Successfully Copied

तीज गीत किन विवादित ?

गत वर्ष ‘बीच्चबीच्चमा’ गीत गाएर चर्चामा आएका दुर्गेश थापा यसपालीको तीज गीतको शब्द र पहिरनका कारण विवादित बने ।

गायिका सोफिया थापाले ‘यसपालीको तीज नो व्रत प्लिज’ बोलको गीत सार्वजनिक गरिन् । अबको तीजमा ब्रत नबस्न र दर न खान उनको गीतमा आग्रह गरिएको थियो । तर उनको यो गीतको चर्को आलोचना भयो । गीतमा केही धार्मिक संस्थाले धर्ममाथिको हस्तक्षेप भएको भन्दै गीतको युट्युबबाट हटाउन दबाब दिए । आलोचनाकै कारण अन्ततः हाइलाइट्स नेपालले उक्त गीत युट्युबमा प्राइभेट गर्‍यो । गायिका सोफियालाई भने आफ्नो गीत युट्युबले प्राइभेटमा राखेको मन परेको छैन । तीजका नराम्रा पक्षहरूलाई आफूले गीतमार्फत बोलेको उनको तर्क छ । उनी भन्छिन्, ‘मैले तीजका नराम्रा संस्कारहरूलाई त्याग्नुपर्दछ भनेर सकारात्मक सन्देश दिन खोजेकी हुँ, त्यसमा अनावश्यक आलोचना भयो । उनको गीतमा प्रयोग गरेको शब्द ‘अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी, महिला–पुरुष दुवै नै बराबरी’ भन्ने शब्दका कारण आफूलाई धम्की आएको बताउँछिन् । अबको समयमा महिला–पुरुषबीच समानता हुनुपर्ने सन्देश गीतमार्फत दिन खोजेको उनको भनाइ छ । ‘तीज पर्व सबैले मनाऔं तर महिलामाथिको विभेद हटाऔं भन्ने मेरो सन्देश हो ’ उनी भन्छिन् ।

पछिल्लो समय तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । गायक–गायिकाहरूमा तीज गीतमा आकर्षण बढ्दै गएको छ भने मोडलहरूमा पनि तीज गीतमा मोडलिङ गर्ने होडबाजी नै चलेको छ । सार्वजनिक गरिएका कतिपय गीतमा आलोचना पनि त्यत्तिकै खेप्नुपरेको छ । चाहे त्यो शब्दमा होस् वा पहिरनमा । गत वर्ष ‘बीच्चबीच्चमा’ गीत गाएर चर्चामा आएका दुर्गेश थापा यसपालीको तीज गीतको शब्द र पहिरनका कारण विवादित बने । यो वर्ष ‘बीच्चबीच्चमा ३’ लिएर आएका उनी नकारात्मक टिप्पणीमा चर्चामा आए । तीज गीतको आस्थामाथि प्रहार गरेको मात्र होइन उनलाई गीत चोरीको आरोपसमेत लाग्यो । उनले सार्वजनिक गरेको यो गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिलेको पुष्टिसमेत भयो । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले उनको यो गीतमा विरोधसमेत जनाएको छ । शब्दलाई मात्रै होइन गीतको भिडियोमा लगाइएको पहिरनमाथि पनि त्यत्तिकै टिप्पणी भयो । महिलाको भेषमा देखिएका उनी महिलाहरूमाथि व्यङ्ग गरिएको भन्दै आलोचित बने ।

एकनारायण भण्डारीले यसपालीको तीजलाई लक्षित गर्दै फरक किसिमको गीतको गीत लिएर आए । भण्डारीको शब्द र संगीत रहेको ‘लरिलै बरिलै’ मा प्रीति आलेले स्वर दिइन् । यस गीतको शब्द संगीतमा तीज भाका नरहेको भन्दै विभिन्न प्रकारका टीकाटिप्पणी भए । उनी भन्छन्, ‘तीज पहिला भन्दा धेरै फरक भइसकेको छ विगतलाई सम्झेर पुनः वर्तमानलाई मध्यनजर गर्दै संगीतलाई अगाडि बढाउनुपर्दछ ।’ अहिले खानपान एवं जीवनशैली फरक भइसकेको छ । यसकारण पनि संस्कारमा परिमार्जन गर्दै लानुपर्ने भण्डारी बताउँछन् । ‘नयाँ पुस्ताले दुःखका कुराभन्दा पनि रमाइला कुरा मन पराउने भएकाले नयाँपन दिन खोजिएको हो ’उनले भने । तीजमा साडी–चोलीमा शृंगार हुनुपर्ने मान्यता छ तर अहिलेको तीज गीतमा तीज झल्कने खालको पहिरन बिरलै पाइन्छ । अहिले सार्वजनिक भएका गीतमा आधा शरीर देखाउने पहिरनदेखि जिन्स पाइन्टसम्म देख्न सकिन्छ । तीज गीतमा साडी–चोलो नै लगाउनुपर्ने मान्यता पुरानो भइसकेको भण्डारीको तर्क छ । ‘पहिले पहिरन कम हुन्थे, त्यसमा पनि साडी–चोलो मात्र हुन्थ्यो, तर अहिले पहिरनमा पनि विविधता छ,’ उनी भन्छन्, ‘समयअनुसार गीतलाई परिमार्जन गर्दै लैजानुपर्छ । पहिरनमा पनि ख्याल गर्नुपर्छ ।’

नयाँ पुस्ता आधुनिकतामा भिज्दै गीत–संगीतमा रमाउन थालेकोमा पुराना सर्जकहरूले भने चिन्ता व्यक्त गरेका छन् । लामो समयदेखि मौलिक तीज भाका प्रस्तुत गर्दै आइरहेकी हरिदेवी कोइराला भने पछिल्लो समयमा आधुनिकताका नाममा भड्किलो तीज गीत मौलाएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिलेका कलाकारहरूले तीजको सामान्य भेद पनि थाहा पाउन छोडिसके, मन लाग्दो तरिकाले गीत गाउन थालेका छन् ।’ गीत–संगीत भनेको समाजको ऐना हो । गीतमार्फत पनि संस्कृति जगेर्ना गर्नुपर्ने उनको भनाइ छ । सामाजिक मूल्य–मान्यताको दायरा नाघेर यस्ता गीतहरूले चाडपर्वको मर्म समेत मारेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘धर्ममाथिको प्रहार भनेको राष्ट्रियतामाथिको प्रहार हो, त्यसैले गीत–संगीत बनाउँदा वा गाउँदा विशेष ख्याल गर्नुपर्दछ ।’

संस्कृतिविद् जगमान गुरुङ भने अहिलेको तीज संस्कृति हिप्पी संस्कृतिमा परिणत भएको बताउँछन् । तीजको मौलिक संस्कृति हराउँदै गएको उनको भनाइ छ । उनी भन्छन्, ‘आधुनिकताका नाममा संस्कृतिको मर्म हराउँदै गएको छ, यसले समाजमा नकारात्मक असर गर्दछ ।’ उनका अनुसार अहिले तीजका भाकाहरू हराइसकेका छन् । उनी भन्छन्, ‘अहिलेको अवस्थामा मनाइने तीजलाई हेर्दा भोलिका पुस्ताले तीजको वास्तविकता कसरी बुझ्लान् चिन्ताको विषय छ ।’

अहिलेका कलाकारहरूले तीजको सामान्य भेद पनि थाहा पाउन छोडिसके ।

– हरिदेवी कोइराला

तीजका नराम्रा पक्षहरूलाई त्याग्नु पर्दछ ।

– सोफिया थापा

समयअनुसार गीत संगीत परिमार्जन गर्दै लैजानुपर्छ ।

– एकनारायण भण्डारी

 

अहिलेको तीज हिप्पी संस्कृतिमा परिणत भएको छ ।

– जगमान गुरुङ

 Image