तीजको धार्मिक एवं सांस्कृतिक मान्यता

तीजको धार्मिक एवं सांस्कृतिक मान्यता
भाद्र १, २०७१

  - मीना सुवेदी, सचिव, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति

प्राचीनकालदेखि नै नेपालमा विभिन्न चाडपर्व, मेला, जात्रा धुमधामका साथ मनाइन्छ। तिनैमध्ये एक तीज नेपाली महिलाहरूका लागि महत्वपूर्ण चाड हो। यो चाड प्राय: सबै समुदाय, जातजातिले हर्ष एवं उमङ्गका साथ मनाउँदै आएको पाइन्छ।       

तीज पर्व हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन पर्छ। यो खासगरी उच्च तथा मध्यम वर्गीय परिवारमा विशेष रुचिका साथ मनाइने पर्व हो। माता पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसी शिवलाई पाएकाले तीजको व्रतको महत्व अझ बढेको हो। विशेषगरी अविवाहित युवतीहरूले राम्रो, असल युवकसँग विवाह होस् भनी व्रत बस्छन् भने विवाहित महिलाले आ-आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य एवं सन्तानको सुखको कामना गर्दै हरितालिका तीज  मनाउँछन्। व्रत बस्ने अघिल्लो दिन वा भाद्र शुक्ल द्वितीयाका दिन दर खाने चलन छ। दर खाने काम रोचक र रमाइलो हुन्छ। दिदीबहिनी एवं छोरीचेलीलाई यो दिन माइतीमा बोलाइन्छ र राति अबेरसम्म बसी थरिथरीका परिकार, फलफूल एवं मिठाईं खाने चलन छ।

नेपाली महिलाहरूले तीजलाई आर्थिक भार होइन, संस्कृतिको निरन्तरता बनाउनुपर्छ किनभने हामी नेपाली संस्कृतिका धनी छौं भने हाम्रा धेरै सामाजिक, धार्मिक, संस्कार एवं सांस्कृतिक रीतिरिवाज  प्रचलनमा छन् जसका कारण हामी आफूप्रति गौरव गर्छौं। यद्यपि संस्कार र चाडबाडका नाममा विकृति र तडक-भडक पनि बढ्दो छ भने धनी र गरिबका बीचको भिन्नता अझ गहिरिँदैछ। यसको ज्वलन्त उदाहरण हरेक पर्व विशेष तामझाम र देखासिकीमा मनाउने प्रवृत्ति बढ्नु पनि हो। महिलाहरूका लागि रमाइलो पर्व तीजको विशेष महत्व हुँदाहुँदै पनि यो पर्व मनाउने नाममा अनावश्यक भड्किला कार्य पनि हुँदैै आएका छन्। चाडपर्व मनाउँदा समाज र घरपरिवारलाई आर्थिक, सामाजिक एवं मानसिक बोझ दिनु राम्रो होइन। त्यसैले अब हामीले तीजको सकारात्मक पक्षलाई मात्र लिनुपर्छ। यो पर्व एउटा पुरानो संस्कार हो। यसमा शिवजी पाऊँ भनेर पार्वतीले व्रत बसेको प्रसङ्ग छ। कतिपय महिला श्रीमानको दीर्घायुका लागि व्रत बस्छन् भने केही महिला देखासिकीमा वा रमाइलोका निम्ति व्रत बस्छन्।

तीजको उल्लास एवं उमंगमा हरेक नारी खुसी हुन्छन् भने उनीहरूले जीवनका सारा दु:ख र वेेदनालाई बिर्सन्छन्। माइती  जाने, मीठो खाने र राम्रो लगाउने आकांक्षाका साथ उनीहरू साथीसंगीबीच खुसी बाँड्छन्। यद्यपि हाम्रो समाजमा पुगिसरी खाने र पुगे खाने छुट्टाछुट्टै वर्ग छ। महिलाहरूले घरपरिवारका सबैले खाएपछि खानुपर्ने, जस्तो खाए पनि हुुने, पारिवारिक यातना सहनुपर्ने, मानसिक पीडा भोग्नुपर्ने तथा श्रीमान् र सन्तानको भलाइका लागि भोकै बसेर व्रत लिनुपर्ने परम्परा पनि छँदैछ। पुरुषले श्रीमती र सन्तानको दीर्घजीवनका लागि भोकै बसेको पाइँदैन। महिलाप्रति गरिने व्यवहारले गर्दा उनीहरू शारीरिक एवं मानसिक पीडाले ग्रस्त छन्। त्यसैले हरेक महिलाले तीज, पञ्चमी वा अन्य कुनै व्रत बस्दा स्वास्थ्यलाई ध्यानमा राखेर मात्र बसौं। भोकै बसेर मात्र धर्म हुँदैन। चाड मनाउने नाममा तडक-भडक गरेर  होइन, घाँटी हेरेर हाड निल्नुपर्छ।  आफ्नो अवस्था तथा समाजमा पर्ने असरप्रति पनि ध्यान पुर्‍याउनुपर्छ। सरल रूपमा पर्व मनाउँदा मात्र त्यसको महत्व एवं गरिमा बढ्छ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>