लकडाउनमा केही राम्रा परिवर्तन देखिए । फुर्सदको यो समयमा कतिपयले आफ्नै भान्सामा मीठो–मसिनो खानेकुरा बनाउन सिके, कतिपयले थरीथरीका फूल रोपेर घरलाई ढकमक्क बनाए । त्यसैगरी कतिपयले छत एवं बार्दलीलाई सागसब्जीले हराभरा बनाए ।
गठ्ठाघरकी सिर्जना जिसीले लकडाउनको समयमा घरमै सागसब्जी रोपिन् । उनी भन्छिन्, ‘अरुबेला अफिसको कामले समय निकाल्न मुस्किल हुन्थ्यो ।’ अहिले फुर्सद भएकाले बार्दली र खाली ठाउँमा तरकारी रोपेर समयको सदुपयोग गरेको उनी बताउँछिन् । त्यस्तै बालाजुकी कविता पाण्डेले पनि लकडाउनको मौका पारेर घरको कोसीमा धनियाँ, काँक्रा, सिमी, घिरौला एवं साग गमलामै रोपिन् ।
लकडाउनका बेला शहरी क्षेत्रका घरका छतमा सागसब्जी लगाउने होडबाजी नै चल्यो । घरमै बसेको बेला आमाबुवा, बालबच्चा मिलेर मल–माटो तयार गर्ने, गमला भर्ने, बीउ–बिजन लगाउने, गोडमेल गर्ने गरेर तरकारी उमारे । आफ्नै हातले उत्पादन गरेको ताजा र जैविक तरकारीको स्वाद खान पाउँदा छुट्टै अनुभूति हुने सिर्जनाले बताइन् । लकडाउन अघिसम्म धेरैको भान्सा बजारको तरकारीमा निर्भर थियो । बजारबाट तरकारी ल्याउने, खाने चलनले निरन्तरता पाइरहेको थियो । तर बजारमा उपलब्ध सागसब्जी कति शुद्ध, ताजा र अर्गानिक होला ?
हाम्रो भान्सासम्म आइपुग्ने अधिकांश तरकारीमा अधिक मात्रामा रासायनिक मल, कीटनाशक औषधि एवं विषादी प्रयोग गरेको पाइएको छ । सागसब्जी उमार्न, धेरै उत्पादन गर्न, कीराबाट जोगाउन, लामो समयसम्म भण्डारण गर्न र बजारमा आकर्षक देखाउन रासायनिक मल, कीटनाशक औषधि प्रयोग गरिन्छ । यसले गर्दा भान्सामा विषाक्त तरकारी पाकिरहेको हुन्छ । तर अहिले भने आफ्नै हातले तरकारी रोप्ने र अर्गानिक एवं ताजा तरकारी खाने क्रम सुरु भएको छ ।
त्यसो त लकडाउनका बेला मात्र नभई अन्य समयमा फुर्सद निकालेर पनि आफ्नै घरको करेसाबारी, छत वा बार्दलीमा सागसब्जी रोप्न सकिन्छ । यसले विषादीरहित सागसब्जी खान पाइने मात्र नभई आत्मनिर्भर र निरोगी हुने सम्भावना पनि बढी हुन्छ । पहिलो कुरा त कौसी खेती गर्दा आफ्नो घरको छत, बार्दलीको सही सदुपयोग हुन्छ । घरपरिवार मिलेर मल र माटोसँग खेल्दा स्वास्थ्यलाई पनि फाइदा पुग्छ । घरमा खेर जाने सागसब्जीको बोक्रा, कुहिएको फलफूल, छानेको चियापत्ती, अण्डाको बोक्रा आदिलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । घरमै तरकारी फलेको देख्दा बालबालिका पनि रमाउँछन् । उनीहरूले पनि काम गर्न सिक्छन् । खेतीपातीमा उनीहरूको रुचि बढ्छ । आफ्नै हातले रोपेको सागसब्जी उम्रदा, फुल्दा–फल्दा खुसी पनि लाग्छ । यसले घरको पनि शोभा बढाउँछ । परिवारलाई जाँगरिलो र सक्रिय बनाउँछ ।
तरकारी हाम्रो खानाको अनिवार्य आवश्यकता भएको छ । शरीरलाई चाहिने पोषक तत्वमध्ये धेरैजसो सागसब्जीबाट नै प्राप्त हुन्छ । फाइबर, मिनरल्स, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिनजस्ता पोषक तत्व सागसब्जीबाट पाइन्छ ।
कहाँ र कसरी गर्ने कौसी खेती ?
सहरी क्षेत्रमा पर्याप्त जग्गा हुँदैन । तरकारी रोप्नका लागि खेत वा बारी उपलब्ध नहुन सक्छ । यस्तो अवस्थामा आफ्नो घरको छत, बार्दली वा खुला ठाउँको प्रयोग गर्न सकिन्छ । छतमा सही ढंगले सागसब्जी रोप्ने हो भने एउटा परिवारलाई प्रशस्त पुग्छ । त्यसैगरी घामको किरण पर्ने बार्दली वा अन्य ठाउँहरूमा पनि सागसब्जी रोप्न उपयुक्त हुन्छ ।
घरमा गमला मात्र होइन, पुराना एवं काम नलाग्ने प्लास्टिकका बाल्टिन, चामलका बोरा, प्लास्टिक आदि हुन्छन् । यसमा मल तथा माटो भरेर सागसब्जी रोप्न सकिन्छ । यद्यपि यसरी गमलाका रूपमा प्रयोग गर्दा उक्त बाल्टिन, बोरामा प्वाल बनाउनुपर्छ, जसले गर्दा पानी जम्न पाउँदैन । मल र माटोको मात्रा पनि मिलाउन जान्नुपर्छ ।
के रोप्ने ?
मौसम र ठाउँअनुसार गमलामा हुने सागसब्जी रोप्न सकिन्छ । जस्तो खुर्सानी, गोलभेंडा, धनियाँ भान्सामा नियमित खपत हुन्छन् । यी सबैलाई सानो गमलामा रोपेर उत्पादन गर्न सकिन्छ । त्यसैगरी भिन्डी, करेला, बन्दा, काउली, सिमी पनि गमलामा रोप्न सकिन्छ । मौसमअनुसार मेथी, तोरी तथा रायोको साग पनि गमलामा रोप्न सकिन्छ ।
कौसी खेतीको फाइदा
- घरको चारैतिर खाली ठाउँ, व्यर्थ पानी र भान्साबाट निस्कने फोहोरको सदुपयोग हुन्छ ।
- अर्गानिक र आफूलाई मनपर्ने तरकारी खान पाइन्छ ।
- स्वास्थ्यवर्द्धक, गुणस्तरीय र सस्तोमा फल एवं तरकारी खान पाइन्छ । विषादीको प्रयोग नभएकाले हानिकारक रसायन भएको तरकारी खानबाट बच्न सकिन्छ ।
- परिवारका सदस्यमा आपसी मेलमिलापका साथै मनोरञ्जन र व्यायाम हुन्छ ।
- तरकारीमा लाग्ने खर्च बचत भई भान्साको खर्चमा कमी आउँछ ।
- तरकारी खरिदका लागि बाहिर गइरहनुपर्दैन ।
ध्यान दिनुपर्ने कुरा
- तरकारी रोप्न सही ठाउँ छनोट गर्नुपर्छ । तरकारी रोप्ने ठाउँमा पर्याप्त मात्रामा प्रकाश पुग्नुपर्छ । सूर्यको प्रकाशबिना बिरुवा सप्रदैनन् । बिरुवा बढ्नका लागि दैनिक ५–६ घण्टा सूर्यको प्रकाश जरुरी हुन्छ ।
- बारीको एक कुनामा एउटा खाल्डो बनाउने जहाँ भान्साबाट निस्किएको फोहोर, सागसब्जीको बोक्रा र सड्ने फोहोर राख्न सकिन्छ ।
- बगैंचाको सुरक्षाका लागि बाँस वा तारले बार लगाउने त्यसमा लहरा जाने किसिमका तरकारी रोप्न सकिन्छ ।
- तरकारी स्याहारसुसार, गोडमेल तथा सिँचाइ गर्नका लागि बीचबीचमा बाटो बनाउनुपर्छ ।
- फल लाग्ने रुखहरू पश्चिम दिशाको किनारामा रोप्नुपर्छ । यस्ता रुख ठूला हुने भएकाले छायाँको प्रभाव सब्जीमा पर्नसक्छ ।
- सजिलै उम्रने, छिटो बढ्ने र धेरै स्याहार्न नपर्ने खालका तरकारीको छनोट गर्नु उपयुक्त हुन्छ ।