Successfully Copied

नारी चिठी

हाम्रो सामाजिक व्यवस्थाले महिलालाई होच्याएको छ । संस्कार र परम्पराले जे–जस्ता आदर्शका कुरा गरे पनि व्यवहारमा भने पुरुषको अनुगामिनी बनाएको छ फलस्वरूप महिलाहरू पुरुषमाथि निर्भर छन् । महिलाहरू पनि क्षमताका हिसाबले पुरुषभन्दा कम छैनन् तर सामाजिक परिपाटीले उनीहरूको क्षमतालाई ओझेलमा पारेको छ ।

नारीमा प्रकाशित हुने टिप्स तथा प्रश्नोत्तरजस्ता स्तम्भ हाम्रा लागि सार्‍है उपयोगी छन् । असार महिनामा प्रकाशित टिप्स पनि राम्रो थियो । यो स्तम्भमा अझ नयाँ–नयाँ कुराले स्थान पाओस् । 

बबिना शाह, दाङ

सानै उमेरमा ठूलो सफलता प्राप्त गर्न सफल गौरिका सिंहलाई उत्तरोत्तर प्रगतिको कामना ।

सम्झना शाक्य, ललितपुर

साउनको महिनाको नारीमा प्रकाशित रिकु तामाङको एकदिन मन पर्‍यो ।

स्वर्णिम मानन्धर, बालाजु

साउन अंकको नारीमा दिइएका स्वास्थ्यसम्बन्धी जानकारी सार्‍है उपयोगी छन् । 

पवित्रा सुनार, गोंगबु

नेपाली महिलाहरूका लागि नारी पत्रिकाले लगाएको गुन बिर्सिनसक्नु छ । आगामी दिनमा यो पत्रिका अझ सशक्त ढंगले अघि बढोस् । 

रश्मि पाण्डे, धुम्बाराही 

गतांकको आवरणमा प्रकाशित नायिका नीता ढुंगानाको तस्बिर सार्‍है सुन्दर एवं प्राकृतिक छ । सुन्दर नायिकालाई उत्तरोत्तर प्रगतिको शुभकामना । 

विनीता सैंजू, बुद्धनगर

साउन महिनाको नारीमा मेरो जीवन स्तम्भमा आएकी गायिका देविका वन्दनाको स्वर र सौन्दर्य दुवै अलौकिक छ । 

नीता गुरुङ, भैंसेपाटी

महिलाहरूले चाहिँ सधैं धैर्य धारण गरिरहनुपर्ने अनि पुरुषले चाहिँ मनलागी गर्न हुने ? के महिला भएर जन्मनु नै अभिशाप हो ? 

सिर्जना बानियाँ, मकवानपुर

चुनौती बढेकै हो त ?

गत महिना नारीमा कामकाजी महिलाहरूको चुनौती पढेपछि केही लेख्न मन लाग्यो । त्यहाँ भनिएको छ, हिजोआज सहनशीलताका प्रतीक मानिने महिलाहरूमा पनि धैर्य घट्दै गएको छ । केही वर्ष पहिलेसम्म पनि महिलाहरू परम्परा, मान्यता एवं संस्कारमा बाँधिएर निर्धारित परिधिभित्र रही धेरै कुरा सहेर बस्थे तर आज महिलाहरू त्यस्ता मान्यताबाट टाढिँदै गएका छन् । यस्तै तिमी नभए अरु कोही, यो नभए अरु केही भन्ने फर्मुलामा विश्वास राख्ने आजका महिला हिजोआज एउटै सम्बन्धमा बाँधिन वा रोकिन नचाहेको स्थिति देखा पर्दैछ । बढ्दो सम्बन्धविच्छेदको प्रमुख कारण पनि महिलाहरूको अधैर्यलाई पनि मानिन्छ भनिएको छ । आम महिलाको मानसिकतामा आएको परिवर्तन एवं जागरुकताका साथै आर्थिक रूपमा आत्मनिर्भर भएकाले स्वनिर्णयको क्षमता बढ्नु आदिलाई महिलाको धैर्य कम हुनुको कारण मानिएको छ । यसबाट चिडचिडेपन, फ्रस्टेसन तथा डिप्रेसनजस्ता समस्या बढ्दै गएकाले ती समस्याबाट जोगिन जीवनप्रति सकारात्मक सोच राख्दै खुसी रहने प्रयास गर्नु र खुसी बाँड्ने काम गर्नु उपयुक्त हुन्छ भनिएको छ । कुरा ठीकै लाग्यो । तैपनि मनमा प्रश्न उठ्यो, के यी मात्र हुन् त महिलाहरूमा धैर्यताको कमी हुनुको कारण ? लेख अपूर्ण लाग्यो । आगामी अंकमा विस्तृत जानकारी दिने खालको लेखको प्रतीक्षामा छु । 

सुमित्रा श्रेष्ठ, हरिसिद्धि

क्षमता मूल्यांकन होस् 

हाम्रो सामाजिक व्यवस्थाले महिलालाई होच्याएको छ । संस्कार र परम्पराले जे–जस्ता आदर्शका कुरा गरे पनि व्यवहारमा भने पुरुषको अनुगामिनी बनाएको छ फलस्वरूप महिलाहरू पुरुषमाथि निर्भर छन् । महिलाहरू पनि क्षमताका हिसाबले पुरुषभन्दा कम छैनन् तर सामाजिक परिपाटीले उनीहरूको क्षमतालाई ओझेलमा पारेको छ । पुरुषको हरेक सफलतालाई आफ्नै सफलता मानेर साथ दिँदै आएका महिलाहरूको उचित मूल्यांकन हुन सकेको छैन । महिलाको क्षमतालाई कम आँक्ने र पोथीमाथि भाले जातिको प्रभुत्व कायम रहनुपर्छ भन्ने मान्यता नहटेसम्म महिलाहरूको क्षमताको उचित सम्मान हुँदैन । महिलाहरू कुनै पनि दृष्टिले कमजोर छैनन् भन्ने कुरालाई प्रमाणित गर्न पनि अब सबै महिला सचेत भएर अघि बढ्नुपर्ने बेला आएको छ । यति हुन सके मात्र महिलाहरूको क्षमताको उचित मूल्यांकन हुनसक्छ ।

रोजी खकुरेल, सुर्खेत

समाचार थप्नुपर्‍यो 

नारी लाइफ स्टाइलसम्बन्धी पत्रिका भए पनि यसमा त्यस्ता समाचार कम प्रकाशित हुन्छन् । यससम्बन्धी नयाँ–नयाँ स्तम्भ थपेर भए पनि नारीलाई अझ रोचक एवं पठनीय बनाउन सकिन्छ । नारीमा राजधानी तथा मोफसलमा आयोजना भैरहने मनोरञ्जक कार्यक्रमका झलक तथा जानकारीहरू समेटिएका हुँदैनन् । त्यस्ता कुराहरू पनि समेट्न सके नारी अझ पठनीय हुने थियो । नेपाली नारीहरूको जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेर, मनोरञ्जक समाचार तथा विविध जानकारी थपेर यसलाई अझ आकर्षक बनाउन सकिन्छ । 

शिला बस्नेत, हेटौंडा

समानता  किन ?

महिला समानता र स्वतन्त्रताको चर्चा प्रशस्तै हुने गरेको छ तर महिला स्वतन्त्रता के हो भन्ने विषयमा भने अझै अन्योलपूर्ण स्थिति नै छ । जति नै ठूला कुरा गरिए पनि व्यवहारमा महिलाहरूले असमानता झेल्नुपरेको छ । देश संक्रमणकालबाट गुज्रिरहँदा महिला समानताका पक्षमा उठेको आवाज बुलन्द हुन सकेको छैन । शिक्षित महिलाहरू पनि शारीरिक एवं मानसिक उत्पीडनको सिकार भैरहेका छन् । महिलाहरूविरुद्ध हत्या, हिंसा, बलात्कार, छेडखानीजस्ता अभद्र व्यवहार हुने गरेका छन् तर त्यसलाई रोक्न राज्यका कुनै पनि संयन्त्रबाट ठोस कदम चालिएको छैन । नेपाली महिलाका लागि यस्तो अवस्था अब सह्य हुनेछैन । महिलाहरू आफ्नै बलबुतामा स्वतन्त्र हुनेछन् र पुरुषसँग काँधमा काँध मिलाएर अघि बढ्ने दिन आउनेछ । 

बालिका केसी, गोंगबु 

 Image