Successfully Copied

समाजसेवामा महिला हात

महिलाहरूलाई समाज निर्मातृको संज्ञा दिइन्छ तर पनि उनीहरूले पुरुषसरह सुविधा प्राप्त गर्न सकेका छैनन् । उनीहरूले जति मेहनत गरे पनि जीवनमा भनेजस्तो सुधार आएको पाइँदैन । विश्वका अधिकांश मुलुकमा महिलाहरूको स्थान दोस्रो दर्जाको नागरिकका रूपमा छ ।

महिलाहरूलाई समाज निर्मातृको संज्ञा दिइन्छ तर पनि उनीहरूले पुरुषसरह सुविधा प्राप्त गर्न सकेका छैनन् । उनीहरूले जति मेहनत गरे पनि जीवनमा भनेजस्तो सुधार आएको पाइँदैन । विश्वका अधिकांश मुलुकमा महिलाहरूको स्थान दोस्रो दर्जाको नागरिकका रूपमा छ । हाम्रै देशमा पनि  कानुनमा महिलाहरूको विषयमा जति कुरा लेखिए पनि त्यसको कार्यान्वयन पक्ष निकै फितलो छ र  महिलाहरूको स्थिति टिठलाग्दो देखिन्छ । महिलाहरू शिक्षा, स्वास्थ्य तथा आर्थिक हिसाबले पछाडि छन् भने यस विषयमा सम्बन्धित पक्षको ध्यान केन्द्रित हुन सकेको छैन ।

हरेक क्षेत्रमा महिलाहरूको सहभागिता कम छ । त्यसमा पनि महिलाहरूले विभिन्न प्रकारका हिंसाको सामना गर्नुपर्छ । युद्धभूमिदेखि शयन कक्षसम्म महिलाहरूले विभिन्न हिंसा सहँदै आएका छन् । सबैजसो देशको सामाजिक संरचनाले महिलाहरूलाई विभिन्न विभेद तथा हिंसा सहन बाध्य बनाएको छ । महिलाहरूलाई उपभोग्य वस्तुका रूपमा व्यवहार गरिन्छ । विभिन्न आरोपमा घरबाट निकालिन्छ । श्रीमान् बितेका एकल महिलाहरूको विवशता त अझ आँसु आउने खालको छ । समग्रमा भन्नुपर्दा नेपालमा महिलाहरूको  स्थिति निकै नाजुक छ । 

यसबीच पनि बादलमा चाँदीको घेरा हुन्छ भनेझैं नेपाली महिलाका पक्षमा केही आशालाग्दा कुराहरू पनि छन् । विभिन्न सामाजिक सेवामा संलग्न संस्थाहरूले महिला, बालबालिका तथा वृद्धवृद्धाको नारकीय जीवनमा सुधार ल्याउन पहल गरिरहेका छन् । अहिले नेपालमा विविध लक्ष्य लिएर यस्ता थुप्रै संस्था खुलेका छन् र तिनमा महिलाहरूकै सहभागिता छ । यस्ता संस्थाहरूले विदेशमा बेचिएका, रोग लागेका, कुण्ठामा बाँचेका, अङ्गभङ्ग भएका, उमेरले पाका, श्रीमान्को मुत्यु भएका, अनाथ बालबालिका तथा विभिन्न यातना सहेर जीवन बिताइरहेका महिलाहरूलाई सहयोग पुर्‍याइरहेका छन् । यस्ता संस्थाहरूले विभिन्न तालिम, कार्यशाला तथा गोष्ठीहरूको आयोजना गरेर महिलाका विषयमा विविध कार्यक्रम संचालन गर्छन् । नेपालमै रहेका ठूल्ठूला संस्थाहरूले महिलाहरूलाई विभिन्न ठाउँबाट बेचिनबाट जोगाएर वा बेचिएकाहरूको उद्धार गरी तालिम, बसोबास तथा खानपानको व्यवस्थासमेत गरेका छन् । 

कसैले स्कुल संचालन गरेर बालबालिका तथा महिलाहरूलाई अध्यापन गराइरहेका छन् कसैले विदेशमा दु:ख पाएका महिलाहरूको उद्धार गरेका छन् । यस्ता संस्थाले केही हदसम्म भए पनि महिला तथा बालबालिकाहरूको हितमा काम गरेका छन् । यद्यपि यतिका भरमा मात्र महिलाहरूको मुद्दा तथा समस्या सम्बोधन हुन सक्दैन । यसमा परिवार, समाज तथा राज्यले पनि आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ । 

यस्ता सहयोगी हातलाई सबैले साथ दिए मात्र सभ्य समाज निर्माण हुनसक्छ । यो विषयमा राज्य पक्ष अझ गम्भीर हुनुपर्छ । नेपाली समाजलाई पितृसत्तात्मक समाजको संज्ञा दिइए पनि नेपाली समाजमा बिस्तारै महिलाहरूले आफ्नो वर्चश्व कायम गर्न थालेका छन् । महिलाहरू विविध क्षेत्रमा अब्बल साबित हुन थालेका छन् । समाज सेवा एउटा यस्तो सेवा हो जसबाट मानिसले आत्मसन्तुष्टि प्राप्त गर्छन् । नेपालमा विशेषगरी महिलाहरूले सामाजिक सेवामा आफूलाई अब्बल साबित गर्दै आएका छन् । नेपालमा खुलेका अधिकांश सामाजिक संस्थाहरू महिलाहरूले सफलतापूर्वक चलाइरहेका छन् । उनीहरूले जसरी आफ्नो घरलाई सन्तुलित गरी चलाउँछन् त्यसैगरी आफूले संचालन गरेको संस्थालाई पनि राम्रोसँग चलाएका छन् । सामाजिक सेवाबाट नेपाली महिलाहरूले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेका छन् । अनुराधा कोइराला, पुष्पा बस्नेत, मेनुका थापा, इन्दिरा थापा मगर, दुर्गा सोब, चरिमाया तामाङ, सुनीता दनुवार, दीक्षा चापागाईं आदि महिलाले आफ्नो क्षेत्रमा निकै लोकप्रियता हासिल गरिसकेका छन् । सामाजिक सेवामा लाग्नु तथा यसलाई निरन्तरता दिन सक्नु चानचुने कुरा होइन । आफूले विविध चुनौती तथा अप्ठ्याराहरू झेलेर पनि अरूको अनुहारमा मुस्कान ल्याउन प्रयास गर्ने यस्ता संस्थाहरूलाई साधुवाद दिनैपर्छ । 

यसै क्रममा नारीले आफ्नो यो अंकमा महिलाहरूद्वारा संचालित केही उदाहरणीय सामाजिक संस्थाहरूलाई प्रस्तुत गरेको छ । पूर्वको उर्लाबारीदेखि जनकपुर हुँदै दाङ तथा काठमाडौंका यी नमुना संस्थाहरू महिलाले आँटे जे पनि गर्न सक्छन् भन्ने कुराको उदाहरण पनि हुन् ।

 Image