Successfully Copied

कामकाजी महिला

पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरू अग्रसर हुन थालेका छन् । आर्थिक एवं सामाजिक रूपमा महिलाहरू सशक्त हुँदै गएका छन् । महिलाहरूले आ–आफ्नो हैसिय पनि बढाउँदै लगिरहेका छन् ।

पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरू अग्रसर हुन थालेका छन् । आर्थिक एवं सामाजिक रूपमा महिलाहरू सशक्त हुँदै गएका छन् । महिलाहरूले आ–आफ्नो हैसिय पनि बढाउँदै लगिरहेका छन् । अफिसियल कामका अलावा महिलाहरूले घरको जिम्मेवारी पनि निभाइरहेका छन् । खाना पकाउनु, बच्चा हेर्नुलगायत घरको सम्पूर्ण काम महिलाहरूकै हातमा हुन्छ । घरेलु महिलाको तुलनामा कामकाजी महिलाहरूले दोहोरो भूमिका निभाइरहेका छन् । अफिस एवं घर दुवै सम्हाल्लुपर्ने भएकाले कतिपय महिलाहरू जागिर छोड्न बाध्य भएका छन् ।

दोहोरो भूमिका

अफिसियल काम र घरको जिम्मेवारी उठाउन महिलाहरूका लागि निकै चुनौतीपूर्ण काम रहेको बताउँछिन् बाँके कोहलपुरस्थित सूर्योदय माध्यमिक विद्यालयकी उप–प्राध्यापक सुमित्रा न्यौपाने । उनका अनुसार महिलाहरू दोहोरो भूमिका निभाउनुपर्ने बाध्यतामा रहेका छन् । घरको काम पुरुषले गर्न नहुने सामाजिक मान्यताले पनि महिलाहरूलाई नै बढी भार परेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘घरको काम पुरुषले गर्नु हुँदैन भन्ने सामाजिक मान्यताका कारण पनि महिलाहरू बढी भारमा परेका छन् ।’ पेसाले शिक्षक भए पनि साहित्यमा पनि त्यत्तिकै रुचि राख्छिन् उनी । उनले पुस्तक प्रकाशित गरिसकेकी छन् । दुई छोराछोरीकी आमा उनी अभिभावकत्व पनि निभाइरहेकी छिन् । शिक्षक पेसा, साहित्यमा रुचि सँगसँगै घरपरिवारलाई मिलाउन एकसाथ लैजान उनलाई निकै सकस पर्दछ । उनी भन्छिन्, ‘एकातिरको कामले अर्कातिर केही छुटिरहेकै हुन्छ ।’ साहित्यिक कार्यक्रममा उनलाई धेरैतिरबाट निम्तो आउँछ । सबै कार्यक्रममा उनी चाहेर पनि जान सक्दिनन् । पुरुषहरूको तुलनामा महिलाहरूलाई निस्केर हिँड्न एकदमै कठिन हुने उनी बताउँछिन् । ‘महिला बाहिर निस्कँदा धेरै कुरा मिलाउनुपर्ने हुन्छ’ उनी भन्छिन्, ‘घर–बच्चा सबै मिलाएर हिँड्नुपर्ने हुन्छ यसले गर्दा महिलाहरू धेरै अवसरबाट वञ्चित भइरहेका छन् ।’

महिलाहरूका हरेक कुरामा परिवर्तन आए पनि घरको जिम्मेवारीमा भने परिवर्तन आउन सकेको छैन । महिलाहरू घर–अफिस सम्हाल्नका लागि धेरै मेहनत गरिरहेका हुन्छन् । कतिपयले करियरलाई थाती राख्दै घरपरिवार र बच्चाको जिम्मेवारी निभाइरहेका हुन्छन् ।

चित्रकार प्रमिला विकको बच्चा जन्मिएपछि केही समय पढाइ रोकियो । बच्चाको पालनपोषणमा खर्चिनुपर्दा उनको काम प्रभावित बन्यो । बच्चा नहुर्कुन्जेल उनले आफ्नो काम नियमित रूपमा गर्न सकिनन् । उनी भन्छिन्, ‘बच्चा भएपछि सम्पूर्ण समय बच्चामै खर्च गर्नुपर्‍र्यो, त्यसकारण कामलाई नियमित गर्न सकिन ।’ बच्चा एवं घरपरिवारको जिम्मेवारीका कारण महिलाहरू धेरै अवसरबाट वञ्चित हुने गरेको उनी बताउँछिन् । महिलाहरूले दोहोरो भूमिका निभाउनुपर्ने भएकाले धेरै व्यस्त भइने उनको भनाइ छ । उनी बच्चा विद्यालय गएको वा निदाएको समयमा आफ्नो काम गर्छिन् । बच्चासँग भएको बेला उनको ध्यान काममा केन्द्रित हुन सक्दैन । काममा श्रीमान्को केही सहयोग भए पनि घरको दोहोरो भूमिका उनले निभाउनुपरेको छ । दोहोरो जिम्मेवारी निभाउनुपर्ने कारणले पनि उनले आफूलाई बिर्सिसकेकी हुन्छिन् । उनले आफ्नो मनोरञ्जनका लागि गीत सुन्ने, चलचित्र हेर्ने, चित्र बनाउने गर्छिन् । उनलाई आफ्ना लागि समय निकै कम पाउँछिन् । उनी भन्छिन्, ‘सबै जिम्मेवारी बहन गर्दागर्दै आफ्ना लागि समय निकै कम हुन्छ ।’

कोरोना महामारी सुरु भएसँगै हरेक काम ठप्प भए । तर, महिलाहरूलाई भने झन् धेरै बोझ थपियो । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुसन आचार्य भन्छिन्, ‘कोरोना महामारी सुरु भएसँगै महिलाहरूलाई धेरै बोझ थपिएको छ, वर्क फ्रम होम भन्दै महिलाहरूले डबल जिम्मेवारी निभाइरहेका छन् ।’ महिलाहरूले घरमा बसेको समयमा झन् धेरै काम गर्नुपरेको उनको भनाइ छ । महामारी सुरु भएसँगै घरमा बसेका महिलाहरूलाई काम गर्न समस्या परेको उनले देखेकी छिन् । उनी भन्छिन्, ‘घरमै बसेर काम गर्नुपर्दार् महिलाहरूलाई झन् धेरै समस्या परेको छ, बच्चा एवं घरको कामको जिम्मेवारी निभाउनुपर्दा महिलाहरूलाई चाप परेको छ । हरेक क्षेत्रमा समानताको विषयमा जति कुरा गरे पनि घरायसी काममा समानता हुन सकेको छैन । महिलाहरूले आफ्ना लागि निकै कम समय दिइरहेको बताउँछिन् उनी । ‘अफिसियल महिलाहरूले दोहोरो जिम्मेवारी बहन गर्नुपर्दा आफ्ना लागि कम समय दिइरहेका हुन्छन्,’ उनी भन्छिन् ‘महिलाहरूले आफ्ना लागि मनोरञ्जन र आफ्नै स्वास्थ्यको ख्याल गर्न बिर्सिसकेका हुन्छन् ।’

सामाजिक अवस्था

महिलाहरूले घरबाहिर पनि विभिन्न समस्या भोगिरहेका हुन्छन् । यसले गर्दा महिलाहरूलाई कार्यक्षेत्र पनि चुनौतीपूर्ण भएको छ । महिलाहरूले दोहोरो होइन ट्रिपल जिम्मेवारी बहन गरिरहेको बताउँछन् समाजशास्त्री पुष्प राई । महिलाहरूले आफूलाई हरेक क्षेत्रमा प्रवाह बढाउँदै लगे पनि चुल्हाचौकाको काम महिलाको जिम्मेवारीमा सुम्पिएको हुन्छ । यसरी जिम्मेवारी निभाउने क्रममा धेरै तनाव भोग्ने गरेको बताउँछन् उनी । समाजमा महिलाहरूले काम गर्ने स्तरका आधारमा पनि उनीहरूको हैसियत निर्धारण हुने भएकाले महिलाहरूलाई समस्या हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘महिलाहरूले आफू आत्मनिर्भर हुन खोज्दा पनि कामका आधारमा उनीहरूलाई व्यवहार गरिन्छ । कामकाजी महिलाहरूलाई समाजमा कहाँ र कस्तो ठाउँमा काम गर्छन् भन्ने कुराले निर्धारण गर्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘घरका बुहारी एवं छोरीहरूले कहाँ काम गर्छन् सोहीअनुसार व्यवहार गरिन्छ ।’ कामका आधारमा महिलारूलाई मूल्यांकन गर्ने चलन छ । उनका अनुसार लैङ्गिक समानताका कुरा गरे पनि घरायसी काममा समानता हुन नसकेको उनी बताउँछन् ।

कामकाजी महिलाहरूलाई घरपरिवारले नबुझ्ने, थप बोझ थपिने र सामाजिक रूपमा मूल्यांकन हुने भएकाले पनि उनीहरू मानसिक समस्याबाट गुज्रिरहेको बताउँछन् मनोविद् ध्रुवविलास खनाल । महिलाहरूले आफूले भन्दा अरुलाई बढी ध्यान दिइरहेका हुन्छन् । उनी भन्छन्, ‘महिलाहरूले आफ्नो खुसीभन्दा पनि श्रीमान् र बच्चाको खुसी हेर्छन् ।’ महिलाले आफ्ना लागि पनि केही समय निकाल्नुपर्छ । अहिलेको समयमा भने कामकाजी महिलाहरूले कामको बोझले घरेलु हिंसादेखि यौन हिंसा पनि भोगिरहेको बताउँछन् उनी ।

स्वास्थ्यमा असर

कामकाजी महिलाहरूले दोहोरो भूमिका निभाउनुपर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन् । स्त्रीरोग विशेषज्ञ डा. मीरा थापा भन्छिन्, ‘महिलाहरूले जिम्मेवारी बहन गर्ने क्रममा उनीहरूको जीवनशैली प्रभावित भई विभिन्न शारीरिक समस्या देखा पर्छन् । दौडधूपका कारण मधुमेह, उच्च रक्तचाप, मोटोपनका समस्या देखा पर्छन् ।’ डा.मीराका अनुसार कामकाजी महिलाहरूले आफ्नो स्वास्थ्यको कम ख्याल गर्छन् । श्रीमान् एवं बच्चाको स्वास्थ्यमा समस्या आउँदा आत्तिने महिलाहरू आफ्नो समस्यालाई ठूलो रूपमा लिँदैनन् । तर, कामकाजी महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । उनी भन्छिन्, ‘महिलाहरू आफू स्वस्थ भए मात्र अरूलाई स्वस्थ राख्न सक्छन् ।’ उनका अनुसार महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नका लागि खानपान एवं जीवनशैलीमा ध्यान दिनुपर्ने हुन्छ । उनी भन्छिन्, ‘कामकाजी महिलाहरूले स्वस्थ रहन नियमित व्यायाम एवं योग गर्नुपर्दछ । उनका अनुसार शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सके मात्र कार्यसम्पादनमा पनि बेस्ट दिन दिन सकिन्छ ।

मनोरञ्जनका साधन

कामकाजी महिलाहरूले आफ्ना लागि निकै कम समय पाउँछन् । आत्मनिर्भर र आर्थिक रूपमा सबल बन्दै जिम्मेवारी सम्हाल्ने क्रममा महिलाहरूले आफ्ना लागि केही समय निकालिरहेका हुन्छन् । भक्तपुरकी शर्मिला कार्की एक बैंकमा काम गर्छिन् । उनको दैनिकी निकै व्यस्त हुन्छ । उनी जति व्यस्त भए पनि आफ्ना लागि केही समय निकाल्छिन् । पछिल्लो समय मनोरञ्जनका लागि टिकटक चलाउँछिन् । विभिन्न गीतमा लिपसिङ गर्न उनलाई निकै रमाइलो लाग्छ । उनी भन्छिन्, ‘जति व्यस्त भए पनि टिकटकका लागि समय निकालिरहन्छु ।’ उनलाई टिकटकले मनोरञ्जन मात्र दिँदैन थकाइ पनि कम गराउँछ ।

कीर्तिपुरकी रजनी शर्मा पेसाले शिक्षिका हुन् । माध्यमिक तहकी शिक्षिका उनको घर र विद्यालयको जिम्मेवारी बराबर छ । तर, उनी केही समय निकालेर रमाउँछिन् । खाली समयमा उनी सोसल मिडियामा भुल्छिन् । सोसल मिडियामा उनलाई रमाइलो लाग्छ । उनी सोसल मिडियामार्फत साथीहरूसँग कुराकानी गर्दै समाचार हेर्छिन् । व्यस्त दैनिकीमा पनि तनावमुक्त भएर समय बिताउनुपर्ने उनी बताउँछिन् । कामकाजी महिलाहरूले आफ्नो रमाइलो र मनोरञ्जनका लागि समय निकाल्न आवश्यक रहेको बताउँछन् मनोविद् कैलाश । कामको बोझ बिसाउन रमाइलो गर्नुपर्ने बताउँछन्–उनी । महिलाहरूले कामको बोझलाई हटाउन नसके मानसिक समस्याहरू बढ्दै जाने उनको भनाइ छ । उनी भन्छन्, ‘कामकाजी महिलाहरूले सबै कुरामा सन्तुलन मिलाउन नसके मानसिक समस्याबाट गुज्रिन थाल्छन् ।’ उनका अनुसार हरेक कामकाजी आफूलाई बुझेर सोहीअनुसार समय निकाल्नु आवश्यक छ ।

 Image