Successfully Copied

समर्पणका पर्याय महिला

समर्पणको अर्थ हो आफ्नो मनको अर्पण ।

समर्पणको अर्थ हो आफ्नो मनको अर्पण । यो शब्द सुन्दा जति सहज छ व्यवहारमा लागू गर्न त्यत्तिकै कठिन छ । आफ्नो मन कुनै पनि कुरामा सजिलै अर्पण गर्न सक्नु चानचुने खुबी होइन । नेपाली महिलाहरूले यस्तो खुबी सदियौंदेखि प्रदर्शन गरिरहेका छन्, खोजी पसे यसका पर्याप्त उदाहरण पाइन्छन् । आफ्नो सम्पूर्ण अहंकार त्याग गरेर जसका सामु समर्पण गरिन्छ ऊसँग जीवन बिताउनु पक्कै पनि सरल कुरा होइन ।

समर्पणमा मुख्य बाधक अहंकार भएकाले त्यसको त्यागबिना पूर्ण समर्पण हुन सक्दैन । आफ्नो जन्मघर छाडेर पराइका साथ सम्बन्ध गाँसी उसैमा आफूलाई समाहित गराउन सक्ने क्षमता महिलामै बढी पाइन्छ । राम्रो–नराम्रो, असल–खराब, धनी–गरिब आदि जस्तोसुकै व्यक्तिका सामुन्ने समभावले अहंकाररहित भएर रहने गुण सृष्टिले महिलालाई नै प्रदान गरेको छ । तसर्थ महिलालाई समर्पणको पर्याय भन्दा फरक पर्दैन । 

समर्पण भाव महिलाहरूको नसानसामा भरिएको हुन्छ । समर्पणसँगै सहनशीलता, धैर्य, सरलताजस्ता गुणहरू पनि जोडिएर आएका हुन्छन् जसले महिलालाई पूर्ण बनाउँछ । सृष्टिकर्ताको प्रतिनिधि बनेर वंश बिस्तार अघि बढाउन समर्पणभाव सहायकसिद्ध हुने भएकाले नै प्रकृतिले यस्तो व्यवस्था मिलाएको हुनसक्छ । महिलाहरू समर्पणका पर्याय हुन् तर उनीहरूमा अरूबाट पनि त्यस्तै समर्पणभावको अपेक्षा हुन्छ । त्यसमा कुनै खोट वा शंका देखा पर्नासाथ उनीहरू उग्रचण्डी भैहाल्छन् । दसैंमा पूजा गरिने देवीहरू नै समर्पणका प्रमुख उदाहरण हुन् । समर्पण भावभित्र नै शक्ति, प्रेम, क्रोध, विश्वास आदिजस्ता भावना लुकेका हुन्छन् ।

प्रेमको पूर्णतासम्म पुग्न पनि समर्पणबिना सम्भव हुँदैन, त्यसैले प्रेम पनि समर्पण हो । महिला एवं पुरुषका भावविन्दुहरूलाई मिलन गराएर लक्ष्य पहिल्याउन तथा त्यससम्म पुग्न पनि समर्पणकै खाँचो हुन्छ । हिजोआज वैवाहिक तथा अन्य प्रेम सम्बन्धमा बढी मात्रामा दरार उत्पन्न हुनुमा पनि समर्पण भावको अभाव नै मुख्य कारक भएको पाइन्छ । 

 Image