Successfully Copied

विन्टर स्किन केयर टिप्स

जाडो बढ्दै जाँदा छालामा अनेकन प्रभाव देखा पर्छन् । जाडो महिना सुरु भएदेखि छाला नै सुख्खा हुन थाल्छ ।

जाडो बढ्दै जाँदा छालामा अनेकन प्रभाव देखा पर्छन् । जाडो महिना सुरु भएदेखि छाला नै सुख्खा हुन थाल्छ । जाडो बढ्दै जाँदा अनुहार फुट्ने क्रम बढ्दै जान्छ । ब्युटिसियन रमिता श्रेष्ठ जाडो महिनामा छालाको विशेष स्याहार गर्नुपर्ने कुरा बताउँछिन् । वातावरण सुख्खा हुने भएकाले अनुहारमा मोइस्चराइजरको आवश्यकता पर्छ । चिल्लो प्रयोग गर्दा अनुहारको छाला फुट्न तथा चाउरी पर्न पाउँदैन ।

स्मार्ट टिप्स फर विन्टर

जाडो महिनामा तातोपानीले नुहाउँदा छालाको प्राकृतिक नरमपन कायम रहन पाउँदैन फलस्वरूप छाला सुख्खा हुन्छ ।

जाडो महिनामा  एन्टिसेप्टिक साबुनको साटो क्रिम बेस्ट साबुन प्रयोग गर्नुपर्छ । त्यसका अतिरिक्त नुहाउँदा बेसन तथा दही प्रयोग पनि गर्न सकिन्छ । बढी साबुनको प्रयोगले छालालाई सुख्खा बनाई चाउरीपन ल्याउँछ ।

हप्तामा एकपटक स्किन एक्सफोलिएट गर्नुपर्छ । यसले छालामा भएको डेड स्किन निकाल्छ भने मोइस्चराइजरले छालाको भित्र गएर त्यसलाई नरम बनाउँछ । अधिक एक्सफोलिएसनबाट पनि जोगिनुपर्छ किनभने छाला सुख्खापन हुनुका साथै पोल्न पनि सक्छ ।

भोजनमा जुस, मौसमी तरकारी तथा फल आदि समावेश गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीले छालालाई डिहाइट्रेट हुन दिँदैन । अल्ट्राभ्वाइलेट किरणले गर्मीमा मात्र होइन जाडोमा समेत असर पुर्‍याउँछ । त्यसैले जाडोमा पनि सनस्क्रिन क्रिम लगाउनुपर्छ ।

सुख्खा छालालाई मोइस्चराइज गर्न पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ ।

जाडो मौसममा पूरै दिन छालालाई नरम राख्नुपर्छ । यसका लागि कुनै पनि बडी लोसन छनोट गर्न सकिन्छ ।

अल्कोहलयुक्त स्किन प्रोडक्ट तथा हेयर स्टाइलिङ प्रोडक्टबाट टाढै रहनुपर्छ । अल्कोहलले छालाको नरमपन समाप्त पारी त्यसलाई ड्राइ बनाउँछ । त्यसैले जाडोमा अल्कोहल फ्री उत्पादन प्रयोग गर्नुपर्छ ।

जाडोमा हातखुट्टा, कुर्कुच्चा, कुहिना आदिमा मोइस्चराइजर लगाउनुपर्छ । सिया बटर, पेट्रोलियम मिनरल ओइल, टिट्री ओइल तथा ग्लिसरिन आदि भएको उत्पादन प्रयोग गर्नुपर्छ ।

सुख्खा छालाबाट छुटकारा

एलोबेरा, क्याटस तथा कागतीयुक्त क्लिन्जर प्रयोग गर्नुपर्छ । एलोबेराले छालालाई नरम बनाउँछ । त्यसमा पाइने एन्टी अक्सिडेन्टले नयाँ सेल बनाउने प्रक्रियालाई तीव्र बनाउँछ । एलोबेरा क्लिन्जरले छालालाई कोमल बनाउँछ ।

प्रत्येक रात भिटामिन ए तथा भिटामिन इयुक्त एन्टी एजिङ क्रिममा थोरै पानी मिसाएर अनुहारमा लगाउनुपर्छ ।

सुख्खा छाला

जाडो मौसममा अरू प्रकृतिको छालाको तुलनामा ड्राइ स्किनको बढी हेरचाह गर्नुपर्छ । ड्राइ स्किन भएकाहरूले साबुन प्रयोग गर्नुहुँदैन । यसको साटो हर्बल बडी वास वा फेसवास प्रयोग गर्नुपर्छ ।

नुहाएपछि छाला केही नरम हुन्छ । यतिबेला बडी लोसन लगाउनुपर्छ । यसले शरीरमा मोइस्चर लक गराउँछ ।

बेस्ट होममेड रिमेडिज

बदामको तेल राम्रो होम रिमेडी हो । बदामको तेल लगाउँदा सुख्खा  छाला पनि कोमल हुन्छ ।

त्यसका साथै एलोबेरा एक्स्ट्राक्टले पूरै शरीर मसाज गराउनुपर्छ । यसले छालाको रुखोपन हटाउँछ जसले गर्दा छाला नरम हुन्छ ।

महमा गुलाबजल मिसाएर लगाउनुपर्छ यसले ड्राइ स्किनलाई मोइस्चराइज गर्नुका साथै स्किन टोन हुन्छ ।

कागतीको रस एबोकाडोमा मिसाएर अनुहारमा लगाउँदा पनि छाला सफा हुन्छ ।

फुटेको ओठका लागि

ओठ हाम्रो अरू छालाको तुलनामा निक्कै कमलो हुन्छ त्यसैले यसको विशेष हेरचाह गर्नुपर्छ । फुटेको ओठमा लिम बाम लिप बाम, ओलिभ ओइल, भिटामिन इ तथा सिया बटर पनि लगाउन सकिन्छ ।

एलोबेरा तथा ग्लिसरिन दुवै मोइस्चराइजेसनका लागि उपयुक्त विकल्प हुन् । एलोबेरा जुस वा ग्लिसरिन लगाएर ओठलाई नरम बनाउन सकिन्छ । जाडोमा यसलाई दिनहुँ प्रयोग गर्दा ओठ फुट्दैन ।

राति सुत्नुभन्दा पहिले तोरीको तेल नाइटोमा लगाउनुपर्छ । यसरी सुत्दा ओठ नरम हुन्छ ।

फुटेको ओठ नरम बनाउन काँक्राको जुस फुटेको ओठमा लगाएर १५ मिनेटपछि धुनुपर्छ ।

कोस्टर ओइलको सहायताले पनि ओठलाई नरम बनाउन सकिन्छ । फुटेको ओठमा थुक लगाउनु हुँदैन ।

लिपिस्टिकप्रेमी महिलाहरूले जाडोमा लिपग्लस प्रयोग गर्नुपर्छ । लिपिस्टिक लगाउनुअघि ओठमा पेट्रोलियम जेली लगाउनुपर्छ ।

फुटेको कुर्कुच्चा

सुत्नुभन्दा पहिले खुट्टालाई मनतातो पानीमा डुबाएर १५ मिनेट राख्नुपर्छ । एप्रिकोट क्रिम लगाएर रातभरि रहन दिनुपर्छ । नियमित यो उपाय अवलम्बन गरे फुटेको कुर्कुच्चाको समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

कुर्कुच्चामा दिनहुँ स्क्रब गरेर मोइस्चराइरजर लगाउनुपर्छ ।

सुत्न जानुभन्दा पहिले पेराफिन वाक्स पगालेर त्यसमा थोरै तोरीको तेल मिसाउनुपर्छ । यसको मिश्रणलाई फुटेको ठाउँमा लगाउनुपर्छ  

तिल वा नरिवलको तेलले प्रत्येक रात मालिस गर्नुपर्छ ।

पाकेको केरालाई मसलेर कुर्कुच्चाको फुटेको ठाउँमा लगाउनुपर्छ । १५ मिनेट राखेर त्यसलाई धुनुपर्छ । यसबाट फुटेको कुर्कुच्चाको समस्या हल हुन्छ ।

मनतातो पानीमा नुन हालेर त्यसमा आफ्नो खुट्टा केही समय डुबाउने । यो प्राकृतिक पेडिक्योर पनि हो ।

जाडोमा प्रयोग हुने तेल नरिवलको तेल

जाडोमा छालाको प्राकृतिक तेल जोगाएर त्यसलाई रुखो हुनबाट जोगाउन सकिन्छ । यसका लागि नुहाउनुभन्दा पहिले तेलले शरीरको मालिस महत्वपूर्ण मानिन्छ ।

बदामको तेल

यसले छालामा मोइस्चराइजरको काम गर्छ । यसले सुख्खा छालामा देखापर्ने अनेकन समस्याबाट छुटकारा दिन्छ । .

जाडोमा छालाको स्याहार

जाडो मौसममा छाला रुखो, सुख्खा तथा फुस्रो हुन्छ । यस्तो बेला छालालाई सुन्दर, चम्किलो एवं मुलायम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ । छालामा सुख्खापन देखापर्नासाथ दिनको २-३ पटक मोस्चराइजर लगाउनुपर्छ । आफ्नो छालामा वाटर बेस्ड क्रिम वा मोस्चराइजर लगाउन सकिन्छ । बडी लोसन वा जैतुनको तेल पनि उपयुक्त हुन्छ ।

जाडोका लागि स्पा टि्रटमेन्ट पनि एकदमै राम्रो विकल्प हुनसक्छ । स्पा लिँदा शरीरको सबै फोहोर हट्छ  जसले छालामा जम्मा भएर रहेको अतिरिक्त तेल पनि बाहिर निकाल्छ । त्यस्तै समय-समयमा छालामा स्क्रब गर्नुपर्ने वरिष्ठ सौन्दर्यविद् लक्ष्मी श्रेष्ठ बताउँछिन् । श्रेष्ठका अनुसार स्क्रब गर्दा छालाका मृतकोषिकाहरू निस्कन्छन् र छाला नरम तथा चम्किलो हुन्छ । स्क्रब गर्दा  छालाको छिद्र खुल्ने भएकाले अनिवार्य रूपमा फेसप्याक लगाउनुपर्ने श्रेष्ठले बताइन् ।

जाडोमा चिसो हावाले शरीरको देखिने अनुहारको भाग तथा हातखुट्टाको छाला फुट्छ र सुख्खा पनि हुन्छ । त्यसैले यो मौसममा अनुहारका साथै हातखुट्टामा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोस्चराइजर वा लोसन लगाउन सकिन्छ भने सुत्नुअघि नियमित ग्लिसिरिन लगाउँदा पनि निकै फाइदा हुन्छ ।

जाडोका लागि केही घरेलु प्याक तथा टि्रटमेन्ट

बनाना प्याक : एउटा केरा, एक चम्चा चिनी तथा एक चम्चा बेसनको पेस्ट बनाएर राति सुत्नुअघि डार्क सर्कल तथा फुटेका हातखुट्टामा लगाउने र सुकेपछि सफासँग धुने । यसले हातखुट्टा फुट्न दिँदैन र मुलायम रहन्छ ।

मिल्क पाउडर प्याक : दुई चम्चा पाउडर दूध, दुई चम्चा चिनी तथा एक चम्चा गुलाब जल मिसाएर आधा घन्टा त्यत्तिकै राख्ने । गाढा भएपछि केही थोपा गुलाब जल हाल्ने । यसरी तयार पारिएको प्याक हातखुट्टामा लगाई १५ मिनेटपछि पखाल्ने । यसबाट हातखुट्टाको छालामा चमक आउनुका साथै  नरम पनि हुन्छ ।

फेसप्याक : एक चम्चा पुदिनाको पेस्ट, एक चम्चा मुलतानी माटो तथा एक चम्चा गुलाब जल मिसाएर आधा घन्टा त्यत्तिकै राख्ने । आधा घन्टापछि अलिकति दही राम्रोसँग मिसाएर पूरै अनुहारमा  दल्ने । यो प्याक लगाएको १५ मिनेटपछि सफासँग अनुहार धुने । यो उपाय हप्ताको एकपटक अवलम्बन गर्दा अनुहार आकर्षक तथा चम्किलो देखिन्छ ।

जाडोमा केश र अनुहारको सुरक्षा

जाडोमा अनुहारको छाला तथा केशमा विभिन्न किसिमका समस्या देखिनु स्वाभाविक हो । यद्यपि यसलाई बेवास्ता गर्ने हो भने समस्या थप जटिल बन्न सक्छ । त्यसैले अनुहार तथा केशको सौन्दर्य कायम राख्न प्राकृतिक विधि अपनाउनु उत्तम हुन्छ ।

शरीरमा पानीको मात्रा सन्तुलित राख्ने हो भने यस्ता समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ । त्यसका लागि पर्याप्त पानी पिउनुपर्छ । झोलयुक्त पदार्थको सेवन लाभदायक हुन्छ । खानामा हरियो सलाद सामेल गर्नुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । यतिबेला सुन्तला, अमला आदि मौसमी फलहरू खानुपर्छ । प्रत्येक दिन एउटा स्याउ खानु फाइदाजनक हुन्छ । यसमा पानीको मात्रा ८० प्रतिशत हुन्छ ।

सौन्दर्य प्रसाधनको प्रयोग

घरबाट बाहिर निस्कनुअघि हल्का मेकअप गर्नु उपयुक्त हुन्छ जसले अनुहारको सौन्दर्यलाई सुरक्षित राख्न मद्दत गर्छ । यद्यपि बजारमा पाइने कमसल सौन्दर्य प्रसाधन जथाभावी प्रयोग गर्नु हुँदैन । सम्भव भएसम्म प्रोफेसनल प्रसाधन खरिद गर्नुपर्छ । यस किसिमको सौन्दर्य प्रसाधन तुलनात्मक रूपमा महँगो हुनुका साथै विशेष ठाउँमा मात्र उपलब्ध हुन्छन् ।

मेकअपअघि क्लिजिङ गर्नुपर्छ । हातमा दुई थोपा जति क्लिजिङ मिल्क लिएर अनुहारमा लगाउने । त्यसलाई तुरुन्तै चिसो पानीले पखाल्ने । यसले धूलो-मैलो हटाएर अनुहार सफा बनाउँछ । त्यसपछि टोनर लगाउनुपर्छ अनि मोस्चराइजर क्रिम लगाउन सकिन्छ । मोस्चराइजर क्रिम फाउन्डेसन क्रिमजस्तै थोरै लगाए हुन्छ । यद्यपि ओइली फेस छ भने मोस्चराइजरको साटो एस्टि्रन्थ जेल लगाउनुपर्छ । यी सबै काम सकेपछि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । यस किसिमको मेकअप झट्ट हेर्दा देखिँदैन ।

सन प्रोटेक्सन क्रिमको विकल्पमा लिक्विड फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ । त्यसमा सन प्रोटेक्सन पनि संमिश्रण गरिएको हुन्छ ।

बजारमा पाँच किसिमका फाउन्डेसन पाइन्छन् । टिन्ट, लिक्विड, केमोफ्लोग, क्रिम तथा स्टिक फाउन्डेसन । यी सबैको कभरेज अलग-अलग हुन्छ । टिन्ट फाउन्डेसन बिहान लगाउन सकिन्छ । यसले मेकअप गरेजस्तो देखिँदैन । लिक्विड फाउन्डेसन मध्यान्हमा प्रयोग गर्न सकिन्छ । साँझ स्टिक फाउन्डेसन प्रयोग गर्न सकिन्छ । यसको कभरेज अलि वढी हुन्छ । केमोफ्लोग फाउन्डेसन पोर्टफोलियोमा प्रयोग गर्न सकिन्छ भने क्रिम र स्टिक फाउन्डेसन ब्राइडलमा प्रयोग गर्न सकिन्छ ।

बेलुकी घर फर्किएपछि अनिवार्य रूपमा मेकअप उतार्नुपर्छ । फेसवास, ओलिभ ओयल वा क्लिजिङ मिल्कमध्ये कुनै एकले मेकअप सफा गर्न सकिन्छ । त्यसपछि टोनर र मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ ।  

अनुहारको छाला ओइली छ भने राति सुत्नुअघि प्याज खानु लाभदायक हुन्छ । प्याजमा एन्टिअक्सिडेन्ट पाइने भएकाले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

केशको सौन्दर्य जोगाउन

केश रुखो हुने, हाँगा फाट्ने, चायाँ आउने समस्याबाट छुटकारा पाउन केशलाई नियमित रूपमा सफा गर्नुपर्छ । अमोनिया केयर, हेयर स्पा, हेयर मास्कजस्ता विधिबाट केशको रुखोपन हटाउन सकिन्छ जसले केशलाई जरैदेखि बलियो बनाउन मद्दत गर्छन् । दुई दिन बिराएर स्याम्पुले केश नुहाउनुपर्छ । स्याम्पुको प्रयोग केशको प्रकृतिअनुसार गर्नु उपयुक्त हुन्छ । नुहाइसकेपछि हेयर कन्डिसनर प्रयोग गर्नुपर्छ तर त्यसलाई केशको जरासम्म लगाउनु हुँदैन । कन्डिसनर लगाएको दुई मिनेटपछि केश पखाल्नुपर्छ । भिजेको केशमा हेयर कोट वा हेयर सिरम लगाउन सकिन्छ । यदि केश ओइली छ भने कन्डिसनर लगाउनु हुँदैन ।

- शिव मुखिया

 Image