Successfully Copied

अब्बल दयाहाङ 

अभिनेता दयाहाङ राईको बाल्यकाल भोजपुरको खावा गाउँका पाखा–पखेरामा डुल्दै–रमाउँदै बित्यो । सानैदेखि आमा चन्द्रदेवी र बुवा टीकाराम राईलाई खेतीपातीलगायत अन्य घरायसी काममा सघाउने उनीमा भोजपुरे साहित्यकार, लेखक तथा कलाका पारखीहरूको प्रभाव परेको थियो ।

अभिनेता दयाहाङ राईको बाल्यकाल भोजपुरको खावा गाउँका पाखा–पखेरामा डुल्दै–रमाउँदै बित्यो । सानैदेखि आमा चन्द्रदेवी र बुवा टीकाराम राईलाई खेतीपातीलगायत अन्य घरायसी काममा सघाउने उनीमा भोजपुरे साहित्यकार, लेखक तथा कलाका पारखीहरूको प्रभाव परेको थियो । ‘भोजपुरलाई कला र साहित्यको उद्गमस्थल पनि भनिन्छ जहाँबाट परशु प्रधान, हिरण्य भोजपुरे, श्रवण मुकारुङ, पारस मुकारुङलगायतका स्रष्टा उदाए,’ उनले भने, ‘शायद तिनैको प्रभाव मेरो जीवनमा बाल्यकालदेखि परेको थियो, किनभने म उहाँहरूलाई पढ्ने र सुन्ने गर्थें । अर्को कुरा मेरी आमाले यति धेरै कथा सुनाउनुहुन्थ्यो कि म त्यसैमा डुबेर वास्तविक संसारको कल्पना गर्न थाल्थें । यसरी मभित्र कलाको रस पस्दै गयो ।’ वास्तवमा दयाभित्र अभिनयको जादु छ । उनी निखारिएको अभिनय गर्छन् । पात्रमा आफूलाई डुबाउन हरसम्भव प्रयास र परीक्षण गर्छन् । 

भोजपुरको दिल्पास्थित अन्नपूर्ण माविबाट एसएलसी दिएपछि उनले भोजपुर बहुमुखी क्याम्पसबाट आइएको पढाइ सिध्याए । त्यसपछि सुरु भयो कलाको खोजीमा भौंतारिने क्रम । उनी ०५८ मा कलामै जम्ने हुटहुटी लिई काठमाडौं प्रवेश गरे । काका–काकीसँग राजधानीमा बसेर उनी आफ्नो भविष्य खोज्न थाले । ‘म सानैदेखि चित्र कोर्थें, खेल्थें, कविता लेख्थें । काठमाडौं आएपछि फोटो र आर्ट एक्जिबिसनमा धाउन थालें । सँगसँगै नाट्यघरतिर समय बिताउँथें,’ उनले भने, ‘म आफूलाई अभिव्यक्त गर्ने माध्यमको खोजीमा थिएँ । अगाडि थुप्रै चुनौती थिए । यो बिरानो ठाउँमा काका–काकीबाहेक चिनजानका मान्छे अरू थिएनन् ।’ यसरी आफ्नो गन्तव्य पहिल्याउन संघर्ष गर्दै जाने क्रममा सांस्कृतिक संस्थानमा ड्रामा वर्कसप हुँदैछ भन्ने थाहा पाएको उनले बताए । ‘मैले आवेदन दिएँ अनि पास पनि भएँ । ०६० मा भएको उक्त २० दिने कार्यशालाले मेरो जीवनमा टर्निङ प्वाइन्ट ल्याइदियो’ दयाहाङले भने, ‘मैले त्यहांँ सक्रिय सहभागिता जनाउने मात्रै नभएर गन्तव्य पहिल्याउने गरी परिश्रम गरें । उक्त कार्यशाला मेरो कलाको जग बन्यो ।’ 

त्यसपछि दयाहाङले गुरु र समकालीन साथीहरूको साथ र संगत पाए । केही नाटक, टेलिफिल्म र फिल्ममा काम पाउन थाले । त्यसले उनको प्रतिभामा धार लगाउने काम गर्‍यो । उसैताका निर्माता रामबाबु गुरुङले ‘अनागरिक’ नामक फिल्म बनाउने घोषणा गरे, त्यसमा मंगोलियन अनुहारको पात्र चाहिएको रहेछ । ०६२ मा उनी उक्त फिल्मको मुख्यपात्रमा अनुबन्धित भए । हालसम्म दयाहाङले करिब ३० वटाभन्दा बढी नाटकमा अभिनय, लेखन र निर्देशन गरिसकेका छन् । त्यस्तै, ५० भन्दा बढी चलचित्रमा र २४ भन्दा बढी विज्ञापनमा काम गरिसकेका छन् । ‘दुईवटा फरक विधामा राम्रो अनुभव गर्न पाइयो, नाटक र चलचित्र । ती दुवै मेरा प्यासन थिए,’ उनले भने, ‘नाटकमा जति रुचि थियो चलचित्रमा पनि उत्ति नै इन्जोय गरें ।’

दयाहाङ विशुद्ध कलाकार हुन् । अन्य कलाकारको जस्तो उनको अन्य कुनै व्यवसाय छैन । नेपालको कला, संस्कृति र आफ्नोपनलाई संवर्द्धन र प्रवर्द्धन गर्न उनले १३ वर्षअघि मण्डला नाटक घर सञ्चालनमा ल्याए । मण्डलाले हालसम्म तीन सय जनाभन्दा बढी कलाकार उत्पादन गरिसकेको छ । जसमध्ये ६० प्रतिशत जनशक्ति कलाकारितामा सक्रिय छ । मण्डलाले हाल १६ जना कलाकारलाई १६ महिनाको आवासीय सुविधासहित ड्रामा स्कुल सञ्चालन गरेको छ । यहाँ देश–विदेशका कलापारखी शोध–अनुसन्धानका लागि आउँछन् । तर नेपाल सरकारका तर्फबाट नेपाली कला क्षेत्रका लागि खासै सहयोग नभएको दया बताउँछन् । उनी भन्छन्–‘म विशुद्ध कलाकारिता मात्रै गरिरहेको मान्छे । आफ्नो व्यक्तिगत पहलबाट कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा गर्न सक्ने जति गरिरहेको छु । व्यवसाय आफ्नो पकडमा हुन्छ तर चलचित्र सधै आफ्नो हातमा रहिरहँदैन । राष्ट्रका लागि मात्रै भनेर मरिमेट्ने हामीजस्ता कलाकार र यो क्षेत्रको संरक्षणका लागि राज्यस्तरबाट पनि हातेमालो हुनुपर्छ जस्तो लाग्छ तर त्यो महसुस गर्न पाइएको छैन । सरकार कलाप्रति अक्सर संवेदनशील भएको पाइँदैन ।’ 

दयाहाङकै पहलमा कला केन्द्रिकृत नभई विकेन्द्रिकृत हुनुपर्छ भनेर सन् २०१० मा ‘मोबाइल थिएटर’ अभियान चलाइयो । जुन देशका दर्जनभन्दा बढी सहरमा पुग्यो । नाटक प्रदर्शन गर्ने, कार्यशाला गर्ने, स्थानीय कलाकारलाई स्थान दिने, उनीहरूको कलाको क्षमतास्तर बढाउने यसको मूल उद्देश्य थियो । त्यसैको प्रतिफलस्वरूप पछिल्लो समय काठमाडौंबाहिर पनि थुप्रै नाटकघर सञ्चालन भइरहेको दयाले बताए । नेपाली कला क्षेत्रको ६० वर्षे इतिहासमा जति हुनुपर्ने हो त्यति परिपक्वता नआएको उनको भनाइ छ । तर अब राम्रो हुने उनको अन्तरात्माले आँकलन गर्छ । 

हिरो हुनका लागि ‘हिरोइजम अपिरियन्स’ (अग्लो कद, ठूला आँखा, चुच्चो नाकलगायत आर्यन लुक्स) हुनैपर्छ भन्ने मानसिकतालाई चुनौती दिएका दयाहाङभित्र कलाको अब्बल र विशेष क्षमता छ । त्यही दक्षताले चलचित्रमा टिकेका उनले निर्वाह गरेका पात्रमा दर्शकहरू आफूलाई डुवाउँछन् । यसो गर्न सक्नु कलाकारको खुबी हो । हाल मण्डला थियटरमार्फत नाटक लेखन, निर्देशन, निर्माण र अभिनयमा सक्रिय दयाहाङका ‘गाउँ आएको बाटो’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ अपकमिङ चलचित्र हुन् । 

नारीलाई महान् मानवका रूपमा व्याख्या गर्ने दयाहाङको जीवनमा श्रीमती बेनुका राईको आगमनपछि सबै कुरा व्यवस्थित भएको छ । ९ वर्षर्यी छोरा साम्दुङहाङ राईले उनलाई थप जिम्मेवार बनाइदिएका छन् । आफ्नो जीवनमा जति पनि नारी पात्र जोडिए तिनले बलियो प्रभाव छाड्न सफल भएको बताउँदै उनले भने, ‘नारी सर्वगुण सम्पन्न दया, माया र ममताका खानी हुन् । आँखा चिम्लिएर छातीमा हात राख्दै जब म मेरी आमाको अनुहार सम्झिन्छु तब ममा छुट्टै किसिमको शक्ति सञ्चार हुन्छ जसलाई शब्दमा म वर्णन गर्न सक्दिन । मेरी श्रीमतीले दिएको जीवन अमूल्य छ ।’ 

हजुरआमा– मलाई असाध्यै माया गर्ने मान्छे ।

आमा– मेरो संसार, मेरो भगवान् ।

दिदी– बहिनी–मेरा हरेक जिम्मेवारी, आफ्नो थाप्लामा लिएका उत्तराधिकारी ।

श्रीमती– मेरो जीवन ।

महिला साथी–सहकर्मी– मेरा प्रेरणा र हौसला ।

 

 Image