Successfully Copied

महिलाका पक्षमा भएका सकारात्मक काम

भूकम्प र नाकाबन्दीको त्रास झेल्नुपरेकाले नेपालीका लागि वर्ष २०७२ बिर्सनलायक रह्यो । यद्यपि यही वर्ष लामो प्रतीक्षापछि संविधान जारी भएका कारण त्यसले सकारात्मक सन्देश पनि प्रवाह गर्‍यो । यो वर्ष महिलाका क्षेत्रमा पनि केही सकारात्मक काम भएका छन् जसले समग्र नेपाली महिलाको भविष्यप्रति

भूकम्प र नाकाबन्दीको त्रास झेल्नुपरेकाले नेपालीका लागि वर्ष २०७२ बिर्सनलायक रह्यो । यद्यपि यही वर्ष लामो प्रतीक्षापछि संविधान जारी भएका कारण त्यसले सकारात्मक सन्देश पनि प्रवाह गर्‍यो । यो वर्ष महिलाका क्षेत्रमा पनि केही सकारात्मक काम भएका छन् जसले समग्र नेपाली महिलाको भविष्यप्रति आशा पलाएको छ ।

२०७२ सालमै नेपाली जनताको बहुप्रतिक्षित संविधान जारी भयो जसले महिला अधिकारका थुप्रै मुद्दा समेटेको छ । महिलाको समान सहभागिताका कुरा संविधानमार्फत जारी भयो । यो समग्र नेपाली महिलाका लागि खुसी र उपलब्धिको कुरा हो । यसले वैधानिक तबरमा महिला अधिकार सुनिश्चित गरेको मान्न सकिन्छ । वि.सं. २०४७ को अन्तरिम संविधानले ५ प्रतिशत महिला सहभागिताको आवाज उठाएकोमा ०६२–६३ को आन्दोलनमा महिलाको व्यापक सहभागिता र त्यसबखतको संकल्प प्रस्तावको परिणाम ३३ प्रतिशतको मुद्दा यो संविधानसम्म आइपुग्दा धेरै हदसम्म सुनिश्चित भएको छ । 

यो वर्ष मुलुकले राष्ट्रको उपल्लो तहमा महिला नेतृत्व प्राप्त गर्‍यो । पचासौं वर्षदेखि महिलाले पालेको सपना यही वर्ष साकार भएको छ । मुलुकमा सरकार परिवर्तनसँगै प्रथम महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी नेतृत्वमा आउन सफल भइन् जसले मुलुकका प्रत्येक महिलामा एक किसिमको सकारात्मक ऊर्जा मात्र पैदा गरेन अथक प्रयास र निरन्तरताको परिणामलाई समेत प्रमाणित गरिदियो । राष्ट्रपति पदमा विद्यादेवी भण्डारीको बहालीपछि महिलाले चाहे र गरे के हुँदैन भन्ने प्रश्नको उत्तर प्राप्त भएको छ । 

यही वर्ष मुलुकले प्रथम सभामुख महिला प्राप्त गर्‍यो । दशकौं राजनीतिमा समर्पण गरेकी माओवादी नेतृ ओनसरी घर्ती मगर मुलुकको प्रथम सभामुख महिला हुन सफल भएकी हुन् । राजनीतिज्ञहरूमाझ निडर, आत्मविश्वासी र स्पष्टवक्ताका रूपमा परिचित ओनसरीको निरन्तर संघर्ष र अथक प्रयास नै उच्च पदसम्म पुग्नुको प्रमुख कारण हो । यसबाट धेरै नेपाली महिला अब हामीले पनि घरभित्र मात्र होइन बाहिर निस्किएर आफ्नो सीप, क्षमता र दक्षताको सही प्रयोग गर्नुपर्छ भन्ने कुराले उत्प्रेरित देखिन्छन् । 

विद्यार्थी राजनीतिमा अग्रपंक्तिमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षजस्तो गरिमामय पदमा आफ्नो उपस्थिति जनाएकी नवीना लामाले आफ्नो साहस प्रदर्शन त पहिले नै गरेकी हुन् त्यसभन्दा बढी अत्यधिक बहुमतका साथ अध्यक्ष पदमा विजय हासिल गरेपछि उनको चर्चा एकाएक चुलियो । नवीना धेरै नेपाली युवायुवतीकी रोल मोडल बन्न सफल भइन् । 

वर्षको सुरुवातमै नेपाली चेलीलाई काँकडभिट्टा नाकादेखि बंगलादेश हुँदै खाडी राष्ट्रमा बेचबिखन गर्ने नयाँ तरिका अवलम्बन गरेको भन्दै माइती नेपालले त्यसको रोकथामका लागि सरकारसँग आग्रह गर्‍यो । भारतले नेपाली नागरिकलाई भारतीय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक विशेष गरी खाडी राष्ट्र जाने सन्दर्भमा नो अब्जेक्सन लेटरको प्रक्रिया लागू गरेपछि मानव बेचबिखनमा सक्रिय गिरोहले नेपाली चेलीहरूलाई खाडी राष्ट्रमा बेचबिखन गर्ने नयाँ उपाय अवलम्बन गरेको माइती नेपालको क्षेत्रगत अनुसन्धानले ठहर गरेको थियो । मानव बेचबिखनका सन्दर्भमा फस्टाउँदै गएको नयाँ स्वरूपले विकराल रूप लिनु अगावै सुरक्षाको उपाय अपनाउन माइती नेपाललगायत सम्बन्धित तथा सरोकारवाला संस्थाहरू जागेका थिए । यसै सन्दर्भमा भूकम्पले विस्थापित युवतीहरूलाई प्रलोभनमा पारी भारत लगेर बेचिएको समाचारले पनि सम्बद्ध पक्षहरूलाई चिन्तित तुल्यायो । 

वि.सं. २९७२ सालमै उद्योग वाणिज्य संघको इतिहासमै प्रथम महिला बरिष्ठ उपाध्यक्ष हुन सफल भइन्–भवानी राणा । सर्वसम्मत बरिष्ठ उपाध्यक्षको पदभार सम्हाल्न पुगेकी राणाले मुलुकका ७५ जिल्लामा एक जिल्ला एक उत्पादन कार्यक्रम पुर्‍याउने जानकारी दिँदै ग्रामीण क्षेत्रमा उद्योग स्थापना, रोजगारी सिर्जना तथा बजार पहुँचका कार्यक्रमलाई प्राथमिकतामा राखी काम गर्ने बताएकी थिइन् ।

नाबालिक बलात्कारविरुद्ध जाहेरी दिन ३५ दिने हदम्याद हटाउन सर्वोच्च अदालतले २०७२ साल असारमा सरकारका नाममा परमादेश जारी गर्‍यो । न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले हदम्यादकै कारण अपराधी फुत्किने विद्यमान कानुनी प्रावधान अन्तर्राष्ट्रिय मानव अधिकार कानुन तथा सन्धि–सम्झौतासँग मेल नखाने भएकाले त्यसलाई हटाउने गरी कानुन पेस गर्न सरकारलाई आदेश जारी गरेको थियो । 

सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गरायो । उक्त निर्णय २०७२ मंसिरमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न गोठाटारस्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । 

सुशीला कार्की मुलुककै प्रथम महिला प्रधानन्यायाधीश हुने क्रममा सर्वोच्चमा दुई महिला न्यायाधीशको सिफारिस पर्‍यो । न्यायाधीशका लागि सिफारिस गरिएका ११ जनामध्ये मुख्य न्यायाधीशबाट मीरा खड्का र वकिलबाट बरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान छानिए । यसअघि शिलु सिंह, शारदा श्रेष्ठ र गौरी ढकाल मात्र महिला न्यायाधीशका रूपमा सर्वोच्चसम्म पुग्न सफल भएका थिए । 

समानताको हकका लागि विश्वभरका महिला एकजुट हुने उद्देश्यले नेपालमा दोस्रो विश्व महिला सम्मेलन सम्पन्न भयो । विश्वका महिलाले सर्वोच्च शिखर चुम्दैछन् भन्ने नाराका साथ संचालित उक्त विश्व सम्मेलनमा विकसित तथा अल्पविकसित सबै देशमा रहेका महिलाका समस्या समान खालका भएकाले विभेद अन्त्यका लागि दबाब दिइएको थियो । विकसित तथा अविकसित देशमा महिला–पुरुषबीच ज्यालामा समानता, महिला हिंसा, आर्थिक अधिकार, बेचबिखनजस्ता समस्या विद्यमान छन् । हरेक पाँच वर्षमा हुने यो सम्मेलन  सन् २०११ मा भेनेजुएलामा भएको थियो ।

साथै यी पनि

वर्ष २०७२ कानुनी अधिकार प्राप्तिका दृष्टिले महिलाका लागि सकारात्मक रहँदा–रहँदै पनि त्यसभित्र कतिपय बाधा–व्यवधान भने जस्ताको तस्तै रहे । नेपाल अधिराज्यको संविधान–२०७२ जारी हुने क्रममा तराई मधेसमा समस्या देखियो । पछिल्लो संविधानले महिला हितका लागि प्राय: मुद्दा समेट्न खोज्दाखोज्दै पनि त्यसभित्र कतिपय त्रुटि देखा परे । वि.सं. २०६२–६३ को आन्दोलनमा महिलाको व्यापक सहभागिताद्वारा प्रस्तावित संकल्प प्रस्तावकै राप र तापले उठाएको ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयनमा ल्याउन विविध कार्यक्रम सम्पन्न भए । यद्यपि राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता भने संविधानले गर्न सकेन । व्यवस्थापिका (कानुन बनाउने निकाय), संघ र प्रदेशबाहेक स्थानीय तह, न्यायिक क्षेत्र, प्रशासनिक क्षेत्र, मन्त्रिपरिषद् (कार्यपालिका) आदि क्षेत्रमा महिलाका लागि ३३ प्रतिशतको सुनिश्चितता छैन । परिणाम मात्र नभई पहुँचको कुरा उठाउँदा पनि यसले गुणात्मक अभिवृद्धिको परिणाम दिँदैन । 

वर्षको सुरुवातमै महाविनाशकारी भूकम्पबाट मुख्यत: महिला तथा बालबालिका बढी प्रभावित भए । भूकम्पका कारण मृत्यु हुनेहरूमा पनि महिला तथा बालबालिकाको संख्या नै बढी रहेको तथ्यांक सार्वजनिक भयो भने अंगभंग हुनेहरूमा पनि उनीहरू नै अगाडि रहे । कतिपय महिला घरबारविहीन मात्र होइन परिवारविहीन हुन पुगे । त्यसले महिलाको जीवनलाई अझ कष्टकर बनायो ।

पटक–पटकको आन्दोलन र संघर्षपछि नेपालको संविधानले महिलाहरूका लागि केही राहत प्रदान गर्‍यो । राष्ट्रको उच्च तहमा महिला पुग्ने क्रम बढ्दै गयो । यति हुँदाहुँदै पनि लैंगिक समानताका दृष्टिले नेपाल १ सय १० औं स्थानमा रह्यो । गत मंसिरमा वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको विश्व लैंगिक असमानता प्रतिवेदनअनुसार १ सय ४५ देशमा गरिएको लैंगिक समानतासम्बन्धी सर्वेक्षणमा नेपाल १ सय १० औं स्थानमा परेको हो । नेपाल राष्ट्र सञ्चालन गर्ने मन्त्रिपरिषद्मा ८६ प्रतिशत पुरुष रहने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिशतमा हेर्दा यो संख्यामा पुरुषको ८२ र महिलाको १८ मात्र हिस्सेदारी देखिन्छ । रोजगारीको खोजी गर्नेमा महिला ८९ प्रतिशत छन् । पुरुषले  सन् २००६ मा पाएको सुविधा महिलाले बल्ल अहिले प्राप्त गर्दैछन् । एकदशक यतामात्र नेपालमा ३३ लाख कामकाजी महिला थपिएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा गत मंसिरमा हिंसाका केही तथ्यांक सार्वजनिक भए जुन विगतका वर्षहरूको तुलनामा बढेको देखियो । 

ओनसरी घर्ती, सभामुख

१० कक्षा मात्र पढेकी रोल्पाको किसान परिवारकी छोरी ओनसरी घर्ती मुलुकको प्रथम पाँच ठूला पदमध्ये एक सभामुख पदमा पुगेकी छिन् । वर्ष २०७२ ले ओनसरी घर्ती मगरलाई उच्च पदमा पुर्‍याएर आम नेपाली महिलाहरू पनि उच्च पदमा पुग्नसक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ । माओवादी सशस्त्र द्वन्द्वमा लाग्ने महिलाहरूमध्ये उनी पहिलो पाँच जनामध्ये एक थिइन् । रोल्पामा पहिलो पटक प्रहरी चौकीमा आक्रमण गर्न जाने दुई महिलामध्ये उनी एक थिइन् । ओनसरीको लडाकु स्वभावलाई मध्यनजर गर्दै माओवादीले उनलाई माओवादीको उच्च सैनिक कमाण्डर बनाएको थियो । पूर्वी पहाडमा माओवादी संगठन बढाउन उनले विशेष भूमिका निर्वाह गरेकी थिइन् । 

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी सभासद् भइन् र २०६७ सालमा युवा तथा खेलकुद मन्त्री । दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीका ठूला नेता पराजित हुँदा उनी रोल्पाबाट निर्वाचित  भइन् । एमाओवादीबाट निर्वाचन जित्ने उनी एक्ली महिला पनि हुन् ।

विवादमा आएका महिला

यो वर्ष गायिका ज्योती मगर, विवादास्पद अन्तर्वार्ता दिएपछि अर्चना पनेरू तथा लोकगायिका रेखा शाहहरू विवादमा आए । ज्योति मगरले आफूले गाउने गीतमा मोडलिङ गर्दा उत्तेजक पहिरन लगाएको भन्दै विरोध भयो । त्यसलाई ज्योतिले सजिलै व्यवस्थापन गरिन् । यता अर्चना पनेरूले आफूले पोर्न स्टार बन्ने सपना पालेको भन्दै अन्तर्वार्ता दिइन् । उनका केही अश्लील भिडियो विश्वप्रसिद्ध पोर्न साइटहरूमा पनि राखिएको छ । आफ्नै कोठामा सामान्य मोबाइलले खिचिएका ती भिडियो इन्टरनेटमा अपलोड भएपछि उनले विभिन्न म्युजिक भिडियो र चलचित्रमा काम थालेकी छिन् । अर्चनालाई प्रहरीले पटक–पटक पक्राउ गरेर चेतावती दिए पनि उनले त्यसलाई सामान्य रूपमा लिएको देखिन्छ । 

त्यसैगरी लोकगायिका रेखा शाह अरूलाई चर्को ब्याजमा पैसा लगाएको तथा आफ्ना ऋणीहरूलाई धाकधम्की दिएको आरोपमा प्रहरी चौकीमा पुगिन् । यद्यपि शाहले आफ्नो गिरफ्तारीलाई अमानवीय एवं प्रतिशोधले प्रेरित बताएकी छिन् । अर्कातर्फ उद्योगपति राज्यलक्ष्मी गोल्छाले सभासद् बन्न नेकपा एमालेलाई ५ करोड दस्तुर तिरेको भन्दै आफ्नै पदको अपमान गरिन् । राज्यलक्ष्मीको यो घोषणासँगै उद्योगी–व्यवसायीहरू सभासद् बन्न करोडौं रुपैंयाँ चन्दा दिन्छन् भन्ने आरोप पनि पुष्टि भयो । यसले व्यवसायीहरूको मानमर्दन त गर्‍यो नै नेपालको राजनीति र यसलाई अघि बढाउने दलहरू आर्थिक मामिलामा के–के गर्छन् भन्ने कुरा पनि बाहिर आएको छ । 

यो वर्ष नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव पटक–पटक विवादमा परिन् । विशेषगरी उनी शिक्षामन्त्री हुँदा डा. गोविन्द केसीले गरेको आमरण अनशन तोड्दा सरकारले गरेको प्रतिबद्धता विपरीत ८ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिएपछि ठूलो विवादमा तानिइन् । यही विवाद चुलिँदा पहिले कमाएको उनको राजनीतिक छविमै धक्का लाग्यो । यही कारणले उनले नेपाली कांग्रेसको महाधिवेशनमा कोषाध्यक्ष पदमा समेत पराजित हुनुपर्‍यो । 

महिलाबाट अपराध  

पहिले–पहिले ठूला अपराध पुरुषबाट मात्र हुन्छन् भन्ने अवधारणा थियो । विश्वमा ठूला अपराधमा महिलाहरूको संलग्नता धेरै अघिदेखि देखिए पनि नेपालमा त्यस्तो पाइएको थिएन । केही वर्षयता भने नेपाली महिलाहरू पनि ठूला अपराधमा मुछिन थालेका छन् । सामान्य ठगी, चेलिबेटी बेचबिखन हुँदै महिलाहरूले ठूला अपराध र हत्याजस्ता जघन्य अपराध पनि गर्न थालेका छन् । वर्ष २०७२ मा केही महिला यस्तै घटनाका नायिकेका रूपमा देखिए । 

विनीता बाँस्कोटा भण्डारीले जेलमा परेका आफ्ना श्रीमान् छुटाउन बालिकाको अपहरण गरेको घटना यो वर्ष चर्चित रह्यो । श्रीमान्लाई निरपराध घोषित गर्न पैसा जुटाउन नसकेपछि उनले धनाढ्य व्यक्तिका छोराछोरी अपहरण गरेको देखिएको छ । भण्डारीले आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । 

त्यसैगरी संगीता पाण्डे महर्जनले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी आफ्नै बुवाको हत्या गरेको घटनाले पनि धेरैलाई हल्लायो–वैशाख १२ गतेको भूकम्पजत्तिकै ।

 Image