Successfully Copied

प्रेममय तीजमा फैलँदो विकृति

अहिले तीजका नाममा सोअप गर्ने, गहना–साडी देखाउने होड बढेको छ ।

तीज हिन्दू महिलाहरूका लागि विशेष महत्वको पर्व हो । पार्वतीले तीजको व्रत बसेको घटनामा विशुद्ध प्रेम देखिन्छ । पार्वतीले शिवजीलाई पतिका रूपमा पाऊँ भनेर व्रत गरेकी थिइन् । पार्वती पवित्र भावनाले व्रत बसेकी थिइन् । प्रेम हासिल गर्ने पनि आ–आफ्नै तरिका हुन्छ, सोच हुन्छ । प्रेम नभएको संसार द्वन्द्वतिर जान्छ । देवाधिदेव महादेवकी पत्नी सतीदेवीको हवन कुण्डमा जलेर मृत्यु भएपछि उनैले पार्वतीका रूपमा अर्काे जन्म लिएकी हुन् । महादेवले सतीदेवीको जलेको मृत शरीरलाई बोकी हिँडेको कथा हामी सबैले पढे–सुनेका छौं ।

महादेव त प्रेमका आदर्श हुन् । त्यस्तो प्रेम गर्ने शिवलाई पुन: श्रीमान्का रूपमा पाउन पार्वती अर्को जन्म लिएर व्रत बसेकी हुन् । त्यो समयमा स्नान गरी ध्यान गरेर व्रत बसिन्थ्यो तर पछिल्लो समयमा प्रेमको यो पर्वमा विकृति बढिरहेको छ । अहिले तीजका नाममा सोअप गर्ने, गहना–साडी देखाउने होड बढेको छ । वास्तविक प्रेममा त्यस्तो देखावटी वा नाटक हुँदैन । महादेवले जस्तो प्रेम कसले गर्छ अहिले ? त्यस्तो प्रेम पाइने भए म पनि सोर्‍ह शृंगार गरी निराहार रहेर व्रत बस्छु । 

हाम्रो समाजमा अहिले पनि महिला र पुरुषबीच जेन्डर ग्याप छ, जसलाई तत्काल पुर्नुपर्छ । जसरी श्रीमती आफ्ना श्रीमान्प्रति बफादार, इमान्दार हुन्छिन् त्यसरी नै श्रीमान्ले पनि श्रीमतीलाई रेस्पेक्ट गर्नुपर्छ, माया गर्नुपर्छ ।

श्रीमतीलाई पनि त्यही स्थान दिनुपर्छ जुन स्थान उनलाई श्रीमतीले दिएकी छिन् । आफू जन्मिएको घर छोडेर श्रीमान्को घरमा दु:ख गर्दा पनि खोइ त महिलाहरूले पाउने सम्मान, माया पाएको ? व्रत बसेर मात्र श्रीमान्को आयु बढ्छ भन्ने होइन । बरु समय मिलाई बसेको व्रतले आफ्नै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ तर निराहार व्रत बसेर त बिरामी नै भइन्छ । म श्रीमान्लाई साथीका रूपमा धेरै कुरामा सहयोग गरिरहेकी हुन्छु  तर म पतिव्रता हुँ भन्ने देखाउन व्रत बस्नु भने गलत हो । म पनि तीजको व्रत बस्छु तर त्यो व्रत न त मेरो श्रीमान्को आयु लामो होस् भनेर हो, न उनको उन्नति, प्रगति होस् भनेर नै हो ।

मानिसहरूको आ–आफ्नो जात, ठाउँअनुसारको कल्चर हुन्छ, मैले त्यसलाई सम्मान मात्र गरेकी हुँ । म तीजमा नुवाई शुद्ध भएर चोखो खाई व्रत बस्छु । मैले तीजका लागि भनेर कहिल्यै महँगा पहिरन किनेकी छैन । साधारण तर चोखो लाउँछु, बरु दसैंमा नयाँ लुगा किन्छु । समाज एवं मानिसको सोचमा परिवर्तन आउनुपर्छ । कसले के गर्छ भन्ने होइन, सही बाटोमा हिँड्नुपर्छ । कसैको देखासिकी गर्नु हुँदैन । आधुनिकीकरणसँगै महिलाहरूमाथि बढी नै बोझ थपिएको छ ।

पहिले श्रीमान्ले कमाएर ल्याउने, श्रीमतीले घर तथा शिशु मात्र हेर्ने चलन थियो तर अहिले कामकाजी महिलाहरूमाथि बढी दबाब छ । उनीहरूमाथि घर र कार्यालयको दोहोरो जिम्मेवारी छ । त्यसैले महिलाहरूले कानुनी न्याय मात्र होइन सामाजिक न्याय पनि पाउनुपर्छ । हाम्रा कतिपय दिदीबहिनी बहुविवाह गरी सौता राख्ने श्रीमान्का लागि व्रत बसिरहेका हुन्छन् । यसले पनि हामी महिलाहरू कुन धरातलमा छौं स्पष्ट हुन्छ । म त भन्छु एक महिना नाच–गान गरी दर खाएर समय र पैसा फाल्नु भन्दा महिला अधिकारका लागि सशक्त भएर अघि बढ्नुपर्छ । 

श्रीमान्को खुट्टा धोएको पानी खानुपर्छ भन्ने हाम्रो परम्परागत मान्यता छ । यही नै धर्म हो भन्ने सोचलाई हामीजस्ता पढेलेखेका महिलाहरूले परिवर्तन गर्नुपर्छ । श्रीमान् र श्रीमती बराबर हुन्, उनीहरूले एक–अर्कालाई त्यत्तिकै माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ । जहाँ जेन्डर ग्याप बढी हुन्छ त्यहाँ शान्ति हुँदैन । देशले उन्नति, प्रगति गर्न सक्दैन । जब महिलाहरू शिक्षित हुन्छन् अनि मात्र देश बन्छ । तीजमा निराहार व्रत बसेर कसैका श्रीमान्को आयु लामो हुने होइन तैपनि संस्कृति रक्षाका लागि शरीरलाई असर नपर्ने गरी व्रत बस्न सकिन्छ । विकृतिहरू हटाएर स्वच्छ संस्कृतिको जगेर्नामा लाग्नु आजको आवश्यकता हो । 

 

(यो लेख गायिका रेखा शाहसँग सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीमा आधारित छ । गायिका शाह अहिले लैंगिक विभेद तथा महिला सशक्तीकरणसम्बन्धी विषयमा स्नातकोत्तर अध्ययनरत छिन् ।)   

 Image