कर्णालीका डाक्टर
सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।

गोरा–काला बराबर
अमेरिकाको अलाबामा राज्यको मोन्टगोमेरी सहरमा सन् १९५५ मा रोसा पाक्र्स नाम गरेकी एक अफ्रिकी–अमेरिकी महिलालाई गिरफ्तार गरियो । कारण उनले बसमा गोरा छाला भएका व्यक्तिका लागि आफ्नो सिट छोडिनन् । त्यसताका अमेरिकामा कालो छाला भएका व्यक्तिहरूसँग दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गरिन्थ्यो । सार्वजनिक यातायातमा गोरा व्यक्तिका लागि कालाले आफ्नो सिट छोडिदिनुपथ्र्यो । रोसालाई त्यो स्वीकार्य थिएन । उनी जेल जान तयार भइन् तर झुकिनन् । उनको समर्थनमा हजारौँ मानिस उर्लिए । अमेरिकामा नागरिक हक–अधिकारका निम्ति वकालत गर्ने त्यस बेलाका शीर्षस्थ नेता मार्टिन लुथर किंगले समेत रोसालाई प्रेरणादायी व्यक्तिको संज्ञा दिए । विस्तारै अमेरिकामा रंगभेदी नियम उन्मूलन गर्ने कार्य सुरु हुन थाल्यो । अमेरिकी कांग्रेसले उनलाई ‘स्वतन्त्रता आन्दोलनकी प्रणेता’ तथा ‘नागरिक अधिकारकी जननी’ जस्ता उपाधिले सम्बोधन गरेको छ ।
हिल्स किन लगाउनुपर्यो ?
अंग्रेजी चलचित्र शृंखला ट्वाइलाइटकी मुख्य अभिनेतृ क्रिस्टेन स्टेवार्ट सन् २०१८ को क्यान्स फिल्म फेस्टिभलको निर्णायक मण्डलमा थिइन् । सिंगो संसारले नजिकबाट नियाल्ने उक्त फिल्म फेस्टिभलमा महिलाले अग्ला हिल्स भएका जुत्ता लगाउनु अनिवार्य छ । नियमअनुसार स्टेवार्ट हिल्स लगाएरै कार्यक्रममा गइन् । रेड कार्पेटमा सबै क्यामराको ध्यान आफूतर्फ केन्द्रित भएका बेला उनले हिल्स खोली हातमा बोकिन् र खाली खुट्टा हिँड्न थालिन् । सबै अवाक् भए । क्रिस्टेनले त्यस क्रममा एउटा महत्वपूर्ण प्रश्न उठाइन्, ‘पुरुषलाई हिल्स लगाएर आऊ भन्न सक्नेले मात्र महिलाका लागि यस्तो हावादारी नियम बनाउँदा ठीक होला ।’
हिजाब लगाउने बार्बी
फ्रक वा बिकिनी लगाएका बार्बी डल बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । ‘सुन्दरता हिजाब र बुर्कापछाडि पनि लुकेको हुन्छ’ भन्ने सन्देश दिने उद्देश्यले केही समयअघि अमेरिकी डल कम्पनी मटेलले हिजाब लगाएका बार्बी डल सार्वजनिक गर्यो । यसको श्रेय जान्छ सन् २०१६ को रियो ओलम्पिक्समा हिजाब लगाएरै प्रतिस्पर्धा गर्ने र कांस्य पदक जित्ने ३२ वर्षीया अमेरिकी फेन्सिङ खेलाडी इब्तिहाज मुहम्मदलाई । उनकै कारण अमेरिका धार्मिक सहिष्णुताको सन्देश दिन सफल भयो ।
यौनशोषणको विरोधमा
नौ वर्षको कलिलो उमेरदेखि नियमित बलात्कारको सिकार हुँदै १४ वर्ष पुग्दा एक सन्तानकी आमा भैसकेकी महिला हुन्–ओपरा विन्फ्रे । सानै उमेरमा उनले यस्तो हृदयविदारक परिस्थितिको सामना गर्नुपर्यो । कसैलाई सुनाएर सहयोग लिउँm भन्ने चेतसम्म पनि थिएन उनमा । जीवनका ६४ वसन्त पार गरिसक्दा अहिले भने उनी आवाजविहीनहरूको आवाज भएकी छिन्, सबैले आदर्शका रूपमा हेर्न सक्ने निडर महिला भएकी छिन् ।
मनोरञ्जन क्षेत्रमा महिलामाथि हुने यौन दुव्र्यवहारका बारेमा उनले गोल्डेल ग्लोब अवार्डसमा दिएको मन्तव्यले तहल्का नै मच्चायो । आफ्नो कार्यक्रम ‘द ओपरा विन्फ्रे सो’ मा उनी समाजका विकृति–विसंगतिहरूमाथि कडा प्रहार गर्छिन् । अमेरिकाको मिसिसिपी राज्यको एक विकट गाउँको गरिब परिवारमा जन्मिई संसारकै धनी तथा प्रभावशाली महिलाको सूचीमा आफूलाई पारिरहन सफल ओपरा वास्तवमै प्रेरणादायी व्यक्तित्व हुन् ।
मनोरञ्जन क्षेत्रमा आबद्ध ओपरा एक्ली यस्ती पात्र होइनन् जसले त्यस्ता नराम्रा दिन देख्नुपर्यो । त्यस्ता महिलाको सूची लामै छ । हाम्रै छिमेकी राष्ट्र भारतमा हेर्ने हो भने पनि कल्की कोच्लिन, स्वरा भाष्कर, कंगना रणावत, विद्या बालन, प्रियंका चोपडा आदि अभिनेतृले मनोरञ्जन क्षेत्रमा हुने यौनशोषणका बारेमा खुलेर अनुभव साट्दै त्यसका विरुद्ध आवाज उठाउँदै आएका छन् ।
कमजोरीलाई शक्ति बनाउँदै
गाडी चलाइरहेका श्रीमान् निदाएपछि उनी दुर्घटनामा परिन् । श्रीमान् जसोतसो गाडीबाट ओर्लिएर भाग्न सफल भए तर उनी गाडीभित्रै रहिरहिन् । शरीरमा भएजतिका सबै हड्डी फ्रयाक्चर्ड भए । यद्यपि पाकिस्तानकी मुनिबा मजारी, ३१ ले हिम्मत हारिनन् । दुई वर्षभन्दा बढी केही नगरी बेडरेस्टमै बसेकी मजारीले आफ्नो शारीरिक दुर्बलतालाई दुर्बलतामा सीमित रहन दिइनन्, उल्टै त्यसलाई आफ्नो शक्ति बनाइन् । उनी पाकिस्तानकी नाम चलेकी चित्रकार, टिभी कार्यक्रम प्रस्तोता, प्रेरणादायी वक्ता तथा सफल मोडल हुन् । कसैले आफ्नो क्षमतामाथि प्रश्न गर्दा हरेक पटक उनी भन्छिन्–‘जीवनले मलाई अन्धकारका दिन देखायो तर उत्तिकै सक्षम र क्षमतावान् पनि बनायो । कमजोर म होइन, तिम्रो सोच हो ।’ यस्तै अर्की महिला हुन्–भारतकी अरुणिमा सिन्हा, ३० । राष्ट्रिय भलिबल टिमकी खेलाडी सिन्हा परीक्षा दिन जाँदा रेलमा केहीले उनको ब्याग र सुनको सिक्री लुट्न खोजे । तिनै व्यक्तिले उनलाई रेलबाहिर धकेलिदिए । उनको खुट्टा रेलको ट्रयाकमा पर्यो, परिणाम स्वरूप अरुणिमाले आफ्नो खुट्टा गुमाइन् । यद्यपि सगरमाथा चढ्ने सपनामा त्यसले पूर्णविराम लगाउन सकेन । अन्तत: उनी आफ्नो उद्देश्यमा सफल समेत भइन् ।