Successfully Copied

मेरो देश मेरो प्रेम

वि.सं २०६० सालदेखि मेरो ड्राइभिङ यात्रा सुरु भएको थियो। सुरुमा टेम्पो चलाएपछि मैले केही वर्ष टुरिजम क्षेत्रमा मिनी बस चलाएँ।

रेविका थापा, साझा बस चालक

वि.सं २०६० सालदेखि मेरो ड्राइभिङ यात्रा सुरु भएको थियो। सुरुमा टेम्पो चलाएपछि मैले केही वर्ष टुरिजम क्षेत्रमा मिनी बस चलाएँ। अहिले म साझा बस चलाउन थालेकी छु। २०७० सालको फागुन १० गतेदेखि साझा बस चलाउन थालेपछि मलाई जस्तोसुकै कठिन काम पनि गर्न सकिन्छ जस्तो लाग्छ। टेम्पो तथा मिनी बसको तुलनामा साझा बस लामो र ठूलो हुने भएकाले मोडमा विशेष ध्यान पुर्‍याउनुपर्छ। बिहान ७ बजे सुरु हुने मेरो  दैनिकी बेलुकी ८-९ बजेसम्म चल्छ। साझा बस चलाएपछि बेग्लै खालको प्रतिक्रिया आउँदा रमाइलो पनि लाग्छ। घरको सबै काम म आफैं गर्छु। मेरो छोरा छ। छोरा र आफ्ना लागि खाना पकाउने कामदेखि अन्य सबै काम आफैं गर्छु। समाजका लागि पनि मैले आफ्नै किसिमले योगदान दिएकी छु।

-    प्लास्टिकको झोला पनि त्यति प्रयोग गर्दिन।

-    बाहिर हिँडडुल गर्दा होस् वा घरमा बस्दा फोहोर डस्टबिनमा फाल्छु।

-    बिजुली तथा पानीको बिल समयमै तिर्छु।

-    राम्रोसँग बस चलाएर यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याइदिन्छु।

-    बस चलाउँदा मोबाइल उठाउँदिन।

-    प्रत्येक महिना अनिवार्य रूपमा कर तिर्छु।

देशलाई किन माया गर्नुपर्छ ?

आफू जन्मिएको देशलाई सबैले माया गर्नुपर्छ। हामीले माया नगरे कसले गर्छ ?

देश छोडेर विदेश जानेप्रतिको धारणा ?  

आफ्नो देशमै बसेर आफ्नो क्षमताअनुरूपको काम गर्नुपर्छ। आफ्नो देशमा स्वतन्त्र भएर काम गर्न सकिन्छ। भाषा, संस्कृतिको समस्या पनि पर्दैन। पैसा मात्र ठूलो कुरा होइन, जे काम गरे पनि आफ्नो देशमा गर्नुपर्छ। सानो कामबाट सुरु गरेपछि बिस्तारै माथि जान सकिन्छ।

बिन्दु गुरुङ, नर्सिङ डाइरेक्टर, काठमाडौं मोडल अस्पताल

वि.सं. २०३७ सालदेखि मेरो नर्सिङ करिअर सुरु भएको हो। सुरुमा मैले वीर अस्पतालमा काम गरें। त्यसको दुई वर्षपछि ब्रुनाईको रोयल क्लिनिकमा बिरामीको सेवा गरें। त्यहाँबाट फर्किएपछि मोडल अस्पतालमा काम गर्न थालें। मोडल अस्पताल खुलेदेखि नै म त्यहीँ कार्यरत छु। अहिले मोडलको नर्सिङ डिपार्टमेन्ट मेरो जिम्मामा छ। म धेरै वर्ष दिनरात बिरामीको सेवामा लागिरहें। अहिले पनि बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न योजना निर्माण गरी त्यसको कार्यान्वयनमा लागिपर्छु।

-    म सधै बिरामीको खुसी चाहन्छु, त्यसैले सदैव उनीहरूको सेवामा काम गर्छु।

-    घरमा खाना आफैं पकाउँछु। खाना पकाएपछि सिलिन्डरकै रेगुलेटर बन्द गर्छु।

-    टेलिभिजन नचलाएको अवस्थामा प्लग बन्द गर्छु।

-    पानी जथाभावी फाल्दिन। आकाशबाट परेको पानीको सदुपयोग गर्छु।

-    जथाभावी फोहोर फाल्दिन। गल्ने फोहोरबाट कम्पोस्ट मल बनाउँछु।

-    घरमा फूल रोप्छु। घरबाहिर खाली ठाउँमा अरुले फोहोर ल्याएर फाल्छन्। त्यो ठाउँमा फूल रोपिदिने गरेकी छु।

-    बाग्मती सफाइ अभियानमा निरन्तर सक्रिय छु।

-    महिना सकिनासाथ बिजुली, धारा तथा फोहोरको बिल तिर्छु।

-    नियमित कर तिर्छु।

-    यात्रा गर्नुपर्दा स्टपमा मात्र बस रोक्छु।

देशप्रतिको माया ?

आफ्नो देशलाई माया गर्नुपर्छ। म नर्सिङ क्षेत्रमा भएकीले बिरामीलाई गुणस्तरीय सेवा दिनु मेरो कर्तव्य हो। यो मेरो तर्फबाट देशलाई माया भयो। सबै नागरिक इमान्दार एवं अनुशासित भएर आ-आफ्नो क्षेत्रबाट राष्ट्रका लागि केही गर्नुपर्छ। त्यसपछि मात्र सही अर्थमा देशलाई माया गरेको ठहरिन्छ।

देश छोडेर विदेश जानेहरूप्रतिको धारणा ?  

कतिपय मानिस सुरक्षा एवं सोचेजस्तो काम नपाएर विदेश जान्छन्। देशमा पढाइअनुसारको काम र सुरक्षा व्यवस्था राम्रो भए विदेश जानुपर्दैन। अध्ययनका लागि होस् वा अन्य कामका लागि विदेश गए पनि आफ्नै देशमा र्फकनुपर्छ।

रञ्जु घिमिरे,व्यापारी

दक्षिण ढोकामा जन्मिएकी मेरो विवाह सानै उमेरमा भएको हो। स्नातकसम्मको अध्ययन पूरा गरेकी मैले विवाहपछि अधिकांश समय घरपरिवारको हेरचाहमा बिताएँ। छोराछोरी हुर्किएपछि केही गरौं भनेर व्यापारमा हात हालेकी हुँ। आर्थिक स्वतन्त्रता महिलाहरूलाई सशक्त बनाउने प्रमुख आधार हो। कुनै पनि देशको विकासका लागि उक्त देशका जनता इमान्दार एवं अनुशासित हुनुपर्छ।

-    सदैव लाइसेन्स प्रयोग गरी सवारी साधन चलाउन सल्लाह दिन्छु।

-    जलस्रोतको धनी देश नेपालमा अहिले लोडसेडिङको समस्या छ। त्यसैले म पानीको सदुपयोग गर्छु। टंकीमा पानी भर्दा पनि ध्यान दिन्छु।

-    बाटामा अशक्त भेटिए हात समाएर बाटो पार गराउँछु।

-    देशलाई माया गर्ने नागरिक भएकीले अन्याय सहन सक्दिन।

-    घरमा जम्मा भएका तरकारीका बोक्रा कम्पोस्ट मल बनाउन पुन: प्रयोग गर्छु।

-    घरमा भएका प्लास्टिक जलाउँछु।

-    घरलाई पर्यावरणीय हिसाबले स्वच्छ राख्न गमलामा टन्न बिरुवा लगाएकी छु।

देशलाई किन माया गर्नुपर्छ ?

देश मातृभूमि हो, त्यसैले यसलाई माया गर्नुपर्छ। मातृभूमिलाई आहत हुने काम गर्दा आफैलाई शान्ति हुँदैन। देश शान्त रहे मात्र हामीले शान्तिसँग बाँच्न पाउँछौं। आमाको ओठमा मुस्कान छ भने हामीलाई कहिल्यै दु:ख हुँदैन। आफ्नो अस्तित्वका लागि पनि हामीले देशलाई माया गर्नुपर्छ।

विदेश जानेहरूलाई केही सन्देश ?

पढ्न एवं सीप सिक्न विदेश जानु राम्रो कुरा हो। पैसा कमाएर आफ्नो देशको आर्थिकस्थिति बलियो बनाउनु उत्कृष्ट कार्य हो तर जन्मभूमिलाई चटक्क त्याग्नु राम्रो होइन। हुन त खोजियो भने नेपालमा पनि अवसर पाइन्छ। त्यसका लागि धैर्य तथा मेहनतको खाँचो हुन्छ। कुनै पनि कामको परिणाम चाँडै खोज्नु हुँदैन। आफ्नो देशलाई माया गरे सकारात्मक परिणाम हात पार्न सकिन्छ।

समीक्षा राई, सञ्चालक, प्याक माई लञ्च

मैले धेरै समय विदेशमा बिताएँ। ६ वर्षको उमेरदेखि नै म अध्ययनका लागि भारत गएँ। त्यसपछि थप अध्ययनका लागि अमेरिका गएँ। भारतमा पढ्दा होस् वा अमेरिका पढ्दा जहाँ भए पनि आफ्नो देशकै कुरा गर्न मन लाग्थ्यो। कुनै नेपाली भेट्नासाथ आफ्नै देशको कुरा गर्न मन लाग्थ्यो। आफ्नो देशको माया विदेशमा बस्दा अझ अझ बढी लाग्थ्यो। पढाइ सकिएपछि एक वर्ष बेलायतमा काम गरें। पछि आफ्नै देशको माया लागेर नेपाल फर्किएँ। नेपाल आएको दुई वर्ष भयो। अहिले म अफिस, स्कुल तथा बैंकहरूमा लञ्चको व्यवस्थापन गर्छु।

-    म घरको सबै काम आफैं गर्छु।

-    कामकाजी व्यस्तताले गर्दा नभ्याउनेहरूका लागि खाजाको व्यवस्था गरिदिन्छु।

-    अनावश्यक रूपमा कोठामा बत्ती बाल्दिन।

-    फोहोर व्यवस्थापन उचित ठाउँमा गर्छु।

-    बिजुलीको बिल नियमित रूपमा समयमै तिर्छु।

-    प्लास्टिकका झोलाको उचित व्यवस्थापन गर्छु।

-    पानी पनि अनावश्यक रूपमा खेर फाल्दिन।

-    सवारी साधन चलाउँदा नियम पालना गर्छु। अनिवार्य रूपमा सिटबेल्ट बाँध्छु।  

-    आजको कामलाई भोलि भनेर थाती राख्दिन।

देशलाई किन माया गर्नुपर्छ ?

आफूले माया गरेपछि मात्र देशको अस्तित्व कायम रहन्छ। आफ्नो देश आफैं बनाउनुपर्छ।

देश छोडेर विदेश जानेप्रति धारणा ?

सबैजना आ-आफ्नो बाध्यताले गर्दा विदेश जान्छन्। पढाइका लागि गएकाहरू हुन् वा अन्य प्रयोजनका लागि पछि आफ्नै देश र्फकनुपर्छ। आफ्नो देशको सेवा गर्नुपर्छ। आफ्नो देशमा बस्दा जति गर्व महसुस हुन्छ अरूको देशमा हुँदैन। अरु देशमा आफ्नो क्षमताभन्दा तलको काम गर्नुपर्छ भने आफ्नो देशमा क्षमताअनुरूपको काम गर्न पाइन्छ। पैसा जरुरी हुन्छ तर सबै कुरा पैसा मात्र होइन।  

नजबुल खान, अधिकारकर्मी

म बाल्यकालदेखि नै विद्रोही स्वभावकी थिएँ। मुस्लिम परिवारमा जन्मिए पनि मेरो स्वभाव फरक थियो। म सधैं देशका लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुरामा केन्दि्रत हुन्थें। यो कल्पना साकार बनाउन मैले आफ्नो अभियान सुरु गरेको एक दशक भैसकेको छ। आफूले गरेको कामका कारण अहिले मलाई सबैले महिला अधिकारवादीका रूपमा चिन्छन्। मेरो कामको कुनै समय छैन। महिला दिदीबहिनी तथा बालबालिकाको समस्या समाधान गर्न म बिहान वा रात भन्दिन। मैले आफ्नो सारा समय समाज परिवर्तनमा खर्चिएकी छु। समाज परिवर्तन गर्ने अभियान आफैबाट सुरु गर्नुपर्ने मेरो धारणा छ। समाज सबल भए त्यसको प्रत्यक्ष प्रभाव राज्यमा पर्ने मेरो ठम्याइ छ। हालै मैले दुईवटा महत्वपूर्ण पुरस्कार पनि पाएकी छु जसलाई मैलो आफ्नो कामको प्रतिफल मानेकी छु।

-    सकेसम्म राज्यले बनाएका सबै नियम पालना गर्ने प्रयास गर्छु।

-    आफ्नो अफिस वरिपरि रुख रोपेकी छु भने आफूले चिनेजानेकालाई जग्गा नभए पनि पाँचवटा गमलामा बिरुवा रोप्न सल्लाह दिन्छु।

-    अहिले वातावरण परिवर्तनले सबैलाई पिरोलेको छ। त्यसैले वैकल्पिक ऊर्जा प्रयोग गर्न कटिबद्ध छु।

-    संस्थागत रूपमा गाउँगाउँमा सरसफाइ अभियान संचालन गरिरहेकी छु। आफ्नो घरबाट निस्किएको फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्छु।

देशलाई किन माया गर्नुपर्छ ?

देशले नै हामीलाई पहिचान दिएको छ। देशबिना हाम्रो अस्तित्व अर्थहीन छ। आफ्नो जन्मभूमिलाई आमासरह पूजा गर्नुपर्छ।

देशप्रतिको माया के हो ?

यो आफूले व्यक्त गरेरभन्दा पनि गरेर देखाउने कुरा हो। यो असीम तथा अपार हुन्छ, तैपनि  राज्यलाई कुनै असर पर्ने गरी अराजक काम नगर्ने, घूस लिनदिने जस्ता कुरामा नफस्ने एवं  अनुशासित तथा इमान्दार नागरिकको भूमिका निर्वाह गर्ने कार्य नै देशप्रतिको माया हो।

तृष्णा थापा, गृहिणी

गृहिणी गृह निर्मातृ हुन् भन्ने तृष्णा घरको व्यवस्थापन ठूला संघसंस्थाको भन्दा कम नभएको बताउँछिन्। तृष्णाका अनुसार ँघरायसी कामको समय चौबीसै घन्टा हुन्छ। त्यसैले गृहिणी भएकोमा हामीले गर्व गर्नुपर्छ। हामीले आफ्नो लगन तथा स्नेहले घर संसार सजाउँछौं। काम गर्ने तथा पढ्नेहरूलाई सबै व्यवस्था मिलाइदिएर सहज बनाउँछौं। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पनि हामीले देशलाई योगदान दिइरहेका हुन्छौं। बिहानैदेखि म निकै व्यस्त हुन्छु। हरेक कुरा मेरो प्रत्यक्ष निगरानीमा हुने भएकाले मेरो घरमा कुनै चुहावट छैन। घरमा हरेक परिकार आफैले तयार गर्ने हुँदा सबैले राम्रो खाना

खान पाउँछन्।’

-    म अनावश्यक खर्च गर्दिन।

-    घर वरिपरिको फोहोर संकलन गरी जलाउँछु। यही कुरा मैले आफ्ना छोराहरूलाई पनि सिकाएकी छु।

-    प्रयोग गर्न सकिने वस्तुहरूबाट अर्गानिक मल तयार गर्छु। त्यसलाई बारीमा प्रयोग गरी म अर्गानिक तरकारी तयार गर्छु।

-    अनावश्यक रूपमा जहाँ पायो त्यहीँ बत्ती बाल्दिन। पानीको सदुपयोग गरी सफा पानी भए त्यसलाई पुन: प्रयोग गर्छु।

-    घरमा कुनै प्रकारको होहल्ला गर्दिन। कुनै प्रकारको समस्या आए त्यसलाई सही तरिकाले समाधान गर्छु।

-    म अन्याय सहन सक्दिन र कसैलाई आफ्नो कारणले कहिल्यै दु:खी तुल्याउँदिन।

-    समाजमा सबैसँग मिलेर बसेकी छु। आवश्यक पर्दा सबैलाई सहयोग गर्छु ।

-    छोराहरूलाई सधैं राम्रो शिक्षा दिन्छु। उनीहरूलाई नेपाली संस्कार तथा नेपाली भूमिको महत्व सम्झाउँछु।

-    बाटोमा हिँड्दा सदैव ट्राफिक नियम पालना गर्छु। भीडभाडलाई मिचेर कहिल्यै अघि बढ्दिन।

-    सामान खरिद गरेपछि बिल लिन बिर्सन्न।

-    भोट दिनु हाम्रो अधिकार हो, यसको सदैव प्रयोग गर्छु।

देशलाई किन माया गर्नुपर्छ ?

देशले हामीलाई आश्रय दिएको छ। हामीले यसलाई आफ्नो कर्मथलो बनाउन पाएका छौं। आफ्नो परिवार फलाउन-फुलाउन पाएका छौं। नेपालले आफ्नो अंगालोमा सबै जात तथा वर्गलाई बाँधेर राखेको छ। यसले कसैलाई पक्षपात गरेको छैन।

देशप्रतिको माया के हो ?

देशप्रतिको माया भन्नु आफ्नी आमाप्रतिको माया हो।

 Image