश्वास गर्नुहुन्न ।

कसरी पत्ता लगाउने ?

कतिपय अवस्थामा यस्ता अकाउन्ट शतप्रतिशत असली देखिन्छन्, छुट्याउनै कठिन हुन्छ । अकाउन्टमा राखिएको फोटोलगायत स्टाटसहरू नक्कली हुन् भन्ने छनक नै हुँदैन । यहाँसम्म कि आफू र उक्त अकाउन्टधारीबीच थुप्रै म्युचअल फ्रेन्डस् पनि देखिन्छन् । यस्तो अवस्थामा आफ्ना म्युचअल फ्रेन्डस्सँग जानकारी लिई उनीहरूका बारेमा बुझ्न सकिन्छ ।

- जसलाई व्यक्तिगत रूपमा चिनिँदैन, उनीहरूलाई आफ्नो फ्रेन्ड रिक्वेस्ट लिस्टमा एड गर्नुहुँदैन । एड भैहाले पनि उनीहरूसँग कुराकानी गर्नुहुँदैन, आफ्ना निजी जानकारी उनीहरूसँग सेयर गर्नुहँुदैन ।

- फ्रेन्ड रिक्वेस्ट पठाउनेहरूको प्रोफाइलमा जाने । उसका बारेमा जानकारी लिने । उसका तस्बिर, उसले पोस्ट गरेका जानकारीलगायत उसका बारेमा गम्भीर रूपमा सूचना लिने अनि मात्र फ्रेन्ड स्वीकार गर्ने ।

- कयौं पटक फेक अकाउन्टधारीहरू अर्काको तस्बिर चोरेर आफ्नो प्रोफाइल पिक्चर बनाउँछन् जसबाट उनीहरू वास्तविक रूपमा बाहिर नचिनिऊन् । यस्तो बेला गुगलमार्फत उनीहरू साँचो हुन् वा होइनन् जाँच्न सकिन्छ ।

- आफूसँग साथी बन्न चाहनेहरूको सन्जाल कस्तो छ जान्नुपर्छ । उसका साथीसंगी कस्ता र कहाँका छन् । बढी विदेशी, नितान्त फरक क्षेत्रका तथा अत्यन्तै नचिनेका मानिसहरू छन् भने त्यस्ता रिक्वेस्ट एसेप्ट गर्नुहुँदैन ।

- अकाउन्ट नक्कली हो भन्ने लाग्यो भने ब्लक वा रिपोर्ट गर्न सकिन्छ । त्यति मात्र होइन आफ्नो अकाउन्टमार्फत उसका सूचनाहरू सेयर गरेर अरूलाई पनि सजग बनाउन सकिन्छ । यसका लागि उसको प्रोफाइल लिंक कपी गरेर आफ्नो वालमा पेस्ट गरिदिन सकिन्छ ।

- प्राइवेसी सेटिङमा गएर आफ्नो अकाउन्टलाई चुस्तदुरुस्त राख्नुपर्छ । त्यसभित्र आफ्नो अकाउन्ट सुरक्षित राख्ने थुप्रै उपाय फेला पर्छन् । सोसल नेटवर्किङद्वारा जोकोहीले कुनै पनि बेला आफ्नो कुराकानी वा तस्बिर गलत तरिकाले प्रयोग गर्न सक्छन् । तसर्थ यसमा हरक्षण सजग एवं सचेत रहनुपर्छ । यसमा अलिकति मात्र गल्ती भयो भने पनि जीवनभर पछुताउनुपर्ने घटना घट्न सक्ने प्रबल सम्भावना हुन्छ । सामाजिक सञ्जालमा कुनै पनि गल्ती माफ हुँदैन र त्यसको सजाय आफैले भोग्नुपर्ने हुन्छ ।

 Image