Successfully Copied

सदाबहार आइसक्रिम

जाडो हटिसकेको छ । वातावरण घामको रापले तात्तिँदै गएको छ । यस्तो समयमा हरेक मानिसको रोजाइ शीतलता नै हुन्छ ।

जाडो हटिसकेको छ । वातावरण घामको रापले तात्तिँदै गएको छ । यस्तो समयमा हरेक मानिसको रोजाइ शीतलता नै हुन्छ । परिधान, खानपानलगायत घुमघामका लागि पनि यो मौसममा शीतलता सबैको रोजाइमा पर्छ । हरेक कुरामा आधुनिक हुँदै गएका नेपालीहरूको फुड हेबिटमा पनि निक्कै ठूलो परिवर्तन देखा परेको छ । बाहिर खाने प्रवृत्ति बढिरहेकाले पनि फुड ह्याबिटमा यस्तो परिवर्तन देखा परेको हो । यति मात्र होइन हिजोआज टिपिकल नेपाली खानाका अतिरिक्त अन्य विदेशी खानातर्फ पनि मानिसहरूको चाख बढिरहेको छ । अहिले आइसक्रिमबिनाको डेजर्ट नेपालीहरूलाई मन पर्न छाडेको छ । नेपालीहरूका लागि आइसक्रिम सदाबहार परिकार बन्दैछ । अझ युवाहरूमाझ त आइसक्रिम ग्ल्यामरस खानेकुराका रूपमा परिचित छ । यिनै विविध माग बुझ्दै हाल नेपाली बजारमा आइसक्रिम उत्पादक कम्पनीहरूको संख्या क्रमशः बढिरहेको छ । स्वदेशी मात्र होइन विदेशी कम्पनीले पनि नेपाली बजारमा उपस्थिति जनाउन थालेका छन् । एनडिज, स्नोफन, नेपाल डेरी, काठमाडौं डेरी, निरुलाज, अज्जबको तथा बास्किन एन्ड रबिन्सका आइसक्रिम नेपाली बजारमा लोकपि्रय छन् ।

अमेरिकन ब्रान्ड बास्किन एन्ड रबिन्सका विश्वभरका ५० मुलुकमा रहेका ७ हजार ३ सय आउटलेटमध्ये नेपालको आउटलेट पनि एक हो । नेपालमा यसको स्वाद मन पराउने थुप्रै पारखी छन् । अन्तर्राष्ट्रिय चेन ब्रान्डमध्ये सबैभन्दा विशाल ब्रान्ड बास्किन एन्ड रबिन्सका चकलेट, स्ट्रबेरी, चीज केक, भेनिला, ग्रीन टी, रम रइसिनजस्ता फ्लेबर बढी चल्तीमा छन् । दरबारमार्ग, गैरीधारा, बानेश्वर आदि स्थानमा उपलब्ध हुने बास्किन एन्ड रबिन्सका आइसक्रिम उच्च गुणस्तरीय तथा स्वादिष्ट हुने कम्पनीको दाबी छ ।

पहिले गाईगोठ रहेको महाबौद्धको सानो ठाउँबाट सन् १९८० मा स्थापना भएको नेपाल डेरीले साढे तीन दशकको यात्रामा निक्कै ठूलो फड्को मारिसकेको छ । सुरुका दिनमा माटाको भाँडामा दही अनि मानाले भरेर दूध बेच्ने कामको थालनी गरेको नेपाल डेरी आज काठमाडौंभित्र र बाहिरका विभिन्न ठाउँमा आफ्नो वर्चस्व जमाउन सफल छ । ग्रामीण कृषकबाट दूध संकलन गरी आना उत्पादन बजारमा ल्याइरहेको नेपाल डेरीसँग प्रत्यक्ष रूपमा ५ सयभन्दा बढी दूध उत्पादक कृषक जोडिएका छन् । हाम्रो उद्देश्य व्यवसायका अतिरिक्त रोजगारी प्रदान गर्नु पनि हो-नेपाल डेरीका संस्थापक डा. हेरम्ब राजभण्डारी भन्छन्-हाम्रा उत्पादन मिसावट नगरिएका, उच्च गुणस्तरीय तथा टिपिकल नेपाली स्वादका छन् । नेपाल डेरीले भेनिला, स्ट्रबेरी, चकलेट, ट्वान्टी वान लभ, बटर क्रेक्रर आदि दर्जनभन्दा बढी फ्लेबरका आइसक्रिम उत्पादन गरे पनि भेनिला, स्ट्रबेरी, ट्वान्टी वान लभ बढी बिक्री हुन्छन् । एनडिजको आइसक्रिम खान महाबौद्ध पुगेका छाउनीका सन्तोष र सरु हप्तामा एकदिन आइसक्रिम खान यहाँ नआई चित्तै नबुझ्ने बताउँछन् । सन्तोष भन्छन्-आइसक्रिम सामान्यतया गर्मीमा खाने भनिए पनि यसले भित्री रूपमा न्यानोपन र क्यालोरी दिने हुँदा जाडो महिनामा पनि उत्तिकै उपयुक्त हुन्छ तसर्थ म यसलाई सदाबहार परिकार भन्न रुचाउँछु । सन्तोषजस्ता आइसक्रिमको बानी परेका कतिपय मानिस के जाडो के गर्मी हरसमय यसको नजिक रहन मन पराउँछन् । सरुका अनुसार आइसक्रिम अत्यन्तै स्वस्थ र तागत दिने खाद्यपदार्थ हो । उनलाई ममको तुलनामा आइसक्रिम बढी स्वादिलो लाग्छ र यसबाट आत्मसन्तुष्टि पनि मिल्छ ।

उता नेपाल दुग्ध विकास संस्थानले दुग्धजन्य परिकारका हरेक उत्पादनलाई प्राथमिकता दिने क्रममा आइसक्रिमको उत्पादनलाई पनि बढाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल डेरीका आइसक्रिम अरूको तुलनामा त्यति लोकपि्रय नभए पनि स्वादका कारण एकपटक खानेहरू दोहोर्‍याएर आउने नेपाल दुग्ध विकास संस्थानको दाबीे छ । संस्थानले पनि करिब एक दर्जन फ्लेबरमा आइसक्रिम उत्पादन गर्दै आएको छ ।

भेजिटेरियनहरूको संख्या बढिरहेकाले पनि दुग्धजन्य पदार्थको माग बढेको त्रि.वि. अध्ययनरत विष्णु थापा बताउँछन् । थापाका अनुसार विवाह भोज, रिसेप्सन पार्टी, बर्थ डे वा अन्य समारोहमा माछा-मासुको मात्रा घटाएर भए पनि आइसक्रिम राख्ने चलन बढ्दै गएको छ । थापा भन्छन्-सामान्यतया अन्य खाना दैनिक घरमा खाइरहने भएकाले शाकाहारीका लागि यस्तो समारोहमा आइसक्रिम विशेष परिकार साबित हुन्छ ।

पछिल्लो समयमा नेपाली आइसक्रिम उपभोक्ताहरूमाझ अत्यन्त लोकपि्रय बन्दै गएको अज्जबको ब्रान्डले अहिले बजार तताएको छ । नयाँ स्वादका साथ भेराइटी फ्लेबरमा उपलब्ध अज्जबको आइसक्रिमले युवाहरूमाझ प्रसिद्धि कमाइरहेको छ । विभिन्न सामाजिक उत्तरदायित्वको काममा समेत हात बढाइरहेको यो ब्रान्डका भेनिला, स्ट्रबेरी, ट्वान्टी वान लभ, चकलेट फ्लेबरका आइक्रिम बढी रुचाइएका छन् ।

प्रिरमियर इन्टरनेसनल स्कुलमा अध्ययनरत शान्या गौतमका लागि आइसक्रिम अलटाइम फेवरेट हो । जब उनी आफ्ना अभिभावकसँग बाहिर खान जान्छिन् उनको पहिलो रोजाइ आइसक्रिम नै हुन्छ । मेरो हरक्षणको फेबरेट ट्वान्टी वान लभ नै हो शान्या भन्छिन्-आइसक्रिमले ममा इनर्जी बढाएको अनुभूति हुन्छ । त्यति मात्र होइन आइसक्रिम खाँदा एकदमै रमाइलो लाग्छ ।

स्नोफन र निरुलाज ब्रान्डका आइसक्रिम पनि अहिले पारखीहरूमाझ चल्तीका ब्रान्ड हुन् । लामो समयदेखि नेपाली बजारमा प्रचलित यी दुई ब्रान्डले विवाह भोज, विभिन्न सभा-समारोह अनि पार्टीहरूको माग पूर्ति गर्दै आफ्नो ब्रान्ड भ्यालु बढाइरहेका छन् ।

आइसक्रिमको महत्व बुझ्नेले यसलाई गर्मी महिनाका लागि मात्र उपयुक्त मान्दैनन् तर आइसक्रिमको बजार भने गर्मीयाममा ह्वात्तै बढ्छ । यो समयमा आइसक्रिमका रेगुलर उपभोक्ता मात्र नभएर आम मानिस पनि यसको स्वाद चाख्न लालायित हुन्छन् । त्यति मात्र होइन हिजोआज पाहुना सत्कार वा छुट्टीको समयमा घरमै आइसक्रिम ल्याउने चलन पनि बढ्दै गएको छ ।

 Image