Successfully Copied

चित्रमा रजस्वला 

ललितपुरस्थित लेलेमा जन्मिएकी रुक्मणी श्रेष्ठले रजस्वलाको विभेद सानैदेखि भोग्नुपर्‍यो । सहरमा हुर्केकी उनलाई रजस्वलाको पीडा सुदूरपश्चिमको छाउपडीझैं लागिरह्यो । उनले रजस्वला हुँदा आमाबाहेक कसैलाई हेर्ने अनुमतिसम्म पाइनन् । घरमा अछूतको जस्तो व्यवहार झेल्नुपर्‍यो ।

ललितपुरस्थित लेलेमा जन्मिएकी रुक्मणी श्रेष्ठले रजस्वलाको विभेद सानैदेखि भोग्नुपर्‍यो । सहरमा हुर्केकी उनलाई रजस्वलाको पीडा सुदूरपश्चिमको छाउपडीझैं लागिरह्यो । उनले रजस्वला हुँदा आमाबाहेक कसैलाई हेर्ने अनुमतिसम्म पाइनन् । घरमा अछूतको जस्तो व्यवहार झेल्नुपर्‍यो । बाहिर सार्वजनिक यातायातमा होस् वा अन्य स्थानमा उनले हिंसा खेप्नुपर्‍यो । रजस्वलाका क्रममा महिलाले भोग्ने शारीरिक र मानसिक पीडासहित उनी चित्रमार्फत उदाएकी छन् । छाउगोठमा बसेकी महिलाको चित्र उतार्दै उनले रजस्वला शीर्षकमा चित्रहरू कोरेकी छन् । उनका चित्रहरूले महिलाहरूको पीडा सँगसँगै अन्धविश्वास हटाउनुपर्छ भन्ने सन्देश दिन्छन् । उनी भन्छिन्, ‘रजस्वलाका नाममा महिलालाई दिइने मानसिक यातना अन्धविश्वासको उपज हो, यसलाई जरैदेखि उखेल्नुपर्छ ।’ उनका अनुसार समय र अवस्था परिवर्तन भए पनि रजस्वला समाजमा कुरीतिका रूपमा स्थापित भइरहेको छ । 

उनले वैशाख दोस्रो साता ललितपुरस्थित क्लासिक ग्यालरीमा ४० वटा चित्र प्रदर्शनीमा राखिन् । उनका चित्रहरूमा महिला विभेद झल्किन्थ्यो । इचिङ माध्यमबाट निर्माण गरिएको क्यानभासमा हरियो, नीलो र कालो रंग हाबी देखिएको थियो । उनले हरियो र नीलो रंगका फूलमा बसेका महिलाहरूको पृष्ठभूमिमा महिलाहरूकै रजस्वला प्रक्रियालाई उतारेकी थिइन् । समाजमा महिलामाथि रजस्वलाको समयमा मात्र होइन धर्म र संस्कृतिको नाममा महिलामाथिको विभेद उनको चित्रमा देख्न सकिन्थ्यो । महिलाहरूलाई देवी, कुमारी आदि नामले पूजा गरे पनि उनीहरू अझै पनि असुरक्षित रहेको देखाउन खोजेको उनले बताइन् । प्रदर्शनीमा राखिएका चित्रहरूको मूल्य १० हजारदेखि ४० हजार रुपैयाँसम्म थियो । लामो समयदेखि महिलाका विषयहरू उठान गरिरहेकी उनको यो दोस्रो एकल प्रदर्शनी थियो । यसअघि उनले सन् २०१३ मा ‘ट्युर अफ लाइफ’ शीर्षकमा प्रदर्शनी गरेकी थिइन् । 

 Image