Successfully Copied

तीजमा डिजाइनर पहिरन

साडीकै झझल्को दिने डिजाइनर साडी गाउन, पेन्सिल साडी, ग्याडर साडी, लेहेंगा, लेहेंगा साडी आदि लगाई मोर्डन लुक्स प्राप्त गर्न सकिन्छ ।

इनोभ एट नागपोखरी तथा कुपन्डोल

परम्परागत रूपमा चलिआएको तीजको पहिरन अहिले आधुनिक डिजाइनर लुक्समा ढल्किएको छ । हिजोआजका महिलाहरू सरल, सहज एवं स्मार्ट लुक्स देखिने पहिरन लगाउन चाहन्छन् । तीजको पर्यायवाचीका रूपमा रहेको रातो रंगमा पनि फरकपन खोज्न थालिएको छ । अहिले रातो मात्र नभई अरेन्ज तथा पहेंलोको फरक सेड मिलाएका क्रिमसन रेड, लेमन एल्लो, गोल्ड, अरेन्ज आदि रंगमा प्याच वर्क, बोर्डर वा भराइमा मिक्स म्याच गरिएका डिजाइन आइरहेका छन् । रातो साडीमा सिल्भर भेल्भेट प्याचवर्क, रेडमा प्यारोट ग्रिनको कम्बिनेसन तथा अरेन्जको कम्बिनेस पनि यसपटकको तीजलाई लक्षित गरी बनाइएका साडीका कलर कम्बिनेसन हुन् ।  

हिजोआज पहिलेजस्तो तीज भन्नासाथ साडी नै लगाउनुपर्छ भन्ने चलन पनि घटेको छ । साडीकै झझल्को दिने डिजाइनर साडी गाउन, पेन्सिल साडी, ग्याडर साडी, लेहेंगा, लेहेंगा साडी आदि लगाई मोर्डन लुक्स प्राप्त गर्न सकिन्छ ।  लेहेंगा पनि आफ्नो शरीरको बनावट तथा छालाको रंग सुहाउँदो बनाएर अझ आकर्षक देखिन सकिन्छ । अहिले साडीमा बेल्ट लगाउने चलन पनि बढ्दो छ । साडीकै कलरमा र ब्लाउजको कलरसँग कन्ट्रास्ट हुने गरी बेल्ट लगाउँदा अरु भन्दा फरक देखिन्छ । बेल्ट भेल्भेट फेब्रिकमा भरेर बनाएको राम्रो हुन्छ । 

दिनभरिजसो भोकै बसेर घाम–पानी नभनी पूजापाठ एवं नाचगान गरिने भएकाले धेरै हेबी साडी लगाउन गार्‍हो हुन्छ । त्यसैले प्याच वर्क लगाउनु नै बेस हुन्छ तर कतिपय महिला तीजका दिन हेबी साडी नै लगाउन चाहन्छन् । उनीहरूका लागि हेबी देखिने तर हल्का बोर्डर वर्क तथा लेस प्याच गरिएका डिजाइन उपयुक्त हुन्छन् ।

यसैगरी तीजमा महिलाहरू टाउकोमा राख्ने चन्द्रमा, क्लिपदेखि लिएर चुरा, पोते, टीका, धागो, जुत्ता आदि सबै उत्तिकै महत्वका साथ छनोट गरी राम्रो देखिने प्रयासमा हुन्छन् । तीजका पहिरन बनाउँदा आफ्नो रूप, रंग र फिगरमा पनि उत्तिकै ध्यान दिनुपर्छ । दुब्ला वा अग्लाहरूलाई जस्तो पहिरन पनि सहजै सुहाउने भए पनि मोटा महिलाहरूले पहिरन छनोट गर्दा अलि विचार पुर्‍याउनु आवश्यक हुन्छ । मोटा महिलाहरूले  तीजमा साडी नै लगाउने हो भने जर्जेट फेब्रिक छान्नुपर्छ । नेटमा स्लिम देखिने भए पनि बडी देखिने हुँदा त्यति उपयुक्त मानिँदैन । मोटो जिउ भएकाहरूले धेरै हेबी साडी लगाउनु हुँदैन । सानो बोर्डर मात्र राख्दा दुब्लो देखिन सकिन्छ । क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम देखिन्छ । लेहेंगा लगाउने हो भने नेटको लेहेंगामा लामो चोली बनाउने र सकेसम्म फिटिङ ब्लाउज लगाउँदा स्लिम देखिन सहयोग पुग्छ ।

नवदुलहीहरूका लागि हाफ सिल्भ वा कुहिनासम्मको बाहुला उपयुक्त हुन्छ । यसमा अगाडि जिपर लगाउने र मिरर ह्यान्ड इम्ब्रोइडरी गरिएको ब्लाउजले नवदुलहीको सौन्दर्य वृद्धि हुन्छ । साडी नै लगाउने बानी छ र त्यसलाई सम्हाल्न सकिन्छ भने लेस प्याच गरेर मोतीको वर्क गरी समर भेल्भेट वा प्रिन्टेड नेटमा हाफ बाहुला ब्लाउज बनाउँदा पनि हुन्छ ।  

 Image