रेबिज प्राणघातक रोग हो । यो रोगबाट विश्वमा बर्सेनि ३० लाख मानिस प्रभावित हुन्छन् । त्यसमध्ये करिब ३० हजार मानिसको मृत्यु हुन्छ । हाम्रो देशमा पनि यो रोग एउटा ठूलो समस्याका रूपमा देखापरेको छ । रेबिज खासगरी कुकुर तथा स्यालमा देखा पर्ने संक्रामक रोग हो । हुन त यो रोग जनावरहरूमा मात्र देखा पर्छ तर रोगी जनावरले मानिसलाई टोकेपछि यो मानिसमा पनि सर्छ । रेबिज बौलाहा कुकुर वा स्यालको टोकाइबाट अन्य जनावरमा सर्छ । बौलाहा कुकुरले मानिसलाई टोके वा त्यसको र्याल मानिसको घाउ वा शरीरको खुला छालामा पर्यो भने त्यसको विषले गर्दा मानिस रेबिजबाट पीडित हुन पुग्छ । यसको परिणाम केही दिनपछि रोगका लक्षण देखा पर्छन् अनि रोगी पानीदेखि डराउन थाल्छ । यस्तो लक्षणलाई जलआतंक भनिन्छ ।
रेबिजबाट पीडित व्यक्ति वा जनावरको उपचार सुरुमै गर्नुपर्छ । लक्षण देखापर्न थालेपछि गरिएको उपचारबाट रोगीलाई कुनै किसिमको फाइदा हँुदैन अर्थात् रेबिजको लक्षण देखापर्न थालेपछि जतिसुकै उपचार गरे पनि रोगीको मृत्यु निश्चित हुन्छ । रेबिजको अन्तर विकासकाल अनिश्चित हुनुका साथै रोगीमा फरक–फरक किसिमले देखापर्ने हुन्छ । साधारणतया मानिसमा यसको अन्तर विकासकाल ४० दिन हुन्छ । कुकुरमा यो अवधि २१ दिनदेखि ९० दिनको मानिन्छ ।
कुकुरमा देखापर्ने रेबिज मुख्यत: दुई किसिमका हुन्छन्, जसलाई लक्षणका आधारमा छुट्याइन्छ । उक्त प्रकारमा एउटा तीव्र रूपमा कुकुरले उग्ररूप लिएको हुन्छ र बेचैन देखिन्छ साथै उसमा अरुलाई टोक्ने प्रवृत्ति बढेर जान्छ र कुकुरको स्वभाव बदलिन्छ । रोगी कुकुरले खाना खान छोड्छ । अँध्यारोमा बस्न मन पराउँछ । पछि पक्षघातले गर्दा शरीर चल्दैन ।
रोगको कारण
रेबिजका विषाणु अति सूक्ष्म हुन्छन् । यसका विषाणु विशेष किसिमका स्नायुसम्बन्धी रोग ल्याउने खालका हुन्छन् । यसको विकास मुख्यतया स्नायुतन्तुमा हुन्छ तर आधुनिक शोधकार्यबाट यी विषाणु स्नायुतन्तुमा मात्र नभई शरीरका अन्य भागका तन्तुमा पनि हुने कुरा पत्ता लागेको छ । रेबिजका विषाणुलाई लाइसो भाइरस भनिन्छ । रेबिजका यी विषाणु विभिन्न एन्टिसेप्टिक, तातो र सूर्यको प्रकाशले सजिलै नष्ट हुन्छन् तर करिब ४० सेन्टिग्रेड तापक्रममा यी महिनौंसम्म पनि बाँच्न सक्छन् ।
रेबिज कसरी सर्छ ?
रेबिज विषाणुका मुख्य स्रोत बौलाहा जंगली जनावर हुन्, जसको माध्यमबाट यो घरेलु कुकुर, भुस्याहा कुकुर तथा अन्य जनावरमा सर्छ । बौलाहा कुकुरको र्यालमा यो रोगका विषाणु विद्यमान हुन्छन् । जब संक्रमित र्यालको सम्पर्क व्यक्तिको घाउ तथा खुला छालासँग हुन्छ अथवा बौलाहा कुकुर वा जनावरले कुनै व्यक्तिलाई टोक्छ तब विषाणु शरीरमा प्रवेश गर्छन् र स्नायुको माध्यमबाट मस्तिष्कमा पुगेर व्यक्तिमा यो रोग लाग्छ ।
लक्षण
यो रोगमा देखापर्ने लक्षण रोगको किसिमअनुसार फरक–फरक हुन सक्छ । तीव्र रूपमा यसमा एक्कासि जलआतंकको आक्रमण हुन्छ । यसको प्रारम्भिक अवस्था दुईदेखि तीन दिनमा समाप्त हुन्छ । त्यसपछि देखापर्ने लक्षण वाकवाक लाग्ने, बान्ता हुने, घाँटी दुख्ने तथा अलिअलि ज्वरो आउने, टाउको दुख्ने, निद्रा नलाग्ने र श्वासप्रश्वास बढ्ने हुन्छ । रोगीको आवाज बदलिएर जान्छ अनि ऊ पानीदेखि पनि डराउँछ । रोगीको शरीर बांगिने तथा श्वास लिन कठिन हुने हुन्छ । रोगी एकदम शान्त, शिथिल र उदासीन देखिन्छ र मूर्छा पर्छ । यो शिथिलताको अवस्था छिट्टै पक्षघातमा परिणत हुन्छ र रोगीको मृत्यु हुन्छ ।
रोकथाम
यो रोग खतरनाक हुने भएकाले यसबाट संक्रमित व्यक्तिको उपचार रोगको लक्षण देखा पर्नुभन्दा पहिले अर्थात् सुरुको लक्षण उत्पन्न हुन नदिनु नै यसबाट बच्ने उपाय हो । रोगको लक्षण देखापरेपछि १० दिनभित्र रोगीको मृत्यु हुन्छ । यो रोग फैलन नदिन सचेत हुनुपर्छ । यसका लागि गर्न सकिने रक्षात्मक उपाय निम्न छन् :
–आफ्ना घरपालुवा कुकुरलाई जन्मिएको तीन महिनाभित्रै रेबिजविरुद्धको खोप लगाइहाल्नुपर्छ ।
–गाउाघर अथवा सहरमा भएका भुस्याहा कुकुरको व्यवस्थित रूपमा नियन्त्रण गनुपर्छ ।
–कुकुरले टोक्नेबित्तिकै उपचार गराउनुपर्छ ।
–घाउ धुन साबुनपानी, नाइट्रिक एसिड, कार्बोनिक एसिड तथा आयोडिनमध्ये कुनै एकलाई प्रयोग गर्न सकिन्छ । घाउलाई विसंक्रामकयुक्त पानीले राम्रोसँग धोएर सफा कपडाले पुछ्नुपर्छ । टोकेको १० दिनभित्रै कुकुर मर्यो भने रेबिजविरुद्धको खोप लगाउनुपर्छ । पहिलेदेखि नै लागेको घाउ अथवा छाला नभएको ठाउँमा कुुकुरको र्याल पर्यो भने राम्रसँग उपचार गराउनुपर्छ ।
–गाउँघरमा रेबिज लागेको कुकुर फेला परे पशु स्वास्थ्य सेवा विभागमा सम्पर्क गर्न सकिन्छ ।