Successfully Copied

टेलिभिजनका लोकप्रिय कार्यक्रम

पछिल्ला केही वर्षयता टेलिभिजन मनोरञ्जनको गतिलो माध्यम भएको छ । बिदाका बेला घरमै बसेर टेलिभिजनका रमाइला कार्यक्रमबाट मनोरञ्जन लिनेहरूको संख्या बढ्दो छ ।

पछिल्ला केही वर्षयता टेलिभिजन मनोरञ्जनको गतिलो माध्यम भएको छ । बिदाका बेला घरमै बसेर टेलिभिजनका रमाइला कार्यक्रमबाट मनोरञ्जन लिनेहरूको संख्या बढ्दो छ । फुर्सदका बेला घरका सबै सदस्य भेला भएर टेलिभिजनका  मनोरञ्जक कार्यक्रम हेर्नुको मज्जा नै बेग्लै हुन्छ । प्रतिस्पर्धाका कारण टेलिभिजन च्यानलहरूले पनि आफ्नो कार्यक्रमलाई थप मनोरञ्जक बनाउने प्रयास गरिरहेका हुन्छन् । नेपाल टेलिभिजनबाट प्रसारण भैरहेका हास्यशृंखला मेरी बास्सै, तीतो सत्य, जिरे खुर्सानी, भद्रगोल मात्र होइन कान्तिपुर टेलिभिजनका हास्यकार्यक्रम हर्के हल्दार तथा डिठ्ठा साबले पनि दर्शकको मन जित्दै आएका छन् । त्यसबाहेक दर्शकहरूको टेलिफोन सहभागिता रहने सांगीतिक कार्यक्रमहरूले विशेषगरी युवा दर्शकको ध्यान खिच्ने गरेका छन् । यतिबेला नेपाली दर्शकले करिब डेढ दर्जन नेपाली टेलिभिजन च्यानलबाट पर्याप्त मनोरञ्जन पाइरहेका छन् । दर्शकहरूको रोजाइमा परेका केही रमाइला कार्यक्रम :

इ-सेलेब्स : इमेज च्यानलबाट प्रसारण हुने यो कार्यक्रमले कम समयमै दर्शकको मन जितेको छ । प्रत्येक साता कुनै एकजना लोकप्रिय सेलिब्रेटीसँग कुराकानी गरिने यो कार्यक्रममार्फत उनीहरूको सम्पूर्ण जानकारी दिइन्छ । प्रत्येक शुक्रबार राति ८:२५ बजे प्रसारण हुने यो कार्यक्रममा भिडियो जक्की सुप्रिया तुलाधरले चलचित्र तथा संगीत क्षेत्रका एकजना लोकप्रिय सेलिब्रेटीसँग उनीहरूको सफलताको विषयमा रमाइलो कुराकानी गर्छिन् ।

कृपा अनप्लग्ड : सांगीतिक क्षेत्रका लोकप्रिय गायक-गायिकाहरू प्रस्तुत हुने सांगीतिक कार्यक्रम 'कृपा अनप्लग्ड' ले कम समयमै दर्शकको साथ पाएको छ । कान्तिपुर टेलिभिजनले गत भदौको पहिलो सातादेखि प्रसारण गर्न थालेको यो नयाँ सांगीतिक कार्यक्रम प्रत्येक शनिबार राति ९ बजेदेखि ९:३० बजेसम्म प्रसारण हुन्छ । यो कार्यक्रममा लोकप्रिय गायक-गायिकाहरूलाई लाइभ कन्सर्टमा प्रस्तुत गरिन्छ । यो कार्यक्रमको निर्माण कृपा दृश्य डिजिटलले गरेको हो । कार्यक्रममा सविन राई, कुन्ति मोक्तान, मुक्ति एण्ड द रिभाइवल, सिने गुरुङ, रामकृष्ण ढकाल, प्रेम परियार आदि गायक-गायिकाहरूले आ-आफ्नो प्रस्तुति दिइसकेका छन् । कार्यक्रमका निर्देशक तथा प्रस्तोता अमन प्रताप अधिकारीका अनुसार यो कार्यक्रम आगामी फागुन महिनासम्म जारी रहनेछ ।

   साझा सवाल : महिला कार्यक्रम प्रस्तोता पाएको समसामयिक विषयवस्तुमा आधारित कार्यक्रम 'साझा सवाल' दर्शकहरूबीच लोकप्रिय छ । कान्तिपुर टेलिभिजनबाट प्रत्येक आइतबार राति ९ बजेदेखि प्रसारण हुने यो कार्यक्रम अहिले विद्या चापागाईंले सञ्चालन गर्छिन् । बीबीसी मिडिया एक्सनको यो कार्यक्रममा हरेक साता समाजका जल्दाबल्दा विषयवस्तुमा बहस गरिन्छ ।

टफ टक : टेलिभिजनकर्मी दिलभूषण पाठकले विभिन्न क्षेत्रका स्थापित व्यक्तित्वसँग कुराकानी गर्ने कार्यक्रम 'टफ टक' पनि लोकप्रिय मानिन्छ । प्रत्येक मंगलबार राति प्रसारण हुने यो कार्यक्रमको विषयवस्तु तथा सञ्चालक पाठकको आकर्षक प्रस्तुतिका कारण कार्यक्रमले प्रशस्त दर्शक पाएको छ । यो कार्यक्रम न्यूज २४ च्यानलबाट प्रसारण हुन्छ ।

भद्रगोल : हास्यशृंखलाहरूको भीडमा थपिएको नयाँ हास्यशृंखला हो-'भद्रगोल' । यसअघि मेरी बास्सै, जिरे खुर्सानी तथा तीतो सत्यबाट मनोरञ्जन लिइरहेका दर्शकहरूले 'भद्रगोल' लाई पनि उत्तिकै साथ दिएका छन् । श्रृंखलाका कलाकारहरूले बोल्ने संवाद, थेगो तथा पृष्ठभूमिका कारण यो कम समयमै लोकप्रिय भएको निर्देशक शंकर आचार्य बताउँछन् । प्रत्येक शुक्रबार राति ८:५० बजे प्रसारण हुने यो शृंखलामा अर्जुन घिमिरे -पाँडे), कुमार कट्टेल -जिग्री हजुर), कमलमणि नेपाल, शंकर आचार्य, सुवास कार्की, सगुन शाही, सुजित थापा, हरि निरौला, सूदन धिताल, अशोक धिताल आदि कलाकारले अभिनय गरिरहेका छन् ।

डिठ्ठा साब : कान्तिपुर टेलिभिजनको हास्यशृंखला 'डिठ्ठा साब' ले दर्शकहरूको मन जितिरहेको छ । डेढ वर्षअघि प्रसारण प्रारम्भ भएको यो शृंखला प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुन्छ । समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक शैलीमा चित्रण गरिने यो शृंखलाका निर्देशक किशोर भण्डारी हुन् । शृंखलामा भण्डारीले निर्वाह गरेका डिठ्ठा साबको भूमिका पनि दर्शकहरूले मन पराएका छन् । भण्डारीकै लेखनमा तयार भैरहेको यो शृंखलामा निर्देशक भण्डारीसहित रेश्मा तिमिल्सिना, राजु कमेडी, सुबोध गौतम, सुशीला अर्याल, कमला भट्ट, सञ्जय लामा, रामबाबु तिवारी, लकी भण्डारी आदि कलाकारले अभिनय गरिरहेका छन् ।

रजतपट : नेपाली चलचित्रका बारेमा सम्पूर्ण जानकारी दिने कान्तिपुर टेलिभिजनको यो कार्यक्रम पनि दर्शकको रोजाइमा पर्छ । लामो समयदेखि प्रसारण भैरहेको यो कार्यक्रम प्रत्येक बुधबार साँझ ७:३० बजे हेर्न पाइन्छ । कार्यक्रमका निर्माता तथा प्रस्तोता प्रकाश सुवेदीले चलचित्रका सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई समेट्ने यो कार्यक्रमले एकातिर नयाँ-नयाँ चलचित्रका बारेमा जानकारी दिन्छ भने गसिप शैलीमा चलचित्रका भित्री कुराहरूको चिरफार पनि गर्छ ।

उकाली ओराली : इमेज च्यानलबाट प्रत्येक दिन दिउँसो १ देखि २ बजेसम्म प्रसारण हुने यो कार्यक्रम लोक गीत-संगीतमा आधारित छ । कार्यक्रमका महिला प्रस्तोताले प्रत्येक दिन एक-एक जना लोकदोहोरी स्रष्टासँग रमाइलो कुराकानी गर्दै लोकप्रिय लोक तथा दोहोरी गीतका म्युजिक भिडियो प्रसारण गर्छन् । प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रममा दर्शकले फोनमार्फत स्रष्टासँग कुराकानी गर्दै आफ्नो रोजाइको गीत हेर्न पाउने भएकाले पनि कार्यक्रममा दर्शक सहभागिता बढ्दो  छ ।

कल कान्तिपुर : कान्तिपुर टेलिभिजनको यो पुरानो सांगीतिक कार्यक्रमको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ । यतिबेला यो कार्यक्रममा दुई जना महिला प्रस्तोता अकेशा विष्ट तथा रिजु श्रेष्ठले सञ्चालन गरिरहेका छन् । प्रत्येक साँझ ५:०५ मा प्रसारण हुने यो कार्यक्रम आधुनिक तथा पप गीतका युवा पारखीहरू छुटाउन चाहँदैनन् । स्वदेशमा मात्र होइन विदेशमा समेत यो कार्यक्रमको क्रेज बढ्दो छ । दर्शकहरूको रोजाइका गीतका म्युजिक भिडियो प्रसारण हुने यो कार्यक्रममा समसामयिक विषयमा उनीहरूसँग कुराकानी पनि गरिन्छ । कार्यक्रममा प्रत्येक दिन नयाँ-नयाँ म्युजिक भिडियो प्रिमियर गरिने भएकाले संगीतकर्मीहरूका लागि समेत यो कार्यक्रम उत्तिकै प्रिय छ ।

म्युजिक अफ योर च्वाइस : इमेज च्यानलबाट दैनिक प्रसारण हुने 'म्युजिक अफ योर च्वाइस' मा पनि प्रशस्त दर्शक सहभागिता रहन्छ । हरेक साँझ ५ बजे प्रसारण हुने यो कार्यक्रममा पनि दर्शकहरूको प्रत्यक्ष सहभागिता रहन्छ । सांगीतिक क्षेत्रका एकजना सेलिब्रेटीसँग कुराकानी गर्दै दर्शकको रोजाइका म्युजिक भिडियो प्रसारण हुने यो कार्यक्रम आधुनिक तथा पप गीतका पारखीहरूमाझ लोकप्रिय छ ।

एसएमएस एण्ड मोर : इमेज च्यानलकै 'एसएमएस एण्ड मोर' प्रत्येक दिन दिउँसो ३ बजेदेखि एक घन्टासम्म प्रसारण हुन्छ । कार्यक्रममा दर्शकहरूले एसएमएसमार्फत पठाएका अनुरोधका आधारमा नेपाली गीतका म्युजिक भिडियो प्रसारण गरिन्छ । कार्यक्रम प्रस्तोताले दर्शकको एसएमएस पढ्दै गीत प्रसारण गर्ने भएकाले पनि यो कार्यक्रमले दर्शकको साथ पाएको छ ।

ह्वाट द फ्लप : अभिनेता तथा उद्घोषक संदीप क्षेत्रीको रमाइलो कार्यक्रम 'ह्वाट द फ्लप' ले पनि दर्शकको मन जितिरहेको छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रममा संदीपले उत्कृष्ट प्रस्तुति दिँदै आएका छन् । कार्यक्रममा समावेश हुने छोटा-छोटा हास्य सामग्रीमा संदीप विभिन्न गेटअपमा प्रस्तुत हुँदै समसामयिक विषयवस्तुमा तीखो व्यंग्य गर्छन् । उनलाई आधा दर्जन कलाकारले विभिन्न प्रस्तुतिमा साथ दिइरहेका छन् ।

डुप्लिकेट : गोपिकृष्ण टिभी फिल्मीको रमाइलो कार्यक्रम 'डुप्लिकेट' पनि दर्शकहरूमाझ लोकप्रिय छ । यो कार्यक्रममा कलाकार तथा उद्घोषक शिशिर भण्डारीले नेपाली चलचित्रमा नक्कल गरिएका विषयवस्तुहरू चित्रण गर्छन् । कार्यक्रममा हिन्दी गीतको दृश्यमा नेपाली गीत समावेश गरिएको सामग्रीलाई पनि दर्शकले मन पराएका छन् ।

वान डे : गोपिकृष्ण टिभी फिल्मको साप्ताहिक कार्यक्रम 'वान डे' लाई दर्शकहरूले मन पराएका छन् । प्रत्येक साता एकजना सेलिब्रेटीको दैनिकी प्रस्तुत गरिने यो कार्यक्रम नायिका आस्मा डिसीले सञ्चालन गर्छिन् । एकजना सेलिब्रेटीको बिहान उठेदेखि राति नसुतेसम्मका गतिविधि प्रस्तुत गरिने कार्यक्रम वान डे मनोरञ्जक छ ।

फर्सी नेटवर्क : हिमालय टेलिभिजनबाट प्रत्येक दिन राति ८ देखि ९ बजेसम्म प्रसारण हुने 'फर्सी नेटवर्क' अन्तर्गतका रमाइला कार्यक्रमले पनि दर्शकको मन जितिरहेको छ । प्राय: सबै नेपाली च्यानलमा समाचार प्रसारण हुने समयमा हिमालय टेलिभिजनले मनोरञ्जक कार्यक्रम प्रसारण गर्न थालेको छ । फरक-फरक थिममा, फरक-फरक सेट बनाएर निर्माण गरिएका कार्यक्रमहरूमध्ये फिल्मी चेकपोस्ट, जे आउँछ मज्जाले हँसाउँछ, जोकतन्त्र, चिया चौतारी, परीको सरी, चम्पा चमेली तथा कर्पोरेट कमेडीले कम समयमै दर्शकको मन जितेका छन् । यी कार्यक्रममार्फत महिला अधिकार, सामाजिक विकास, चलचित्र, मनोरञ्जन तथा राजनीतिक विषयलाई हास्यव्यंग्य शैलीमा चित्रण गरिन्छ । फर्सीका कार्यक्रमहरू जितु नेपाल, मनोज गजुरेल, लुनिभा तुलाधर, मणिराम पोखरेल, भोला सापकोटा, कमलमणि नेपाल, रवि डंगोल, श्रीप्रसाद थापा लाहुरे, नवीन श्रेष्ठ, अंशु महर्जन हात्ती, राजाराजेन्द्र पोखरेल, कुमार श्रेष्ठ, जुनुुसा पुरी आदि कलाकारले सञ्चालन गर्नेछन् । फर्सीका यी कार्यक्रमको निर्देशन प्रदीप भट्टराईले गरिरहेका छन् ।

 Image