भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।

गत महिना अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंको लैनचौरमा नेपाली गायिकाहरूको सामूहिक कन्सर्ट सम्पन्न भयो। वुमन इन कन्सर्टको पछिल्लो शृंखलाका रूपमा 'महिला नेतृत्वका लागि होऊँ जम्मा, घरदेखि संविधानसभासम्म' भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा नयाँ तथा पुराना गरी विभिन्न विधाका २१ जना गायिकाले गीत गाएका थिए। वुमन इन कन्सर्ट विगत ११ वर्षदेखि निरन्तर संचालन हुँदै आएको छ। गायिका अभया सुब्बाको निर्भया फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य महिला हिंसाविरुद्ध चेतना जगाउनु थियो।
महिला धिकारसम्बन्धी चित्रकला प्रदर्शनी
गत महिना अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर एउटै शीर्षकमा दुई ग्यालरीमा एकहप्ते महिला अधिकारसम्बन्धी चित्रकला प्रदर्शनी गरियो। लाजिम्पाटस्थित इमेज आर्ट ग्यालरी तथा झम्सिखेलस्थित आर्टिस्ट प्रुफ ग्यालरीले 'परिवर्तन सोचमा' शीर्षक दिएर महिलामाथि हुने विभेदको अन्त्य गरौं भन्दै चित्रकला प्रदर्शनी आयोजित गरेका हुन्। दुवै ग्यालरीमा गरी २९ कलाकारका ५८ चित्रकला प्रदर्शित थिए। सबै चित्रमा महिलाको पीडा दर्शाइएको थियो भने गर्भमा छोरी छ भन्ने थाहा पाएर गरिने भ्रूण हत्याजस्ता क्रियाकलाप रोक्न सोचाइमा परिवर्तन आउनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो।
महिलाका उजुरीमा संवेदनशील हुन निर्देशन
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रशासनिक तथा सुरक्षा निकायमा महिलाका उजुरीका सन्दर्भमा संवेदनशील हुन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाए। गत महिना सञ्चारिका समूहद्वारा राजधानीमा आयोजित 'लैंगिक हिंसा न्यूनीकरणका लागि तपाईं हाम्रो प्रतिबद्धता' विषयक सार्वजनिक सुनुवाइमा मन्त्री गौतमले त्यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले महिला हिंसाका घटना संवेदनशील हुने भएकाले आवश्यक गोपनीयता अपनाउन, कानुनी तथा प्रशासनिक उपचारका सन्दर्भमा गम्भीरताका साथ अवलम्बन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिने बताए। गौतमले सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई पनि महिलामैत्री बनाउँदै लाने नीति रहेको बताउँदै तत्कालका लागि जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा महिला तथा बालबालिकाका संवेदनशील विषयको सुनुवाइ गर्न अलग्गै डेस्क बनाउने सोच रहेको जानकारी दिएका थिए।
मेरो शरीर मेरो अधिकार अभियान सुरु
'मेरो शरीर मेरो अधिकार' शीर्षकको महिला अधिकारसम्बन्धी विश्वव्यापी अभियान नेपालबाट प्रारम्भ भएको छ। गत महिना एमनेस्टी इन्टरनेसनलले नुवाकोट जिल्लाको समुद्रटारबाट उक्त अभियानको थालनी गरेको हो। यो अभियानको शुभारम्भ गर्न नेपाल आएका एमनेस्टी इन्टरनेसनलका अन्तर्राष्ट्रिय प्रमुख सलील सेट्टीले भने, मेरो शरीर मेरो अधिकार अभियानका लागि विश्वमा समुद्रटारभन्दा अर्को कुनै ठाउँ भेटिएन।' सेट्टीले विवाह कहिले र कोसँग गर्ने, छोराछोरी कहिले पाउने, गर्भधारण रोक्ने विभिन्न उपायजस्ता अधिकारको प्रयोग महिला स्वयंले गर्नुपर्छ भन्दै नेपालका असंख्य महिला यौनिक तथा लैंगिक हिंसाबाट प्रताडित भएको बताए। अभियानमा सभासद्द्वय अर्जुन नरसिंह केसी र जगदीश नरसिंह केसी, डा. अरुणा उप्रेती, डा. केदार नरसिंह केसी तथा मानव अधिकारकर्मी कृष्ण पहाडी आदिको उपस्थिति थियो।
द्वन्द्वप्रभावित महिलालाई तालिम
सरकारले द्वन्द्वप्रभावित महिलाका लागि कार्यमूलक साक्षरता तथा आयआर्जन कार्यक्रम सञ्चालन गर्ने भएको छ। शान्ति तथा पुननिर्माण मन्त्रालयअन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रले आगामी चैत महिनादेखि देशका १२ जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो। केन्द्रका अनुसार अछाम, कैलाली, बाग्लुङ, गोर्खा, म्याग्दी, रुपन्देही, रोल्पा, रुकुम, बाँके, मकवानपुर, नुवाकोट र उदयपुरका दुई सय गाउँ विकास समितिमा कार्यक्रम सञ्चालन गरिनेछ। केन्द्रका निर्देशक बाबुराम पोखरेलका अनुसार छनोटमा परेका हरेक गाविसमा तीन जनाका दरले छ सय जनालाई सीटीईभीटीले सञ्चालन गर्ने प्राविधिक तालिम प्रदान गरिनेछ। सीटीईभीटीका १० वटा प्राविधिक स्कुलमा राखेर ती महिलालाई ३० दिने तालिम दिइनेछ भने तालिमको विषय सहभागीहरूले नै छनोट गर्न पाउनेछन्।
साझा यातायातमा महिला चालक
साझा यातायातमा पहिलो पटक महिला चालक नियुक्त गरियो। गत वैशाखदेखि पुनः सञ्चालनमा आएको साझालाई महिलामैत्री बनाउन गत फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्ति दिइएको साझाले जनाएको छ। यसअघि उक्त यातायातमा ५ जना महिला सहचालक मात्र थिए।
लैंगिक हिंसा नियन्त्रण गर्न समन्वयको खाँचो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको लैंगिक हिंसाविरुद्धको डेस्कअन्तर्गत अनुगमन समितिको टोलीले गत महिना राजविराजस्थित विभिन्न कार्यालयको अनुगमन निरीक्षण गर्यो। टोलीले निरीक्षणका क्रममा महिला तथा बालबालिका कार्यालय, सेफ हाउस, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख, संयोजक एवं स्रोत व्यक्तिहरूसँग लैंगिक हिंसाको स्थिति, समस्या समाधानका उपाय, लैंगिक सशक्तीकरणको अवस्था एवं क्रियाकलापका सम्बन्धमा जानकारी लिएको थियो। अनुगमन समितिका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल नेतृत्वको टोलीमा अन्य नौ सदस्य थिए। टोलीले हिंसा पीडितलाई उपचारका साथै उचित व्यवस्थापन गरी लैंगिक हिंसा नियन्त्रणमा सहयोग पुर्याउन विभिन्न समितिबीच सहकार्य एवं समन्वयको खाँचो औंल्याएको थियो।
महिलाका लागि सेवा इकाइ
परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा गत असारदेखि सुरु भएको सामाजिक सेवा इकाइबाट अहिलेसम्म १ सय २८ जना महिला लाभान्वित भएका छन्। उक्त इकाइमार्फत ज्येष्ठ, असहाय एवं विपन्न महिलाले निःशुल्क उपचार पाउँदै आएका छन्। राजधानीका प्रसूतिबाहेक वीर र कान्ति बाल अस्पताल तथा उपत्यकाबाहिर कोशी अञ्चल अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल एवं सेती अञ्चल अस्पतालमा यस्तो सेवा उपलब्ध छ।