Successfully Copied

विवाहले जिम्मेवार बनाउँछ

रहरू विवाहपछि युवायुवती विशेष रूपमा जिम्मेवार हुने कुरा बताउँछन् । कारण यसपूर्व उनीहरू आमाबुबाले बनाइदिएको परिधिभित्र सुरक्षित हुन्थे तर विवाहपछि तिनले आफ्नो परिश्रमबाट आफ्नो परिधि अर्थात् घर

केही समयको विवाह संस्कारपछि एउटी चञ्चले युवती एकाएक जिम्मेवार बन्छिन् । विवाहपछि उनको जीवन यथार्थ धरातलमा उभिन पुग्छ जहाँ केवल दायित्व र कहिल्यै नसकिने लामो लिस्ट हुन्छ । कुनै पनि कामको प्रारम्भमा केही समस्या हुन्छन् तर सत्य यही हो जुन कुरा र काम सिकाउन आमा सधैं पछि लाग्थिन् ती सबै कुरा एउटी युवतीले विवाहपछि आफै जान्ने, बुझ्ने र सिक्ने प्रयास गर्छिन् । कारण उनमा नयाँ घरपरिवारमा एडजस्ट हुनुका साथै त्यसलाई आफ्नो बनाउने जिम्मेवारी पनि हुन्छ । बालापन, उत्ताउलोपन एवं जिद्दी स्वभावलाई छोड्न आमाले सधैं सल्लाह दिने गरेकोमा विवाहपछि उनी स्वयं समझदार भएर ती कुरालाई छोड्ने प्रयास गर्छिन् । यहाँ प्रश्न उठ्छ–पहिले लापरबाह हुनेहरू विवाहपछि किन जिम्मेवार हुन्छन् ? 

यस विषयमा म्यारिज काउन्सलरहरू विवाहपछि युवायुवती विशेष रूपमा जिम्मेवार हुने कुरा बताउँछन् । कारण यसपूर्व उनीहरू आमाबुबाले बनाइदिएको परिधिभित्र सुरक्षित हुन्थे तर विवाहपछि तिनले आफ्नो परिश्रमबाट आफ्नो परिधि अर्थात् घर बसाउनुपर्ने कुराको ज्ञान प्राप्त गर्छन् । अरूप्रति उनीहरूको जम्मेवारी नभए पनि एक–अर्काप्रति भने जिम्मेवार हुन्छन् । एउटी युवती आफ्ना आमाबुबा, भाइबहिनी एवं जन्मघरलाई छाडेर श्रीमान्को घरमा आउँछिन् । यस्तो अवस्थामा श्रीमान्को जिम्मेवारी आफ्नी श्रीमतीलाई खुसी राख्नुका साथै सुख–सुविधा प्रदान गर्ने पनि हुन्छ । यसका लागि श्रीमान्का तर्फबाट पूर्ण प्रयास रहन्छ र आफ्नो जिम्मेवारी पूर्णरूपले निर्वाह गर्छन् । अर्कातिर आफ्नो परिवार बढाउनका लागि पनि उसले सोच्नुपर्ने हुन्छ र यसका लागि आर्थिक रूपबाट सक्षम पनि हुनुपर्छ । त्यसैले उनीहरू आफ्नो करियरका लागि पहिले भन्दा बढी गम्भीर हुन्छन् ।

अर्कातिर युवतीको काँधमा आफ्नो माइती र श्रीमान्को घरपरिवारको इज्जत बचाउने जिम्मेवारी हुन्छ । श्रीमान्को घरमा गरिने व्यवहारका कारण माइती पक्षको लालनपालनमा उब्जन सक्ने प्रश्नको सधैं  ख्याल राख्नु उनको दायित्व हुन्छ । यसैगरी जुन युवकसित उनको विवाह भएको छ, उनैको घरलाई सजाउने जिम्मेवारी पनि उनीमाथि आउँछ । मनोचिकित्सकहरूका अनुसार विवाहपूर्व हरेक आमालाई आफ्नी छोरीको विषयमा चिन्ता हुन्छ । आमालाई विवाहपछि छोरीले घर सम्हाल्ने चिन्ता हुन्छ । तर विवाहपछि ती युवतीले श्रीमान्को घरको कामकाजमा आफ्नो उपस्थितिलाई सुनिश्चित गर्छिन् । विवाहपूर्व युवती आफ्ना आमाबुबाको माया–प्रेममा हुर्किएकी हुन्छिन् ।

आमालाई आफ्नी छोरीको काम आफैले गरिदिने बानी पनि हुन्छ । कारण आमालाई छोरी स्कुल, कलेज वा कामबाट थाकेर घरमा आउँदा काम गर्न लगाउने इच्छा हुँदैन । त्यसैले आमाहरू छोरीलाई आरामका लागि प्राथमिकता दिन्छन् । कतिपय आमाहरू विवाहपछि श्रीमान्को घरमा काम गर्नुपर्ने भएकाले माइतीमा बस्दा वा विवाह नहुँदासम्म छोरीले आरामका साथ जीवन बिताउनुपर्ने धारणा राख्छन् । त्यसैले उनीहरू आफ्ना छोरीलाई घरपरिवारको जिम्मेवारीबाट टाढै राख्छन् । पछि जब छोरी विवाह योग्य हुन थाल्छन् तब कमेन्ट गर्ने कार्य प्रारम्भ हुन्छ । त्यतिबेला छोरी अनुशासनहीन भैसकेका हुन्छन् । विवाहपछि श्रीमान्को घरमा जब युवती प्रवेश गर्छिन् तब उनी क्रमश: मानसिक रूपमा परिपक्व हुन थाल्छिन् । उनले सबैलाई आफ्नो बनाउन, सबैको मनमा स्थान बनाउन आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ र स्वयं उनी आफ्नो काममा रुचि लिन थाल्छिन् र विस्तारै आफ्नी आमाजस्तै एक कुशल गृहिणी बन्न पुग्छिन् । 

युवाहरू पनि जिम्मेवार हुन्छन् : 

अध्ययन सकिएपछि केही समय नोकरी गर्छन्, तर विवाहपछि उनीहरू आफ्नो करियरप्रति गम्भीर हुन पुग्छन्, कारण उनीहरूमा परिवार चलाउने जिम्मेवारी हुन्छ । पहिले त आमबुबाले नै उनीहरूको खर्च बेहोर्थे तर विवाहपछि आफ्नी श्रीमतीको जिम्मेवारी र आफ्नो घर खर्च जुटाउने प्रयासमा तिनलाई आफ्नो करियरप्रति बढी सजग हुनुपर्छ । अनि उनीहरू परिश्रमका साथ काम गरी अघि बढ्ने प्रयास गर्छन् । 

गृहिणी अंशुका छोराको विवाह भएको छ महिना मात्र भएको छ । अहिले उसमा केही परिवर्तन पनि देखिएको छ । पहिले घरको सामान ल्याउन भन्दा आफूलाई केही थाहा नभएको बताउने छोराले अहिले घरमा के सामान ल्याउने हो भनेर सोध्ने कुरा अंशु बताउँछिन् । उनका अनुसार अब उनको छोरालाई घरमा प्रयोग हुने सामग्रीको मूल्य थाहा छ । विवाहपछि उनको छोरा घरप्रति बढी जिम्मेवार हुन थालेको कुरा अंशुले बताइन् ।

भविष्यका लागि बचत 

सफ्टवेयर इन्जिनियर विनयका अनुसार विवाहपूर्व उनी बचत गर्ने, पैसा सम्हाल्ने कुराबाट धेरै टाढा थिए । उनलाई जति पैसाको आवश्यकता हुन्थ्यो, बुबाबाट पूर्ति हुन्थ्यो । आफू फजुल खर्च गर्ने काममा पनि उत्तिकै अगाडि भएको विनयले बताए । साथीभाइका लागि खुबै खर्च हुन्थ्यो, कारण मलाई पैसाको महत्व थाहै थिएन । तर विवाहपछि म र मेरी श्रीमती अलग घरमा बस्न थालेपछि मलाई पैसाको महत्व थाहा भयो । आफूले कमाउन थालेपछि पैसा कमाउन गाह्रो हुने कुराको ज्ञान भयो । अब घर खर्च चलाउनुका साथै मेरो हुने शिशु र उसको भविष्यका लागि बचत गर्नुपर्छ । अत: मैले हरेक महिना बचत गर्न थालेको छु । यसबाट म आफ्नो परिवारको भविष्यको सुरक्षामा लगानी गर्दैछु ।

सही निर्णय 

होलसेल व्यवसाय संचालन गर्दै आएका किरणका अनुसार उनका छोराको छवि प्लेब्बाय टाइपका युवकको श्रेणीमा आउँथ्यो । हरेक समय युवतीहरू र साथीबीच घेरिएर रहने उसको बानी थियो । त्यसैले म बढी चिन्तित थिएँ । पढाइपछि उसले मेरो व्यवसाय सम्हाल्नुपर्ने थियो । त्यसैले उसले रोजेकी युवतीसित नै उसको विवाह गरिदिएँ । त्यसपछि मैले उसलाई जिम्मेवार बनेको पाएँ । उसका साथीहरूबीच रहने बानी रहराउँदै गएको छ । आफ्नी श्रीमतीसित उसको रुचि धेरै बढ्न गयो जसले गर्दा अन्य युवतीहरूतर्फ ऊ आकर्षित हुन छोड्यो । उसको विवाह उसका लागि सही निर्णय प्रमाणित भएको छ । पहिले यिनै कुरा बुझाउने प्रयास गर्दा पनि उसले बुझ्दैनथ्यो तर विवाहपछि ऊ एक जिम्मेवार श्रीमान् र छोरा बनेको छ । 

परिवर्तन 

विवाहपूर्व ऊ अफिसपछि आफ्ना साथीहरूसित घुमफिरमा धेरै समय बिताउँथ्यो । अफिसबाट ढिलो घर पुग्थ्यो  । आमाले घरमा चाँडै आउन भने पनि आफूखुसी गर्थें तर विवाहपछि मेरो बानीमा परिवर्तन आयो । अब त घर चाँडै जान हतार हुन्छ । कारण मेरी श्रीमती मेरो प्रतीक्षामा हुन्छिन् । अफिसमा पटक–पटक फोन गरेर घर पुग्ने समय सोध्छिन् । उनी मबिना खाना खाँदिनन् । अब त सानो छोरा पनि छ, साँझ छोरासँग समय बिताउन मन लाग्छ । वास्तवमै विवाहले धेरै परिवर्तन ल्याएको छ । 

बिहान चाँडै उठ्नु 

अंशुका अनुसार विवाहपछि आफूमा आएको सबैभन्दा ठूलो परिवर्तन हो–बिहान चाँडै उठ्नु । माइतीमा आफू ढिलो उठ्ने अंशु भन्छिन्, विवाहअघि त बिदाको दिन मेरा लागि दिउँसो मात्र बिहान हुन्थ्यो तर विवाहपछि अलार्म राखेर सुत्दा पनि अलार्मपूर्व नै उठ्ने बानी बस्यो  । जिम्मेवारीको चिन्ताले चाँडै उठ्ने बानी भयो । अब उठ्न अलार्म चाहिँदैन, कारण म ढिला उठें भने खाना बनाउन र त्यसपछि अफिस जान ढिला हुन्छ । अत: ममा चाँडै उठ्ने बानी बस्यो । 

नयाँ सम्बन्ध 

विवाहपछि युवायुवती भाउजू,, जेठाजु, बुहारी, देवरानी, माइजू, ज्वाईं आदि नयाँ सम्बन्धमा बाँधिन पुग्छन् । यही सम्बन्धको गरिमालाई कायम राख्ने जिम्मेवारी युवतीकै हुन्छ र उनलाई स्वयं पनि यी सबै सम्बन्धबाट आफ्नोपन र प्रेम प्राप्त भएको महसुस हुन्छ । त्यसलाई सम्हालेर राख्नुपर्छ र यही कुराले उनलाई परिपक्व पनि बनाउँछ । 

पहिलो कर्तव्य

गृहिणी रेनु भन्छिन्, विवाहभन्दा पहिले म आफूप्रति धेरै लापरबाह थिएँ, मेरो खानपान र पहिरनमा पनि आमाले नै ध्यान दिनुहुन्थ्यो । विवाहपछि ममा यति धेरै परिवर्तन आउला भन्ने मैले कहिल्यै सोचेकी थिइन । म अहिले आफ्नो र पूरै परिवारको ख्याल राख्छु । मेरी सासू बिरामी हुनुहुन्छ, उहाँलाई समयमा औषधि ख्वाउनु र खानपानमा ध्यान दिनु मेरो पहिलो कर्तव्य हो । 

बालबालिकाको जिम्मेवारी 

विवाह भएको केही समयपछि युवती गर्भवती हुन्छन् र शिशु जन्मिएपछि सम्हाल्नुपर्छ । हरेक युवती यो कामप्रति अञ्जान हुन्छन् र आमा हुनु उनका लागि नयाँ अनुभव हुन्छ । तर आमा भएपछि उनले यो जिम्मेवारी निर्वाह गर्न राम्रोसँग सिक्नुपर्छ । त्यसपछि शिशुप्रति आमाको माया–ममता बढ्दै जान्छ ।

बचत

विवाहअघि जुन युवतीले अनावश्यक रूपमा पैसा खर्च गर्थिन् तिनै युवती विवाहपछि अनावश्यक खर्चमा अंकुश लगाउँछिन् र आफ्ना श्रीमान्को निश्चित आम्दानीबाट घर खर्च चलाउँछिन् र बचत पनि गर्छिन् ।

 Image