स्वास्थ्य विज्ञान जानौं, सधैं निरोगी रही दीर्घायु बनौं

नारी संवाददाता

मंसिर १३, २०७३

 

विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिको मूल लक्ष्य मानिसलाई निरोगी तुल्याउनु हो । मानिस सर्वश्रेष्ठ प्राणी भएकाले रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्न नदिने उपाय अपनाउनु राम्रो हुन्छ । त्यसका लागि आफ्नो दैनिकीमा केही सरल उपायहरू अपनाउँदा स्वावलम्बी हुनुका साथै स्वस्थ, तन्दुरुस्त एवं दीघार्यु रही खुसी प्राप्त गर्न सकिन्छ ।

विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिमध्ये खानपानसम्बन्धी नियम तथा स्वउपचार विधि पनि एक हो । यसलाई अपनाउँदा रोग लाग्न नदिने कुरा एक ठाउँमा छ भने अर्कातिर अनियमित खानपानबाट उत्पन्न समस्याहरूको उपचार मात्र नभई रोगलाई जरैदखि निर्मूल पार्न सकिन्छ । पाश्र्वप्रभाव र दुस्प्रभावरहित, खर्च नलाग्ने अनि सरल भएका कारण जसले पनि अपनाउन सकिने हुनाले यो विधि उत्कृष्ट छ । 

 

शरीरमा कसरी रोग लाग्छ ?

रोग जिउनलाई चाहिने आधारभूत ३ प्राकृतिक तत्त्व हावा, पानी र खुराकलाई हामी मानव जाति आफैंले जान वा अञ्जानमा प्राकृतिक नियम सम्मत नभई, प्राकृतिक नियमविरुद्ध ग्रहण गर्दा शरीरभित्र नै उत्पन्न हुने दुस्परिणाम रोग हो । सानै उमेरदेखि नै हावा (श्वासप्रश्वास), पानी र खुराकसम्बन्धी उचित मार्गदर्शनको अभावमा हुर्किएकाहरूले आफू परिपक्व उमेरमा पुगिसक्दा पनि त्यसतर्फ उचित ध्यान दिन नसकेको र नियमवद्ध रूपमा ती तत्त्वलाई व्यवस्थित ग्रहण गर्न नसकेकाले नै शरीरभित्र विभिन्न दुस्परिणामहरूको संग्रह हुने क्रम बढेको हो । त्यसैले एकपल्ट यसलाई नियालौं ।

१)    हावाको भूमिका–मस्तिष्क क्रियाशील पार्ने ।

२)    पानीको भूमिका–आन्द्राको कार्य संचालन बिना अवरोध गराउने ।

३)    खानाको भूमिका–दैनिक कार्यका लागि शरीरलाई शक्ति उपलब्ध गराउने ।

 

के हाम्रो जैविक प्रक्रिया सही छ ?

व्यस्त कार्यशैली अर्थात् जीवनचर्याले गर्दा हामी श्वासप्रश्वास प्रक्रिया विस्तारै गहिरो श्वास तानेर आफ्नो फोक्सोको सकेसम्म बढी उपयोग गर्नुपर्नेमा त्यसको विपरीत छिटोछिटो र छोटो श्वासप्रश्वास गरिरहेका हुन्छौं । त्यसैगरी पानी पिउँदा हरेक पटक थोरैथोरै मात्रामा र एक निश्चित समयको अन्तरालमा दिनहुँ कम्तीमा दुई लिटर पानी पिउनुपर्ने ठाउँमा हामी त्यसको ठीक विपरीत प्यास लाग्दा एकैपटक धेरै मात्रामा पानी पिउँछौं ।

खाना खाँदा बीच–बीचमा पानी पिउनु, खानाअघि र पछि पनि पानी पिउने बानी आदि हाम्रो स्वास्थ्यका (पाचन प्रणालीको) लागि ंहानिकारक भएको कुरामा हामी अझै अनभिज्ञ छौं । त्यसैगरी हामी प्रत्येकले आफ्नो दैनिक कार्यसंचालन गर्न आवश्यक पर्ने खुराक धैर्यपूर्वक शान्त वातावरणमा बसेर राम्रोसँग चपाएर खानुको सट्टा हतार–हतार (द्रुत गतिमा अभ्यस्त हुनाले गर्दा) र राम्रोसँग नचपाई शरीरलाई चाहिने भन्दा बढी र अनियमित समयमा खाना खान्छौं । यसलाई सांकेतिक रूपमा यसरी प्रस्ट पार्न सकिन्छ :

क्र.सं.    आधारभूत प्राकृतिक तत्त्वहरू    ग्रहण गर्नुपर्ने मात्रा

(सांकेतिक रूपमा)    ग्रहण गरिरहेको मात्रा

(सांकेतिक रूपमा)

१    हावा (श्वास प्रश्वास)    ००००००    ०००

२    पानी    ००००    ००

३    खुराक (खाना)    ००    ०००

टेबलमा सांकेतिक रूपमा देखाइएझैं हावा र पानीको मात्रामा जान वा अञ्जानमा अनियमितता हुनुका साथै मुख्य कुरा खुराक (खाद्यपदार्थ) लाई आफ्नो दैनिक कार्यका लागि चाहिने बढी परिमाणमा ग्रहण गर्नाले पाचन प्रक्रिया व्यवस्थित हुन नसकी अजीर्ण अथवा कब्जियतको समस्या प्रारम्भ भएर अन्त्यमा व्यवस्थित र नियमित रूपमा हुनुपर्ने मलमूत्र परित्याग प्रक्रियामा समेत अवरोध उत्पन्न हुन्छ ।

त्यस्तै शरीरलाई पूर्णरूपमा आराम दिई तन्दुरुस्त भै सीमित मनोरञ्जनका साथ सरल शारीरिक व्यायाम गर्नुपर्ने शरीरको आवश्यकताप्रति बेवास्ता गरी आराम गर्ने र व्यायाम गर्ने समयलाई कम गर्दै गलत प्रक्रियाको मनोरञ्जनमा धेरै समय खर्च गर्नाले शरीरमा सञ्चित जीवनदायिनी शक्तिमा ह्रास आउने मात्र नभई रोग प्रतिरोधात्मक क्षमतासमेत कम हुँदै जान्छ । त्यसमाथि शरीरमा रोग देखा परिसक्दा पनि सतर्क नहुँदा हामीले जानी–नजानी आफ्नो शरीरलाई भित्रभित्रै रोगको खानीका रूपमा परिणत गरिरहेका छौं ।

 

यी समस्याहरूलाई सरल एवं प्राकृतिक तरिकाले निर्मूल गर्न हावा, पानी र खुराकलाई प्राकृतिक रूपमा ग्रहण गर्ने उचित मार्गदर्शनहरू पालना गर्नुपर्छ जसबाट रोग लाग्नबाट बच्नुका साथै भएका रोग पनि विस्तारै निको हुँदै जान्छन् ।

 

तीन प्राकृतिक तत्त्वलाई ग्रहण गर्ने विधि 

हावा (श्वासप्रश्वास) को सही विधि : 

    क.    बिहान उठिसकेपछि सर्वप्रथम गहिरो श्वास तान्ने र फ्याँक्ने अभ्यास गर्ने । यो विधि निरन्तर जारी राख्दै श्वास तान्ने अवधि र फ्याक्ने अवधि बढाउँदै लाने । यो अभ्यासलाई दिउँसो पनि गर्न सकिन्छ तर खाना खाएको १ घन्टाभित्र यो अभ्यास गर्नु हुँदैन । 

    ख.    राति सुत्नुअघि आफ्नो नाकलाई राम्रोसँग सफा गर्ने । नाकभित्रको फोहोर र कसिंगरहरू फ्याक्ने । त्यसपछि गहिरो श्वास तान्ने र फ्याक्ने अभ्यास गर्ने । यो विधिलाई निरन्तर जारी राखी श्वास तान्ने तथा फ्याक्ने अवधि बढाउँदै लाने । 

परिणाम : यसो गर्दा फोक्सोको सम्पूर्ण भाग सक्रिय हुन्छ । सम्पूर्ण शरीरभरि नै अक्सिजनको राम्रो आपूर्ति हुन्छ । दिमागलाई पनि अक्सिजनको राम्रो खुराक मिल्छ । थकान एवं मानसिक तनावबाट राहत प्राप्त हुन्छ ।

पानी पिउने विधि : 

    क. बिहान उठिसकेपछि दुई गिलास सफा पानी पिउने अभ्यास गर्ने । 

    ख. खाना खानु १ घन्टाअघि वा पछि पानी पिउने बानी हटाउने । 

    ग. हरेक पटक पानी पिउँदा थोरथोरै मात्रामा र एक निश्चित समयको अन्तरालमा पिउने । प्रत्येक दिन कम्तीमा दुई लिटर पानी पिउने अभ्यास गर्ने । 

परिणाम : यसरी पिउँदा आन्द्रामा पर्याप्त पानी आपूर्ति हुन्छ र तिर्खाको मात्रा आफैं कम हुन्छ ।     

खाना खाने विधि : 

 सधै सही समयमा खाना खानुपर्छ । खाद्यपदार्थलाई राम्रोसँग चपाउनुपर्छ । धेरै चपाउँदा खाद्यपदार्थहरू र्‍यालमा राम्रोसँग भिज्न पाउँछन् । यसरी भिजेका र सानो टुक्रामा परिणत खाना पेटमा पुग्छ । अब पेट (भुँडी) ले ती खानालाई सजिलै थोरै समयमा प्रभावकारी रूपमा पचाउन सक्छन् जसको सहायताले सानो आन्द्रालाई सोस्न सजिलो हुन्छ तथा ठूलो आन्द्रालाई निष्कासन गर्न र कलेजोलाई आफ्नो काम गर्न सजिलो वातावरण बन्छ । 

परिणाम : यसरी खाना खाए अजीर्ण, कब्जियत, पाइल्स तथा एसिडिटी कम हुन्छ ।

प्रस्तुति : राजेन्द्रबहादुर श्रेष्ठ 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्