चलचित्र क्षेत्रमा पृथक् छवि बनाएकी नायिका सुरक्षा पन्तको जन्म बुटवलमा भएको हो । इन्दु र शम्भुनाथ पन्तका पाँच सन्तानमध्ये उनी माहिली हुन् । विद्यालयमा पढ्दाताका उनी वक्तृत्वकला, वादविवाद र खेलकुदमा सक्रिय थिइन् । साथीहरूसँग अत्यन्तै झ्याम्मिन मन पराउने सुरक्षा घरमा हुँदा भने पढेर बस्थिन् । घरबाहिर भने उनी आफूलाई एक्स्प्लोर गर्न रुचाउँथिन् । त्यसैले विभिन्न गतिविधिमा उनी सक्रियताका साथ सहभागी हुन्थिन् । ‘घरभित्र म अत्यन्तै अन्तर्मुखी स्वभावकी थिएँ’ उनले भनिन्, ‘आमा र बुवाले मलाई एकलकाटे भन्नुहुन्थ्यो तर बाहिर साथीहरूसँग हुँदा भने जुझारु देखिन्थें । छुट्टै उत्साह हुन्थ्यो ।’
सुरक्षाको शिक्षा–दीक्षा काठमाडौंमा भएको हो । उनले बीई र एमएससीसम्मको शिक्षा ग्रहण गरेकी छन् । उनी काठमाडौं इन्जिनियरिङ कलेजमा तेस्रो वर्षमा पढ्दै गर्दा ‘इमेज भिजे हन्ट’ प्रतिस्पर्धामा सहभागी भई ‘टप थ्री’ मा परेकी थिइन् । त्यहीँ उनलाई जागिरका लागि प्रस्ताव आएको थियो । कलेजकी विद्यार्थी भएकीले उनले जागिर खाइनन् । ‘अडिसनको टेप आलोक नेम्वाङले हेरेपछि मलाई फोन गरी फिल्मको अफर गर्नुभयो । पढाइ सक्नु छ भनेर मैले उक्त प्रस्ताव अस्वीकार गरें’ उनले भनिन्, ‘परीक्षाको अन्तिम दिन एक वर्षपछि फेरि फोन आयो । चलचित्रका लागि प्रस्ताव गर्नुभयो । सानैदेखि नयाँ गर्न चाहने स्वभावका कारण मैले हुन्छ भन्दै फिल्मी करियरमा प्रवेश गरेकी हुँ ।’
चलचित्र क्षेत्र नयाँ भएकाले सुरुमा उनी अलमलमा परेकी थिइन् । त्यसैबीच उनलाई फिल्ममा ब्रेक दिने व्यक्तिको निधन भएपछि उनको अन्योलता झनै बढेको थियो । केही समयपछि चलचित्रमा थुप्रै अफर आए पनि उनी आफूलाई अझ निखार्न टेलिभिजनतर्फ लागिन् । ‘न्युज २४’, ‘सगरमाथा’ र ‘कान्तिपुर टिभीमा उनले काम गरिन् । ‘मैले टिभीमा काम गरें, आफूलाई ग्रुमिङ गरें, डेढ वर्ष बितेको पत्तै पाइनँ’ उनले भनिन् ।
सन् २०१७ मा साम्तेन भुटियाले सुरक्षालाई ‘सुस्केरा’ का लागि अफर गरे । उनले त्यसमा आफूसक्दो राम्रो गर्ने प्रयास गरे पनि त्यो फिल्म रिलिज भएन । उनलाई दीपेन्द्र के. खनालले ‘धनपति’ का लागि अफर गरेपछि उनले पछाडि फर्केर कहिल्यै हेरिनन् । हालसम्म सुरक्षाका आठवटा चलचित्र रिलिज र चार वटा पाइपलाइनमा छन् । ‘के घर, के डेरा’ को सुटिङ केही समयअघि सुरु भएको छ । नौ वटा म्युजिक भिडियो र केही विज्ञापनमा समेत उनले आफ्नो भूमिका राम्ररी निर्वाह गरिसकेकी छन् ।
हालै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वोत्कृष्ट अभिनेतृ, राष्ट्रिय पुरस्कार २०७६/७७ प्राप्त गरेकी छन् । समाजसेवामा पनि उनको औधी रुचि छ । उनले भनिन्, ‘पहिला समाजसेवामा निकै केन्द्रित थिएँ, सक्दो सहयोग गर्थें । आर्थिक सहयोग र समय दिएर समाजसेवा गर्थें । पछिल्लो दिनमा समय र परामर्श दिएर सहयोग गर्छु ।’
सुरक्षासँग वार्तालाप
हाल केमा व्यस्त हुनुहुन्छ ?
‘के घर, के डेरा’ चलचित्रसहित अन्य सुटिङमा व्यस्त छु ।
पेसागत रूपमा तपाईं इन्जिनियर हुनुहुन्छ । चलचित्रमा आफ्नो तालमेल कसरी मिलाउनुहुन्छ ?
अहिले चलचित्रमै बढी केन्द्रित छु । इन्जिनियरिङको काम गर्न भ्याएकी छैन ।
चलचित्रमा आउनुको पछाडि कुनै कारण छ कि ?
पहिलैदेखि नै अभिनय निकै मनपर्थ्यो । यसका लागि दिनरात खट्न तयार थिएँ । क्रमशः क्यामेरा फ्रेन्डली पनि रहेछु भन्ने लाग्न थाल्यो । कुनै क्षेत्रमा लाग्न भित्रैदेखिको रुचिसँगै लक्ष्य पनि हुनुपर्छ । सुरुदेखि नै म सिनेमाको राम्रो दर्शक पनि हो । फिल्म क्षेत्रमा प्राकृतिक र जीवन्त अभिनय खट्किएझैं लाग्थ्यो । त्यसैलाई मैले मेरो लक्ष्य बनाएँ ।
प्रकाश सपूतको ‘पीर’ गीतले चर्चासँगै विवादको सामनासमेत गर्नुपर्यो । यसबारे तपाईंको भनाइ के छ ?
मेरो कलाकारिताको कामले बहस सिर्जना गर्यो । कुनै विषयमा सोच्न बाध्य पार्यो, मलाई खुसी लागेको छ । प्रगतिशील सोचका लागि विवाद हुनु राम्रो हो, नत्र त समाज एउटै ढर्रामा चलिरहन्छ । स्वस्थ द्वन्द्व मलाई मन पर्छ ।
तपाईंले आजसम्म निर्वाह गरेको चुनौतीपूर्ण भूमिका के हो ?
हरर मुभी ‘घर’को भूमिका चुनौतीपूर्ण थियो । स्टन्टहरू पनि थुप्रै थिए ।
तपाईले अभिनय गर्दा कस्तो भूमिकालाई प्राथमिकतामा राख्नुहुन्छ ?
स्टोरी हेर्छु । स्टोरी मन परेको छ भने मेरो भूमिकालाई पनि दोस्रो स्थानमा राखिदिन्थें । पहिला गरेको भन्दा फरक भूमिका गर्न मन पर्छ । शारीरिक रूपमा चुनौतीपूर्ण भूमिका निर्वाह गर्न मन छ ।
तपाईंको क्षेत्रमार्फत कसरी महिला सशक्तीकरण र विकासमा योगदान पुर्याउन सकिन्छ भन्ने लाग्छ ?
धेरै हदसम्म सकिन्छ । मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् । ‘आमा’ फिल्मबाटै छोराछोरी बराबरी भन्ने प्रभाव परेको छ समाजमा । नारी केन्द्रित चलचित्र बनाउन थालियो भने त्यसको राम्रै प्रभाव पर्छ ।
यहाँसम्म आइपुग्दा के कुरालाई आफ्नो उपलब्धि ठान्नुहुन्छ ? के–कस्तो योगदान गरें जस्तो लाग्छ ?
जुन धारको सिनेमा म गरिरेहकी छु, पहिला ती धारका चलचित्र हेरिँदैनथ्यो । आर्ट सिनेमा पनि कमर्सियल हुनसक्छ भनेर प्रोत्साहन भइरहेको छ । म जुन सिनेमा छान्छु त्यो विषयवस्तु मान्छेको निकट विषयवस्तु हुँदोरहेछ भन्ने मलाई महसुस भइरहेको छ । दर्शकहरूले आफ्नै कथा हो भन्ने अनुभूति गरेर मन पराइदिएका छन् । म सजग र सचेत नागरिक हुँ, मैले सामाजिक सञ्जाल, सभा–समारोह, विभिन्न कार्यक्रममार्फत जे सन्देश फैलाइरहेकी छु त्यसले समाजमा पारेको प्रभाव र परिवर्तन नै मेरो योगदान र उपलब्धि हो भन्ने लागेको छ ।
कुनै पनि क्षेत्रमा उचाइको सफलता चुम्न के आवश्यक ठान्नुहुन्छ ?
साधना र धैर्य मुख्य कुरा हुन् । एकपटक सफलता प्राप्त भयो भन्दैमा त्यसैमा अल्झिएर बस्नु हुँदैन । यसलाई चटक्क छाडेर फेरि अगाडि बढ्नुपर्छ ।
तपाईंले कुनै चीजमा खर्चिएको पैसा र समय पछुतो छ ?
लुगा र मोबाइलमा खर्च गरेको पैसा र समय अहिले सम्झिँदा बेक्कार गरिएछ भन्ने लाग्छ ।
कुनै पुस्तकको एउटा पात्र भेटेमा ऊसँग के विषयमा केन्द्रित भई वार्तालाप गर्नुहुन्छ ?
‘शिरीषको फूल’ को सकम्बरी पात्रसँग भेटेर नारी भावनाबारे कुरा गर्न मन छ । ‘बेस्ट फ्रेन्ड’ बन्ने मन छ । यात्रामा सँगै जाने मन छ ।
तपाईका आगामी योजना के छन् ?
केही समय अभिनयमै केन्द्रित हुनेछु । अभिनय गरेरै जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु । इन्जिनियरिङलाई कला क्षेत्रमै मर्ज गर्न पनि सक्छु । मैले कथा लेखें वा चलचित्र बनाएँ भने मेरो डिजाइनमा आर्ट पनि देखिनेछ ।