Successfully Copied

विवाहको नकारात्मक तथा सकारात्मक पक्ष

ल–छिमेक, चोक–गल्लीमा मानिसहरू फलानोको विवाह फलानोसँग हुँदैछ, फलानाले त यसपालि भोज ख्वाउलाजस्तो छ, त्यसले त अझसम्म जोडी पाएन भन्नेजस्ता टीकाटिप्पणीमा रमाइरहेका छन् ।

विवाहको मौसम छ । टोल–छिमेक, चोक–गल्लीमा मानिसहरू फलानोको विवाह फलानोसँग हुँदैछ, फलानाले त यसपालि भोज ख्वाउलाजस्तो छ, त्यसले त अझसम्म जोडी पाएन भन्नेजस्ता टीकाटिप्पणीमा रमाइरहेका छन् । यतिबेला बजार विवाहका सामग्रीले झकिझकाउ हुन्छन् । ब्यान्ड एवं पञ्चे बाजामा नाच्दै हिँडेका जन्तीका तालतालका दृश्य जताततै देख्न पाइन्छ । दुई आत्माको मिलनका रूपमा अथ्र्याइने विवाह संस्कार अहिलेको परिवर्तित सन्दर्भमा आफैंमा बहसको विषय बनेको छ ।

सोनी श्रेष्ठ (प्रमुख परामर्शदाता, हब इन्टरनेसनल एजुकेसन, बागबजार)

एसएलसी सकिनेबित्तिकै मैले विवाह गरें । विवाहपछि मलाई करियरलाई अघि बढाउन तथा सरसल्लाह गर्न अनि कतिपय कुरामा निर्णय लिन सहज भयो । आफ्नो लाइफ सेटलमेन्ट भयो । आज म सुखी परिवारकी धनी भएकी छु, जसलाई म विवाहको सकारात्मक पक्षका रूपमा लिन्छु तर समाजशास्त्रमा स्नातकोत्तर तथा एमबीए गरेकी म सानी छोरीलगायत घरायसी कारणले भनेजस्तो जागिरमा जान सकिन । आज मेरा साथीहरू लाखौं तलब खाइरहेका छन् ।

म भने अन्तर्राष्ट्रिय गैरसरकारी निकायमा जागिर मिल्दा समेत सानी छोरी र परिवारका कारण जान सकिन । सेन्टमेरिजकी विद्यार्थी मेरी आमा जीवनभर गृहिणीमै सीमित हुनुपरेको थियो भने म पनि झन्डै उही बाटोमा छु । मेरा श्रीमान् अत्यन्तै सहयोगी हुनुहुन्छ तर हामी दुवै जना कामबाट थाकेर घर पुग्दा किचेन चाहिँ मैले नै पस्नुपर्छ । थकाइ त मलाई पनि उत्तिकै हो नि । यस्ता कुरा महिलाका लागि विवाहका गह्रौं पक्ष बन्न पुग्दा रहेछन् ।

अनुजा राजभण्डारी श्रेष्ठ (संस्थापक निर्देशक, एकादेशमा, ठमेल)

विवाहले भनेजस्तो चलायमान हुन दिँदैन । यसले लाइफ सेटल गर्छ । विवाहपछि सुख–दु:ख बाँड्ने साथी पाइन्छ । आफूले लिन नसकेका निर्णयमा सरसल्लाह–विचार प्राप्त हुन्छ र सही निर्णय लिन सघाउ पुग्छ । समाजको दृष्टि सकारात्मक हुन्छ जुन विवाहका राम्रा पक्ष हुन् । तथापि विवाहपछि अध्ययन एवं करियरमै विश्राम लगाउनुपर्ने, आफूले चाहेका काम–कुरामा अवरोध हुने तथा व्यक्तिगत जीवनका स्वतन्त्रताहरू खुम्चिने सम्भावना हुन्छ । जसलाई विवाहपछिको जटिलता भन्न सकिन्छ ।

सरिता खड्का (शाखा प्रमुख, बैंक अफ काठमाडौं लुम्बिनी, ज्ञानेश्वर शाखा)

सबैभन्दा महत्वपूर्ण कुरा त आमा हुन पाइन्छ जुन नारीका लागि ईश्वरीय वरदान हो । विवाहपछि व्यवस्थापकीय क्षमता अभिवृद्धि हुन्छ । परिपक्व भइन्छ । जीवनका महत्वपूर्ण निर्णयहरूमा सल्लाह दिने साथी पाइन्छ भने दु:खका बेला मन बिसाउने मान्छे आफूसँगै हुन्छ । विवाहको नकारात्मक पक्ष व्यक्तिगत स्वतन्त्रतामा धेरथोर अंकुश लाग्नु नै हो । गृहस्थी जीवनमा आफ्नोभन्दा अरूको खुसी र सुखको ख्याल गर्नुपर्ने हुँदा आफ्ना रहरहरू ओझेलमा पर्दै जान्छन् भने आफ्नो जन्मघर एवं जन्मदातासँग पनि टाढा हुनुपर्छ ।

दिव्यज्योति विष्ट (सञ्चारकर्मी तथा गायिका)

विवाहमा प्रेमभन्दा बढी प्रणय सम्बन्धमा ध्यान राखिने भएकाले विवाहपछि व्यावसयिक रफ्तार सुस्त हुँदै जान्छ । विवाहमा आपसी समझदारी भैदियो भने स्वर्ग नै प्राप्त भएजस्तो हुन्छ । आपसमा गलत बुझाइ तथा मतभेद उत्पन्न भयो भने त्यही विवाह नर्क बन्नसमेत बेर लाग्दैन । तसर्थ विवाह राम्रो र नराम्रो हुने कुरा आपसी समझदारीमा निर्भर रहने कुरा हो । अन्डरस्ट्यान्डिङ छ भने आफू, आफ्नो परिवार एवं करियर उँभो लाग्दै जान्छ । सफलता प्राप्त गर्न समय नै लाग्दैन । छैन भने अध्ययन एवं करियरलाई नै रोक्नुपर्ने, लवाइ–खवाइ, हिँडडुल तथा खानपानसमेत परिवर्तन गर्नुपर्ने अवस्था आइपर्छ जसले महिलाको मानसिकतामा आघात पुर्‍याउँछ ।  

भारती अधिकारी  (फुड टेक्नोलोजिस्ट)

मेरो विवाह यही वर्ष भएको हो । मेरो अन्तरजातीय प्रेम विवाह हो । मैले श्रीमान् तथा परिवारबाट माया, सद्भाव एवं सहयोग पाइरहेकी छु । परिवारमा सबैजना उच्चशिक्षित भएकाले आपसमा प्रोफेसनल कुराहरू नै बढी सेयर हुन्छ । फलत: सबै क्षेत्रको जानकारी पाइन्छ । विशेष गरी मेरा सासू–ससुरा उच्चशिक्षित भएकाले पनि उहाँहरूबाट छोरीकै व्यवहार पाइरहेकी छु ।

पढ्ने, पढाउने तथा आफ्नो प्रोफेसनल कामलाई अझ बढी लचिलो बनाउन सकेकी छु जुन विवाह गर्दाको फाइदा हो । तथापि विवाहपछि अलिकति भए पनि संस्कारी हुनैपर्छ । परिवार एवं आफन्तजनको सम्मानमा आफूलाई ढाल्नैपर्छ, उनीहरूलाई समय दिनैपर्छ । यसो गर्दा चराझैं उड्न खोज्ने युवा चाहना बाँधिएजस्तो लाग्नसक्छ । अहिलेको पुस्तालाई पहिरन एवं खानपानमा पनि असहज महसुस हुनसक्छ । अर्ली बेडिङ सिकनेसले नवविवाहिताहरूलाई बढी नै पिरोल्छ । 

तस्विर : श्रूति श्रेष्ठ

 Image