Successfully Copied

‘महिला हिंसा अन्त्य गरौं’

‘मेरो पाठेघर, मेरो शक्ति’, ‘मेरो आत्मनिर्भरता नै मेरो हिंसाविरुद्ध बोल्ने अधिकार’

घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ मूल नाराका साथ नेपालमा यो वर्षको ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सम्पन्न भयो । अन्तर्राष्ट्रिय रूपमा भने यो अभियान ‘ओरेन्ज द वर्ल्ड’ नाराका साथ मनाइएको थियो । नेपालमा अभियानका क्रममा विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा ‘महिला रोकिए, संसार रोकिन्छ’, ‘मेरो पाठेघर, मेरो शक्ति’, ‘मेरो आत्मनिर्भरता नै मेरो हिंसाविरुद्ध बोल्ने अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

अभियानका क्रममा बालबालिका तथा समाज कल्याण मन्त्रालय एवं राष्ट्रिय महिला आयोगले संयुक्त रूपमा भृकुटीमण्डपबाट र्‍याली निकालेर भद्रकाली, न्यूरोड हुँदै वसन्तपुर डबलीमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले लैङ्गिक हिंसालाई मानवताविरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।

‘जोन्टा क्लब अफ काठमाडौ’ ले बालविवाह, घरेलु हिंसा र कार्यस्थल तथा सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउन जोड दिँदै विभिन्न कार्यक्रमको आयोजना ग×र्‍यो । उसले चार वटा लघु चलचित्रमार्फत हिंसाविरुद्ध सन्देश प्रवाह गरेको थियो । काठमाडौंमा आयोजना गरेको सार्वजनिक बहसमा ‘जोन्टा’ ले सडक नाटकसमेत प्रदर्शन गरेको थियो । संस्थाकी अध्यक्ष सीमा गोल्छाले कुनै पनि हिंसा र उत्पीडन कहिल्यै सहन नहुने र यसका विरुद्धमा बोल्नैपर्ने भन्ने सन्देश अभियानले दिएको बताइन् । ‘यो अभियानले पीडितहरूलाई सहयोग माग्न हौसला दिनुका साथै सुरक्षित सहयोग लिन सकिने ठाउँहरूका बारेमा जानकारी दिएको छ’ उनले भनिन् । ‘जोन्टा’ काठमाडौंले हिंसामा परेका महिला र बालिकाहरूको सहयोगका लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थासँग पनि सहकार्य गर्दै आएको छ । साथै घरेलु हिंसा र कार्यस्थलजन्य हिंसापीडित महिलाहरूलाई कानुनी सल्लाह र सहयोग प्रदान गर्न उसले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइनसमेत खडा गरेको छ ।

अभियानमा ‘साथी नेपाल’ ले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा ‘हाम्रो गोल महिला हिंसाविरुद्ध’ भन्ने नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) विजयी भएको थियो । एनएसजेफले अस्ट्रेलियन एलुम्नाइलाई ३–१ गोलले हराएको थियो । 

यसैगरी, ‘युनिलिभर नेपाल’ ले ‘माइती नेपाल’ सँग सहकार्य गर्दै महिलाहरूलाई स्वरोजगार बनाउन विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजना गरी अभियानमा निरन्तरता दिने उद्घोष गर्‍यो । महिलाहरूका लागि रोजगारी सिर्जना गर्न, आर्थिक र कानुनी क्षमता वृद्धि गर्न युनिलिभरले माइती नेपालसँग सहकार्य गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यी दुई संस्थाले संयुक्त रूपमा महिलाहरूका लागि ब्युटिपार्लर, एक्स्क्याभेटर चलाउने, बिक्री सेल्सका लागि प्रशिक्षण दिने भएको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले यी प्रशिक्षण कार्यक्रममार्फत महिलाहरूलाई आवश्यक सीपहरू प्रदान गर्दै दीर्घकालीन र दिगो यात्रा कायम गर्न खोजेको बताए । यो वर्षको लैङ्गिक हिंसाविरुद्धको केन्द्रमा बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी रहेका थिए । उनीहरूको मृत्यु र बेपत्ताको छानबिन माग गर्दै बाँकेबाट १३ दिन लगाएर न्यायका लागि काठमाडौ आइपुगेकी रुबी खानको पक्षमा महिला अधिकारकर्मी, पत्रकारदेखि राजनीति दलका कार्यकर्तासमेतले ऐक्यबद्धता जनाएका थिए । 

हरेक वर्ष संसारभरि २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ संचालन हुन्छ । सन् १९९७ देखि नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी १६ दिने यो अभियान मनाउन थालिएको हो । अभियानको प्रमुख उद्देश्य बालविवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनु रहेको छ ।

मर्यादित महिनावारी दिवस

नेपालमा ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सँगै ‘मर्यादित महिनावारी दिवस’ पनि मनाउन थालिएको छ । डिसेम्बर ८ लाई उक्त दिवसका रूपमा मनाउन थालिएको हो । विद्यालय र कलेजबाट जनचेतना जगाउँदै ‘लैङ्गिक हिंसा न्यूनीकरण र मानव अधिकारका लागि मर्यादित महिनावारी’ मुख्य नाराका साथ यो दिवस मनाइएको छ । महिनावारीको समय सबै किशोरी मर्यादापूर्वक जिउन पाउनुपर्ने भन्दै यो दिवस मनाउन थालिएको अभियन्ता राधा पौडेलले बताइन् । 

 Image