Successfully Copied

लक्ष्मीको पूजा–उपासना गर्दा पनि किन कमजोर आर्थिक स्थिति ?

व्रत बसे फल प्राप्त हुन्छ भन्ने मानसिकता हामीमध्ये धेरैमा छ ।

पूजा वा धर्म–कर्म आदि मामिलामा तुलनात्मक रूपमा हामी नेपाली केही अगाडि नै छौं, धर्म, परम्परा एवं संस्कृतिप्रतिको आस्था र विश्वास पनि प्रगाढ छ हामीमा । कतिपय विपद्जन्य परिस्थितिमा हामी भगवान्लाई गुहार्छौं । व्रत बसे फल प्राप्त हुन्छ भन्ने मानसिकता हामीमध्ये धेरैमा छ । सधैंजसो पूजाआजा, धर्म–कर्म आदिमा लीन हामी धनधान्य र श्रीप्राप्तिका लागि लक्ष्मीको पूजा गर्छौं । विशेषत: तिहारमा भव्य रूपले धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यति गर्दा पनि नेपालीहरूको आर्थिक स्थितिमा किन सुधार आउन नसकेको होला ? यसपटकको बहस यसै विषयमा केन्द्रित छ ।

शान्ता न्यौपाने कार्की, गहना व्यवसायी 

कर्म र धर्म फरक कुरा हुन् । धर्म आस्थामा निर्भर रहन्छ भने कर्म परिश्रममा । जसले आत्मविश्वासका साथ कडा परिश्रम गर्छ ऊ सफल हुन्छ । अर्को कुरा आर्थिक रूपमा सशक्त हुन सीप महत्वपूर्ण कुरा हो । धार्मिक आस्थाले आफूमा भएको सीप एवं जाँगरलाई उजागर गरी काममा दृढ भएर लाग्न उत्प्रेरित गर्छ । जसले मन अस्थिर हुन नदिई शान्त र सौम्य बनाउँछ अनि त्यसैले जीवन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्छ ।

रीता थापा, बुटिक व्यवसायी 

कर्मशील हुनुपर्छ धनी हुन बेर लाग्दैन तर धर्ममा मात्र निर्भर रहेर कसैले आएर धनको पोको आफ्ना अगाडि राखिदिँदैन । धन कमाउन रातदिन खटिनैपर्छ । हातमा ठेला नउठाई, निधारबाट पसिना नबगाई केही हुने वाला छैन तर यसो भन्दैमा म नास्तिक होइन । म धर्ममा पनि विश्वास राख्छु तर यत्ति गर्‍यो भने धनी भइएला भनेर होइन, आफ्नो आत्मा–चित्त शुद्ध र शान्त पार्न मात्र । कर्मशील भएर आफ्नो काममा दत्तचित्त भइयो भने आर्थिक रूपमा सबल भइन्छ न कि पूजा गरेर । पूजा गर्नु भनेको कर्मप्रति निष्ठा जगाउनु हो । 

पूजा मैनाली, रेस्टुरेन्ट तथा चलचित्र भवन संचालक 

धन कमाउन सजिलो छैन । पूजापाठ–आराधना गरेरै मात्र धनी हुने भए त रातदिन त्यसमै मात्र लीन हुन्थे होला मानिसहरू । धनी हुन शैक्षिक योग्यता, नवीन सोच तथा पृथक् सिर्जना, आफ्नो कामप्रतिको दृढता, मानिसहरूसँग गरिर्ने व्यवहारजस्ता कुरा जिम्मेवार हुन्छन् । नेपाली नारीको सन्दर्भमा कुरा गर्नुपर्दा मुख्यत: उनीहरूमा शिक्षा, सीप, पहुँच एवं लगानीको कमी छ । यसका लागि सरकार तथा सम्बन्धित निकायले सहयोगी भूमिका खेल्नुपर्छ । 

सुमी थापा, सौन्दर्य प्रसाधन व्यवसायी 

पूजाआजा गर्नु, व्रत बस्नु, मन्दिर जानु मन तथा आत्मशान्तिका लागि हो । मन स्थिर र शान्त भएपछि आफूले गर्ने व्यापार–व्यवसायमा एकचित्त भएर लाग्न सकिन्छ । जो आफ्नो काममा दत्तचित्त भएर लाग्छन् उनीहरू अवश्य सफल हुन्छन् । पूजा–व्रतादिले मात्र सम्पन्न भइन्छ भन्नु सोर्‍हैआना गलत हो । सबल र सफल हुनलाई कर्मयोगी हुनैपर्छ, परिश्रम गर्नैपर्छ, बुद्धि खियाउनैपर्छ अनि पसिना बगाउनैपर्छ।   

सिर्जना श्रेष्ठ, अस्पताल संचालक 

धनी हुन सर्वप्रथम स्वस्थ हुनु जरुरी छ । त्यसपछि मात्र शिक्षा, सीप, उपयुक्त स्थानमा आफ्नो दक्षताअनुरूपको व्यापार–व्यवसाय अनि नयाँ एवं पृथक् शैलीका सिर्जनशील विचारहरूले स्थान पाउँछन् । पूजापाठ गरेर मात्र सम्पन्न भइँदैन । अहिलेको जमानामा जोसँग नयाँ सोच र लगानी गर्ने क्षमता छ उही सफल हुन्छ । धर्म हाम्रो आस्था हो जसलाई परापूर्वकालदेखि विश्वास गरिँदै आइएको छ, जुन आस्थाको निरन्तरता तथा आत्मशुद्धि एवं शान्ति प्राप्तिका लागि गरिने कुरा हो । 

 Image