Successfully Copied

मधेसमा सौन्दर्य मोह

नितुको पार्लरमा ग्राहकलाई मेकअप गराउने मात्र होइन तालिम सञ्चालन गरेर यस क्षेत्रमा नयाँ मानिसहरूलाई प्रवेश पनि गराइन्छ ।

नितु राय विवाहित महिला हुन् । उनी चार वर्षदेखि जनकपुर हस्पिटल चोकमा वैदेही ब्युटिपार्लर खोलेर सौन्दर्यप्रेमीहरूको सेवा गरिरहेकी छिन् । नितुको पार्लरमा ग्राहकलाई मेकअप गराउने मात्र होइन तालिम सञ्चालन गरेर यस क्षेत्रमा नयाँ मानिसहरूलाई प्रवेश पनि गराइन्छ । पार्लरमा फेसियल, थ्रेडिङ, कटिङ गर्ने महिलाहरू धेरै छन् । राय एउटी दुलही सजाएको २ हजारसम्म लिन्छिन् । घरपरिवारको सल्लाहअनुसार यो पेसामा लागेकी नितु मासिक ५० हजारसम्म आम्दानी हुने बताउँछिन् । यो पेसामा घाटा छैन । नितु भन्छिन्, ‘मानिसको राम्रो देखिने चाहनालाई यसले सजिलो बनाएको छ ।’ उनको पार्लरमा दैनिक २० देखि ३० जनासम्म ग्राहक आउँछन् । यसले उनको घरपरिवारको खर्च मात्र जुटाएको छैन, दुई सन्तानका लागि पढाइ खर्च पनि जुटेको छ । राय द रेयुकाई नेपालद्वारा सञ्चालित तालिममा सहभागी भएर यो क्षेत्रमा लागेकी हुन् । जनकपुरमा जम्मा ४५ वटा ब्युटिपार्लर छन् । 

जनकपुरमा मात्र होइन मधेसका चोक–चोकमा थुप्रै पार्लर खुलेका छन् । मोडर ब्युटिपार्लर महेन्द्रनगर धनुषामा रुवी प्रमिल मधेसमा सौन्दर्य मागका कारण ब्युटिपार्लर खोलेको बताउँछिन् । सुरुमा लागेको खर्च ६ महिनाभित्र असुली हुने भएकाले यो पेसामा धेरैको मोह बढेको हो । प्रमिल भन्छिन्–‘मधेसमा पार्लरको माग बढे पनि भनेजति पार्लर खोल्न सकिएको छैन ।’ एक वर्ष अघिमात्र पार्लर खोलेर बसेकी प्रमिलकहाँ डेढ लाखसम्मको श्रृंगार सामग्री छ । दैनिक २ हजार आम्दानी गर्ने पार्लरबाट प्रमिलले दुई छोरालाई काठमाडौंमा पढाउँदै आएकी छिन् । आई.ए. उत्तीर्ण रुवी रोजगारी नपाएर यो पेसामा लागेको बताउँछिन् । आर्थिक समस्या टर्ने र रोजगार हुने भएकाले यो पेसामा लागेको बताउने रुवी पार्लरमा फेसियल, कटिङ, मेहन्दी लगाउनेदेखि दुलही सजाउन घरघर पुग्छिन् । यो चोकमा मात्र ३ वटा ब्युटिपार्लर छन् । 

गोलबजार सिराहामा दुलही ब्युटिपार्लर एवं कस्मेटिक खोलेकी मञ्जु सिंह पार्लर खोल्नुपूर्व प्राइभेट जागिरे थिइन् । पछि उनी समाजको मागलाई मध्यनजर गरेर यो पेसामा होमिएकी हुन् । घरपरिवारको सहयोगमा सुरु गरेको व्यवसाय हाल २ लाखसम्म पुगेको छ । उनी आफ्नो पार्लरमा युवतीभन्दा विवाहित महिला धेरै आउने गरेको बताउँछिन् । नितु, रुवी र मञ्जु मात्र होइन जनकपुर, महोत्तरी, सिरहा र सप्तरीका चोक–चोकमा ब्युटिपार्लर खोल्ने क्रम बढ्दो छ । घरको चौघेरामा सीमित रहने मधेसका महिलाहरू अहिले ब्युटिपार्लर धाउँछन् । 

कुनै बेला महिलाहरू घुम्टोभित्र आफ्नो सौन्दर्य लुकाउनु नै जीवन हो भन्थे । खुलेर सौन्दर्य प्रस्तुत गर्दा समाजले विकृति बढेको महसुस गथ्र्याे । अहिले पुरानो चलन बदलिएको छ । सौन्दर्यलाई खुलेर प्रस्तुत गर्ने होड चल्न थालेको छ । घरपरिवारदेखि समाजसम्मले यसलाई समयको उपहार सम्झन थालेको छ । समाजबाट बन्देज लगाउने यो पेसालाई समाजले नै अहिले खुल्ला गरिदिएको छ । 

मधेसका ब्युटिपार्लर ४ देखि ५ वर्षको अन्तरालमा फस्टाएका हुन् । त्यसअघि ब्युटिपार्लर कमै थिए । मधेसका महिला सौन्दर्यप्रति जागरुक हुन थालेपछि भने चोक–चोकमा ब्युटिपार्लर खुलेका हुन् ।  

मधेसका ब्युटिपार्लरमा फेसियल र मेकअप गराउने मात्र होइन कतिपय पार्लरमा प्रशिक्षण पनि दिइन्छ । पार्लरहरूले ६ महिने ट्ेरनिङको १० हजार, ३ महिनेको ५ हजार लिए पनि पार्लर हेरेर यो भन्दा बढी लिने गरेको वैदेही ब्युटिपार्लरकी नितु रायले बताइन् । 

मधेसमा ब्युटिसियनहरूको संख्या पनि बढ्दो छ । यो पेसामा युवतीहरूदेखि विवाहित महिलाहरू पनि लागेका छन् । सौन्दर्य कला व्यवसायी संघ धनुषाकी सदस्य नमृता राई मधेसमा सौन्दर्य मागलाई पूरा गर्न नसकेको बताउँछिन् । 

प्रस्तुति : हीरालाल दनुवार 

 Image