Successfully Copied

करेसाबारी

घर-आँगन वरिपरि हरियाली भएको सबैलाई मन पर्छ। त्यसमा पनि त्यहाँ भएका सुन्दर फूल-बिरुवाले सबैलाई आकषिर्त गर्छन्।

घर-आँगन वरिपरि हरियाली भएको सबैलाई मन पर्छ। त्यसमा पनि त्यहाँ भएका सुन्दर फूल-बिरुवाले सबैलाई आकषिर्त गर्छन्। आफ्नो घरमा भएको सानो बगैंचामा तरकारी, फलफूल हुर्काउनुको मज्जा बेग्लै हुन्छ। यसका लागि हामी आफ्नो बगैंचामा विभिन्न तरकारी एवं फूल रोप्न सक्छौं।

भिन्डी ः जमिन अथवा ठूलो गमलामा नर्सरीबाट ल्याइएको बिरुवा रोप्ने। लाइनबाट लाइनको दूरी ३ फिट तथा बिरुवाबीचको फरक डेढ फुट राख्नुपर्छ।

भान्टा ः एउटा गमलामा एउटा मात्र बिरुवा रोप्ने। भुइँमा रोप्दा लाइनबाट लाइन तथा बिरुवाबाट बिरुवाको दूरी डेढदेखि २ फुटसम्म हुनुपर्छ।

फूलगोभी ः फूलगोभीलाई क्यारी बनाएर रोप्नुपर्छ ।

भेंडेखुर्सानी ः यसलाई रोप्ने उपयुक्त मौसम असार-साउन हो। भेंडेखुर्सानीलाई क्यारी बनाई भुइँमा अथवा गमलामा रोप्न सकिन्छ जसको दूरी डेढदेखि दुई फिटसम्म हुनुपर्छ।

काँक्रा ः ५-६ वटा काँक्राको बीउ भुइँमा रोप्ने। ठूलो भएपछि तीन वटा बिरुवा मात्र राख्ने र बाँकी हटाउने। काँक्राको बीउ  ५ देखि ६ इन्चसम्मको दूरीमा रोप्नु राम्रो हुन्छ।

मेवा ः घरको आँगन अथवा घरबारी ठूलो छ भने जमिनमा रोप्ने। ठूलो गमलामा पनि यसको बिरुवा रोप्न सकिन्छ। एउटा गमलामा एउटा मात्र बिरुवा रोप्नुपर्छ।

टमाटर ः रोप्न तयार भएको बिरुवा नर्सरीबाट ल्याएर भुइँ वा गमलामा रोप्न सकिन्छ। डेढदेखि २ फिटसम्मको दूरीमा बिरुवा रोप्नु राम्रो हुन्छ। बिरुवा हुर्कदै गएपछि यसलाई सहारा दिन काठको बार लगाउनुपर्छ।

लहरा ः लहराको बीउ ४ देखि ६ दिनमा बिरुवा बन्न थाल्छ। यसलाई डेढदेखि २ फिटको दूरीमा रोप्नुपर्छ। गमलामा २ वा ३ वटा बिरुवा लगाउन सकिन्छ। यसलाई पनि काठ अथवा कुनै लहराको सपोर्ट दिनु पर्छ।

सूर्यमुखी ः अग्लो बोट हुने यो फूल निक्कै आकर्षक हुन्छ। यसको अग्लो तथा होचो गरी दुई प्रजातिका बिरुवा उपलब्ध छन्। अग्लोको तुलनामा होचो प्रजातिको बोटले धेरै फूल दिन्छ।

कासमिया ः यो ९० देखि १ सय २० सेन्टिमिटर अग्लो हुने बिरुवा हो। बीउलाई सीधै अथवा बिरुवा बनाएर क्यारीमा हुर्काउन सकिन्छ। कासमिया रोप्दा हल्का छायाँ पर्ने ठाउँ रोज्नुपर्छ।

सेलोसिया ः यसलाई बगैंचाको बाटोमा लगाउँदा बगैंचा अझ बढी खुल्छ। फूल सुकेपछि पनि यसको सुन्दरता कायमै रहन्छ। यसलाई घाम लाग्ने ठाउँमा रोप्नुपर्छ।

नवरंग ः यसको बिरुवा गमलामा भन्दा पनि क्यारीमा सुन्दर देखिन्छ। यसलाई वर्षभरिमा धेरै पटक लगाउन सकिन्छ।

कोलियस ः यो रंगीन पातका लागि प्रख्यात छ। कोलियस गमलामा रोप्न उपयुक्त बिरुवा हो। यसलाई बीउ अथवा कटिङबाट तयार गर्न सकिन्छ। यसलाई चर्को घामबाट जोगाउनुपर्छ।

गुलटुर्रा ः यो पर्पल तथा पिंक रंगमा पाइन्छ। प्लास्टिकको जस्तो देखिने यो फूल निकै आकर्षक हुन्छ। यसको बिरुवा नर्सरीमा किन्न सकिन्छ।

गुल मेहन्दी ः बीउलाई सीधै २५ देखि ३० सेन्टिमिटरको दूरीमा जमिनमा रोप्न सकिन्छ। हल्का छायाँ पर्ने ठाउँमा रोप्दा राम्रो फूल फुल्छ। सानो प्रजातिको बिरुवालाई क्यारीमा रोप्नुपर्छ। ठूलो प्रजातिमा भने यो दुई प्रकारको हुन्छ। पहिलो जसमा डाली बनेको हुन्छ भने अर्को थरीमा एउटा डन्डी भएर आएको हुन्छ।

एमरेथस ः यो बिरुवा रंगीन पातका लागि रोप्ने चलन छ। यो घरभित्र राखिने राम्रो बिरुवा हो। यसको बीउलाई सीधै बिरुवा रोप्ने ठाउँमा उमार्न सकिन्छ।

 Image