महिनाबारी हुँदा किताब छुँदा पाप लाग्छ भन्ने मान्यता भएका बेला आमाले किताब पढिनस् भनेचाहिँ तेरो भविष्य बिग्रिन्छ भन्नुहुन्थ्यो : विमला राई पौड्याल
जहाँजहाँ छात्रवृत्ति थियो, त्यहाँ मरेर पढेँ । मैले पीएचडी गरेँ, अहिलेसम्म फी तिर्नुपर्या छैन ।
एघार वर्षको उमेरमा कला क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी गिरी नेपाली चलचित्र, टेलिचलचित्र तथा रंगमञ्चकी लोकप्रिय कलाकार हुन् । बाल्यकालमा आफ्नो नृत्यमा रमाउने उनको परिवारले उमेर बढ्दै जाँदा आफ्नो प्रतिभालाई सम्मानजनक पेसाका रूपमा नलिएको लक्ष्मीको आँँकलन छ । विवाहपछि उनको कलाकारिताले केही समय विश्राम लियो । राष्ट्र बैंकको जागिरे छँदा बैंकको रजतजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको अभिनयले प्रथम स्थान हासिल गर्यो । यो सफलताले उनी भित्रको कलाकारितालाई जगायो र उनले आफूलाई पूर्णरूपले कला क्षेत्रमा समर्पित गर्न राष्ट्र बैंकको जागिर छोडिन् । त्यो समयमा कलाकारितालाई पेसाका रूपमा अंगाल्न त्यति सहज थिएन । आफूभित्र अठोट भए पनि आफ्नै परिवारको कटु बचन, असन्तोष र असहमति सहनुपर्यो । पेसा र पारिवारिक जीवनबीचको सन्तुलनलाई कायम राख्दै महिलाले निर्वाह गर्नुपर्ने हरेक भूमिका पूरा गर्दै उनी अघि बढिन् । ३० वर्षदेखि निरन्तर कला क्षेत्रमा समर्पित गिरीले सयभन्दा बढी चलचित्र एवं ३ सय ७२ टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन् । भोजपुरी, मैथिली तथा नेपाल भाषाका चलचित्रमा अभिनय गरेकी गिरीको अर्को सशक्त पाटो रंगमञ्च पनि हो । उनी क्यारिकेचरमा पनि उत्तिकै पोख्त छिन् । आफ्नो कलामार्फत आज उनी समाजमा सम्मानजनक जीवनयापन गरिरहेकी छिन् । कलाकारितालाई रहर होइन साधना मान्ने लक्ष्मी यो क्षेत्रलाई कसरी सुरक्षित र सम्मानित बनाउन सकिन्छ भन्ने कुरामा चिन्तित छिन् ।